उनले ढाडमा धनुष बाँधेका थिए। सेतोमा विशेष किसिमको पहेँलो बुट्टा भएको फेटा र मयुरको प्वाँखको लहरले शिर सजाएका थिए। कम्मरमा पहेँलो पटुका बाँधेका थिए।
यसरी साकेला नृत्यको पोशाकमा सजिएर उनी हँसिलो मुहारका साथ स्टेजमा खडा भए।
उनी हुन् विजय राई छाङ्छा।
विजयसँगै आइन् यशोदा गुरूङ। लगत्तै प्राविधिकहरूले गीतको धुन बजाए। यशोदाले गीतको भावअनुसार हातले नाचको संकेत गरिन्। विजय नाच्न थाले। यशोदाले संकेत गरिरहिन्, विजय नाचिरहे।
यसरी उनी सात मिनेट नाचे। सारा दर्शकले उठेर ताली बजाए।
दुई साताअघि राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) नेपाल कार्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा विजयले साकेला नृत्य प्रस्तुत गरेका हुन्।
उक्त अवसरमा श्रवणविहीन, दृष्टिविहीन तथा ह्विलचेयर प्रयोगकर्ताहरूले आआफ्ना कला प्रस्तुत गरेका थिए।
विजय यसरी ठूलो स्टेजमा साकेला नाच्न पाएकोमा खुसी थिए। उनी सुन्न र मुखले आवाज निकालेर बोल्न सक्दैनन्।

'मेरो नाचको सम्मान गरेर दर्शकहरूले उठेर थप्पडी बजाए, म धेरै खुसी भएँ,' सांकेतिक भाषामै उनले भने। उनको संकेत यशोदाले शब्दमा अनुवाद गरेर हामीलाई सुनाइन्। विजयले यशोदालाई काठमाडौंमा भेटेका हुन्।
विजयले फेरि संकेत गरे, 'जीवनका कठिन पहाडहरू उक्लिन मलाई सहज भएन। धेरै दुःख पाएँ।'
साकेला किरात राईको महान चाड हो, वर्षमा दुईपटक मनाइन्छ। मार्ग शीर्ष पूर्णिमा अर्थात मंसिर पूर्णिमामा उँधौली साकेला र वैशाख पूर्णिमामा उँभौली साकेला मनाइन्छ।
विजयले गत वैशाखको उँभौली साकेलाका अवसरमा नृत्य प्रस्तुत गरेका थिए। त्यो नृत्य अलिक विशेष प्रकारको थियो। 'प्रदेश एक' को नाम 'कोशी प्रदेश' राखिएको विरोधमा वैशाख २२ गते साकेला चाडमै उनी नाचेका थिए।
विजय राम्ररी लेखपढ गर्न सक्छन्। उनले बाह्र कक्षा उत्तीर्ण गरेको दुई वर्ष भयो। कागजमा लेखेर आफ्नो कुरा भन्न सक्छन्। हामीलाई पनि केही कुरा लेखेरै देखाए।
पूर्वी पहाडको भोजपुर जिल्ला, बस्ती गाउँमा जन्मेका उनी जन्मिँदै श्रवणविहीन थिए। बोल्नुपर्ने समयमा बच्चा नबोलेपछि अभिभावकहरूले शंका गरे। स्थानीय स्वास्थ्य चौकीमा लगे। उनी सुन्न सक्दैनन् भन्ने पक्का भयो।
विजयकी आमा उर्मिलाले टेलिफोनमा भनिन्, 'सुरूमा थाहा भएन, बोल्ने बेलामा नबोलेपछि मात्रै शंका भयो।'
छोराको अवस्थाले आमाबाबु दुःखी थिए।
'छोरा सुन्न सक्ने होओस् भन्ने लाग्थ्यो तर उपचार लागेन,' विजयका बुबा भीमले भने, 'गाउँमा 'लाटो' र 'लाटाका आमाबाबु' भन्ने परिचय हुन थाल्यो।'
आजभोलि भन्दाभन्दै दिन बित्दै गयो। विजय हुर्किँदै गए। उनी ६ वर्षका भएपछि छरछिमेकीको सल्लाहअनुसार उपचारका लागि काठमाडौं ल्याए। आमाबाबुले भएको अलिकति जमिन बेचेर खर्च जुटाए।
धेरै डाक्टरहरूलाई देखाए। उनी सुन्न सक्ने भएनन्।
आमाबाबुले विजयलाई स्कुल भर्ना गरे। शिक्षक र साथीहरूले बोलाएको विजय सुन्दैनथे। सुन्न नसक्ने भएपछि कक्षामा एक्ला भए। शिक्षकले पनि बेवास्ता गर्थे।
'म हातको इशाराले शिक्षकलाई केही भन्न र सोध्न चाहन्थेँ तर उनीहरू बुझ्न प्रयास नै गर्दैन थिए। उल्टै टाउकोमा पिट्थे। साथीहरू पनि लाटो भनेर जिस्क्याउँथे,' विजयले हातको संकेतले भनेका कुरा यशोदाले शब्दमा अनुवाद गरिदिइन्।
सुन्न नसकेपछि पढाइमा अप्ठ्यारो भयो। आँखाका भरमा जति बुझ्थे, त्यतिमै सीमित भयो। पढाइमा कमजोर हुँदै गए। आखिर कक्षा ६ को परीक्षामा तीन पटक असफल भए। पढाइ यत्तिकै रोकियो।

आमाबाबु उनलाई पढाएर शिक्षित बनाउन चाहन्थे। उमेर बढ्दै थियो। एक जना चिनारूको माध्यमबाट विजय सत्र वर्षको उमेरमा काठमाडौंको नक्सालस्थित केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालयमा सात कक्षामा भर्ना भए।
यहीँबाट उनी सांकेतिक भाषामा कुरा गर्न सक्ने भए। यहाँ उनले नसुन्नु र नबोल्नुको समस्या र अपमान भोग्नु परेन। सबै विद्यार्थी उनीजस्तै थिए। उनले नरोकिई बाह्र कक्षा पूरा गरे।
'नक्सालको स्कुलमा भर्ना भएपछि सांकेतिक भाषामा पनि पढ्न सकिँदो रहेछ भन्ने थाहा पाएँ। मेरो पढाइ अघि बढ्यो,' उनले भने।
उनको बसाइ ललितपुरको इमाडोलमा थियो। सार्वजनिक बसबाट आउजाउ गर्थे। कहिलेकाहीँ बसमा पनि दुर्व्यवहार भोग्नुपर्थ्यो। आफ्नो समस्या मुश्किलले आमाबुबालाई बुझाउँथे। यतिकैमा कक्षा दससम्मको पढाइ पूरा भयो।
विजयले आफ्नो आत्मविश्वास भने बलियो राखिरहे। एक दिन उनलाई स्कुटर चलाउन सक्छु भन्ने लाग्यो। साथीहरूको सहयोगमा चलाउन सिके पनि। अनि छात्रवृत्तिमा पाएको केही पैसामा थपथाप गरेर आमाबुबाले उनलाई एउटा पुरानो स्कुटर किनिदिए।
आवाज नसुने पनि उनी ऐनाको सहारामा स्कुटी चलाउँछन्।
भन्छन्, 'स्कुटरको ऐना सफा राख्छु। ऐना हेरेरै थाहा पाउँछु।'
स्कुटर चलाएको केही वर्ष भयो तर उनीसँग सवारीचालक अनुमति पत्र (लाइसेन्स) छैन। कहिलेकाहीँ ट्राफिक प्रहरीले रोकेर माग्छन्। उनी आफ्नै तरिकाले कुरा बुझाउने प्रयास गर्छन्।
श्रवणविहीन अर्थात बहिरा व्यक्तिलाई पनि सवारी लाइसेन्स दिने व्यवस्था गर्न उनको माग छ।
'हाम्रा लागि सवारी लाइसेन्सको व्यवस्था सजिलो छैन। हामीले पनि लाइसेन्स पाउनुपर्छ भन्ने मेरो माग हो,' उनले भने।
विजयले स्कुटर पछि सिके पनि साकेला नाच १७ वर्षकै उमेरमा जानेका थिए।
गाउँमा उनलाई आमाले साकेला नाच हेर्न लैजान्थिन्। विशेषगरी आफ्ना हजुरबुबाको नाचले उनलाई प्रभावित गरेको थियो। सुरूमा त उनलाई सिक्न गाह्रो भयो। अहिले त जानिसके। नाच्न सजिलो लाग्ने उनी बताउँछन्।
साकेला नाच्न विशेष किसिमको पोशाक चाहिन्छ। विजयले पोशाक किनेको दुई वर्ष मात्र भयो। यतिका वर्ष भने उनी हजुरबुबाको पोशाक लगाएर नाचे।
विजयलाई साकेला मात्र होइन, अरू गीतमा पनि नाच्न मन लाग्छ। तर श्रवण नहुनेलाई सजिलो छैन। साकेला नाच भने सानैदेखि देखेकाले पनि केही सहज भएको उनले बताए।

काठमाडौंमा किरात समुदायका मानिसहरूसँग भेट भइरहन्छ। उनको भेट किरात राई यायोक्खा संघीय कार्यसमितिका पदाधिकारीहरूसँग भयो। संस्थाले उनलाई कार्यक्रमहरूमा बोलाउन थाल्यो। अवसर पाएसम्म साकेला नाच प्रस्तुत गरे।
यो क्रम जारी छ।
'किरात समुदायका संस्थाहरूले मेरो भावना बुझे। मलाई साकेला नाचमा प्रेरित गरे। सांस्कृतिक कार्यक्रमहरूमा सधैं बोलाउँछन्,' उनले भने।
विजयले विभिन्न सम्मानपत्र र प्रशंसापत्र पनि पाएका छन्।
सांकेतिक भाषा अनुवादक यशोदासँग भेट भएपछि विजयलाई धेरै सहज भएको छ। यशोदा आफैं कार्यक्रमहरूमा सकेसम्म सहभागी भएर नृत्यमा सहयोग गर्छिन्।
'हाम्रो संस्थाले श्रवण नभएकाहरूलाई सहयोग गर्छ। म विजयलाई संस्थाकै तर्फबाट सहयोग गर्छु,' यशोदाले भनिन्, 'दुःखसुखका कुरा भन्नुहुन्छ। आफ्नै भाइजस्तो लाग्छ।'
विजय प्याकेजिङ सम्बन्धी उद्योगमा कार्टनको काम गर्छन्। साकेला नाच्ने कार्यक्रममा जान नरोक्ने गरी उद्योगका साहुसँग सहमति भएको छ।
कानमा श्रवण शक्ति र मुखमा शब्द नभएका व्यक्तिलाई 'लाटो' भनेको उनलाई राम्रो लाग्दैन। हरेक व्यक्तिमा कुनै न कुनै क्षमता हुन्छ।
'कुनै अपांगताका आधारमा अपमान गर्नु ठिक होइन, क्षमताको सम्मान गर्नुपर्छ,' उनको धारणा छ।