डढेलो विज्ञ सुन्दर शर्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव हुन्।
उनले विगत २७ वर्षदेखि नेपालको जंगलमा लाग्ने डढेलोको अध्ययन गरिरहेका छन्। तर यसपालिको जस्तो जताततै डढेलो उनले यसअघि कहिल्यै देखेका थिएन्।
‘खासमा भन्ने हो भने अहिले नेपाल बलिरहेको छ, हाम्रो वायुमण्डल ग्यास च्याम्बर बनिरहेको छ,’ शर्माले बुधबार सेतोपाटीसँग भने।
शर्माका अनुसार पछिल्लो २४ घन्टामा नेपालका १ हजारभन्दा बढी ठाउँमा डढेलो लागेको छ। दैनिक १ हजारभन्दा बढी ठाउँमा डढेलो लाग्ने क्रम चैत ३० गतेदेखि नै सुरू भएको हो।
वैशाख २ र ३ गते डढेलोको संख्या १ हजारभन्दा कम भएको थियो। ४ गतेदेखि फेरि दैनिक १ हजारभन्दा बढी ठाउँमा डढेलो लागेको छ।
डढेलोको यो संख्या अत्यासलाग्दो किन हो भने गत साल वर्षभरि नै १५२८ ठाउँमा मात्र डढेलो लागेको थियो।

‘हामीले रेकर्ड राख्न थालेदेखि सन् २०२१ मा सबैभन्दा धेरै डढेलो लागेको थियो। त्यो वर्ष ६२८० ठाउँमा डढेलो लाग्दा हामीले सबैभन्दा धेरै डढेलो भनेर मार्क गरेका थियौं,’ शर्माले भने,‘यसपालि त अहिले नै ६ हजारभन्दा बढी ठाउँमा डढेलो लागिसक्यो।’
शर्माका अनुसार सामान्यत: डढेलो लाग्दा भुइँका स्याउला र बुट्यानहरूमा धेरै क्षति हुन्छ। ठूला रूखहरू अलिअलि जले पनि मर्दैनन्।
गर्मी याममा जंगलमा फाट्टफुट्ट डढेलो लाग्नु सामान्य कुरा हो। केही ठाउँमा मानिसहरूले जानी जानी आफैं जंगलमा आगो लगाउँछन्, केही ठाउँमा झुक्किएर वा लापरबाहीले आगो लाग्छ। कहिलेकाहीँ गर्मी निकै बढ्दा प्राकृतिक रूपमा निस्कन आगोले पनि डढेलो फैलाउँछ।
तर यसपालिको डढेलो संख्यामा मात्र होइन क्षतिका हिसाबले पनि निकै फैलिएको छ।
‘मैले देशभरिका डिएफओ र सामुदायिक बनका मानिसहरूसँग कुरा गरिरहेको छु,’ शर्माले भने, ‘उनीहरू रून मात्र बाँकी हुन्छ। अर्घाखाँचीमा एकजना ठेकेदारको २ हजार क्युबिक काठ डढेलोमा जलेछ। कपिलवस्तुमा एउटा सामुदायिक बनमा तीन हजार जति ठूलाठूला रूख खरानी भएछन्।’
यसपालि किन यति धेरै डढेलो लाग्यो? शर्मा भन्छन्- यसमा प्रमुख दुई कारण छन्।
पहिलो, यसपालिको हिउँदै निकै सुख्खा भयो। मनसुन सकिएपछि एकै पटक मध्य फागुनमा पानी पर्यो। केही दिन पानी परे पनि लामो खडेरीको सुख्खापनलाई त्यसले तोड्न सकेन। सुख्खापनले डढेलो लाग्न सघायो।
दोस्रो, पोहोर साल तुलनात्मक रूपमा कम डढेलो लागेको थियो। वर्षभरि १५ सय ठाउँमा मात्र डढेलो लाग्दा जंगलमा धेरै नै ज्वलनशील पदार्थ बाँकी थियो। यसपालि त्यो ज्वलनशील पदार्थ सुख्खा भएर बसेको थियो। कहीँ झिल्को पाउनासाथ त्यो तीव्र गतिमा फैलियो।
छिट्टै बढेको तापक्रमले पनि डढेलो फैलिन सघाउ पुर्यायो। वैशाख पहिलो साता नै तराईका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगिसकेको छ।
आउने दिनमा डढेलोका घटना अझ धेरै बढ्ने शर्मा बताउँछन्।
‘वैशाख दोस्रो सातालाई नेपालमा डढेलोको पिक आवर मानिन्छ, त्यो अझै बाँकी छ,’ शर्माले भने,‘यसपालिको डढेलोको खतरनाक पक्ष के छ भने यसले ठूलाठूला रूख पनि खरानी बनाइदिएको छ।’
डढेलोले जंगलमा मात्रै क्षति पुर्याएको छैन। मानव स्वास्थ्यमा पनि अप्रत्यक्ष रूपमा असर पारिरहेको छ।
वैशाख ३ गते काठमाडौं संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर बनेको थियो। आज पनि वायुको गुणस्तर नाप्ने स्वीट्जल्यान्डको संस्था आइक्युएयरको सूचीमा काठमाडौं तेस्रो धेरै प्रदुषित वायु भएको सहर हो।
वातावरण विभागका अनुसार देशभरिमा अहिले सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौं उपत्यकामै छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म नेपालमा ठूलो पानी पर्ने सम्भावना छैन। बेस्सरी हावा नचलीकन वा ठूलो पानी नपरिकन उपत्यकाको वायु प्रदषण हट्दैन।
केही दिनमा डढेलोका घटना बढेसँगै वायु प्रदुषण पनि बढ्ने देखिन्छ।
डढेलो नियन्त्रणका लागि के गर्ने त?
शर्मा भन्छन्- तत्काल हामी केही गर्न सक्दैनौं। डढेलो लागेको ठाउँमा गएर आगो निभाऊ भन्नु मान्छेलाई मर्न जाऊ भन्नुजस्तै हो। स्थानीयवासी, प्रहरी र सेनाले स्याउलाले हानेर अहिलेको डढेलो नियन्त्रण गर्न सम्भव छैन। अहिले संयमता अपनाउने मात्र हो ताकि डढेलोबाट मानवीय क्षति नहोस्।
दीर्घकालका लागि भने गर्नुपर्ने कुरा धेरै रहेको शर्मा बताउँछन्।
‘सबैभन्दा प्रमुख कुरा त हाम्रोमा डढेलोबारे डेडिकेटेड निकाय नै छैन। अहिले यति धेरै डढेलो लागेको छ, यसको जिम्मेवारी लिने निकाय कुनै छैन,’ शर्माले भने,‘डढेलोमा काम गर्ने शाखा, महाशाखा जे भए पनि छुट्टै निकाय चाहिन्छ।’
डढेलो नियन्त्रणका लागि नेपालमा जनशक्ति र स्रोत साधन पनि नभएको शर्माले औंल्याए।
‘हाम्रोमा जंगलको डढेलो निभाउने तालिम भएका अग्नि नियन्त्रक पनि छैनन्। अर्को कुरा अब एरियल फायर फाइटिङको प्रविधिमा नगई हुँदैन,’ शर्माले भने,‘तर यत्रो कहीँ चर्चा भएको छैन।’
डढेलो नियन्त्रणबारे सरकार र सांसदहरूको उदासिनता उदेकलाग्दो भएको उनले बताए।
‘सरकारले यस्तो कुरा अरूले भनेर सुन्दैन। सांसदहरूले संसदमा आवाज उठाए सुन्थ्यो कि,’ शर्माले भने,‘तर संसदमा पनि एक जना सांसदले यसबारे बोलेको सुनिदैँन।’