केही समय अघिसम्म जमुना निरौला अधिकारी नेकपा एमालेको भ्रातृ संस्था 'युवा संघ नेपाल' को केन्द्रीय सदस्य थिइन्। झापा, दमक–२ बस्ने उनी उतैबाट एमाले राजनीतिमा सक्रिय थिइन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीदेखि दमकका सबैजसो एमाले नेताले व्यक्तिगत रूपमै चिन्छन्।
अहिले भने उनी दिक्क लागेर पार्टीमा सक्रिय हुन छाडेको बताउँछिन्।
जमुनाले आइतबार साँझ सेतोपाटीसँग फोनमा कुरा गर्दै भनिन्, 'युवा संघको केन्द्रमा थिएँ, यसपालि राष्ट्रिय भेलामा पनि गइनँ। यही घटनाले मलाई दिक्क लगाएको हो।'
जमुनाले भनेको 'यही घटना' राजनीतिक भन्दा पनि आर्थिक विषय हो। यो घटनामा उनी र उनका श्रीमान आफ्नै पार्टीका उपल्लो तहका नेताको छोराबाट ठगिएका छन्।
एमाले केन्द्रीय सदस्यसमेत रहेका दमकका पूर्वमेयर रोमनाथ ओलीका छोरा अनिलले जमुनाका श्रीमान कृष्ण अधिकारीलाई अस्ट्रेलिया पठाइदिन्छु भन्दै १५ लाख रूपैयाँ लिएका थिए। अस्ट्रेलिया पठाउन त परको कुरा, अनिल लामो समयदेखि सम्पर्कविहीन भए।
यसबीचमा कृष्ण र जमुनाले अनिलका बुबा रोमनाथदेखि पार्टी अध्यक्ष केपी ओलीसम्मलाई गुहारे। पार्टीका स्थानीय कमिटीका नेताहरूलाई पनि भने। कतैबाट पनि पैसा उठ्ने संकेत नदेखिएपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिए। विभागले अनिलविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। अहिले उनी फरार छन्।
जमुनाले ब्याजमा खोजेको पैसा डुबेको डुब्यै छ।
'यही घटनाले विरक्त पारेको हो,' जमुनाले भनिन्, 'अनिलका बुबा (रोमनाथ) लाई यसबारे जानकारी गराउँदा उल्टै हप्काउनुभयो। केपी ओलीसम्म कुरा पुर्याइयो, यसबारे उहाँलाई थाहा छ। उहाँले अब कानुनी प्रक्रियामा जानु भन्नुभयो।'
अहिले जमुना-कृष्ण र उनीहरूजस्तै अरू धेरै पीडितहरू दमक प्रहरीमा गएर अनिलको खोजी गरिदिन आग्रह गरिरहेका छन्।
अनिलका बुवा रोमनाथ दमक नगरपालिकामा २०५४ र २०७४ मा गरी दुईपटक मेयर भइसकेका व्यक्ति हुन्। केपी ओलीसँग उनको टाढाको नाता छ। केपी ओलीलाई उनी काका भन्छन्। राजनीतिक र व्यवहारिक रूपमा उनीहरूबीच घनिष्ठ सम्बन्ध छ। दमक केपी ओलीको निर्वाचन क्षेत्रमा पर्ने सबभन्दा ठूलो पालिका हो। त्यस हिसाबले केपी ओलीको निर्वाचन क्षेत्रको राजनीति सम्हाल्न रोमनाथको ठूलो हात छ।
रोमनाथ लामो समयदेखि दमकस्थित केपी ओलीकै घरमा बस्दै आएका छन्। उनका छोरा अनिल पनि त्यही घरमा बस्थे। अनिलले केपी ओलीलाई हजुरबुवा भन्छन्। अनिलले 'शर्मा ओली' नाममा फेसबुक चलाउँछन्। फेसबुक कभरमा केपी ओलीकै तस्बिर राखेका छन्।
उनका बुवा रोमनाथ झापामा तुलनात्मक रूपले सरल र सादगी राजनीतिज्ञ भनेर चिनिन्छन्। दुई कार्यकाल मेयर हुँदा पनि आर्थिक अनियमितताको दाग नलागेका उनी यति बेला अनिलका कारण तनावमा छन्। तर उनी दाबीका साथ छोराको बचाउ गरिरहेका छन्।
'यो घटनामा मेरो छोरालाई जानाजान फसाउन खोजिएको छ,' रोमनाथले भने, 'जिन्दगीमा आफैं त विदेश जान नसकेको मान्छेले अरूलाई विदेश पठाइदिन्छु भन्दा पत्याएर पैसा दिनेहरूले सुरूमा मलाई किन भनेनन्? सबैजसो मेरा चिनजानका र केही आफन्त नै थिए। पैसा अर्कैले लगेपछि अहिले मेरो छोरालाई देखाएर गनगन गरिरहेका छन्।'
रोमनाथले यो मामिलामा अरू धेरै कुरा सार्वजनिक रूपमै बोलेका छन्। उनको कुराभन्दा अघि घटनाको सुरूआती विन्दुतिर लागौं।
उनका छोरा अनिल दमककै केही कलेजमा लामो समयदेखि होटल म्यानेजमेन्ट विषय पढाउँदै आएका थिए। अनिल दुई सन्तानका बाबु हुन्।
उनले झापा र मोरङ क्षेत्रका कम्तीमा १६ जनासँग विदेश पठाइदिने भन्दै लाखौं रूपैयाँ उठाएको आरोप छ।
यो गत दसैंभन्दा केही समयअघिको कुरा हो। दमक-२ का युवा प्रेम गुरागाईं आफ्ना मिल्ने साथी कृष्ण अधिकारीसँग विदेश जाने सल्लाहमा थिए। सात वर्ष दुबई बसेर २०७८ फागुन अन्तिमतिर घर फर्केका उनले २०७९ को सुरूदेखि नै घर बनाउन थाले।
घर बन्दै जाँदा पैसा अभाव भयो, पूरा नहुने अवस्था भयो। नौ जनाको परिवारको मुख्य भरोसा आफैं भएकाले उनी फेरि विदेशिने सोचमा थिए।
दमक बजारमा चल्दाचल्दैको मोबाइल पसल कोरोना कहरपछि बन्द गरेका उनका साथी कृष्ण अधिकारी पनि विदेशिने धुनमै थिए। यसरी दुवै जनाको लक्ष्य एकै भएपछि परिवारमा कुरा चल्यो। अनिलसँग उनीहरूको भेट त्यही बेला भएको थियो।
कृष्णकी पत्नी जमुनाले पनि श्रीमान र उनका साथीको इच्छा थाहा पाइन्। जमुनाले अनिलले 'राम्रो ठाउँमा' पठाउने सुनेकी थिइन्।
'मेरो साथी कृष्णकी पत्नी जमुनालाई म सानीमा भन्छु। उहाँले अनिलजीले विदेश पठाउने काम गर्नुहुन्छ भनेपछि उहाँसँग कुरा गर्ने भयौं,' प्रेमले भने, 'कुरा गर्दा अनिलले हो म पठाउँछु, तपाईंहरू नजिकको मान्छे, म अस्ट्रेलिया पठाइदिन्छु भन्नुभयो।'
दमक नगरमा राम्रो राजनीतिक प्रभाव भएको परिवारकै सन्तानले यसो भनेपछि उनीहरूमा अस्ट्रेलिया जाने रहर जाग्यो।
'तपाईंहरूलाई सबै कानुनी प्रक्रिया पूरा गरेर वैधानिक रूपमै लैजाने हो भन्नुभयो,' कृष्णले सुनाए, 'उहाँको कुरामा विश्वास गर्यौं। सुरूमा दुई लाख रूपैयाँ दिनु अनि टिकटका लागि अलग्गै तीन लाख दिनु भन्नुभयो। बाँकी पैसा उतै पुगेर दिए हुन्छ, मेरो मान्छे तपाईंहरूसँगै अस्ट्रेलिया जान्छ भन्ने उहाँको कुरा थियो।'
आफ्नै पार्टीका जिम्मेवार नेताका छोराले यसो भनेपछि जमुनाले पनि पति कृष्णलाई हौस्याइन्। कृष्ण र प्रेमले दुई–दुई लाख रूपैयाँ बुझाए। यो २०७९ भदौ अन्तिमको कुरा हो।
त्यसको केही दिनमा अनिलले फेरि दुवै जनासँग एक–लाख रूपैयाँ मागे।
'हामीले त्यो पनि बुझायौं र दसैंभन्दा पछि अनि तिहारभन्दा अघि दुई लाख फेरि बुझाएर हामी अस्ट्रेलिया जान भनेर भारतको बागडोग्रा हुँदै प्लेन चढेर लखनउतिर लाग्यौं,' प्रेमले भने।
लखनऊ जाने बेलामा उनीहरूका साथमा अरू तीन जना पनि थपिए। दमककै दमननाथ ढुंगाना, विराटनगरका आकाश निरौला र मोरङ इटहराका छत्रपति कार्की पनि टोलीमा थपिएका थिए। उनीहरू सबैलाई अस्ट्रेलिया पठाउने भनिएको थियो।
प्रेमका अनुसार पैसा लिने बेलामा अनिलले 'अस्ट्रेलियासम्मै मेरो मान्छे साथैमा हुन्छ' भने पनि लखनऊ पुग्दानपुग्दै उनीहरू वेवारिसे जस्तो भएका थिए।
'लखनऊमा हामीलाई रिसिभ गर्ने मान्छे आउँछ भनिएको थियो, आएन,' प्रेमले भने, 'केही दिनपछि मात्रै श्रीबहादुर गुरूङ भन्ने आइपुगे। उनैले हामीलाई व्यवस्थापन गर्ने कुरा थियो।'
जानेबित्तिकै उडान प्रक्रिया सुरू हुन्छ भनिए पनि ढिलाइ भएपछि अस्ट्रेलिया जान हिँडेको टोलीले अनिललाई ह्वाट्सएपमा खबर छाडे। उनले कुनै प्रतिक्रिया दिएनन्। त्यस बेला नेपालमा चुनावी चटारो थियो।
'चुनावी व्यस्तताले होला भनेर हामीले चित्त बुझायौं,' प्रेमले भने, 'एक दिन राति दुई बजे हाम्रो उडान हुने भयो भन्ने खबर अनिलले गरे। श्रीबहादुर पनि त्यस्तै खबर लिएर आए। डलर साट्न अनि सामान प्याक गर्न भनिएको थियो।'
त्यही रात केहीबेर अघिसम्म आफूहरूसँगै रहेका श्रीबहादुर एक्कासि हराए। अनि बल्ल आफूहरू ठगीमा परेको पो हो कि भन्ने शंका पहिलोपटक उब्जेको उनको भनाइ छ।
'दुई बजे राति उडान छ भन्ने खबर आएको थियो। हातमा कागजपत्र भने केही थिएन,' प्रेमले भने, 'साथीहरू यस्तो पाराले कसरी गइन्छ भन्न थाले। हामीलाई पहिलोपटक शंका भएको थियो। भोलिपल्ट अनिलले केही कागज नपुगेका कारण उडान नभएको भनेर आश्वस्त पारे। हामीले पनि होला भन्ने ठान्यौं।'
यस्तो ठान्ने दमककै उनी र कृष्ण मात्रै थिए। अरू तीन जना नेपाल फर्किए।
कृष्णले लखनऊमा भइरहेका गतिविधिबारे दमकमा रहेकी पत्नी जमुनालाई खबर गरिरहेका थिए। उनले अनिललाई सोधिरहेकी थिइन्।
अनिलले पनि 'उडान पक्का हुन्छ' भनिरहे।
'अरू फर्के पनि तपाईंहरू नफर्किनू, उडान भइहाल्छ भन्दै हामीलाई ढुक्क पारिरहे,' प्रेमले थपे, 'नभन्दै तिहारपछि हाम्रो कागजपत्र पनि आयो। अस्ट्रेलियाको लागि टिकट पनि आयो।'
उनीहरूको हातमा टिकट र कागजात परेपछि त्यो खबर उनीहरूले नेपाल फर्केका साथीहरूलाई पनि सुनाए। साथीहरूले भने थकथकी मान्दै उनीहरूलाई बधाइ दिए। गाउँघरका साथीभाइले पनि उनीहरू दुवैलाई बधाइ सन्देश सामाजिक सञ्जालमा लेखे।
त्यही बेला अनिलले दमक घरमा रहेका कृष्ण र प्रेम दुवैका श्रीमतीहरूलाई अब टिकट पनि आइसकेका कारण थप पैसा दिनुपर्ने भनेछन्।
त्यो खबर थाहा पाएपछि उनीहरूले अनिललाई सोधे, 'पाँच लाख अहिले अनि बाँकी दस लाख उतै पुगेर दिए हुन्छ भनेको होइन?'
जवाफमा अनिलले भने, 'भनेको त हो। तर टिकट पनि भइसकेका कारण बुझाउनुपर्ने ठाउँमा दिनैपर्ने भयो। त्यसैले बाँकी पैसा दिन भन्दिनुस्।'
प्रेमका अनुसार विदेश जाने र राम्रो कमाइ हुन्छ भन्ने भएपछि ऋण खोजेर १५ लाख रूपैयाँ तयार थियो। पैसाको कारोबार के हो के हो भन्ने भएपछि प्रेम र कृष्ण दुवैले घरमा आफ्नो परिवारलाई सरकारी वकिललाई साक्षी राखेर, कागज गरेर थप पैसा दिनू भने।
'यसरी २०७९ कात्तिक १५ मा कागज गरेर थप दस–दस लाख बुझायौं,' प्रेमले भने, 'अब उड्ने दिनको प्रतीक्षामा हामी टिकटको मिति हेर्दै बस्न थाल्यौं।'
उक्त कागजमा उडाउन नसके कात्तिकभित्रै रकम फिर्ता गर्ने शर्तनामा अनिलले गरेका थिए। तीन दिनपछि उड्ने मिति थियो। अरू दिन जस्तै वेबसाइटमा उनीहरू चेक गर्थे। अरू बेला यति दिन बाँकी भन्ने सिस्टमले त्यस दिन 'समथिङ वेन्ट रङ' भन्ने सूचना दियो। उनीहरू झसंग भए। त्यही दिन थाहा भयो, उनीहरूको टिकट रद्द भएछ।
उनीहरू लखनऊको होटलमा थिए। त्यस बेला थाहा पाए, अनिल मार्फत नै दक्षिण कोरिया जान हिँडेको अर्को टोली नजिकैको अर्को होटलमा त्यसैगरी अलपत्र रहेछ। उनीहरूको साथमा श्रीबहादुर गुरूङ पनि रहेछन्।
'उनीहरूलाई कोलकाता पठाउन रेलमा तयार पारिएको रहेछ,' प्रेमले भने, 'श्रीबहादुर गुरूङ त फेला परे। तर हामीले पैसा उनलाई बुझाएको होइन। उनलाई जबरजस्ती रोक्ने हामीसँग कुनै आधार थिएन।'
पछि थाहा भयो, कोलकाता पुगेको केही दिनमा कोरिया हिँडेको टोली पनि नेपाल फिरेछ।
बस्दै जाँदा साथमा रहेको पैसा पनि सकिन थाल्यो। घरबाट पनि तारन्तार फोन आउन थाल्यो।
'यसरी घर छाडेको २८ औं दिनमा हामी नेपाल फर्कन गाडी चढ्यौं,' प्रेमले भने, 'मंसिर १ मा सुनौली नाका आइपुगेका हामी भोलिपल्ट घर पुग्यौं। ४ गते चुनाव थियो। भोट हाल्यौं। अनि बल्ल अनिललाई भेट्यौं।'
त्यस बेलाको भेटमा पनि अनिलले केही कागजात नमिलेका कारण यस्तो भएको भन्दै सकेसम्म चाँडो उडाउने भन्न थाले। त्यसपछि मात्रै उनीहरूले अनिलको परिवारलाई गएर भेटेका हुन्।
'हामीले उताबाट फर्केपछि मात्रै परिवारलाई गएर भेट्यौं,' कृष्णकी पत्नी जमुनाले भनिन्, 'त्यस बेला उल्टै हामीलाई हप्काउने काम भयो। चुनावलगत्तै अनिल घर छाडेर हिँडेका रहेछन्। उनकी आमाले मेरो छोरा कहाँ लग्यौ भनेर उल्टै र्याखर्याख्ती पार्नुभयो।'
त्यस दिन परिवारलाई जानकारी दिएर फर्केका उनीहरूले दुई दिनपछि प्रहरीमा जाने भन्दै ओली परिवारलाई सूचना दिए। अनिल त्यसको दुई दिनपछि घर आए।
त्यही बेला उनले 'उठाएको पैसा सबै श्रीबहादुर गुरूङले लगेर बिजोग पारेको' कुरा सुनाए।
अनिलले प्रहरी, परिवार र पीडितहरूसामु भने, 'अब श्रीबहादुर गुरूङलाई पक्राउ परेपछि मात्रै हाम्रो पैसा उठ्ने भयो। त्यतिन्जेल पर्खिन पर्यो।'
पीडितहरूले अनिलका बुबा रोमनाथलाई अब के गर्ने भनेर सोधे।
'उहाँले त्यस बेला यस्तो फटाहालाई विश्वास गरेर किन त्यतिधेरै रकम दिएको भनेर फेरि हप्काउनुभयो,' जमुनाले भनिन्, 'त्यसपछि श्रीबहादुर गुरूङविरूद्ध मुद्दा हाल्ने कुरा भयो। अनिलले हालेको उजुरीका आधारमा श्रीबहादुर पक्राउ परे।'
दुई महिनाअघि पक्राउ परेका श्रीबहादुर अहिले झापा कारागारमा पुर्पक्षमा छन्।
अनिलका बुबा रोमनाथले 'सबै पैसा श्रीबहादुरले चलाएको' दाबी गर्दै आफ्नो छोरा जानाजान फसाइएको बताए। उनले अहिलेका पीडितहरूले विदेश जाने लोभमा श्रीबहादुरसँग पहिले कुरा गरेको र उनको भर नभएपछि विश्वासिलो पात्र खोज्दा आफ्नो छोरा प्रयोग भएको दाबी गरे।
'ऊ आफैं त कहिल्यै विदेश जान नसकेको मान्छे कसरी विदेश पठाउँछ होला भन्ने उनीहरूलाई थाहा थिएन र?,' पूर्वमेयर रोमनाथले थपे, 'त्यसबारे मलाई सुरूमै किन कसैले भनेन? सबै चिनेकै मान्छे थिए। श्रीबहादुरलाई दिँदा पैसा फस्छ भन्ने भएपछि मेरो छोरालाई बीचमा पारिएको हो।'
कमिसनको लोभ देखाएर अनिललाई लोभ्याइएको हुन सक्ने उनले दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा पनि गलत गर्नेहरू दण्डित हुने भन्दै यो घटनामा आफू र पार्टीलाई नजोड्न भनेका छन्।
यसको निदान कसरी होला त भन्ने प्रश्नमा रोमनाथले थपे, 'अब कानुन अनुसार जे हुन्छ, त्यही हुनुपर्छ।'
उनले पैसा तिर्ने आफ्नो हैसियत नभएको बताउँदै अवैध रूपमा विदेश जान हिम्मत गर्नेहरूले आफूलाई पहिल्यै किन नभनेको भन्दै उल्टै प्रश्न गर्दै आइरहेका छन्।
पीडितहरूले भने आफूलाई अस्ट्रेलिया लगिदिन्छु भनेर अनिलले नै भनेको, पैसा पनि उनैले लिएको र यो बीचमा समस्या हुँदा उनैले पटकपटक 'केही दिनपछि पठाइहाल्छु' भन्ने आश्वासन दिएकाले अनिल नै यसमा जिम्मेवार हुनुपर्ने बताएका छन्। आफूहरू लखनऊमा अड्केपछि 'श्रीबहादुर गुरूङलाई धेरै तनाव नदिनू, मैले नै पैसा लिएकाले मै जिम्मेवार हुँ' भनेर अनिलले भनेको पीडितहरूको भनाइ छ। राजनीतिक शक्तिका कारण प्रहरीले अनिललाई अहिले पक्राउ गर्न चासो नदिएको उनीहरूले गुनासो गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र रिजालले अनिल ओलीविरूद्ध चैतमै पक्राउ पुर्जी जारी भएको बताए। जिल्ला अदालत झापाबाट उनीविरूद्ध चैत २६ गते पक्राउ पुर्जी जारी भएको थियो। पुर्जी जारी भएयता उनी फरार छन्।
वैदेशिक रोजगार विभागमा यस सम्बन्धी उजुरी परेको थियो। उजुरी परी अनुसन्धान गर्न विभागले केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो। यस प्रकरणमा अनुसन्धान गरी ब्युरोले श्रीबहादुर गुरूङलाई पक्राउ गरेको थियो।
विभागमा उजुरी प्रेमकुमार गुरागाईं र कृष्ण अधिकारीले दिएका हुन्। अरूले चेकमार्फत पैसा दिएका कारण उनीहरूले प्रहरीमा मात्रै उजुरी दिएका छन्। श्रीबहादुरबारे थप अनुसन्धान गर्न ब्युरोले जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको थियो।
डिएसपी रिजालका अनुसार अनिलविरूद्ध ७७ लाखको बिगो रकम छ। उनले अरू थप पैसा पनि उठाएको आरोप छ। उनले पीडितहरूबाट रकम उठाएर श्रीबहादुरसँगको समन्वयमा विदेश पठाइदिने भनेका थिए। तर विदेश पठाउन नसकेपछि अनिल आफैंले श्रीबहादुरविरूद्ध जाहेरी दिएका थिए। जाहेरी दिएपछि श्रीबहादुरलाई प्रहरीले चैतको पहिलो साता काठमाडौंबाट पक्राउ गरी अनुसन्धान गर्दा अनिलमाथि नै प्रश्न उठेको थियो।
'सुरूमा अनिलले श्रीबहादुरविरूद्ध नै उजुरी गरेका थिए। तर अनुसन्धान हुँदा कारोबार अनिलले गरेको पाएपछि पक्राउ अनुमति लिएका थियौं,' डिएसपी रिजालले भने, 'अहिले अनिल फरार छन्।'
अनिल आफैंले पैसा उठाएको हुँदा उनीविरूद्ध पक्राउ अनुमति लिएको पनि डिएसपी रिजालले बताए।