प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी हालेर चर्चामा आएका श्रीकृष्ण भट्टराईले उनको नियुक्तिपछि 'नैतिकता देखाउँदै' जिल्ला न्यायाधीशबाट राजीनामा दिएका थिए।
जसको विरूद्ध उजुरी दिएको हो उसकै मातहत काम गर्न नैतिकताले नदिएको भन्दै राजीनामाको बाटो रोजेका भट्टराई आफूले भने दोस्रो विवाह गरेको खुलेको छ।
दोस्रो विवाह गरेको पनि २४ वर्षपछि उनले जेठी पत्नीविरूद्ध जिल्ला अदालत लमजुङमा सम्बन्ध विच्छेदको मुद्दा हालेपछि उनको दोस्रो बिहेको भेद खुलेको हो।
उनले यही असार ११ गते जिल्ला अदालत अर्घाखाँचीको न्यायाधीशबाट राजीनामा दिए। त्यसको दुई सातामै जेठी पत्नीविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका हुन्। उनले दिएको निवेदन (फिरादपत्र) अनुसार जेठी पत्नी मिठूसँग २०४२ सालमा विवाह गरेका भट्टराईले २०५६ मंसिर २६ गते शारदा सिलवालसँग दोस्रो बिहे गरेका थिए।
'नैतिकता देखाउँदै' न्यायाधीश पद त्यागेका भट्टराईको निवेदन अहिले जिल्ला अदालत लमजुङमा चर्चाको विषय बनेको छ।
कैयौं वर्ष 'न्यायमूर्ति' का रूपमा काम गरेका र जागिर छोड्दा पनि नैतिकताको दुहाइ दिएका भट्टराईले जेठी पत्नीलाई अमानवीय व्यवहार गरेको उनकी छोरीहरू बताउँछन्। उनले अदालतमा दर्ता गरेको फिरादपत्रमा जेठी पत्नी मिठूविरूद्ध उनले प्रयोग गरेको भाषा र लगाएका आरोप हेर्दासमेत छोरीहरूको भनाइ पुष्टि हुन्छ।
'विवाहको मण्डपमा एक्कासि आफूभन्दा निकै पाको उमेरको बुढी महिला बेहुलीको भेषमा देख्दा डर लागी मण्डपबाटै भागौं कि भन्ने पनि लाग्यो। जन्त गएका दाइहरूलाई सो कुरा सुनाउँदा त्यसो हुन गएमा बुवाको बेइज्जत हुने मात्र नभई पुलिसले पक्राउ गरेर भए पनि जबरजस्ती विवाह गराइदिने भनी डर, त्रास देखाएकाले चुपचाप अह्राएको मान्नुभन्दा मेरो बाल मस्तिष्कमा अर्को विकल्प सुझेन,' निवेदनमा उल्लेख छ, 'फलस्वरूप निज विपक्षीसँग जबरजस्ती मेरो विवाह सम्पन्न भयो। आफू १५ वर्षको बच्चै भएकाले आफूभन्दा निकै छिप्पेकी निज विपक्षी मलाई आन्टीजस्तो लाग्थ्यो। दौंतरीहरूले पनि आन्टीको लोग्ने भनी जिस्क्याउँथे।'
बिहे गरेको झन्डै ३८ वर्षपछि दिएको निवेदनमा उनले मिठूलाई चरित्रहीन भन्ने कोसिससमेत गरेका छन्। बिहे गरेको केही समयपछि कसैले मिठूबारे कुरा काटेको प्रसंगसमेत उनले फिरादमा उल्लेख गरेका छन्। जसको उनले कुनै आधार प्रस्तुत गरेका छैनन्।
'जे-जस्तो भए पनि आफ्नै स्वास्नीलाई चरित्रहीन भनी आफ्नै अगाडि कुरा काटेको सुन्ने साहस कुनै पनि लोग्नेमा हुँदैन। विपक्षीको विषयलाई लिएर निजसँग मेरो ठूलो वादविवाद भयो,' उनको निवेदनमा उल्लेख छ, 'निजले जो चोर उसकै ठूलो स्वरको शैलीमा आफैं अर्काले गर्भवती बनाई छोडेको केटी विवाह गर्ने र उल्टो ठूलो कुरा गर्ने भनेपछि हाम्रो बीचमा हात हालाहाल भयो। शारीरिक रूपमा निज मभन्दा बलिष्ठ भएकोले मैले कुटाइ खानुपर्यो।'
उनले बाबुआमाको करकापमा आफूभन्दा बढी उमेरकी केटीसँग विवाह गर्नुपरेको फिरादमा गुनासो गरेका छन्।
२०४२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि काठमाडौं अध्ययन गर्न जान खोज्दा बिहेको शर्त राखिएको उनको भनाइ छ।
'विवाहका लागि मानसिक रूपमा बाध्य बनाउने, नभए पढ्न जान नदिने, जबरजस्ती गरेरै भए पनि विवाह गरिदिने भनी ब्ल्याकमेलिङको भाषा प्रयोग गर्दै भविष्य र वर्तमानको संकटमा पर्ने काम भयो,' उनले भनेका छन्, 'उता आमा भने खाना पनि नखाने र रूने गर्न थालेकोले आमाको माया र बुबाको डरले मेरो अगाडि उहाँहरूले जे भन्नुहुन्छ त्यो मान्नुको विकल्प भएन।'
बिहेपछि पत्नी र बुवाआमाको करकापमा सँगै सुत्ने गरेको समेत उनले फिरादपत्रमा उल्लेख गरेका छन्।
पछि कानुन पढ्दा आफ्नो बिहे गैरकानुनी भएको थाहा भएकाले मुद्दा दिन हिँडेको तर बालविवाहमा आफ्ना बुवा नै पक्राउ पर्ने भयले सहेर बसेको समेत उनको जिकिर छ।
जेठी पत्नीले होटलमा काम गर्ने, धेरै परपुरूषहरूसँग सम्बन्ध बनाउने भनेर उनको आचरण, चरित्र र स्वभावलाई हदैसम्म दूषित देखाउने गरी उनले फिराद लेखेका छन्।
मिठूबाट जन्मिएका दुई छोरीलाई पनि आफ्ना नभएको भन्न भ्याएका छन्। परिवारले कर गरेकाले छोरीहरूलाई मानवीयताको नाताले स्वीकार गरेको र उनीहरूको बिहेसम्म धुमधामले गरिदिएको उनले फिरादमा लेखेका छन्।
भट्टराईका जेठी श्रीमतीतर्फ दुई छोरी छन्। जेठी छोरी ३३ वर्षकी र कान्छी ३० वर्षकी छन्। दुवैको विवाह भइसकेको छ।
उनले मिठूले आफ्नो नागरिकता चोरेर आफ्नो नामबाट नागरिकता बनाएको आरोप समेत लगाएका छन्। छोरीहरूको जन्मदर्ता गर्न आफूले नमान्दा-नमान्दै परिवारको करकापले गरिदिनुपरेको पनि उनले फिरादमा खुलाएका छन्।
भट्टराईले जेठी पत्नी आफूभन्दा दस वर्ष पाको दाबी गरे पनि मिठूको नागरिकताले यो खारेज गर्छ। दुवैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि हेर्दा पूर्व जिल्ला न्यायाधीश श्रीकृष्णभन्दा उनकी पत्नी एक वर्ष मात्रै जेठी देखिन्छिन्। नागरिकतामा श्रीमानको जन्म मिति २०२६ फागुन ११ गते उल्लेख छ भने मिठूको जन्म मिति २०२५ फागुन ११ गते देखिन्छ।
भट्टराईले फिरादपत्रमा भने २०४३ सालमा आफूले लिएको नागरिकता घर ल्याउनेबित्तिकै हराएको र त्यति बेला पत्नी मिठूलाई सोध्दा थाहा छैन भन्ने जवाफ पाएको उल्लेख गरेका छन्। उनले मिठूले नागरिकता चोरी गरेको आरोप लगाएका छन्। चोरी गरेको नागरिकताबाट मिठूले २०४६ साल असार ५ गते नागरिकता लिएको भट्टराईले उल्लेख गरेका छन्।
पूर्वन्यायाधीश भट्टराईले जेठी श्रीमतीसँग स्वतः सम्बन्ध विच्छेद भएको र यो कुरामा पहिला मौखिक सहमति भएको समेत उल्लेख गरेका छन्।
'मभन्दा दस वर्ष जेठीसँग झुक्याइ विवाह गराइदिएको पोल खुली त्यस्तो विवाह स्वतः विच्छेद भएको कुरामा विपक्षी साबित भई घर छाडी हिँडेको वर्षौं बितेपछि भएको मेरो विवाहउपर विपक्षीले बहुविवाह मुद्दा दायर गर्ने हकदैयासमेत गुमाई चुप लागी माइतमै बसेकी थिइन्,' उनले फिरादमा भनेका छन्।
भट्टराईले २०५६ मंसिर २६ मा रामेछापकी शारदा सिलवालसँग विवाह गरेका थिए। उनीबाट एउटा छोरा जन्मिएका थिए। ती छोराको २०७८ मंसिर १० मा अमेरिकामा सवारी दुर्घटनामा मृत्यु भएको भट्टराईले बताएका छन्।
अदालतमा आफ्नी आमा मिठूविरूद्ध भट्टराईले यस्तो फिराद दिएपछि छोरीहरूले आपत्ति जनाएका छन्। बिहेको ३८ वर्षपछि यो उमेरमा आएर आमाको उठीबास लगाउन खोजेको उनकी छोरीहरूको भनाइ छ।
उनीहरूको परिवार निकट स्रोतले न्यायाधीश भइसकेको मान्छेले जेठी पत्नीलाई झुटा लाञ्छना लगाएको बताउँछ।
'बुढेसकालमा मिठूले चरित्रहीनको लाञ्छना सहनु परेको छ। उहाँले आफैंले मन पराएर बिहे गर्नुभएको हो। तर अहिले करकाप प्रमाणित गर्न खोज्नु भएको छ। लमजुङ, सुन्दरबजार ९ फेदीकुनाका जो कसैले यथार्थ बताउन सक्छन्। अहिले पेन्सन, सम्पत्ति दिनुपर्छ भनेर उहाँले वृद्ध अवस्थाकी मिठूलाई छोडपत्र दिन खोज्नुभएको हो,' उनको पारिवारिक स्रोतले भन्यो।
के भन्छिन् जेठी पत्नी?
पूर्वजिल्ला न्यायाधीश भट्टराईले मुद्दा दर्ता गरेपछि हामीले जेठी पत्नी मिठूसँग पनि कुराकानी गरेका थियौं।
उनले श्रीमानको तर्फबाट अहिलेसम्म केही नपाएको बताइन्। ससुरा कुलप्रसाद बाँचुञ्चेल आफूले बुहारीको दर्जा पाएको र त्यसपछि हेलाहोचो सहनु परेको बताइन्।
'श्रीमानले असाध्यै लाञ्छना लगाएर मुद्दा दर्ता गरेको थाहा पाएँ। म माइतै बसेको भनेर मुद्दा दर्ता गर्नुभएको रहेछ। म अहिले पनि आफू भित्रिएको थातथलोमा छु। म कतै गएको छैन,' उनले भनिन्, 'पहिले पनि खाली कागजमा सहीछाप गर् भनेर धम्क्याउनुहुन्थ्यो। अहिले पनि उहाँका तर्फबाट केही मानिसहरू आएर धाकधम्की दिने र थलो छाडेर जा भनिरहनुहुन्छ।'
उनले आफूलाई घर-सम्पत्तिबाट बेदखल बनाउन परिपञ्च रचेको पनि बताइन्।
'उहाँले दोस्रो बिहे गरेको, त्यसबाट छोराका जायजन्म भएको पनि सुनेको हुँ। मैले अहिलेसम्म सहेर बसेको थिएँ। दुई छोरीहरू बिहेसमेत भइसकेको छ। यो बुढेसकालमा म कहाँ जाऊँ, म अन्यायमा परेँ,' उनले भनिन्।