जाजरकोटको छेडागाड नगरपालिका–२, सुयडाकी विपना बुढा ९ कक्षामा पढ्छिन्। यो वर्षको पढाइ सुरु भएयता उनले खेल्ने र घरको काम सघाउने समय पाएकी छैनन्। दिनभरको थकानले सम्साँझै निद्रा लाग्छ। जसरी भए पनि राति ८ बजेसम्ममा होमवर्क (गृहकार्य) सक्नुपर्छ। कहिलेकाहीँ त सबै त होकवर्क पूरा हुँदैन।
बिदाको दिनबाहेक घरको काम सघाउने समय हुँदैन। विद्यालय जान दुई घण्टा लाग्छ, आउन त्यति नै समय। दिनको चार घण्टा त बाटोमै बित्छ। हिँडाइको थकानले बेलुका धेरै बेर बस्न सक्दिनन्।
विपनाको हिँडाइ यसरी लम्बिएको गत वैशाख पहिलो सातादेखि हो। उनले कक्षा ८ सम्म घर नजिकैको इन्द्रज्योति आधारभूत विद्यालयमा पढिन्। बढीमा आधा घण्टा लाग्थ्यो, साथीहरूसँग गफ गर्दै हिँड्दा बाटो काटेको पत्तै नहुने।
गृहकार्य गर्न र घरको काम सघाउन समय पर्याप्त हुन्थ्यो। बेलुका ढिलोसम्म बस्न सक्थिन्।
आधारभूत विद्यालयमा बढीमा ८ कक्षासम्ममात्रै पढाइ हुन्छ। ९ कक्षा पढ्न सबैभन्दा नजिकको विद्यालय अर्को गाउँ अँदरकोटस्थित लक्ष्मी माध्यमिक विद्यालय हो। यो विद्यालय पनि छेडागाड गाउँपालिकाको वडा नम्बर २ मै पर्छ र तर विपनाको एकतर्फी हिँडाइँ कम्तीमा दुई घण्टाको हुन्छ। सुयडाबाट जाने विपना जस्ता अरू पनि छन्। सबै जना बिहान ढिलोमा पनि ८ बजे बाटो लागिसक्छन्।
‘बिहान ५ बजे उठेर बाँकी होमवर्क गर्नुपर्यो। कहिलेकाहीँ होमवर्क गरेर सकिँदैन,’ १४ वर्षीया विपना भन्छिन्, ‘बिहान साढे ७ बजेसम्ममा खाना खाइसक्नुपर्छ। ढिलोमा ८ बजे हिँड्दामात्रै १० बजेसम्ममा पुगिन्छ।’
विद्यालय घर आइपुग्दा साँझ ६ बज्छ। तुरून्तै होमवर्क गर्न नबसे सबै सकिँदैन। उनी भन्छिन्, ‘घर पुग्नेबित्तिकै होमवर्क गर्न बस्छु। हिँडेर थकाइ लागेको हुन्छ। बेलुका चाँडै निद्रा लाग्छ।’
मिलन बुढा पनि सुयडाकै हुन्। उनको अवस्था पनि विपनाकै जस्तो हो। उनले पनि ८ कक्षासम्म इन्द्रज्योतिमै पढे। उनले भने, ‘पोहोरसम्म नजिकै पढ्थेँ, ९ र १० कक्षा पढ्न अँदरकोट नै पुग्नुपर्छ। नजिकमा अर्को स्कुल छैन।’
उनीहरूलाई स्कुलमा चाँडै भोक लाग्छ। खाजा खाने छुट्टी हुने वेलासम्म पर्खिन मुश्किल पर्छ तर नपर्खेर धर छैन। खाजा प्रायः घरबाटै लैजान्छन्। नलगेका दिन स्कुल नजिककैको सानो होटलमा खान्छन्।
लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ मा ९० जना विद्यार्थी छन्। यीमध्ये १२ जना त सुयडाबाटै जान्छन्। सुयडाजस्तै अर्को गाउँ चुवाँबाट पौने दुई घण्टा हिँडेर विद्यार्थीहरू स्कुल पुग्छन्। चुवाँबाट नौ कक्षामा पढ्न जाने विद्यार्थी २६ जना छन्।
हिँड्नु भनेर मात्रै पनि हुँदैन। विकट भूगोलमा ठाउँठाउँमा बाटो पनि खराब छ।
लक्ष्मी माध्यमिक विद्यालय मध्यपहाडी मार्गको नजिकै छ। धेरै विद्यार्थी त्यही बाटोमा हिँड्छन् तर स्थानीय सार्वजनिक यातायातको नियमित सुविधा छैन। विद्यार्थीहरू हिँड्नुको विकल्प छैन।
टाढाबाट जाने विद्यार्थीहरू विद्यालयले नै यातायातको साधन व्यवस्था गरे हुन्थ्यो भन्छन् तर त्यसो हुन सकेको छैन। उनीहरू टाढाका विद्यार्थीका लागि छात्रावास भए पनि हुन्थ्यो भन्छन् तर त्यो पनि छैन।
‘छात्रावास भए त्यसमै बस्न हुन्थ्यो। दिनदिनै हिँड्ने दुःख हुने थिएन,’ विपना भन्छिन्, ‘बिहान र बेलुका हिँड्नै ठिक्क हुन्छ। स्कुलमा खेलिन्छ पनि। घर पुग्दा धेरै थकाइ लागेको हुन्छ।’
विकट भौगोलिक अवस्थिति र छरिएका बस्ती भएका जाजरकोटका अधिकांश क्षेत्रमा विद्यार्थीहरू लामो दूरी हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ।
छेडागाड नगरपालिकाका शिक्षा अधिकृत खडक केसी भन्छन्, ‘छेडागाड नगरपालिका भित्रका १५ वटा माध्यमिक विद्यालयमध्ये चारवटामा माध्यमिक तहका विद्यार्थी दुई घण्टासम्म पैदल हिँडेर पुग्छन्।’
छेडागाडामा जम्मा ९३ वटा विद्यालय छन्। केही विद्यालयमा आधारभूत कक्षाका विद्यार्थीहरू पनि लामो दूरी हिँड्नु पर्छ।
‘वस्तीहरू छरिएका छन्। भौगोलिक विकटता छ,’ केसी भन्छन्, ‘सानो बस्ती भएका ठाउँमा माध्यमिक विद्यालय हुँदैन। सबैलाई नजिक हुने गरी माध्यमिक विद्यालय स्थापना गर्न पनि सकिँदैन।’
लामो दूरी हिँडेर विद्यार्थीहरू आउने विद्यालयमा आवासीय सुविधाको अवधारणा ल्याइएको भए पनि कार्यान्वयन गर्न नसकिएको उनले बताए।
इन्द्रज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर थापा माध्यमिक विद्यालयहरूमा आवासीय सुविधा हुनु उपयुक्त हुने बताउँछन्। सडकको सुविधा भएका विद्यालयले यातायातको साधन व्यवस्था गर्दा पनि राम्रो हुन्छ।
यहाँको भौगोलिक अवस्थिति र आर्थिक स्रोतको अभावका कारण विद्यार्थीको सुविधानका लागि चाँडै छात्रावास बन्ने वा सवारी साधनको व्यवस्था हुने देखिँदैन।
तस्बिर : दिपकजंग शाही /सेतोपाटी