ललितपुरको लगनखेलस्थित सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन ललितपुर महानगरले निजी कम्पनीलाई ठेक्का दिएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्।
बिहीबार बिहान पुल्चोकस्थित महानगरपालिकाको भवन अगाडि स्थानीयले प्रदर्शन गरेका हुन्।
वडा नम्बर १२ लगनखेलमा प्रहरी चौकी र वडा कार्यालय रहेको भवनलाई हटाएर सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन लागेको भन्दै प्रदर्शन गरेको लगनखेल समाजका अध्यक्ष पवन रानामगरले जानकारी दिए। उक्त जग्गामा मच्छिन्द्र कम्प्लेक्स बनाउनको लागि महानगरले केबी एभी जोइन्ट भेन्चरलाई ठेक्का दिएको थियो।
उक्त खबर पाएपछि स्थानीयहरूले केही महिनाअघि नै मेयर चिरीबाबु महर्जनलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएपछि छलफलका लागि बोलाउने भने पनि अहिलेसम्म नबोलाएपछि आफूहरूले प्रदर्शन गर्नुपरेको अध्यक्ष रानामगरले बताए।
‘उहाँहरूले छलफलका लागि बोलाउने भनेर बोलाउनुभएन। हाम्रो माग सार्वजनिक जग्गामा कुनै पनि व्यापारिक भवन बन्न भएन भन्ने हो। त्यहाँ रहेको प्रहरी चौकी पनि हटाउन हुन्न भन्ने हो,’ उनले भने।
प्रदर्शनमा २१ वटा टोल सुधार समिति छन्। यसरी भवन बनाउन लागेको विरोधमा उनीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन भने आफूहरूले विधिसम्मत् तवरले भवन निर्माणको लागि काम अगाडि बढाएको बताएका छन्।
उनले प्रहरी आइजिपी बसन्तबहादुर कुँवर, एसएसपी शिद्धीबिक्रम शाहलगायत सरोकारवालाहरू सबैसँग छलफल गरी निर्माण गर्ने प्रक्रिया अघि बढाएको बताए।
विधिसम्मत् तरिकाले नै काम अगाडि बढाएकाले आफू पछि नहट्ने उनले बताए।
‘नजिकका अन्य बिजनेश कम्लेक्सहरूले यसलाई रोक्न खोजेको हो। हामीले मानेनौं। महानगरपालिकाले सबै फुटपाथ पनि हटाउन लागेको छ। पार्किङ पनि हटाउन लागेको छ भनेकाले उहाँहरू आउनुभएको छ,’ मेयर महर्जनले भने, ‘उहाँहरू स्थानीयहरू पनि हुनुहुन्न। एक जना पनि स्थानीय हैनन्।’
महानगरपालिकाले त्यहाँ रहेको वडा कार्यालय भत्काइसकेको छ। प्रहरी चौकी भने विवाद भएपछि नहटेको पनि उनले बताए।
चार तलाको व्यापारिक कम्प्लेक्स बनेपछि वडा कार्यालय र प्रहरी चौकीलाई पनि त्यहीँ राखिने उनले बताए।
‘अहिले जसरी वडा कार्यालय र प्रहरी चौकी राखिएको छ, त्यसैगरी नै राख्न लागिएको हो,’ उनले भने, ‘कुनै केही किसिमको गल्ती भएको छैन।’
१८ महिनाभित्र यो भवन निर्माण सम्पन्न गरिसक्ने तयारी छ। त्यतिञ्जेलको लागि वडा कार्यालय र प्रहरी चौकी भाडाको भवनमा राखिने उनले बताए।
‘प्रहरीलाई राख्नका लागि हामीले भाडामा लिइसकेका छौं। निर्माणको काम हुन्जेल प्रहरी रहँदा अप्ठ्यारो हुन्छ भनेर उता सारिएको हो,’ उनले भने,‘निर्माण सकेपछि उहाँहरू फर्किन सक्नुहुन्छ।’
मेयर महर्जनले प्रदर्शनरतहरूलाई पनि नभेट्ने बताए। ज्ञापनपत्र भए दर्ता शाखामा दर्ता गराएर जान सक्ने उनले बताए।
तस्बिरहरू: