देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आज फोहोर उठेको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए।
सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले सिंहदरबार क्षेत्रको फोहर उठाउने र सरसफाइ गर्ने काम गर्छ।
मेयर बालेनले फोहोर उठाएर सिंहदरबारबाट बाहिर ननिकाल्न निर्देशन दिएका कारण फोहोर बाहिर ननिकालेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।
‘हामीलाई फोहोर नउठाउन निर्देशन दिनुभएको छ,’ उनले भने, ‘त्यही भएर फोहोर सबै कार्यलयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’
सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको छ।
शनिबार (हिजो) बालेन शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएका थिए।
काठमाडौं महानगर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले वडा तहमा कुनै छलफल नगरी फोहोर नउठाउन बालेनले ठाडो निर्देशन दिएको बताए।
'कर्मचारीहरूलाई फोहोर नउठाउन निर्देशन दिइएको रहेछ। त्यही भएर आज फोहोर उठेको छैन,' उनले भने, 'मेरो वडामा भएको सिंदरबारभित्र फोहर नउठाउने भनेको कुरा उहाँकै फेसबुक स्टाटस पढेर थाहा पाएको हुँ।'
सरकारसँग कुरा नमिलेसम्म फोहोर सिंहदरबारबाट नउठ्ने मेयर बालेनका स्वकीय सचिव भूपदेवले जानकारी दिए।
‘हामीले सरकारका प्रमुखहरूसँग कुराकानी गरेर पटक पटक आफ्ना कुराहरू राखेका छौं,’ उनले भने, ‘तर सहयोग गर्ने भनेर कुरा गरेता पनि कहिले पनि सहयोग गरिएन। त्यही भएर फोहोर नउठाउने कदम चालेका हौं।
शाहका अनुसार महानगरले विशेषगरी सुकुम्बासी बस्ती हटाउन सहयोग मागेको थियो।
मेयर बालेनले शनिबारदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए।
'आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका थिए।





