ललितपुर महानगर र कीर्तिपुर नगरपालिकाका मेयरको उपस्थितिमा रातो मच्छिन्द्रनाथ जात्राका सरोकारवाला समूहहरूको बैठकले कीर्तिपुरको प्यंगथाँमा राखिएको रातो मच्छिन्द्रनाथ र ‘जीवित देवी’ भनिने याकः मिसा (एक्ली केटी) को प्रतिमूर्ति हटाउने निर्णय गरेको छ।
ललितपुर महानगरपालिकाको सभाकक्षमा मंगलबार दिउँसो साढे तीन घन्टा चलेको बैठकले ‘रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना गर्नु धर्म र संस्कृतिको मर्मविपरीत हुने’ भन्दै कीर्तिपुरबाट दुवै मूर्ति हटाउने निर्णय गरेको हो।
ती मूर्ति गुठी संस्थानलाई हस्तान्तरण गर्ने र गुठीले आफ्नो बन्दकोठामा सुरक्षित राख्ने प्रस्ताव ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गरेका छन्।
यसरी गुठीको निगरानीमा राख्दा मूर्तिको पृष्ठभूमिसमेत इतिहासका रूपमा उल्लेख गर्ने प्रस्ताव पनि गरिएको छ।
‘कसैले कहीँ पनि राख्न नपाउने रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति कीर्तिपुरको प्यंगथाँमा कसरी स्थापना हुन पुग्यो, के कारणले यो मूर्ति बनाइयो र पछि के कारणले गुठीलाई हस्तान्तरण गरियो भन्ने पृष्ठभूमि खुलाएर विवरण तयार पारौं,’ मेयर महर्जनले भने, ‘त्यस्तो विवरणलाई मूर्तिमा पटुकाजस्तो बाँधेर राख्न सकिन्छ वा स्थायी रूपमा लेखेर मूर्तिसँगै राख्न पनि सकिन्छ।’
यसो गर्दा प्यंगथाँबाट झिकिएको रातो मच्छिन्द्रनाथ र याकः मिसाको मूर्तिको इतिहास गुठी संस्थानमा सुरक्षित रहने उनले बताए।
‘आगामी दिनमा अरू कसैले रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाउने कार्य नगरोस् भनेर पनि अहिले बनेका मूर्तिको इतिहास सुरक्षित राख्नु राम्रो हुन्छ,’ उनले भने, ‘यसबाट अरूले पाठ सिक्नेछन्।’
दुवै मूर्ति हटाइसकेपछि रातो मच्छिन्द्रनाथका पुजारीले हरेक वर्ष प्यंगथाँ गएर याकः मिसालाई फूल–प्रसाद चढाउने परम्परा अझ भव्य रूपमा सञ्चालन गर्ने निर्णय पनि मंगलबारको बैठकले गरेको छ।
रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले ती मूर्ति हटाइएनन् भने यसपालिको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगथाँ नजाने अडान लिएको थियो।
बैठकको निर्णयमा ललितपुर र कीर्तिपुरका मेयरसहित गुठी संस्थानका प्रतिनिधि र रातो मच्छिन्द्रनाथका पुजारीहरूले हस्ताक्षर गरेका छन्। तर, प्यंगथाँमा मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमूर्ति स्थापना गर्ने सुखी गछेँ समाजका प्रतिनिधिहरूले भने निर्णयमा हस्ताक्षर गर्न मानेनन्।
बैठकमा सुखी गछेँ समाजका तर्फबाट तीन जना प्रतिनिधि सहभागी थिए। प्यंगथाँवासीले बाजागाजासहित स्वागत गरेर प्रतिस्थापन गरिसकेको मूर्ति झिकेर गुठी संस्थानलाई सुम्पने निर्णयमा हस्ताक्षर गर्ने अधिकार आफूहरूलाई नभएको बैठकमा सहभागी समाजका सचिव नारायण महर्जनले बताए।
‘हामी तीन जनाले यति ठूलो निर्णयमा तुरून्तै सहमति जनाएर हस्ताक्षर गर्न असमर्थ छौं। हामीलाई त्यसको म्यान्डेट छैन,’ उनले भने, ‘हामी प्यंगथाँका स्थानीय र कीर्तिपुरका संस्कृतिविद् तथा बुद्धिजीविहरूसँग सरसल्लाह गर्छौं। त्यसपछि मात्र आफ्नो अन्तिम निर्णय राख्न सक्छौं।’
उनले यस निम्ति बैठकमा उपस्थिति अन्य प्रतिनिधिहरूसँग केही दिन मागेका थिए। तर, रातो मच्छिन्द्रनाथ जात्रा सुरू हुने समय आउनै लागेकाले निर्णय गर्न हतार भएको कुरा बैठकमा उठ्यो। ललितपुरका मेयर चिरिबाबुले पनि यो विवाद धेरै थाती नराखौं भनेर मंगलबार ‘निर्णायक’ बैठक डाकिएको र ‘अनिवार्य उपस्थिति’ को आग्रह गर्दै पत्राचार गरिएको स्मरण गराए।
‘निर्णायक बैठक बसौं भनेर पत्राचार गरेपछि तपाईंहरू यसको पेटबोली बुझेर निर्णय गर्ने म्यान्डेटसहित उपस्थित हुनुपर्थ्यो,’ उनले भने।
उनले अगाडि भने, ‘तपाईंहरूलाई बाजागाजासहित स्वागत गरेको मूर्ति फर्काउन अप्ठ्यारो परेको हो भने फेरि पनि बाजागाजासहित गुठी संस्थानलाई हस्तान्तरण गर्न सक्नुहुन्छ।’
मूर्ति प्यंगथाँमा रहिरहे चौध सय वर्षभन्दा लामो परम्परा टुट्ने अवस्था आएको उल्लेख गर्दै मेयर महर्जनले यसको दोष सुखी गछेँ समाजलाई नै जाने बताए। ‘मच्छिन्द्रनाथका पुजारीहरू फूल–प्रसाद लिएर आउनुभएन भने तपाईंहरूले मूर्ति मात्र राख्नुको के अर्थ?’ उनले भने।
यति मात्र होइन, पुरातत्व विभागले मूर्ति फिर्ता लिन काठमाडौं महानगरपालिकाका नाममा पत्र काटिसकेकाले पनि त्यसको कार्यान्वयन जरूरी भएको उनले बताए।
प्यंगथाँमा रातो मच्छिन्द्रनाथ र याकः मिसाको प्रतिमूर्ति बनाउन काठमाडौं महानगरले १७ लाख ७५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको थियो। मंसिर १५ गते काठमाडौंका मेयर बालेन शाहले नै पाटनको महाबुद्ध विहारमा दुवै मूर्ति प्यंगथाँका स्थानीयलाई हस्तान्तरण गरेका थिए।
काठमाडौं महानगरको संलग्नताबारे टिप्पणी गर्दै मेयर महर्जनले भने, ‘बालेन शाहले हरेक कुरा मसँग सोधिरहन्छन्। उनी मलाई गुरू पनि भन्छन्। तर यी मूर्ति बनाउने विषयमा मसँग सल्लाह गरेनन्। मलाई सोधेका भए म उनलाई त्यही बेला रोक्थेँ। विवाद यहाँसम्म आइपुग्दै आइपुग्थेन।’
उनले यो पनि भने, ‘पुरातत्व विभागले मूर्ति फिर्ता लिन पत्र काटिसकेकाले त्यसै पनि त्यहाँ राख्न मिल्दैन। भोलि काठमाडौं महानगरले पुरातत्वको पत्रको हवाला दिँदै तुरून्तै मूर्ति फिर्ता गर्नुस् भन्यो भने तपाईंहरूलाई राम्रो हुँदैन। बालेन शाहको ठाउँमा मलाई पत्र लेखिएको भए सम्भवतः अहिलेसम्म म मूर्ति फिर्ता लिइसक्थेँ।’
मेयर महर्जनले यति कुरा भनेपछि सुखी गछेँ समाजका तीनै जना प्रतिनिधि बैठक छाडेर हिँडेका थिए। त्यसपछि बैठकले निर्णयको माइन्यूट तयार पारेर बाँकी सहभागीहरूको हस्ताक्षर लिएको थियो।
रातो मच्छिन्द्रनाथ र याकः मिसाको सम्बन्धबारे अनेकौं किम्बदन्ती प्रचलित छन्। तीमध्ये कीर्तिपुरमा प्रचलित किम्बदन्तीअनुसार याकः मिसालाई रातो मच्छिन्द्रनाथकी ‘प्रेमिका’ मानिन्छ।
किम्बदन्ती फरक–फरक भए पनि सबैमा एउटा कुरा समान छ — याकः मिसा कसैगरी पनि रातो मच्छिन्द्रनाथबाट अलग हुन चाहँदिनन्। उनी मच्छिन्द्रनाथलाई आफूसँगै प्यंगथाँमा राख्न चाहन्छिन्। तर लोकले मानेका लोकेश्वरको निम्ति यो सम्भव हुँदैन। उनी याकः मिसाको मोहमा बाँधिएर प्यंगथाँमै बसेका भए रथयात्रा बीचमै रोकिन्थ्यो, बुंगमतीमा उनको पीठ रित्तो हुन्थ्यो।
त्यही भएर याकः मिसाले ‘मलाई छाडेर नजानू देव’ भन्दै लाख बिन्ती गर्दा पनि मच्छिन्द्रनाथका पाइला रोकिएनन्। हरेक वर्ष याकः मिसालाई भेट्न प्यंगथाँ आउने बाचा गर्दै उनी फर्के।
अहिलेसम्म कथामा सीमित पात्रलाई जीवन्त रूप दिँदै रातो मच्छिन्द्रनाथ र कीर्तिपुरको सम्बन्धबारे सबैलाई सूचित गराउन यी मूर्ति स्थापना गरिएको सुखी गछेँ समाजका सचिव नारायण महर्जन बताउँछन्।
‘बुंगद्यः’ समेत भनिने रातो मच्छिन्द्रनाथका पुजारीले भने प्यंगथाँमा मच्छिन्द्रनाथको प्रतिमूर्ति राख्न नदिने अडान लिँदै आएका थिए। प्यंगथाँवासीले एकपक्षीय रूपमा गरेको मूर्ति स्थापनाले याकः मिसासँग जोडिएको संस्कृतिको औचित्य नै समाप्त पारिदिएको उनीहरूको भनाइ छ।
‘जीवित देवीहरूको मूर्ति कहिले पनि बन्दैन,’ संघका अध्यक्ष यज्ञरत्न शाक्यले बैठकमा भनेका थिए, ‘प्यंगथाँमा जीवित देवीको मूर्ति र श्री मच्छिन्द्रनाथको प्रतिमूर्ति रहुञ्जेल हामी कीर्तिपुरमा प्रसाद ग्रहण गराउने कार्य बन्द गर्ने छौं।’
उनले अगाडि भने, ‘कीर्तिपुरको प्यंगथाँस्थित पवित्र स्थलमा रातो मच्छिन्द्रनाथको प्रतिनिधि भएर जल पानेजु (पुजारी) ले शक्ति स्वरूपा कन्या कुमारी याकः मिसालाई फूल–प्रसाद ग्रहण गराउन जाने हाम्रो परम्परा हो। उहाँहरूले रातो मच्छिन्द्रनाथको प्रतिरूप नै प्यंगथाँमा लगेर राखेपछि हामी मच्छिन्द्रनाथको प्रतिनिधि भएर किन जानुपर्यो? यो संस्कृतिलाई निरन्तरता दिनुको औचित्य नै अब रहेन।’
मूर्ति स्थापनामा अगुवाइ गरेका प्यंगथाँका स्थानीय तथा सुखी गछेँ समाजका सचिव महर्जनले भने आफूहरूले कुनै व्यक्तिगत स्वार्थवश वा रातो मच्छिन्द्रनाथ जात्रामा खलल् पुर्याउने मनसायले उक्त मूर्ति नराखेको बताए।
‘रातो मच्छिन्द्रनाथको मूल प्राण बुंगमतीमै छ। उहाँको आस्थालाई असर पार्ने हाम्रो मनसाय होइन। हामीले यहाँ राखेको प्रतिरूप मात्र हो। हामीले कीर्तिपुरकी याकः मिसासँग जोडिएको किम्बदन्ती सबैलाई सुनाउन र बुझाउन यी मूर्ति राखेका हौं। प्यंगथाँको पर्यटन, धार्मिक तथा सांस्कृतिक महत्वलाई बढावा दिने मनसायले हामीले यो अभियान चलाएका हौं। याकः मिसाको कथा जीवन्त राख्न यसले सहयोग गर्छ भन्ने हामीले सोचेका छौं,’ उनले भने।
उनले सहमतिको निम्ति केही विकल्प बैठकमा प्रस्ताव गर्न खोजेका थिए। सबै विकल्प सुनाउन नभ्याउँदै पुजारीहरूले आपत्ति जनाए। मूर्ति हटाएर गुठी संस्थानलाई जिम्मा लगाउनु नै एक मात्र विकल्प भएको पुजारीहरूको अडान रह्यो।
प्यंगथाँकी जीवित देवी याक: मिसालाई फूल-प्रसाद चढाउन जाने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ। रातो मच्छिन्द्रनाथको जात्रा कम्तिमा १४ सय वर्षदेखि चल्दै आएको मानिन्छ।
आज पनि मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेर प्यंगथाँ आउँछन् र प्यंगथाँवासीले मच्छिन्द्रनाथकी जीवित ‘प्रेमिका’ मान्ने लक्ष्मीकुमारी महर्जनलाई फूल र प्रसाद चढाउँछन्।
प्यंगथाँको जुन मन्दिरमा अहिले मच्छिन्द्रनाथ र याकः मिसाको मूर्ति प्रतिस्थापन गरियो, त्यहाँ पहिले ढुंगाको आसन र आसनसामुन्ने तीनवटा मण्डपबाहेक अरू दैवी मूर्ति केही थिएन।
उक्त ढुंगाको आसन र मण्डपको यहाँ ठूलो महत्व छ, किनभने त्यही ढुंगामाथि बसेर रातो मच्छिन्द्रनाथका पुजारीले मण्डपमा बसेकी याकः मिसा अर्थात् लक्ष्मीकुमारीलाई फूल–प्रसाद दिने गर्छन्। लक्ष्मीले प्रसाद लिइसकेपछि उनकै खलकका अरू कुमारी कन्याहरूले लिने चलन छ। त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायका अविवाहित केटीहरू यो विधिमा सरिक हुन्छन्।