सोमबारदेखि आमरण अनसन बसेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूलाई एक्लो महसुस भएको बताएका छन्।
मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध जनाउँदै त्रिभुवन विश्वविद्यालय परिसरमा अनसन सुरू गरेका चलाउनेले राज्यले नै अपराधी जोगाउन लागेको बताए।
'मेरो शरीरमा चोट नलागेको कतै छैन। मेरो टाउकोमा ७ पटक हानिएको छ। म कहिले पनि निको हुन सक्दिनँ। यो देशको राज्य संयन्त्रको चोटा चोटामा पुग्दा पनि न्याय पाइनँ,' उनले भने,'त्यसमाथि राज्यले मुद्दा फिर्ता लिएको छ अनि म कसरी स्वस्थ हुन सक्छु। म एक्लो जस्तो भएको छु। मेरो लडाइँ एक्लोजस्तो भएको छ।'
उपप्राध्यापक चलाउनेले सोमबार बिहान काठमाडौं जिल्ला अदालत परिसरमै अनसन बस्ने तयारी गरेका थिए। तर प्रहरीले नियन्त्रणमा लिएर उनलाई दिउँसो छाडेको थियो।
जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।
२०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
आफूलाई अहिलेको अवस्थामा आउन समेत दुई वर्ष लागेको उनले बताए।
'म त खरानीबाट उठेको हो। मेरो टाउको, छाती, पेटमा जतासुकै चोट लागेको थियो। मेरो मुख्य हड्डी भाँच्चिएको छ,' उनले भने,'एउटा उपप्राध्यापक तालाबन्दीको विरूद्धमा उभियो भन्दैमा उसलाई मरणाशान्न हुनेगरी कुट्नुलाई के भन्ने हो?'
आफ्नो अनसन जारी रहने भन्दै उनले सबैभन्दा पहिला पहिला मुद्दा फिर्ताको निर्णय तुरून्त खारेज गर्नुपर्ने बताए।
'अदालतले मलाई तीन वर्षसम्म झुलायो, ठग्यो। म जहिलेसम्म न्याय पाउँदिनँ तबसम्म अनसन जारी रहन्छ,' उनले भने, 'म अहिले गुहार माग्न आएको छु। मलाई सहयोग गर्नुहोस्। मेरो न्यायको खातिर पैरवी गर्दिनुहोस्। म गुहार माग्न आएको हो। मलाई गुहार दिनुहोस्।'