जाजरकोटकी ज्योतिको दिनचर्या अहिले निकै असहज भएको छ। क्यान्सर रोगपीडित श्रीमानलाई महँगो औषधि खुवाउनुपर्छ। दुवै जना बेरोजगार छन्। मजदुरी गरेर भएको आम्दानीबाट मुस्किलले छाक टर्छ।
दुई छोरी सरकारी विद्यालयमा पढ्दैछन्। छोरीका साथीहरू निजी विद्यालयमा पढ्छन्। साथीहरूलाई देखेर निजीमै पढ्न चाहन्छन् तर ज्योतिको आम्दानीले धान्दैन। ज्योति सपरिवार जिल्ला सदरमुकाम खलंगामा बस्छिन्।
अनेक कष्ट झेल्दै आएकी उनको संसार यही परिवार हो। जन्मघरले उनको बह सुन्दैन। सुन्नु त परको कुरा, उनी माइत जान पनि पाउँदिनन्। माइतीसँग कुरा नभएकै आठ वर्ष भयो।
आमाबुबा र भाइबहिनीले उनलाई बहिष्कार गरेका छन्। माइतीतिरको समाजले पनि उपेक्षा गरेको छ।
'मलाई त बुबाआमाले मरिसकी भन्ने मान्नुभएको छ। केही सहयोग नगरे पनि आमाबुबा र भाइबहिनीले सञ्चोबिसञ्चो मात्रै सोधिदिए पनि हुन्थ्यो,' २८ वर्षीय ज्योतिले भनिन्।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–५, गर्खाकोटका ठकुरीकी छोरी ज्योतिले आठ वर्षअघि, २०७२ सालमा समाजले 'तल्लो जात' मान्ने दलित युवकसँग बिहे गरिन्। गणेश चदारासँग भागेर अन्तर्जातीय बिहे गरेकै कारण उनलाई अचेल माइतीले 'मरिसकेकी छोरी' भन्छन्।
'अहिलेको जमानामा जातभात भन्ने कुरा के हो र! मैलेमात्र यस्तो बिहे गरेको भए पनि एउटा कुरा हुन्थ्यो, धेरैले गरेका छन्,' उनी भन्छिन्।
ज्योति र गणेशको घर आधा घन्टाको दूरीमा थियो। उनीहरू गाउँकै शिवपुरि माध्यमिक विद्यालयमा पढ्थे। बाल्यकालदेखिकै चिनजान विद्यालयमा पढ्दा प्रेम सम्बन्ध बन्यो। किशोरवयमै, २०६७ सालमा उनीहरू भागेर सदरमुकाम पुगे। माइतीले तत्काल ज्योतिलाई फर्काएर ल्यायो। त्यसपछिका पाँच वर्ष त्यत्तिकै बिते।
२०७२ सालमा दुवै जना त्यही विद्यालयमा कक्षा ११ मा पढ्दै थिए। त्यो वर्ष कात्तिकमा उनीहरू फेरि भागे। यसपटक भने उनीहरूले बिहे नै गरे। उनीहरू सदरमुकाम खलंगामा बसे। उनीहरूका दुई छोरी जन्मे। एक छोरी ६ वर्षकी भइन्, अर्की चार वर्षकी।
'दोस्रो पटक भागेपछि गाउँमा बस्ने वातावरण भएन। सदरमुकामै बस्यौं। तर दलित युवकसँग बिहे गरेपछि माइतीले मलाई बहिष्कार नै गर्यो,' ज्योतिले भनिन्।
ज्योतिका ६ जना भाइबहिनी छन्, चार बहिनी र तीन भाइ। उनी जेठी सन्तान हुन्। भाइबहिनी कहाँ के गर्दैछन् भन्ने पनि उनलाई थाहा छैन। कहिलेकाहीँ छिमेकीलाई माइतीको खबर सोध्छिन्। सबै भाइबहिनी काठमाडौंतिर पढ्दैछन् भन्ने सुनेकी छन्। गएको दसैंमा माइली बहिनीको बिहे भएको खबर पनि सुनिन्।
बिहेपछि पनि माइली बहिनी केही समय उनीसँग सम्पर्कमा थिइन्। कुराकानी हुन्थ्यो। तर पछि बिस्तारै कुरा हुन छाडेको ज्योतिले बताइन्।
उनका साथीहरू बेलामौकामा माइत जान्छन्। उनीहरूका माइती पनि आउँछन्। साथीहरूले माइतीको कुरा गर्छन्। ज्योतिको मन भरंग हुन्छ। माइत गइहालौं जस्तो हुन्छ तर पाइला टेक्न दिए पो जानु!
'साथीहरूलाई उनीहरूका माइतीले सञ्चोबिसञ्चो सोध्छन्। आउजाउ गर्छन्,' उनले भनिन्, 'आफू जान पाउँदिनँ। मन दुखाएर बस्नुपरेको छ।'
उनका छोरीहरू पनि आफ्ना साथीहरू मामाघर गएको कुरा गर्छन्। हामी पनि जाऔं भन्छन्। ज्योति उनीहरूलाई पछि जाऔंला भनेर फकाउँछिन्। यो सबै कुराले मनमा झन् पीडा हुन्छ उनलाई।
बिहेपछिका दिनमा दम्पतीलाई मात्रै होइन, गणेशका आमाबुबा, दाजु र बहिनीसहित परिवारका अन्य सदस्यलाई पनि गाउँमा असहज भयो। त्यसैले उनीहरू खलंगा गएका हुन्। परिवारका अरू सदस्य पनि गए, गणेशकी आमाले भने घर छाडिनन्। तीन महिनासम्म प्रहरीले सुरक्षा निगरानी गरेको गणेश बताउँछन्।
गणेश र ज्योतिले जिल्ला प्रहरीमा जातीय विभेदको उजुरी दिए। प्रहरीसँगै दलका प्रतिनिधि, दलित अधिकारकर्मी, जातीय विभेदका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि सबै भएर सहमति भयो। यसपछि परिस्थिति केही सहज भएकाले गणेशका बुबा र अन्य सदस्य घर फर्के। गणेश र ज्योति भने फर्केनन्।
'हामी त अहिलेसम्म घर जान सकेका छैनौं। गाउँमा मलाईभन्दा पनि ज्योतिलाई अप्ठ्यारो हुन्छ। दलितसँग गएकी ठकुरीको छोरी भनेर होच्याउँछन्,' गणेशले भने, 'दसैंमा जाँदा पनि अनेक कुरा सुन्नुपर्छ। लुकेर दसैं मनाउनुपर्छ।'
सदरमुकाम आएको दुई वर्षपछि २०७४ मा गणेशले सामाजिक विकास कार्यालयमा सहयोगीको जागिर पाएका थिए। तलबले परिवारको खर्च चलाउन सहज थियो। तर दरबन्दी कटौती हुँदा उनको जागिर छुट्यो।
यो पीडामा उनीहरूलाई अर्को चोट थपिएको छ। २०७६ सालमा गणेश बिरामी परे। मुखमा क्यान्सर रोग देखियो। अहिले बोल्न नसक्ने भएका छन्।
जसका लागि सबै छाडेर आइन्, जोसँग बोल्न सबै छाडेर आइन्, उसकै जीवनमा आँधी आउँदा, बोल्नै नसक्ने हुँदा ज्योतिलाई खपिनसक्नुभयो। पीडाले थिच्यो। कसलाई पोख्नू यो बह?
एक दिन हिम्मत जुटाएर ज्योतिले बुबालाई फोन गरिन्। फोन उठ्यो। 'म ज्योति बोलेकी' भनेपछि बुबाले फोन काटिदिए।
'श्रीमान बिरामी भएपछि बिलौना पोख्न बुबालाई फोन गरेकी थिएँ। मैले दर्शन भनेपछि बुबाले माइली छोरी हो भन्नुभयो,' उनले भनिन्, 'होइन, जेठी छोरी ज्योति बोलेकी भनेपछि फोन काटिदिनुभयो।'
त्यसपछि उनले माइजू नाताकी एक आफन्तलाई फोन गर्न लगाएर श्रीमान बिरामी परेको खबर आमासम्म पुर्याइन्। माइतीसँग सम्पर्क गर्ने यो प्रयास पनि सफल भएन।
ज्योतिले भनिन्, 'आमाले मरे पनि मरोस् भनेर फोन राखिदिनुभयो।'
श्रीमानको कडा रोग र कमजोर आर्थिक अवस्थाका कारण ज्योति तनावमा छिन्। गणेशले सुरूमा जाजरकोटमै उपचार गराए। त्यहाँ उनलाई क्यान्सर भएको थाहा भएन। गत वर्ष मंसिरमा कर्णाली प्रदेश अस्पताल गए। डाक्टरहरूले क्यान्सरले तेस्रो चरण पूरा गरेको जानकारी गराए।
यसपछि गणेश भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा गए।
'उपचारमा नौ लाख रूपैयाँ लाग्यो,' गणेशले भने, 'खर्चमा मेरो घरपरिवारबाट सहयोग भयो। केही रूपैयाँ श्रीमतीले बजारमा चन्दा उठाएर जुटाइन्।'
अस्पतालले उनलाई ६ पटक किमो दिनुपर्छ भनेको थियो। यसका लागि खर्च जुट्न सकेन। हाल उनी आयुर्वेदिक औषधि प्रयोग गर्दैछन्। औषधि काठमाडौंबाट आउँछ।
'आयुर्वेद डाक्टरले १५ महिना नियमित औषधि खानुपर्छ भनेका छन्। यसमा साढे सात लाख रूपैयाँ लाग्छ रे,' गणेशले भने।
यसरी गणेश मासिक ५० हजार रूपैयाँको आयुर्वेदिक औषधि खाँदै छन्।
'श्रीमानलाई महिनामा ५० हजारको औषधि खुवाउने आम्दानीको स्रोत छैन। दैनिक दहीदूध खुवाउन पनि पैसा हुँदैन,' ज्योतिले भनिन्, 'स्वास्थ्यमा केही सुधार भने हुँदैछ।'
जति नै दुःख आइपरे पनि, माइतीले बहिष्कार गरे पनि उनले हार मानेकी छैनन्।
भन्छिन्, 'मलाई आफ्नो बिहेको कुरामा कुनै पछुतो छैन, जीवनप्रति गुनासो छैन। श्रीमान कुरा बुझ्नुहुन्छ। हामी गलत बाटोमा छैनौं। श्रीमानलाई रोग लागेर मात्र तनाव बढेको हो।'
प्रेम गरेको मान्छेसँग जीवन बिताउन पाएकोमा आफू खुसी रहेको गणेश बताउँछन्।
'माइतीले बहिष्कार गरे पनि मेरी श्रीमती दबाबमा परेकी छैनन्। जस्तो अवस्थामा पनि मलाई साथ दिएकी छन्।'