दुई सातायता नेपालमा कोरोना संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढिरहेको छ। काठमाडौं उपत्यकाका टेकु अस्पताल, वीर अस्पतालमा अहिले बिरामीको संख्या दिनदिनै थपिइरहेको छ।
आइतबारसम्मको तथ्यांकअनुसार वीर अस्पतालमा ९ जना र टेकु अस्पतालमा ३ जना कोरोना बिरामी उपचाररत् छन्। वीरमा उपचाररत् ९ जना बिरामीमध्ये पाँच जना आइसियू, एक जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालका कोभिड संयोजक डाक्टर उमेश बोगटीले जानकारी दिए।
टेकु अस्पतालकी निर्देशक डाक्टर मनीषा रावलले अस्पतालमा उपचाररत् ३ जना बिरामीमध्ये एक जना आइसियू र बाँकी दुई जना जनरल वार्डमा रहेको बताइन्।
दुई अस्पतालका यी चिकित्सकहरूका अनुसार अहिले भर्ना भएका बिरामीमध्ये अधिकांशमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, टाउको दुख्नेजस्ता लक्षण देखिएका छन्।
वीर अस्पतालका कोभिड संयोजक डाक्टर बोगटी भन्छन्, 'अहिले बिरामीहरूमा ज्वरो आउने, रूघाखोकी लाग्ने, घाँटी दुख्नेजस्ता समस्या देखिएको छ। केहीलाई भने पखला चल्ने र पेट दुख्ने लक्षण देखिएको छ।'
टेकु अस्पतालकी निर्देशक डाक्टर रावलले पनि भर्ना भएका बिरामीहरूमध्ये अधिकांशमा मौसमी फ्लूको लक्षण देखिएको भए पनि केहीमा भने स्वाद नआउने समस्या देखिएको बताइन्।
'दुई हप्तादेखिको अवस्था हेर्ने हो भने आजसम्म ७ जना बिरामीलाई उपचार गरेर घर पठाएका छौं। तीमध्ये धेरैलाई ज्वरो आउने, जीउ दुख्ने, घाँटी दुख्ने लक्षण देखिएको छ। केहीलाई भने पखला चल्ने र पेट दुख्ने पनि भएको छ,' उनले भनिन्।
यीबाहेक आइसियूमा भर्ना भएका बिरामीहरूमा निमोनियाको समस्या देखिएको निर्देशक रावल बताउँछिन्। आइसियूमा भर्ना भएका ७७ वर्षीय वृद्धमा निमोनियाको समस्या देखिएको उल्लेख गर्दै वार्डमा भएका दुई जना बिरामीमा भने ज्वरो आउने, घाँटी दुख्ने जस्ता सामान्य लक्षण रहेको उनले जनाइन्।
वीरका कोभिड संयोजक डाक्टर बोगटीका अनुसार भर्ना भएका बिरामीमध्ये जेष्ठ नागरिक र दीर्घ रोगीहरूलाई समस्या भएको छ। कतिपय दीर्घ रोग भएका बिरामीहरू अरू नै समस्याले आएका बेला कोरोना पनि परीक्षण गर्दा संक्रमण देखिएको उनले बताए।
'धेरैजसो बिरामीहरूचाहिँ कोरोनाको छुट्टै लक्षणभन्दा पनि मधुमेह, रक्तचाप र दमको समस्या भएर अस्पताल आउँदा शंका लागेर परीक्षण गर्दा कोरोना पनि देखिएको छ,' उनले भने।
डाक्टर बोगटीले उपचाररत् बिरामीमध्ये भेन्टिलेटरमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। भेन्टिलेटरमा रहेका ती व्यक्ति मधुमेहका समेत बिरामी भएको र कोभिडका कारण थप समस्या देखिएको उल्लेख गर्दै बाँकी आइसियूमा रहेका पाँच जना बिरामी अवस्था भने सामान्य रहेको उनले बताए।
टेकु अस्पतालकी निर्देशक डाक्टर रावलले पनि जेष्ठ नागरिक र कुनै दीर्घ रोगको समस्या नभएका व्यक्तिहरूमा भने सामान्य लक्षण मात्र देखिएको र थप जटिलता नदेखिएको बताइन्। उनले सामान्य लक्षण देखिएका बिरामीहरू केही दिनको अस्पताल बसाइपछि घर गएको जनाइन्।
'कुनै व्यक्तिलाई मधुमेह, रक्तचाप, मुटुको समस्या छ भने उहाँहरूलाई निको हुन अलिक समय लागेको छ। ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने जस्ता सामान्य लक्षण देखिएका बिरामीहरू भने तीनदेखि पाँच दिनमा निको भएर घर जानुभएको छ,' उनले भनिन्।
निर्देशक रावलले नेपालमा धेरै जनाले कोरोनाविरूद्धको खोप लगाएकाले पछिल्ला दुई सातायता संक्रमण फैलिरहे पनि अस्पताल भर्ना हुने बिरामीको संख्या पहिलेको तुलनामा न्यून रहेको र भर्ना भएकाहरूमा धेरै जटिलता नदेखिएको बताइन्।
भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि आगामी दिनमा संक्रमण बढे पनि अस्पताल भर्ना गर्नुपर्ने बिरामीको संख्या पहिलेजस्तो धेरै नहुने जनाइन्।
यसो भन्दैमा अहिले बढिरहेको संक्रमणलाई हेलचक्र्याइँ पनि गर्न नहुने उनी बताउँछिन्। अस्पतालमा भर्ना भएका केही बिरामीहरूलाई जटिलता पनि देखिएको उल्लेख गर्दै निर्देशक रावलले सबैले सतर्कता अपनाउनु पर्ने बताएकी छन्।
खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूलाई प्राथमिकताका आधारमा खोप लगाउन उनको सुझाव छ।