मस्तिष्क पक्षघात भनेको दुई किसिमको हुन्छ। एउटा इस्केमिक स्ट्रोक हो भने अर्को हेमोरेजिक स्ट्रोक हो।
स्केमिक स्ट्रोकमा इस्केमिक स्ट्रोकमा रगत जमेर मस्तिष्कको धमनी बन्द हुन्छ। त्यस्तो अवस्थामा मस्तिष्क सुख्खा हुँदै जान्छ।
हेमोरेजिक स्ट्रोक भनेको मस्तिष्कमा रगतको नसा फुटेर रगत जम्मा भएको अवस्था हो।
स्केमिक स्ट्रोकमा 'बी फास्ट'(ब्यालेन्स,आई,फेस,आम्स,टाइम)महत्वपूर्ण हुन्छ। अर्थत् शरीरको सन्तुलन, आँखा, अनुहार, पाखुरा, बोली र समय ख्याल गर्नुपर्छ।
यस्तो बेला शरीरको सन्तुलनमा समस्या आउँछ। आँखा एकछिन नदेख्ने, कहिले एउटाले मात्र देख्ने हुनसक्छ। अनुहारमा र्याल चुहिने, अनुहारको एउटा भाग बांगो हुने लगायत हुन्छ। त्यस्तै पाखुराको एक पाटा नचल्न सक्छ। बोली नफुट्ने हुन सक्छ। यस्ता लक्षण देखिएमा समयमै अस्पताल ल्याउनुपर्छ भन्ने हो। त्यसैले ४ देखि ५ घण्टाको बीचमा अस्पताल ल्याइसक्नुपर्छ।
४ देखि ५ घण्टामा अस्पताल पुग्न सकेमा अपरेसन र औषधिको सहायताले उपचार हुनसक्छ। तर ५ घण्टाभन्दा ढिलो पुगेमा रगतको नशाबाट पाइप छिराएर 'थम्बेक्टोमी' गरिन्छ। तर त्यस्तो अवस्थामा मस्तिष्कलाई खोल्न भने पर्दैन।
बिरामीलाई लक्षण देखिएको १६ देखि १८ घण्टाभित्र अस्पताल ल्याउने सकेमा आधा प्यारालाइसिस भइसकेको छ भने समेत निको हुन्छ। त्यसैले पक्षघातको संकेत बुझ्न धेरै जरूरी छ। सकेसम्म ४ देखि ५ घण्टासम्म बिरामी आइपुगेमा औषधिकै सहायताले समेत उपचार हुने सम्भावना धेरै हुन्छ। त्यस्तो अवस्थामा खर्च पनि थोरै हुन्छ। ५ घण्टाभन्दा ढिलो भएमा र १६ देखि १८ घण्टासम्म आइपुगेमा न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार गर्नुपर्छ।
मस्तिष्क पक्षघात ३० वर्ष कटेपछि नै हुन थालेको छ। महिलाभन्दा पुरूषलाई धेरै पक्षघात हुन्छ। मधुमेह, उच्च रक्तचापलाई लापरबाही गरेमा मस्तिष्क पक्षघात धेरै हुन्छ। त्यस्तै चुरोट खाने र रक्सीको धेरै सेवन गर्नेहरूलाई मस्तिष्क पक्षघात हुने खतरा रहन्छ। स्वस्थ जीवनशैली अपनाउने र व्यायाम गर्ने, नियमित स्वास्थ्य परीक्षण गरेमा मस्तिष्क पक्षघातको खतरा कम हुन्छ।
पुरूषहरूले बढी चुरोट, रक्सी खाने, बाहिर खाने गर्छन् अनि उनीहरूलाई उच्च रक्तचाप, मुटु र मधुमेहको समस्या देखिन्छ।त्यसले गर्दा उनीहरूलाई मस्तिष्क पक्षघातको सम्भावना हुन्छ।
हेमोरेजिक स्ट्रोकमा मस्तिष्कभित्र रगत जम्मा हुन्छ। त्यो किन हुन्छ भने रगतको नशा कहिलेकाहीँ फुट्छ। कहिलेकाहीँ रगतको नशाको गुजुल्टो हुन्छ। रगतको नशा फुटेपछि मस्तिष्कमा रगत जम्मा हुन्छ। त्यस्तो अवस्थामा पनि न्युरो इन्टरभेन्सन प्रविधिबाट उपचार गर्न सकिन्छ। त्यस्तो अवस्थामा दुई तरिकाले अपरेसन गर्न मिल्छ। एउटा टाउको खोलेर उपचार गर्न मिल्छ भने अर्को इन्टरभेन्सन प्रविधिबाट उपचार गर्ने हो।
(इन्टरभेन्सनल न्युरो सर्जन डा. प्रसन्ना कार्की ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन्।)