वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा हिजो (साउन १) गतेदेखि बिहान ८ बजेबाट नै बिरामीलाई ओपिडी सेवा सुरू भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले पहिलो दिनको सेवा धेरै प्रभावकारी भएको बताए। अस्पतालमा हुने भीडलाई व्यवस्थापन गर्न आफूहरू सफल हुने उनको दाबी छ।
पहिलो दिन ११ बजे नै भीड हटेको भन्दै उनले यसलाई दीर्घकालसम्म कसरी लैजाने भनेर आफूहरूले सोच बनाएको बताए।
यसअघि वीर अस्पतालमा १० बजेदेखि मात्रै बिरामीले सेवा पाउँथे। जसले गर्दा अत्यासलाग्दो भीड हुन्थ्यो। त्यो भीड हटाउन आफूहरूले अध्ययन गरेको र त्यसले बिहान ८ बजेदेखि सेवा सुरू गर्न सुझाव आएको पौडेलको भनाइ छ। अहिले टिकट काउन्टर र ल्याब सेवा ७ बजेदेखि नै खुल्छन्।
‘अस्पतालको समयको कुरा गर्दा प्रशासनिक हिसाबले हेरियो। अहिले संसारभरिका प्रसिद्ध अस्पताल बिहानैदेखि सुरू हुन्छन्। बिहानै सुरू गर्दा प्रभावकारी हुने भएकाले यो अभ्यास सुरू भएको होला,’ उनले भने,‘पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि बिहानै सुरू हुन्छ। हामीले प्रशासनको भन्दा स्वास्थ्यको दृष्टिकोणले हेरेको हो।’
वीर अस्पतालमा पछिल्लो समय बिरामीको चाप ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०७९/०८० मा मात्रै ५ लाख १८ हजार बिरामीले सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्षमा वीरबाट सेवा लिने बिरामीको संख्या ३ लाख जना थियो।
‘आम नागरिकले सेवा लिन वीर अस्पताल छानेको देखियो। अर्को कुरा आर्थिक मन्दीले पनि होला प्रारम्भिक परीक्षण गरेपछि जटिल सेवा लिन वीरमा आउने रहेछन्,’ उनले भने,‘कतिपय सेवा वीरमा धेरै सहज भएकाले यस्तो भएको रहेछ। विशेषगरी अस्पतालको ‘पिक आवर’ भनेको साढे १० देखि साढे १२ बजेसम्म धेरै भीड भएको देखियो।’
अस्पतालले गरेको अध्ययनअनुसार बिरामीको भीड १० देखि साढे १२ र दिउँसो २ देखि ३ बजे हुने रहेछ। अब भने अल्ट्रा साउन्डलगायत सेवा ८ बजेदेखि सुरू भइसक्छन्।
८ बजेदेखि ओपिडी सुरू हुन्छ। सवा १२ बजेसम्म बिहानको सेवा हुन्छ भने १ देखि४ बजेसम्म बिरामी परीक्षण हुन्छ। ४ बजे परीक्षण भएको बिरामीले ल्याब सेवा लिन पर्यो भने ल्याब ५ बजेसम्म खुला हुन्छ।
कार्यकारी निर्देशक पौडेलका अनुसार जटिल उपचार बाहेकका सेवाका लागि बिहान ७ बजे पुगेको बिरामी १२ बजे फर्किन सक्छ। सवा १२ बजेभन्दा अगाडि रगत परीक्षण भयो भने दिउँसोको सेसनमा रिपोर्ट पाइन्छ। सामान्यत: सिटी स्क्यानको लागिसमेत अहिले पालो लिन पर्दैन। सिटी स्क्यान सेवा २४ सै घन्टा खुला हुन्छ। एमआरआई सेवा १२ घन्टा खुला रहन्छ।
‘बिरामीले सेवा लिनका लागि कुर्नुपर्ने अवस्था कम गर्दै लगेका छौं। एकै दिनमा रिपोर्ट ल्याएर चिकित्सकलाई देखाउन सक्ने प्रावधा समेत राखेका छौं। अनलाइन सेवा भने प्रभावकारी भएन। दस प्रतिशतले मात्रै यो सेवा प्रयोग गरेका छन्। सायद यहाँ आउने वर्गले अनलाइन नचलाउने भएर होला,’ उनले भने।
नेपालमा पाइने सेवामध्ये सबैभन्दा सस्तो सेवा वीर अस्पतालमा छ। सरकारी संस्थामा पाइने सेवा सुविधामध्ये सबैभन्दा बढी सेवा वीर अस्पतालमै पाइने उनको दाबी छ।
‘अस्पतालमा पर्ने सबैभन्दा महंगो अपरेसन ब्रेनको न्युरो सर्जरी हो। यसको मूल्य २५ हजार रुपैयाँ हो। निजी अस्पतालमा लाखौं पर्ने अपरेशन वीरमा हजारमा हुन्छ,’ उनले भने,‘हामीकहाँ लाख पर्ने कुनै उपचार छैन। १० प्रतिशत शैया अति विपन्न परिवारका लागि छुट्टाएको छ। बेडसहित कुनै सर्जरी र परीक्षणको उपचार खर्च लाग्दैन।’
वीर अस्पतालको बेडमा बस्ने सबै बिरामीले खानाको पैसा तिर्न पर्दैन। बिरामीले आफैंले ल्याएर पनि खान भने पाउँछन्।
पौडेलका अनुसार वीरको सेवाबारे दुईखाले विचार छन्। यो सरकारी अस्पताल हो सबै नि:शुल्क गर्नु पर्छ भन्ने छ भने हुनेबाट लिएर नहुनेलाई पूर्ण नि:शुल्क गर्नपर्छ भन्ने पनि छ। आफू दोस्रो विचारको पक्षमा रहेको उनले बताए।
‘हामीले अस्पतालको सरसफाइमा ध्यान दिएका छौं। अस्पतालका शौचालय दिनमा कम्तीमा तीन पटक सफा गर्छौं। अहिले कम्तीमा छिछि भन्ने खालका शौचालय छैनन्,’ उनले भने,‘वातावरणीय सरसफाइमा समेत ध्यान दिएका छौं। बगैंचा बनाउने फूल रोप्नेलगायत काम गरेका छौं। त्यस्तै, आकस्मिक सेवालाई सुधार्न प्रयास गरेका छौं।’
अहिले बिरामीको भीड धेरै भए पनि साह्रै गम्भीर बिरामीले बेड नपाउने भन्ने नरहेको कार्यरकारी निर्देशक पौडेलको दाबी छ। अस्पतालको बेडको संख्या ५५ बाट बढाएर ७५ पुर्याउने तयारी छ भने एचडियू बेड २५ बनाएर आकस्मिक र एचडियू गरी १ सय बेड बनाउने सोच छ। अहिले वीर अस्पतालमा सबैखाले गरी ९ सय ६० बेड छन्।
वीर अस्पतालमा भूकम्पपछि जलन उपचार केन्द्र बन्द भएको थियो। यसपालि जलन केन्द्रका लागि बजेट छुट्याइएको छ।
त्यस्तै अपरेशनको क्षमता बढाउनका लागि १२ बाट बढाएर १८ वटा अपरेशन थिएटर बनाउने तयारी रहेको पौडेलले जानकारी दिए। त्यसपछि अपरेशन क्षमता दोब्बर हुन्छ।
‘हामीले बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा सञ्चालन गर्नपर्छ भन्ने महत्वकांक्षी योजनासमेत बनाएका छौं। यसका लागि स्वास्थ्य मन्त्रालय कार्यविधिसमेत बनाएको छ,’ उनले भने।
सबै तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी