बचतकर्ताले बैंकमा राखेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा एभरेष्ट बैंक इटहरीका शाखा प्रबन्धकसहित नौ जना पक्राउ परेका छन्।
सुनसरी प्रहरीका अनुसार प्रबन्धक विश्वराज शाक्यसहित नौ जनालाई बचतकर्ताको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो।
सर्वसाधारणको खाताबाटै रकम चोरी भएपछि प्रबन्धकको मिलेमतो हुनसक्ने देखिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए।
३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे ८ घर भएका ४२ वर्षीय शाक्यसहित ९ जनालाई पक्राउ गरेको हो। उनीहरूमध्ये सात जना बैंकका कर्मचारी हुन्।
पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो। यस अवधिमा ५९ पटक कनेक्ट आइपिएसमार्फत सो रकम निकालेको देखिएको प्रहरीले जनाएको छ।
बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आइपिएसको आइडी पासवर्ड चोरेर रकम पठाउने गरेका थिए। त्यस्तै कोर बैंकिङ सिस्टम (सीबीएस) बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकालेको पाइएको प्रहरीले जनाएको छ।
यो प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बैंकका उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो।
त्यस्तै धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन्।
ग्राहकको कनेक्ट आइपिएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान हुन्।
इटहरी शाखामा कार्यरत प्रधानको गत मार्चमा गाइघाट सरुवा भएको थियो। उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आइपिएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ। त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ।
कर्मचारीले ग्रहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ।
‘३३ जनाको खाताबाट खातावालालाई जानकारी नदिइ रकम निकालेको देखिन्छ,’ डिएसपी राईले भने, ‘सात जना बैंकका कर्मचारी र अन्य दुई जना पक्राउ परेका छन्।’
उनका अनुसार आफ्नो खाताबाट रकम हराएपछि ग्राहकले बैंकमा जानकारी गराएका थिए। बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो। प्रधानमाथि केरकार गर्दा बैंकभित्रको संगठित जालो पत्ता लागेको डिएसपी राईले बताए।
बैंकको शाखा कार्यालयका प्रबन्धकसहित कर्मचारीको संगठित जालो देखिएपछि इटहरी शाखाका ६ जना कर्मचारीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।