खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)' का संस्थापक मदन राईले आफूमाथि धेरैपटक यौन दुर्व्यवहार गरेको भन्दै एक किशोरीले काठमाडौंको तीनकुने प्रहरीमा जाहेरी दिएकी छन्।
किशोरीको नाम हामीले 'दिक्तेल- ४' राखेका छौं।
दिक्तेल- ४ सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको उनको आरोप छ।
१६ वर्षीया दिक्तेल-४ ले काठमाडौंस्थित आफ्ना संरक्षकको रोहवरमा दिएको जाहेरी बानेश्वर प्रहरी वृत्तले खोटाङ जिल्ला प्रहरी कार्यालय पठाइसकेको छ।
खोटाङ प्रहरी कार्यालयका इन्सपेक्टर वेनुकुमार कार्कीले मदन राईविरूद्ध बालिकाको जाहेरी आइपुगेको पुष्टि गरे।
उनका अनुसार मौखिक र लिखित उजुरीका आधारमा मदनलाई शुक्रबार दिउँसो पक्राउ गरिसकिएको छ। उनीमाथि अनुसन्धान गर्न आइतबार अदालतबाट अनुमति लिइने छ।
फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले सेतोपाटीसँग बताएका थिए।
यसबारे सेतोपाटीले बिहीबार समाचार प्रकाशन गरेको थियो। पढ्नुहोस् उक्त स्टोरी:
आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहार
— शोभा शर्मा
कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।
फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।
हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमाडौंमा भेटेर।
शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्।
मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।
हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।
मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्।
यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।
हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।
दिक्तेल १
म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो।
शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।
म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।
हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।
तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं।
एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ।
बाजेले 'तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!' भन्नुभयो।
आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई 'तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ' भन्नुभयो।
त्यति मात्र होइन, उहाँले 'अब तिमीहरू म सँगै सुत्नुपर्छ' पनि भन्नुभयो।
त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे।
'ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ' भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।
आएर ढोका थुनेर जबर्जस्ती गर्ने हो कि भन्ने डरले मलाई कहिलेकाहीँ त निद्रा लाग्दैन। खान मन पनि हुँदैन।
यहाँ बाजे जे पनि बोल्नुहुन्छ। यस्तो गर्नुहुन्छ भनेर मैले मेरा आमाबुबालाई भन्न सकेकी छैन। यस्तो कुरा बाआमालाई कसरी भन्ने हो!
दिक्तेल २
म शुभम फाउन्डेसनमा आएको ६/७ वर्ष भयो। यहाँ राम्रो पढाइ हुन्छ भनेर आमाले पठाउनुभएको हो।
आएको केही समयमै साथीहरूले मलाई 'बाजेले त नराम्रो कुरा बोल्नुहुन्छ, कहिले त नांगै पनि भइदिनुहुन्छ' भनेर सुनाएका थिए। बाजे कहिले काठमाडौं त कहिले शुभममा बस्नुहुन्थ्यो। शुभममा बिहान ६ बजे उठेर एसेम्ब्लीमा जानुपर्छ। शारीरिक व्यायाम भएपछि कहिलेकहिले मदन बाजेले अर्ती-उपदेश दिनुहुन्छ।
म यहाँ आएको दुई वर्षपछिको कुरा हो। एक बिहान एसेम्ब्लीमा मदन बाजेले लुगा फुकालेर आफ्ना अंग देखाउनुभयो। अंग देखाउँदै तिनका नाम भन्नुभयो।
बाजेले अश्लील बोल्ने कुरा त यहाँ सामान्य भएको छ। जति बेला पनि उहाँ सेक्सको मात्रै कुरा गर्नुहुन्छ। जे विषयबाट सुरू गरे पनि सेक्समा लगेर कुरा जोड्नुहुन्छ।
म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो।
'तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन' भनिरहनुहुन्थ्यो। म भाग्थेँ।
तर तीन महिनाअगाडि उहाँले हामीलाई 'सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु' भन्नुभएपछि भने झन् डर लागेको छ।
उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो।
'उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु' भन्नुभयो।
हामी त उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।
दिक्तेल ३
म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।
केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।
एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र 'तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्' भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।
दिक्तेल ४
घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई 'काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ' भन्नुभयो।
अंकलले मलाई पनि 'ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ' भनेर सम्झाउनुभएको थियो।
पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।
दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।
चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।
हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।
एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।
एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।
अनि बाजेले भन्नुभयो, 'तेरो...बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?'
त्यसपछि हामी दुवै दौडेर तल झर्यौं।
हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।
पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले 'ऐय्या कस्ती रहिछे' भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।
ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।
त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।
मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।
गएको बेला बाजे त्यहीँ हुँदा 'म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ' भन्नुहुन्थ्यो।
उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।
ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले 'गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध' भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो स्कुलमै काम गर्नु हुन्छ।
बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले 'ओइ, यता हेर् त' भन्दै बोलाउनुभयो।
म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले 'तँलाई देखेर मेरो…भयो' भन्नुभयो।
धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।
अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।
सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।
पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले 'तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर' भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।
शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।
चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।
एक दिन दिउँसो पेशल मेन्टरले 'आज स्टोरमा आइज' भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।
पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।
म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।
बाजे बेलाबेला 'जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ' भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।
दिक्तेल-५
आमाबुबाले छोडेर गएपछि ममी (संरक्षक) ले मलाई शुभममा पठाउनुभएको थियो। आठ वर्षअघि म त्यहाँ पुगेकी थिएँ। त्यतिखेर २ कक्षामा पढ्थेँ। शुभममा बिहान ५ बजे उठेर एसेम्ब्लीमा जानुपर्थ्यो। त्यसपछि खाजा समय हुन्थ्यो। खाजा खाइसकेर ८ बजेतिर फिल्डको काममा जानुपर्थ्यो।
कृषि फिल्ड हुनेहरूले तल बारीमा जाने, खन्ने, मल मिसाउने काम गर्नुपर्थ्यो। पशुपंक्षी विभागमा गाईभैंसीलाई दिइने कुँडो पकाउनुपर्ने, गोठ सफा गर्ने, घाँस काट्ने काम हुन्थ्यो। त्यसै अनुसार किचन विभागकाले खाना बनाउने, बाजेको कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्नुपर्थ्यो। उद्योग विभागमा फलामका सामानहरू बनाउने, मिलमा धान कुट्ने काम थिए। निर्माण विभागमा भवनहरू बनाउने काम हुन्थ्यो।
पहिलेपहिले बिहान साढे ९ बजेसम्म काम गरे पनि १० बजेदेखि कक्षा सुरू हुन्थ्यो। १२ बजे खाने समयपछि फेरि ३ बजेसम्म पढाइ हुन्थ्यो। ३ बजेपछि फिल्डमा गएर बिहानको झैं काम गर्ने अनि फर्केर आएर खाना खाएपछि फेरि ८/९ बजेसम्म पढाइ हुन्थ्यो।
कोरोनापछि भने दिउँसो १२ बजेसम्म पनि फिल्डको काम हुन्छ। त्यसपछि खाना खाएर १ बजेदेखि ३ बजेसम्म कक्षामा बस्ने हो। त्यसपछि फेरि काममा जाने। अहिले धेरै काम गर्नुपर्छ।
मलाई त्यहाँको मन नपर्ने कुरा पहिलो त किताब/कोर्स नै नपढाउने, अर्को मदन बाजेले गर्ने सेक्सको कुरा हो। सेक्सको कुरा मात्र गरेर विद्यार्थीलाई हैरान पार्नुहुन्छ। पहिले त उहाँ कहिलेकाहीँ मात्र खोटाङ आउनुहुन्थ्यो। कोरोना महामारीभन्दा अगाडि वर्षमा दुई-चार पटक मात्र आएर दस/पन्ध्र दिन बस्नुहुन्थ्यो। त्यो बेला उहाँले कृषिका कुरा सिकाउनुहुन्थ्यो।
जब कोरोना सुरू भयो, उहाँ फाउन्डेसनमै बस्न थाल्नुभयो। उहाँ सेक्सका कुरा मात्र गर्नुहुन्छ। केटाकेटीलाई जम्मा पारेर अश्लील बोल्नुहुन्छ। हातले अश्लील संकेत गर्नुहुन्छ। बाजेले पटकपटक बिहान एसेम्ब्लीमा लुगै फुकालेर देखाउनुभयो। कहिलेकाहीँ शुक्रबारको कक्षामा अश्लील कुराहरू पढाउनुहुन्थ्यो। हामी लाजले टाउको निहुरो बनाएर बस्यौं। लजाउन पनि नपाइने। 'क्या यस्तो कुरामा पनि लजाउँछौ' भन्दै गाली गर्नुहुन्थ्यो।
मेरो साथीहरूलाई उहाँले ज्यानमा हात हाल्ने गर्नुहुँदो रहेछ। साथीहरूले मलाई भन्थे। उनीहरू डराउँथे। मलाई भने ज्यानैमा हात हालेको थिएन तर पनि डर लाग्न थालेको थियो।
हामी सहरी सिकाइका लागि बाजेको ललितपुरको घरमा आउनुपर्थ्यो। केही वर्षअघिको जाडो महिनामा हामी तीन केटी साथी तीन महिनाका लागि आएका थियौं। त्यति बेला म एक महिना त्यहाँ बसेर यता ममीको घरमा आएकी थिएँ। त्यो बेला मेरा साथीहरूलाई बाजेले मनपरी गर्नुभएछ। उनीहरूको ज्यानमा हात हाल्नुभयो रे। पर्दा लगाउन जाँदा पछाडिबाट च्याप्प समात्नुभयो, कहिले लुगा फुकालेर देखाउनुभयो, आफ्ना अंग छुन लगाउनुभयो भनेर मलाई साथीहरूले भनेका थिए। त्यो बेला मेरा साथीहरू खुब डराएका थिए।
यी सबै कुराले गर्दा मलाई शुभममा बसेर बाँकी पढाइ पूरा गर्न मन लागेन। अनि म छाडेर आएँ। यहाँ आएको केही दिनपछि दुई साथीहरूले मलाई फोन गरेर अझै डर लाग्दो कुरा सुनाए। उनीहरू मदन बाजेको कोठा सफा गर्न गएका रहेछन्। उनीहरूलाई राखेर बाजेले आफूसँग सुत्नुपर्छ भनेछन्।
'यसअघि तिमीहरूको फलानो दिदी मसँग सुत्थ्यो, उसलाई सेक्स गर्न मैले सिकाएको थिएँ, अब तिमीहरूले त्यो काम गर्नुपर्छ, म सिकाउँछु, केही हुन्न, जानिराख्नुपर्ने कुरा हो' भनेर बाजेले भन्नुभयो भनेर मेरा साथी डराइरहेका छन्।
सेतोपाटीले झन्डै महिना दिनअगाडि दिक्तेल-५ सँग कुरा गर्दा उनकी दिदी (दिक्तेल-६) सँगै थिइन्। दिक्तेल-५ सँग कुराकानी सकिएपछि उनकी दिदीले मदन राईले आफूलाई पनि यौन दुर्व्यवहार गरेको बताइन्। उनी आफ्नो एसइई दिएपछिको बिदा मनाउन शुभममा गएकी थिइन्। त्यो बेला आफूलाई मदन राईले यौन दुर्व्यवहार गरेको उनले बताइन्।
दिक्तेल-६
म शुभममा पढ्न गएकी त थिइनँ। छ वर्षअघि एसइई दिएपछि केही समय बस्न गएकी थिएँ। मेरो बहिनी (दिक्तेल-५) त्यहीँ भएकाले मलाई जान सजिलो थियो। आमाले मदन राईलाई चिन्नुभएको थियो। मैले आमासँग शुभममा जाने कुरा गरेँ। उहाँले मदन राईसँग कुरा गर्नुभयो।
शुभम जानुअघि म केही दिनका लागि ललितपुरस्थित उहाँको घरमा बसेकी थिएँ। एक दिन दिउँसोको समय थियो। मदनले मलाई काम छ भन्दै माथि बोलाउनुभयो। म हतारहतार उहाँछेउ पुगेँ।
मदनले त मेरो ब्रेस्टमा हात हाल्नुभयो। सोच्दै नसोचेको त्यस्तो घटना हुँदा म आत्तिएँ।
धन्न 'के गरेको यो?' भन्न भ्याएँ। मैले उहाँको हात झट्कारेर पछि हटेँ। अनि भागेँ। उहाँ पछिपछि त आउनुभएन तर म बहुत डराएँ। कैयौं दिनसम्म डरले सताइरह्यो। मैले आमालाई यस्तो भयो म फर्किन्छु भन्न पनि सकिनँ।
ललितपुरको बसाइपछि म खोटाङ गएँ। एक बिहानको कुरा हो। म त्यहीँ स्कुलको चौरमा थिएँ। उहाँले मेरो टिसर्ट उचालिदिनुभयो। फेरि मैले के गरेको भनेर आँखा तरेँ।
यो घटना भएपछि मलाई त्यहाँ बस्न डर लागेको थियो। अहिले पनि ती दुइटा घटना सम्झेर कस्तो नराम्रो लाग्छ। यसबारे मैले आजसम्म पनि आमालाई भन्न सकेकी छैन। न अरू कसैलाई भनेकी थिएँ। यो बहिनी त्यहीँ पढ्थी। मलाई यसको चिन्ता लागिरहन्थ्यो। अब त यो आई। तर मदन राईले त्यो स्कुलमा भएका नानीहरूलाई पनि यौन दुर्व्यवहार गरेको होला भन्ने सम्झेर पनि कस्तो नरमाइलो लाग्छ।
यसरी बालिका र किशोरीहरूको बयान सुनेपछि हामीले शुभम फाउन्डेसनमा केही समयअघिसम्म स्नातक पढ्न बसेकी र मेन्टरका रूपमा काम गरेकी युवतीलाई यसबारे सोधेका थियौं।
मदन राईले आफूहरूलाई दुर्व्यवहार गरेको कुरा तीन-चार जना बालिकाहरूले आफूलाई सुनाएको उनले बताइन्।
'केही समयअघि दिक्तेल-१ र २ लाई मदन राईले सेक्स गर्न सिकाउँछु, अबदेखि तिमीहरू मसँग सुत्नुपर्छ भनेको कुरा मलाई थाहा छ। उनीहरूले डराउँदै डराउँदै मलाई सुनाएका थिए,' उनले भनिन्, 'उनीहरूले पहिल्यैदेखि आफूहरूलाई मदन बाजेले ज्यानमा छुने गरेको बताउँथे। हामीले मदन सरविरूद्ध केही बोल्ने वातावरण नै थिएन।'
उनी स्नातक पढ्न र जीवनउपयोगी सिकाइ सिक्न भन्दै चार वर्षअघि शुभम फाउन्डेसन पुगेकी थिइन्। मदन राईले अश्लील बोलेर त सामूहिक रूपमा सबैलाई सधैं अप्ठ्यारोमा पार्ने गरेको उनी बताउँछिन्। उनका अनुसार जवाफ फर्काउन सक्ने र पारिवारिक हैसियत अलि राम्रो भएकालाई मदनले दुर्व्यवहार गर्दैन थिए।
'जसले प्रतिकार गर्न सक्छन्, बोल्छन्, त्यस्तालाई मदन सरले खासै केही गर्नुहुन्न,' उनले भनिन्, 'जसको पारिवारिक पृष्ठभूमि कमजोर छ, जसले यहाँ बच्चाबच्चीलाई निःशुल्क पढ्न पठाएका छन् र बोल्न सक्दैनन् त्यस्ता कमजोरहरूलाई छानीछानी दुर्व्यवहार गर्नुहुँदो रहेछ।'
तीन वर्षअघि शिक्षकका रूपमा शुभम फाउन्डेसन गएका टेकबहादुर कार्कीले पनि मदन राईले बच्चाहरूको अगाडि अश्लील हर्कत गर्ने गरेको हामीलाई बताए।
'उहाँले विद्यार्थीलाई यौन शिक्षा दिने नाममा अश्लील बोल्नुहुन्छ र अश्लील संकेतहरू गर्नुहुन्छ। कहिलेकाहीँ त बोल्दाबोल्दै हामी सबैको अगाडि लुगा फुकालेर देखाउनुभएको थियो। कतिपय बालिकाहरूको ज्यानमा छोइदिनुभयो भन्ने गुनासो मैले सुनेको छु,' उनले भने, 'कतिपटक त उहाँले बालिकाको ज्यानमा हात हाल्न खोज्दा उनीहरू भागेको मैले देखेको छु।'
मदनले यौन सम्पर्क र यौनांगका कुरा बालबालिकासँग गरेपछि आफूलाई हलुका हुन्छ भनेर एकपटक सुनाएको उनले बताए।
'उहाँ बोलिराख्दा सुन्नै पर्थ्यो। नभए झन् उफ्रिनुहुन्थ्यो। अश्लील कुरा सुन्नु त सामान्य भइसकेको थियो। यस्तो तपाईं किन गर्नुहुन्छ भनेर एकपटक मैले सम्झाउन खोजेको थिएँ। उहाँले मलाई त्यस्तो बोलेपछि आफ्नो उकुसमुकुस शान्त हुन्छ भन्नुभएको थियो,' टेकबहादुरले भने।
मदनले बेलाबेला 'मलाई यहीँका विद्यार्थीले जेलसम्म पुर्याउँछन्' भन्ने गरेको पनि टेकबहादुरले बताए।
शुभममै चार वर्ष अगाडिदेखि केही समयअघिसम्म मेन्टर रहेकी अर्की युवतीले त्यहाँका कतिपय बच्चाहरूले समेत मदनको सिको गर्न थालेको बताइन्।
'मदन सरले अश्लील बोल्ने, हातले यौन सम्पर्क गरेको संकेत गर्ने त हरेक कुराकानीमै गर्नुहुन्छ। अप्ठ्यारो लागे पनि सबैले सुनेरै बस्ने हो। तर मलाई सबभन्दा चिन्ताको कुरा भने बच्चाहरूले त्यही सिको गर्न थालेकोमा छ,' उनले भनिन्, 'एउटा बच्चाले सुतिरहेका आफ्ना केटा साथीहरूलाई नै दुर्व्यवहार गरेछ। कतिपयले अश्लील बोल्ने, केटीहरूको शरीर छोइदिने गर्छन् भनेर बालिकाहरूले हामीलाई भनेका थिए। शुभममा बालिकाहरू सुरक्षित छैनन् भन्ने कुराको पिर भइरहन्छ।'
जनजागृति उच्च माविकी प्रधानाध्यापक सविता ढकाल भने विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार हुने गरेको कुरा आफूले सुन्दै नसुनेको बताउँछिन्।
'हाम्रो स्कुलमा पढ्ने विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ भन्ने त मैले सुनेकै छैन। मदन दाइ कसरी के बोल्नुहुन्छ भन्ने त सबैलाई थाहा छ। उहाँले अश्लील बोल्दा हामीलाई अप्ठ्यारो लागे पनि नबोली बस्ने हो। तर उहाँले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कुरा भने मैले सुनेकी छैन,' उनले भनिन्।
स्कुलमा अध्ययनरत विद्यार्थीलाई के कसरी पढाउने भन्ने जिम्मा शुभम फाउन्डेसनले नै लिएकाले आफ्नो धेरै भूमिका नहुने बताइन्।
'मैले संयोजन र औपचारिक कामहरू गर्छु। पढाउने र सिकाउने जिम्मा स्कुल व्यवस्थापन समिति र फाउन्डेसनले नै लिएको छ,' उनले भनिन्, 'विद्यार्थी, शिक्षकले कुनै गुनासो नगरेकाले मलाई थाहा भएन। अब भने के रहेछ म बुझ्छु।'
स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा शुभम फाउन्डेसनका निर्देशक सूर्य राईले पनि मदनले यौन दुर्व्यवहार गरेको भनेर कुनै विद्यार्थीले अहिलेसम्म गुनासो नगरेको बताए।
अश्लील बोलेर, लुगा खोलेर सामूहिक रूपमा मदनले गर्ने दुर्व्यवहारका त उनी वर्षौंदेखि साक्षी हुन्। तर मदनलाई यसो नगर्न चेतावनी दिनतिर सूर्य लागेको देखिँदैन। मदनले अश्लील बोलेर मान्छेहरूलाई हैरान पारेको भने उनी स्वीकार गर्छन्।
'उहाँले यौन दुर्व्यवहार गरेको आरोप अहिलेसम्म मकहाँ आइपुगेको छैन,' उनले भने, 'तर उहाँले बोल्ने तरिका भने समाजमा पच्ने खालको छैन। बोल्दै जान थालेपछि उहाँले विचार पुर्याउनु हुन्न। वरिपरिका मान्छेलाई समेत गाह्रो हुन्छ।'
मदनले शिक्षाका लागि गर्ने अरू कुरा राम्रो भएकाले जथाभावी बोल्ने कुरालाई आफूले छोडिदिएको पनि सूर्यले बताए।
'उहाँ र हाम्रो एउटा अभियान छ। शिक्षा र सिकाइ राम्रो हुनुपर्छ भन्ने उहाँकै अवधारणामा यत्रो स्कुल चलाएका छौं। ठाउँठाउँबाट विद्यार्थी ल्याएर निःशुल्कै पनि सिकाएका छौं,' उनले भने, 'त्यही हेरेर हामीले यौनका मामिलामा समाजमा अलि नपच्ने गरी बोल्ने तरिकालाई छोडिदिएका छौं। तपाईंको प्रश्नपछि भने यसलाई सुधार गर्नतिर म लाग्छु।'
यसबारे हामीले मदन राईलाई पनि सोध्यौं। यौन दुर्व्यवहार र किशोरीहरूलाई आफूसँग सुत्न बोलाउने गरेकोबारे सोध्यौं।
उनले आफूले यौन खुला हुनुपर्छ भन्ने विश्वास गर्ने भएकाले केटाकेटीहरूका संवेदनशील अंगमा छोइदिने गरेको स्वीकार गरे। यो कुराका लागि आफू जेल जान तयार भएको पनि उनले बताए। हामीसँग फोनमा कुरा गर्दा पनि उनले अश्लील शब्दहरू बोले।
'म त यहाँका केटीहरूको… चलाइदिन्छु त। केटाहरूको पनि छोइदिन्छु। मैले कसैलाई बलात्कार गरेको छैन, यौन हिंसा पनि गरेको छैन। बलात्कार नहोस् भनेरै यौन खुला हुनुपर्छ भन्दै हिँडेको छु,' मदनले हामीसँगको कुराकानीमा भने, 'यौन खुला हुनुपर्छ भन्ने कुरा गर्दा म नेपाली भाषामा बोल्छु। … यी शब्द त नेपाली भाषाका शब्द हुन्।'
बालबालिकाका संवेनशील अंग छुने, चलाउने र उनीहरूलाई अप्ठ्यारोमा पार्न नपाइने कानुन छ, तपाईंलाई लाग्दैमा छुन पाइन्छ त भन्ने प्रश्नमा उनले भने, 'समस्या भनेकै त्यहीँ छ…। त्यसलाई नचलाएकाले समस्या भएको हो। कानुनमा नभएको धेरै कुरा म यहाँ गर्छु। तिमीले यसबारे लेख। मलाई प्रहरीले लगेर २४ दिन थुन्ला। म अदालत गएर बहस गर्न चाहन्छु।'
फोनमा कुरा गरिसकेपछि मदनले हामीलाई मोबाइलमा लामो म्यासेज पठाएका छन्।
त्यसमा उनले भनेका छन् , '…तिमीले मेरा गलत आपराधिक क्रियाकलापबारे खोजी गरेकोमा म खुसी नै छु। मेरा गलत कामको सजाय भोग्न म तयार छु। तर म नियम-कानुनले लगाएका बन्देज मान्न धेरै बुढो भइसकेँ।'
मदनले शुभम फाउन्डेसनका बालबालिकासँग गर्ने गरेको व्यवहार बालबालिका ऐन २०७५ विपरीतको कार्य देखिन्छ। २०७५ को दफा ६६ को उपदफा ३ ले बाल यौन दुर्व्यवहार भनेर मानेका कार्य मदन राईले गर्दै आएका छन्। उक्त उपदफा ३ ले बाल यौन दुर्व्यवहार गरेको मानिने ११ वटा बुँदा उल्लेख गरेको छ।
तीमध्ये मदनले गर्दै आएका कार्यका लागि तीनवटा बुँदा आकर्षित हुन्छन्।
पहिलो, उपदफा ३ अनुसार, बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।
दोस्रो, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।
त्यस्तै यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।
यी कार्य गर्नेलाई कानुनले ७५ हजार रूपैयाँ जरिवानादेखि ३ वर्षसम्म कैद सजाय तोकेको छ।