आमाबुवाले आफ्नो सन्तानलाई राम्ररी हुर्काउने जिम्मेवारी हुन्छ। सन्तानले पनि वृद्धा आमाबुवाको रेखदेख गर्नुपर्छ भन्ने त छँदै छ। तर वृद्ध बुवाआमाको रेखदेख गर्नुपर्ने अनिवार्य अवस्था कानुनले नै सिर्जना गरेको छ भन्नेबारे धेरैलाई थाहा हुँदैन।
किनभने यो कानुन हाम्रा लागि नयाँ हो।
२०७४ सालमा संशोधन भएको ‘जेष्ठ नागरिकसम्बन्धी ऐन’ ले छोराछोरीले आमाबुवालाई हेरविचार र संरक्षण गर्नुपर्छ भनेर कानुनमा उल्लेख गरेको छ। कानुनअनुसार ज्येष्ठ नागरिक एवं आर्थिक अवस्था कमजोर भएका आमाबुवालाई छोराछोरीले अनिवार्य रूपमा हेर्नुपर्छ।
तर के अंशबण्डा गरेको परिवारमा पनि यो कानुन लागु हुन्छ? रेखदेख नगरेको भनेर अभिभावकले सन्तानविरूद्ध उजुरी हाल्ने कानुनी प्रक्रिया के हो? विदेशमा बस्ने छोराछोरीले खान/लाउन नदिए वा वृद्धाश्रममा छोडिदिए कहाँ उजुरी दिने? यी जिज्ञासा लिएर हामीले अधिवक्ता विष्णु बस्यालसँग कुराकानी गरेका छौं :
छोराछोरीले वृद्ध अभिभावकको स्याहार-सुसार अनिवार्य रूपमा गर्नुपर्छ कि पर्दैन? कुन अवस्थामा पर्छ, कुन अवस्थामा पर्दैन?
कुनै परिवारभित्र अंशियारबीच अंशवण्डा भएको छैन भने छोराछोरीले आफ्ना आमाबुवाको अनिवार्य स्याहार-सुसार गर्नुपर्छ। अंशवण्डा भइसकेको अवस्थामा सामान्यतया छोराछोरीले आमाबुवालाई स्याहार गर्नुपर्दैन। तर यदि ज्येष्ठ अभिभावक (आमाबुवा) आर्थिक रूपमा सशक्त छैनन भने अंशवण्डा गरेपछि पनि छोराछोरीले आफ्नो अभिभावकको स्याहार-सुसार र रेखदेख गर्नुपर्ने कानुन छ।
कति वर्षको उमेरमा र कस्तो अवस्थामा ज्येष्ठ नागरिक भनिन्छ र हेरचाह नगरेको भनेर उजुरी हाल्न मिल्छ?
नेपालको कानुनले ६० वर्ष पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरेको छ। ज्येष्ठ नागरिकभित्र पर्ने एकल महिलालाई ६० वर्ष पुगेपछि सरकारले भत्ता दिन्छ भने अरू नागरिकलाई राज्यले ७० वर्ष पुगेपछि भत्ता दिन्छ।
राज्यसँगै परिवारका सदस्यको पनि अभिभावकप्रति केही जिम्मेवारी हुन्छ।
परिवारका सदस्यले आफ्ना आमाबुवालाई खान लाउन दिएनन्, हेरविचार गरेनन्, आश्रममा लगेर छोडे, घरनिकाला गरे भने नजिकैको स्थानीय तहमा गएर उजुरी हाल्न मिल्छ।
आमाबुवाले सन्तानविरूद्ध कुन र कस्तो अवस्थामा उजुरी दिन सक्छन्?
छोराछोरीले आफ्नो आमाबुवाको रेखदेख नगरे, खानलाउन नदिए, पालनपोषण नगरे वा स्याहार सुसार नगरे आमाबुवाले सन्तानविरूद्ध उजुरी हाल्न मिल्छ। ज्येष्ठ नागरिक अभिभावकविरूद्ध घरपरिवारका कुनै व्यक्तिले कुनै प्रकारको घरेलु हिंसा गर्न नहुने कानुन पनि छ। उमेर ढल्किँदै गएका आमाबुवालाई वृद्धा आश्रममा लगेर छोडिदिएमा वा घर निकाला गरेमा सन्तानविरूद्ध उजुरी दिन मिल्छ।
ज्येष्ठ नागरिक अभिभावकलाई शारीरिक, आर्थिक वा मानसिक यातना दिनु पनि दण्डयोग्य काम हो।
आमाबुवालाई उनीहरूको इच्छाविपरीत कुनै काम वा निर्णय गर्म दबाब दिएमा पनि उजुरी हाल्न मिल्छ। यस्तोमा भने बाआमा वृद्ध हुनैपर्छ भन्ने छैन। जस्तै २५ वर्षका छोराछोरीलाई ४५ वर्षका बाबुआमाले पनि रेखदेख नगरेको, घरनिकाला गरेको वा यातना दिएको भन्दै उजुरी दिन सक्छन्। यसरी उजुरी हाल्नको लागि ज्येष्ठ नागरिक उमेर समूह (६० वर्ष उमेर) पुगेको हुन पर्दैन।
विदेशमा बसेका छोराछोरीविरूद्ध हेरचाह नगरेको वा सुरक्षा-स्वास्थ्य सुविधा नदिएको हकमा उजुरी हाल्न मिल्छ?
कतिपयको छोराछोरी विदेशमा बस्दै आएका हुन्छन्। तर नेपालमा बसेका तिनका आमाबुबाको आर्थिक अवस्था भने कमजोर हुन सक्छ। त्यस्तो अवस्थामा विदेश बसेका छोराछोरीले रेखदेख गरेन, खानलाउन पैसा पठाएन वा घर निकाला गरेमा पनि नजिकैको वडा कार्यालयमा उजुरी हाल्न मिल्छ। वडा कार्यालयले ती छोराछोरीलाई इमेल वा स्थायी ठेगानामा म्याद पत्र पठाइन्छ र थप कारबाही हुन्छ।
सन्तानबाहेक परिवारका अरू अंशियारलाई पनि उजुरी हाल्न मिल्छ?
आमाबुबाको रेखदेख गर्ने धेरै जिम्मेवारी उनको सन्तानलाई हुन्छ। तर ज्येष्ठ नागरिक अभिभावकलाई छोराछोरीले मात्र नभएर नातेदार, रेखदेख गरिरहेको व्यक्ति र सबै अंशियारले हेर्नुपर्ने ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा उल्लेख छ। कानुन अनुसार अभिभावकले सन्तानलाई मात्र नभएर परिवारका अरू अंशियारलाई पनि उजुरी हाल्न मिल्छ।
उजुरी कहाँ र कसरी दिने? मुद्दा कसरी चल्छ?
ज्येष्ठ नागरिक ऐन अनुसार कुनै अभिभावकले छोराछोरीविरूद्ध उजुरी हाल्नु पर्यो भने नजिकैको वडा कार्यलयमा रहेको न्यायिक समिति वा वडाध्यक्ष समक्ष उजुरी हाल्न मिल्छ। जेष्ठ नागरिकको उजुरी वडाध्यक्ष ले हेर्ने हुँदा उजुरीको प्रावधान हेरेर दर्ता गरिन्छ। उजुरी परेको छोराछोरीलाई सोही वडा कार्यालयमा बोलाइन्छ। त्यहाँ दुई पक्षबीच मेलमिलाप गराउने प्रयास गरिन्छ। तर यदि वडाबाट समस्या हल भएन भने थप कारबाहीको लागि उच्च अदालतमा पुनरावेदन गरिन्छ र काम अगाडि बढाइन्छ।
घरबाट निकाला गरेमा वा खान लाउन नदिएमा घरेलु हिंसासम्बन्धी ऐन अन्तर्गत मुद्दा हाल्न मिल्छ।
अब सन्तानले नस्याहारेको प्रमाणित भए के कारबाही हुन्छ?
आमाबुवाले सन्तानविरूद्ध उजुरी दर्ता गर्दा सन्तानले स्याहार नगरेको प्रमाणित भएमा स्थानीय तह वा अदालतले छोराछोरीको आर्थिक अवस्था हेरेर मासिक क्षतिपूर्ति अभिभावकलाई दिनुपर्ने आदेश जारी गर्न मिल्छ। घरेलु हिंसा अन्तर्गत अभिभावकले घर निकाला गरेमा वा खाना लाउन नदिएको कारण उजुरी हालेमा ६ महिना कैद वा ३ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै हुन सक्छ। तर ज्येष्ठ नागरिक ऐन अनुसार उजुरी हालेमा दायित्वबोध गराउने वा अनिवार्य रूपमा हेर्नुपर्ने आदेश अदालतले दिन सक्छ।
हेरचाह नगरेको छोराछोरीले बाबुआमाको मृत्युपछि सम्पत्ति पाउँछन्?
बाबुआमा जीवित हुँदा छोराछोरीले हेरविचार पालनपोषण गरेको छैन भने मृत्युपछि सो सम्पत्तिको हकअधिकार सन्तानले पाउँदैनन्। आमाबुवाले सो सम्पत्तिलाई रेखदेख गर्ने जोकोही वा कुनै संस्थालाई दिन सक्छन्। कोही सन्तान नभएको खण्डमा सो सम्पत्ति अन्तिममा राज्यले लिन सक्छ।
सन्तान र अभिभावकबीच यस्तो अवस्था आउन नदिन के गर्नुपर्छ?
न्यायसम्बन्धित जुनसुकै निकायमा सबैभन्दा बढी मुद्दा परिवारसित सम्बन्धित देखिन्छ। त्यसकारण परिवारभित्र पारिवारिक मिलन हुन एकदमै जरूरी छ। हरेक मान्छे स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार कानुनले दिएको हुनाले अभिभावक र छोराछोरी दुवैले यी हकअधिकारको साथ बाँच्न पाउनुपर्छ। अहिलेको कानुनले बाबुआमालाई सन्तानप्रतिको दायित्व र सन्तानलाई बाबुआमाप्रतिको दायित्व तोकिएको हुनाले कोही पनि यी दायित्वबाट चुक्नु हुँदैन।