झापाको कनकाई नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरू गरेको छ।
नगरपालिकाको सभाहलमा बुधबार एक कार्यक्रम आयोजना गर्दै नगरका २८ भूमिहीन घरपरिवारलाई धनीपुर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले बताए।
जग्गाधनी प्रमाण पुर्जा हातमा लिएपछि अधिकांशले भने, ‘धनीपुर्जाको आशैआशमा मरिन्छ कि भन्ने लागेको थियो, जे होस्, जग्गाको मालिक हुन पाइयो।’
मेयर पोख्रेलका अनुसार वडा नम्बर ५ का २२ र वडा नम्बर ८ का ६ भूमिहीन दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीले धनीपुर्जा पाएका छन्।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी पनि जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रममा सहभागी थिइन्। भूमिहीन तथा सुकुम्बासीलाई जतिसक्दो चाँडो धनीपुर्जा वितरण गरेर उनीहरूको हक स्थापित गर्न सरकार लागिपरेको उनले बताइन्।
मन्त्री चौधरीले भूमिहीन सुकुम्बासी बलराम मण्डललाई धनीपुर्जा वितरण गरेर कनकाईमा जग्गाधनी प्रमाण पुर्जा वितरण अभियानको शुभारम्भ गरेकी थिइन्।
मेयर पोख्रेलले माथिल्लो तहको आवश्यक सहयोग नपाउँदा कनकाईका पाँच हजारभन्दा बढी भूमिहीन, अव्यवस्थित बसोवासी तथा सुकुम्बासीले धनीपुर्जा पाउन नसकेको बताए।
उनले भने, ‘जतिसक्दो चाँडो भूमिहीनलाई जग्गा प्रदान गर्न र सोको धनीपुर्जा उनीहरूको हातमा थमाउन पालिका चाहन्छ। तर माथिल्लो निकायको असहयोगका कारण चाहेको समयमा जग्गाको स्वामित्व प्रदान गर्न सकिएन।’
कनकाई नगरपालिकाले ६ वर्षदेखि भूमिका लागि कर्मचारीको व्यावस्थापन गरेर काम गरिरहे पनि यस अवधिमा न्यून संख्यामा धनीपुर्जा वितरण गर्न सकिएको जनाएको छ।
मन्त्री चौधरीले बुधबारै इलामको चुलाचुली गाउँपालिकामा पनि जग्गाधनी प्रमाण पुर्जा प्रदान गरेकी छन्।