सुदूरपश्चिममा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एउटा नरभक्षी बाघलाई ललितपुरस्थित सदर चिडियाखानामा ल्याइएको छ।
आइतबार साँझ साढे ५ बजे उक्त बाघलाई जावलाखेलस्थित चिडियाखाना ल्याइएको हो। उद्धार गरिएको पोथी बाघ अन्दाजी ५ वर्षको छ।
कञ्चनपुर बेलौरी नगरपालिका-८ पथुइ गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा गत शुक्रबार बिहान १० बजेतिर बाघले स्थानीय महिलाहरूमाथि आक्रमण गरेको थियो।
बाघको आक्रमणबाट ४२ वर्षीया गंगादेवि चन्दमाथि आक्रमण गर्दा उनको मृत्यु भएको थियो। उनीसँगै घाँस काटिरहेका महिलाहरू भाग्न सफल भएका थिए।
बाघले मानिसमाथि आक्रमण गरेको खबर पाएपछि कुण्डा सब डिभिजन वन कार्यालयले चन्द र बाघको खोजी गरेको थियो।
जसको लागि डिभिजन वन कार्यालयः कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय हात्तीसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा सरक्षण कार्यालय लगायतका निकायहरू क्रियाशिल भएका थिए।
सो दिनको राति साढे ११ बजेसम्म खोजी गरिएको थियो। तर फेला नपरेपछि भोलिपल्ट बिहानै खोजी गरिएको थियो। त्यसदिन भने पौने ८ बजे बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको थियो।
घटना घटेको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनामा दुई जनाको ज्यान गुमेको हो। जसमध्ये १ जना नेपाली महिला हुन्।
तस्बिरहरू: