बाँसबारीमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अपरेशन टेबल बिग्रिएको धेरै समय भएको थियो। बनाउने मान्छे बोलाउँदा उनीहरू भन्थे- जापानबाट सामान मगाउनुपर्छ नत्र बनाउन सकिन्न।
गत साता राष्ट्रिय आविष्कार केन्द्रका तीन जना इन्जिनियरहरू हृदय केन्द्रमा गए। बिग्रिएको अपरेशन टेबल हेरे। समस्या पत्ता लगाए। केही घन्टामै मर्मत गरेर टेबलमा काम गर्न मिल्ने बनाइदिए।
अपरेशन टेबल बनेपछि हृदय केन्द्रका डाक्टर रामेश कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- महाविर दाइ, 'आज बन्दैन, सामान जापानबाट आउनुपर्छ, बोर्ड गयो' जस्ता कुराबाट हत्तु पार्नेहरूबाट छुटकारा दिनुभएकामा धन्यवाद! थुप्रै लोकल एजेन्ट रिसाए होलान् तर यहाँ र टिमले मेडिकल सामानको मेन्टिनेन्समा गरेको योगदानप्रति नमन छ। वाह, गंगालालको अपरेशन टेबल अन्तत: बन्यो!
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका अनुसार टेबल मर्मत गरिदिन हृदय केन्द्रबाट उनलाई फोन आएको थियो।
‘फोन आएपछि हाम्रा बायोमेडिकल इन्जिनियरहरूलाई पठाइदिएको थिएँ। उनीहरूले बनाएर आएका हुन्,’ पुनले सेतोपाटीसँग भने।
गंगालालका डाक्टरहरूलाई हत्तु पारेको मेसिन बनाइदिएको कुरालाई पुनले सामान्य रूपमा प्रस्तुत गरे। उनका लागि यो एउटा सामान्य घटना नै हो किनकी आविष्कार केन्द्रले देशका विभिन्न स्थानमा सरकारी अस्पतालमा पुगेर बिग्रिएका थुप्रै उपकरण मर्मत गरिसकेको छ।
मेडिकल सामग्री मर्मतलगायत काम गर्न आविष्कार केन्द्रमा बायोमेडिकल इन्जिनियरिङ विभाग नै छ। त्यसको नेतृत्व गर्छन् उमेश किरात र मोहितराज केसीले। त्यहाँका पाँच जना इन्जिनियरहरू सरकारी अस्पतालमा बिग्रिएका उपकरण बनाउन काठमाडौं उपत्यकाका ठूला सरकारी अस्पतालदेखि डोल्पा जिल्ला अस्पतालसम्म पुगिरहेका हुन्छन्।
तिनैमध्येका हुन्, पारस पौडेल र समिर अर्याल। पारसले तीन वर्षअघि बायोमेडिकल इन्जिनियरिङमा बिई सकेका हुन्। सुरूमा आविष्कार केन्द्रमा स्वयंसेवक बनेका उनी अहिले यहीँ काम गर्छन्।
समिर पहिला अर्कै कम्पनीमा काम गर्थे। उनले काम गर्ने ठाउँमा कहिलेकाहीँ महावीर पुन पनि जोडिन्थे, उनीहरूबीच चिनजान थियो। पछि समिर आविष्कार केन्द्रमै काम गर्न आए।

बुधबार साँझ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्र रहेको आविष्कार केन्द्रमा पुग्दा पारस र समिर आफ्नो विभागमा काम गरिरहेका थिए। गंगालालको अपरेशन टेबल मर्मतमा गएका उनीहरूको कार्यकक्षमा पनि मर्मत गर्न ल्याएका विभिन्न अस्पतालका उपकरण थिए।
पारस र समिरले आफूहरूले कसरी सरकारी अस्पतालका उपकरण मर्मत गर्छौं भनेर सुनाए।
‘आविष्कार केन्द्र सुरू भएदेखि नै बनेको हाम्रो विभागमा मेडिकल उपकरणसम्बन्धी अनुसन्धान, उत्पादन र मर्मत गरी मुख्य तीन वटा काम हुन्छन्,’ पारसले भने।
आविष्कार केन्द्रले अनुसन्धान गरेर आफैंले बनाएको उपकरण हो, न्यानो नानी। नवजात शिशुलाई न्यानो राख्न प्रयोग हुने यो उपकरणको केन्द्रले अहिले व्यावसायिक रूपमा उत्पादन गरिरहेको छ।
केहीले केन्द्रमै आएर मेसिन किनेर लैजान्छन् भने केही संस्थाले केन्द्रबाट किनेर विभिन्न व्यक्तिलाई अनुदानमा दिने गरेका छन्।
‘केही अरू साथीहरू रिसर्च र डिजाइनमा काम गर्नुहुन्छ। हामीचाहिँ उपकरण मर्मतमै हिँडिरहेका हुन्छौं,’ समिरले भने।
पारस र समिर मेडिकल उपकरण मर्मत गर्न कोशी र मधेशबाहेक देशका अरू सबै प्रदेशमा पुगेका छन्। उनीहरूले काम गर्ने लगभग सबै सरकारी अस्पताल हुन्।
सबैभन्दा पहिला अस्पतालका मान्छेहरूले हाम्रा सामान बिग्रिएका छन्। के भएको हो हेरिदिनु पर्यो, मर्मत गरिदिनु पर्यो भनेर फोन गर्छन्। त्यस्तो फोन प्राय: महावीर पुनलाई नै आउने गर्छ।
फोन आइसकेपछि को, कहाँ, कहिले जाने भन्ने सल्लाह हुन्छ। अरू ठाउँमा आफ्नो काम गर्न बोलाउनेले आउने मान्छेको आउजाउदेखि बस्ने ठाउँ र खानपिनको व्यवस्था गरिदिन्छन्। आविष्कार केन्द्रबाट काममा जाँदा भने आउने-जाने र बस्ने-खाने व्यवस्था आफैंले गर्नुपर्छ।
‘पहिला हामी सल्लाह गर्छौं कुनै ठाउँमा जान कति समय र पैसा लाग्छ भनेर त्यसपछि अवस्था हेरिकन कहीँ जहाजबाट त कहीँ गाडीबाट जान्छौं,’ पारसले भने, ‘त्यो खर्च केन्द्रले नै व्यहोर्छ।’
अस्पतालमा पुगिसकेपछि उनीहरू सबैभन्दा पहिला के-के सामान बिग्रिएका छन् भनेर हेर्छन्।
‘फिल्डमा पुगिसकेपछि हाम्रो पहिलो काम कुन मेसिन के भएर बिग्रिएको हो भन्ने पत्ता लगाउनु हुन्छ। मेसिनामा के समस्या भएको हो भनेर चलाउनेहरूलाई सोध्छौं। आफैंले पनि हेरेर समस्या पत्ता लगाउँछौं,’ पारसले भने, ‘समस्या पत्ता लगाइसकेपछि कसरी मर्मत गर्न सकिन्छ त्यो हेर्छौं। फिल्डमै सकिने काम भए त्यहीँ मर्मत गरिदिन्छौं, त्यहाँ बनाउन नसकिने तर बोक्न मिल्ने मेसिन भए केन्द्रमै ल्याएर आउँछौं।’

धेरैजसो जिल्ला अस्पतालहरूमा उपकरणहरू बिग्रिएमा बनाउने बायोमेडिकल इन्जिनियरहरू हुँदैनन्। इलेक्ट्रिसियनले नै उपकरण मर्मतको काम गरिरहेका हुन्छन्।
‘कुनै ठाउँमा मेसिनको बटनले काम नगरेको, वाइरिङ टुटेकोजस्ता सामान्य समस्या भएका हुन्छन्,’ समिरले भने,‘सामान्य कुरा बिग्रँदा पनि उपकरण चलाउन नसकेर थन्किएका हुन्छन्।’
उनीहरू पुगेका अस्पतालमा बिग्रिएका उपकरणहरूमध्ये धेरैमा सामान्य समस्या देखिन्छ।
‘हामी फिल्डमा जाँदा अस्पतालहरूले बिग्रिए भनेर राखेकामध्ये लगभग ७५ प्रतिशतमा सामान्य किसिमका समस्या हुन्छन्। वाइरिङ टुटेका, सेन्सरले काम नगरेकाजस्ता समस्या हामी तत्कालै मर्मत गरिदिन्छौं,’ समिरले भने, ‘बाहिरबाट सामान मगाएर फेर्नुपर्ने खालका मर्मत भने हामी गर्न सक्दैनौं।’
जिल्ला अस्पतालहरूले उपकरण मर्मतका लागि पहिला नै योजना बनाएर बजेट नछुट्याउने र बजेट भए पनि कतिपय ठाउँमा दक्ष प्राविधिक नहुँदा मेडिकल उपकरणहरू थन्किएको आफूहरूले देखेको उनीहरू बताउँछन्।
सहरका ठूला अस्पतालमा उपकरण बनाउने छुट्टै विभाग भए पनि काम प्रभावकारी रूपमा भएको देखिँदैन।
सरकारी अस्पतालले मेडिकल उपकरण खरिद गर्दा टेन्डर प्रक्रिया पूरा गर्नुपर्छ। टेन्डरमा उपकरण बिग्रिएमा सम्बन्धित कम्पनीले निश्चित समयसम्म मर्मत गरिदिनु पर्ने सर्त पनि हुन्छ।
तर त्यस्ता सर्तहरू पालना गर्न अस्पताल प्रशासनले कडिकडाउ नगर्दा मेडिकल उपकरणहरू उपलब्ध गराउने त्यस्ता कम्पनीले आफ्नो जिम्मेवारी पूरा गर्न आलटाल गर्छन्। भएका उपकरणले काम नगरेपछि बिरामीले सास्ती झेल्नुपर्छ।
बिग्रिएका उपकरणमा समस्या पत्ता लगाइसकेपछि समिर र पारसहरूले मर्मत गर्न सुरू गर्छन्।
मर्मतमा चाहिने न्यूनतम सामग्री उनीहरूले आफैं बोकेका हुन्छन्।

‘केही सामान फेर्नु पर्ने भयो भने सुरूमा हामी अस्पतालको मान्छेलाई तपाईंहरूसँग स्टोरमा यो सामान छ भनेर सोध्छौं, उहाँहरूले छैन भनेपछि हामीसँग सामान रैछ भने त्यही राखेर आउँछौं,’ समिरले भने, ‘सामान नै छैन भने त मर्मत गर्न सकिन्न। महंगो सामान हामी पनि दिन सक्दैनौं। उहाँहरूले किन्न फेरि टेन्डर गर्नुपर्छ। त्यस्तो अवस्थामा मर्मत गर्न सकिन्न।’
काठमाडौं उपत्यकाभित्र होस् वा दुर्गम जिल्लाका अस्पताल। जहाँ पुगेर उपकरण मर्मत गरे पनि त्यसबापत् पनि उनीहरूले कुनै पैसा लिँदैनन्।
‘हामी त जाने हो, काम गरिदिने हो अनि फर्किने हो। कोहीले खाजासाजा खुवाउनुहुन्छ। त्योबाहेक अरू केही दिनुहुन्न,’ पारसले भने, ‘हामीलाई दिन सायद उहाँहरूले बजेट नै छुट्याउनु भएको हुन्न।’
विभिन्न संघ-संस्थाहरूले भने बेला-बेलामा आविष्कार केन्द्रको यो कामलाई सहयोग गरिरहेका हुन्छन्।
केही समयअघि अमेरिकी सहयोग नियोग युएसएडको सहयोगमा कर्णाली र लुम्बिनी प्रदेशमा सबै जिल्ला अस्पतालहरूमा उपकरण मर्मतको काम भएको पारसले जानकारी दिए।
‘त्यो प्रोजेक्टअन्तर्गत हामीले सबै जिल्लाका कुन-कुन अस्पतालमा के-के उपकरण बिग्रिएका छन् भनेर हेर्यौं त्यसपछि फेरि तिनीहरूको मर्मत गर्यौ,’ पारसले भने।
जिल्ला अस्पताल दुनै डोल्पाका चिकित्सा शाखाका प्रमुख डाक्टर अखण्ड उपाध्यायले आविष्कार केन्द्रका इन्जिनियर आएर आफूहरूलाई निकै ठूलो राहत भएको बताए।
‘पोहोर साल हाम्रो अस्पतालमा एक्सरे मेसिनको प्रिन्टर बिग्रिएको थियो। सोलारको प्यानल बिग्रिएको थियो। ल्याबमा पनि थुप्रै सामान बिग्रिएका थिए,’ उपाध्यायले भने,‘उहाँहरू आएर अक्सिजन कन्सन्टेटरदेखि बेबी वार्मरसम्म मर्मत गरिदिनुभयो। उहाँहरूले बनाएका सामानले अहिलेसम्म काम गरिरहेका छन्।’
अस्पतालमा सामान बनाउने बिजुलीको सामान्य तालिम लिएका व्यक्तिमात्र भएकाले सरकारले नै केन्द्रसँग सहकार्य गरेर बेलाबेलामा इन्जिनियर पठाउने गर्दा एकातिर अस्पतालको खर्च जोगिने र अर्कातिर बिरामीले पनि सेवा पाउने उपाध्यायले बताए।
केन्द्रका इन्जिनियरहरूले बिग्रिएका उपकरणहरू बनाइदिएको देखेर अहिले केही अस्पतालहरूले उपकरणको नियमित मर्मतलाई प्राथमिकतामा राख्न पनि थालेका छन्। ललितपुरको पाटन अस्पताल र पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आविष्कार केन्द्रसँग उपकरण मर्मतको सम्झौता नै गरेका छन्।
पाटन अस्पतालमा आविष्कार केन्द्र कीर्तिपुरबाट बायोमेडिकल इन्जिनियरहरू जान्छन् भने पोखराका लागि काम गर्ने भनेर दुई जना उतै बसिरहेका छन्।
‘अस्पतालहरूलाई उपकरण मर्मत गर्ने दक्ष जनशक्ति नभई नहुने रैछ भन्ने महशुस हुन थालेको छ। विभिन्न ठाउँबाट हाम्रो अस्पतालमा आएर हेरिदिनुपर्यो भनेर भनिरहनु भएको छ,’ पारसले भने, ‘अब छिट्टै हामी धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित कोशी र मधेश प्रदेशका विभिन्न अस्पतालहरूमा जाँदैछौं।’
आविष्कार केन्द्रले यहाँ काम गर्ने यी इन्जिनियरहरूलाई मासिक तलब दिन्छ। त्यो बाहेक उनीहरूले अरू सेवा-सुविधा केही पाउँदैनन्।
‘बाहिर काम गर्ने हाम्रा साथीहरूको कमाइसँग तुलना गर्ने हो भने त हाम्रो यहाँको तलब केही पनि होइन। इन्जिनियरिङ पढ्दा मेरो यति खर्च भएको छ, त्यो उठाउँछु टन्न पैसा कमाउँछु भन्ने हो भने यहाँ काम नगरे हुन्छ,’ पारसले भने।
उनीहरूलाई भने कमाइ नभए पनि आविष्कार केन्द्रमा काम गर्न आनन्द लागिरहेको छ।
‘समाजलाई केही योगदान गरौं भनेर महावीर सरले आविष्कार केन्द्र खोल्नुभएको हो। हामीले यहाँ काम गरेर आफूले काम सिक्ने र उहाँको सपना पूरा गर्न सघाउने हो। आविष्कार केन्द्रमा काम गर्नुको मजा बेग्लै छ,’ समिर भने।
पारसले समिरको कुरामा सहमति जनाए।