गाईवस्तुमा देखिने लम्पी स्किन रोग देशको ७१ जिल्लामा फैलिएको छ। देशव्यापी फैलिएको यो रोगका कारण अहिलेसम्म साढे ९ हजार गाईभैंसीको मृत्यु भएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, दोलखा, धादिङ, मनाङ र मुस्ताङमा भने यो रोग फैलिन बाँकी छ।
पशु सेवा विभागले दिएको जानकारी अनुसार लम्पी सबभन्दा बढी कर्णालीमा फैलिएको छ। त्यहाँमात्र १ लाख ४४ हजार चौपायामा यो रोग देखिएको छ।
यस्तै, कोशीमा ८५ हजार, सुदूरपश्चिममा ६८ हजार, लुम्बिनीमा २५ हजार, बागमतीमा १८ हजार, गण्डकीमा ९ हजार र सबैभन्दा कम मधेशमा एक हजार २५३ चौपायामा यो रोग देखिएको छ।
लम्पीबाट मृत्यु भएको चौपायाको संख्या पनि अन्य प्रदेशको तुलनामा कर्णालीमा निकै बढी छ। कर्णालीमा मात्र ४ हजार ७७५ वटा चौपायाको मृत्यु भएको छ। सबैभन्दा कम मधेशमा ३५ वटा चौपायाको मृत्यु भएको छ।
विभागका अनुसार कोशीमा ११३२, मधेशमा ३५, बागमतीमा ३००, गण्डकीमा ३३०, लुम्बिनीमा ११०, कर्णालीमा ४७७५ र सुदूरपश्चिममा २७४७ गरेर ९४२९ गाईवस्तु मरेका हुन्।
विभागको तथ्यांक अनुसार अहिलेसम्म साढे तीन लाख बढी चौपायामा लम्पी स्किन रोग देखिएको छ। यद्यपि यो संख्या अझै बढी हुनसक्ने विभागका सूचना अधिकारी चन्द्र ढकाल बताउँछन्।
उनले सबै संक्रमणको तथ्यांक विभागसँग पनि नरहेको उल्लेख गर्दै झन्डै पाँच लाख हाराहारी चौपाया लम्पीबाट संक्रमित भएको हुनसक्ने जनाए।
'अहिले विभागलाई परेको ठूलो समस्या नै तथ्यांकको हो। तलबाट माथि तथ्यांक आउने संयन्त्र नै छैन। यो तथ्यांक पनि स्थानीय तहहरूसँग जुम मिटिङ गरेर लिइएको तथ्यांक हो,' ढकालले भने।
लम्पी स्किन रोग गाईमा भन्दा पनि बढी भैंसीमा देखिने गर्छ। यो रोग लागेपछि गाईभैंसीको दूध उत्पादनमा ह्रास मात्र आउँदैन, प्रजनन समस्या तथा गर्भपन समेत हुनसक्छ। यो रोगको अहिलेसम्म प्रभावकारी उपचार नभए पनि खोपलाई नियन्त्रणको एउटा उपाय मानिन्छ।
यद्यपि देशव्यापी प्रकोपको रूपमा फैलिरहेको लम्पीविरूद्धको खोप ल्याउन सरकारले कुनै चासो दिएको पाइँदैन। झन्डै पाँच लाख बढी चौपायामा यो संक्रमण फैलिसक्दा पनि सरकारले खोप ल्याउने कुनै छाँट देखाएको छैन।
तत्काललाई खोप ल्याउने जिम्मा निजी कम्पनीमा दिइएको छ।
पशु सेवा विभागका अनुसार अहिलेसम्म तीन वटा निजी कम्पनीले खोप आयातका लागि अनुमति पाएका छन्। जसमा लोटस भेट इन्टरनेसनल, वनदेवी भेट फर्मा र कान्तिपुर भेट छन्।
यी तीन कम्पनीमध्ये वनदेवी भेट फर्मा र लोटस भेट इन्टरनेसनलले मात्र खोप ल्याएका छन्। कान्तिपुर भेट इन्टरनेसनलले भने अनुमति लिए पनि अहिलेसम्म खोप ल्याएको छैन। बाँकी दुइटा कम्पनीले भने अहिलेसम्म जम्मा २ लाख २५ हजार डोज खोप ल्याएका छन्।
पर्याप्त खोप ल्याउन नसक्दा देशभरका किसानहरू यतिबेला हैरानी भोगिरहेका छन्। सबैभन्दा बढी संक्रमण फैलिएको कर्णालीको एउटा स्थानीय तहमा हामीले कुराकानी गर्दा उक्त नगरपालिकामा अहिलेसम्म एउटा पनि खोप पुग्न सकेको छैन।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा अहिलेसम्म १ सय ३७ वटा चौपायाको मृत्यु भइसके पनि नगरमा एउटा पनि खोप नआइपुगेको नगरका मेयर हस्त पुनले जानकारी दिए।
'सिंगो कर्णालीमा जम्मा २ सय वटा खोप आयो भन्ने सुनेको छु। त्यो पनि कसलाई वितरण गर्ने भनेर टुंगो हुन सकेन भन्ने छ,' मेयर पुनले भने।
उनले नगरमा लम्पी स्किन रोगका कारण भएको समस्याबारे प्रदेश र केन्द्र सरकारमा पटकपटक जानकारी गराए पनि केन्द्र सरकारले बजेट लगायत स्रोतको समस्या देखाउँदै जिम्मेवारीबाट पन्छिएको जनाए।
'अहिलेको अवस्थामा आर्थिक समस्या सबैलाई छ तर पनि हामीले हाम्रो स्रोतलाई सकेसम्म परिचालन गरेर गर्ने सक्ने काम गरिरहेका छौं अनि प्रदेश र केन्द्र चाहिँ चुप लागेर बस्न पाइन्छ?,' मेयर पुनले रोष पोखे।
अहिलेसम्म नगरपालिकाले झन्डै पाँच लाखको पारासिटामोल, घाउ सफा गर्ने लगायत अन्य औषधि किसानहरूलाई निःशुल्क उपलब्ध गराइसकेको छ। केन्द्र सरकारले खोप लगायत औषधि मात्र उपलब्ध गराइदिए जनशक्ति परिचालन गरेर घरघरमा सेवा पुर्याउने उल्लेख गर्दै मेयर पुनले भने, 'जनशक्ति परिचालन गर्न कुनै समस्या छैन। सरकारले खोप मात्र उपलब्ध गराइदिए हामी ठाउँठाउँ पुगेर खोप लगाउने काम गर्छौं तर सबै काम स्थानीय तहले गरोस् भन्ने कुरा त जवाफदेहिता भएन नि।'
नगरको पशु शाखा अधिकृत मनोज पुनका अनुसार गुर्भाकोटको कोटामा जम्मा ३ सय डोज खोप परेको छ। जबकी नगरमा १५ देखि २० हजार डोज आवश्यक पर्छ।
एक दुई दिनमा आइपुग्ने ३ सय डोज खोप व्यावसायिक गाईभैंसी पालन गर्ने किसानहरूलाई सुरूमा वितरण गर्ने योजना रहेको पुन बताउँछन्।
अहिले गुर्भाकोट मात्र होइन देशभरका अधिकांश पालिकाका किसानहरूको दुःख उहीँ छ।
गुर्भाकोटको पशु शाखामा मात्र दैनिक १५ देखि २० जना किसानहरू लम्पी स्किन रोगका कारण गाईभैंसीमा देखिएको समस्या लिएर पुग्छन्।
अहिले गर्मी मौसमका कारण लम्पीका कारण गाईभैंसीमा आएको गिर्खाहरू पाक्ने हुँदा किसानहरूलाई थप समस्या भएको छ।
सामान्यतया यो रोग लागेपछि गाईभैंसीमा १०४ डिग्रीभन्दा माथि ज्वरो आउने गर्छ। दाना पानी कम खाने र दूध उत्पादनमा समेत व्यापक ह्रास आउँछ।
त्यस्तै, छालामा गोलो गिर्खाहरू देखिन्छ। प्राय: गिर्खाहरू सुरूमा टाउको र घाँटीको बागमा आउने गर्छ र कहिलेकाहीँ गिर्खाहरू फुटेर गहिरो घाउ भई कीराहरूले घाउलाई थप जटिल बनाउन सक्छ। यसबाहेक थुतुने, मुख र नाकभित्र पनि घाउ देखिने गर्छ।
यो रोग लामखुट्टे, किर्ना र झिंगाजस्ता कीराहरूको टोकाइबाट सर्ने हुँदा गोठको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। प्राकृतिक र कृत्रिम गर्भाधारणबाट पनि यो रोग सर्ने हुँदा ती कुराहरूलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। यसबाहेक यो रोग लागेको शंका लागेमा तुरून्त प्राविधिक, स्थानीय तहको पशु शाखा वा भेटनरी अस्पताललाई जानकारी गराउनुपर्छ।