सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका शिव ढकालले केही दिनअघि ३५ वटा बाख्रा सस्तो मूल्यमा बेचे। उनले ग्राहकले भनेकै मूल्यमा दिए।
उनले नियमित आम्दानीका लागि बाख्रापालन गरेका थिए। बाख्रा पाल्नको झन्झटले वा अर्को कुनै व्यवसायमा लागेकाले बेचेका होइनन्। पानीको समस्याले नबेची नहुने बाध्यता आइलागेकाले हो।
‘मैले पानीकै समस्याले ३५ वटा खसीबाख्रा सस्तो मूल्यमा बेचें। नियमित आम्दानी गर्ने भनेर पालेका बाख्रा पानी खुवाउन नसकेपछि जति दाम आउँछ त्यतिमै नबेची भएन,’ उनले भने, ‘ग्राहक आएर यति दाम दिन्छु भने। पानी खुवाउन नसकेपछि बाख्रा पाल्न सकिने भएन। सस्तैमा भए पनि बेच्नु नै उचित ठानें।’
शिवसँग अहिले एउटा भैंसी मात्र छ। त्यसलाई पनि खडेरीको समयमा नुन मिसाएको कुँडो खुवाउँदैनन्।
‘शीतलमा बाँधेर राख्छु। हरियो घाँस खुवाउँछु। दिनमा एकपटक थोरै पानी दिन्छु,’ उनी भन्छन्, ‘त्यति पानी त भैंसीलाई देखाएजस्तो मात्र हुन्छ तैपनि बाध्यता यस्तै छ। नुन खुवाउँदा धेरै तिर्खाउने भएकाले खडेरीको समयमा नुनै दिँदैनौं।’
रेक्चा गाउँमा वर्षौंदेखि पानीको अभाव छ। आजकाल रेक्चावासीले दैनिक बढीमा ७० लिटर पानी पाउँछन्। यतिले त दिनभरका लागि घरभित्रको आवश्यकता पूरा गर्न पनि मुश्किल पर्छ।
‘हामी दिनमा दुई गाग्री पानी पाउँछौं, एउटा गाग्री बढीमा ३५ लिटरसम्मको हुन्छ,’ शिव भन्छन्, ‘एक दिनमा पाउने पानीले पिउने, खाना पकाउने, भाँडा धुने र यस्तै जरुरी काम मात्रै हुन्छ। कपडा धुन, नुहाउन, पशुचौपायालाई दिन पुग्ने कुरै भएन।’
शिवले हिउँदमा हुने वर्षाको पानी ड्रममा जम्मा गरेर बाख्रालाई खुवाउने सोचेका थिए। त्यसअनुसार तयारी पनि गरेका थिए। उनका अनुसार यसपालि हिउँदमा राम्रो वर्षा भएन, पानी जम्मा हुन सकेन।
उनले भने, ‘यसपालि हिउँदमा राम्ररी पानी नै परेन। खडेरी लागेपछि थोरैमात्र पानी पाइन थाल्यो। बाख्रालाई खुवाउने पानी भएन।’
रेक्चावासीको पानीको स्रोत इनार हो। खडेरी बढ्दै गएपछि इनारमा पर्याप्त पानी जम्मा हुँदैन। गाउँभरिमा १८ वटा इनार छन्। ती इनार हेर्ने एक जना चौकीदार छन्।
खानेपानी समितिले चौकीदारलाई इनारको पानी विचार गरेर निश्चित मात्रामा दिनू भनेको हुन्छ। चौकीदारले निर्देशनअनुसार पानी दिन्छन्।रेक्चा गाउँमा बसोवास सुरु भएको ५ शताब्दी भन्दा धेरै भएको स्थानीयवासीको अनुमान छ। परापूर्वकालदेखि नै पानीको स्रोत इनार नै हो।
शिवले भने, ‘हामीलाई सबै इतिहास प्रष्ट हुने कुरा त भएन तर यहाँका बासिन्दा ५ सय वर्षअघिदेखि इनारकै पानी खान्थे भन्ने सुनेका छौं। यहाँका केही इनार धेरै पुराना छन्। केही त पुरिए।’
शिवको घरमा हाल दुईजना मात्र छन्। अरू पाँच सदस्य गाउँबाहिर छन्। कतिपयले परिवार संख्या थोरै हुनेसँग पानी मागेर पनि काम चलाउने गरेको उनले बताए।
‘यहाँ एउटै घरमा ११ जनासम्म छन्। उनीहरू त इनारबाट पाइएको पानीले नपुगेर छरछिमेकमा माग्न जानुपर्छ,’ शिव भन्छन्,’ ‘कहिलेकाहीँ हामी पनि दिन्छौं।’
पानीको अभावकै कारण रेक्चाका केही परिवार बसाइँ सर्ने क्रममा रहेको वडा सदस्यसमेत रहेका रेक्चाकै बासिन्दा तपेन्द्र बिसीले भनाइ छ।
‘यहाँ पानीको ठूलो समस्या छ। स्वास्थ्य सेवाको सुविधा छैन। सडकको पनि समस्या छ,’ उनी भन्छन्, ‘यस्तो समस्याले मानिसहरू बसाइँ सर्ने क्रममा छन्। केही परिवार पानीकै समस्याले हिँडिसके।’
बर्खाको समयमा पर्याप्त पानी भए पनि मंसिरदेखि घट्दै गएर राम्ररी वर्षा नहुँदासम्म अभाव हुने गरेको छ। सबैभन्दा बढी समस्या वैशाख–जेठमा हुन्छ।
‘दिनमा बढीमा ७० लिटर पानी पाउँछौं। त्यति पाउन पनि धेरै बेर पालो कुर्नुपर्छ। अर्को दिनसम्म त्यसैले पुर्याउनुपर्छ,’ बिसी भन्छन्, ‘कति पानी दिने भनेर निर्धारण गर्छौं। वितरणको काम चौकीदारले गर्छन्।’
बिसीका अनुसार हेरक दिन बिहान ६ बजेदेखि १० बजेसम्म इनार खुल्छ। त्यही समयमा पानी लिइसक्नुपर्छ। इनारको गहिराइ अधिकतम १२ मिटर छ।
‘रेक्चामा ५ सय वर्षअघिदेखि बस्ती बसेको भन्ने कुरा छ। बस्ती बढ्दै जाँदा पानीको अभाव बढ्दै गयो,’ बिसीले भने, ‘हामी एक दिन बिराएर पशुचौपायालाई पानी खुवाउँछौं। हातगोडा धोएको पानी जम्मा गरेर खुवाउनुपर्छ।’
उनका अनुसार रेक्चाबाट पानी भएको सबैभन्दा नजिकको खोलामा पुग्न ३ घण्टा लाग्छ, जान–आउन ६ घण्टा। खोलो टाढा भएपछि इनारबाहेक विकल्प छैन।
उनी भन्छन्, ‘जमिनमा उर्बरा शक्ति भएकाले खडेरीमा पनि धेरै सिँचाइ आवश्यक पर्दैन। नत्र त अन्नको पनि अभाव हुने थियो।’
श्याम नाम्जालीको परिवार २०६३ सालसम्म रेक्चामै थियो। त्यसपछि वीरेन्द्रनगरमा सर्यो। खानेपानी, सडक, स्वास्थ्य, बिजुली जस्ता आधारभूत आवश्यकतामै समस्या भएपछि आफ्नो परिवारले गाउँ छोडेको उनले बताए।
‘म २०३० सालमा रेक्चामा जन्मिएको हुँ। २०६३ सम्म त्यहीँ बसेका थियौँ। त्यतिबेला पनि हामीले पानीको समस्या भोगेको हो,’ उनले भने, ‘खानेपानीको समस्या समाधान हुन्छ भन्दाभन्दै वर्षौं बित्यो। इनारको पानीले नपुगेपछि हामी त कहिलेकाहीँ दियालो बालेर राति खोलामा पनि जान्थ्यौँ।’
रेक्चा गाउँमा बेदखोलाबाट लिफ्टिङ गरी खानेपानी पुर्याउने आयोजना छ तर त्यसको काममा निरन्तरता छैन।
संघीय सरकारले पहिलो चरणमा १ करोड २६ लाख रुपैयाँ दिएको थियो। आयोजनाको काम सुरु भएको चार वर्ष पूरा भयो तर काम सकिएको छैन।
खोलासम्म विद्युत प्रसारण लाइनले पूर्णता नपाउँदा र तीन किलोमिटर सडक बनाउने काम नहुँदा आयोजना पूरा हुन नसकेको हो।
शिव भन्छन्, ‘लिफ्टिङ गरेर पानी ल्याउन ठेक्का भएको छ। बजेट पनि आएको छ तर काम निरन्तर हुन सकेको छैन।’
रेक्चाको खानेपानी समस्यामा गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), को पहलमा उच्च अदालत, सुर्खेतमा अधिवक्ता प्रकाशबाबु ऐडी र इन्सेकका कर्णाली कार्यक्रम अधिकृत परिस्कृत पौडेलले गत वैशाख २७ गते मुद्दा दायर गरेका छन्।
मुद्दामा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय र चौकुने गाउँपालिकालाई विपक्षी बनाएका छन्।
उच्च अदालत सुर्खेतले वैशाख २८ गते नै १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ। रेक्चामा दैनिक खोनपानीका लागि तत्काल गर्न सकिने सम्भावित कामबारे प्राविधिकको सहयोगमा लिखित जवाफ पठाउन पनि अदालतले भनेको छ।
रेक्चा गाउँमा खानेपानी पुर्याउन गाउँ कार्यपालिकामा कुरा उठे पनि बजेट व्यवस्था गर्न नसकिएको कार्यपालिका सदस्य तथा चौकुने गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमलादेवी विकले बताइन्।
‘रेक्चाको खानेपानी समस्याका बारेमा कार्यपालिकामा कुरा त उठ्छ तर समाधानका लागि काम गर्न सकिएको छैन,’ उनले भनिन्, ‘माथिल्ला सरकार (प्रदेश र संघ) बाट लिफ्टिङ आयोजना पनि निरन्तर कार्यान्वयन भएको छैन।’
बर्खाको पानी जम्मा गर्न २०७४ सालमा गाउँमा तीनवटा घैंटा बनाउने भनेर वडा कार्यालयले तीन लाख रुपैयाँ छुट्याए पनि बालुवा, सिमेन्ट लगायतका सामग्री ढुवानी महँगो पर्ने भएपछि कार्यान्वयन गर्न नसकिएको उनले बताइन्।
रेक्चा क्षेत्रमा हर्रेकाँडा, जेवाला र रेक्चा गाउँ पर्छन्। यी सबै गाउँमा खानेपानीको मुख्य स्रोत इनार नै हो। सबैभन्दा बढी समस्या रेक्चामा छ।
हर्रेकाँडा र जेवालामा बर्खाको पानी संकलन गर्न प्लास्टिकका ड्रम पनि राखिएका छन्।
वडाध्यक्ष बिसीका अनुसार खानेपानीका लागि काकाकुल बनेको रेक्चा गाउँमा कम्तीमा ९० घरधुरी छन्। जनसंख्या करिब ३ सय छ।