यो समय मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानको हो। यस महिना मुस्लिम धर्मावलम्बीहरू ३० दिनसम्म रोजा (व्रत) बस्छन्।
बोदेबसाइन, सप्तरीका ६० वर्षीय तयाब अली भने महोत्तरीको बर्दिबासदेखि ११ दिन हिँडेर काठमाडौं आएका छन्। उनी र उनीजस्ता करिब ८० मिटरब्याज पीडितहरू न्याय खोज्दै यति बेला काठमाडौं आएका हुन्।
११ दिन हिँडेर काठमाडौं आइपुग्दाको अनुभव साट्दै तयाब अली भन्छन्, 'मिटरब्याजको चक्करमा मैले रमजानमा रोजा बस्न पाइनँ। हरेक दिन गर्नुपर्ने नमाज पनि छुट्यो। म मधुमेह र प्रेसरको रोगी हुँ। मलाई समय मिलाएर खाना खानुपर्छ तर यति ठूलो समूहमा म एक्लैलाई कहाँबाट हुन्छ? मलाई भात, आलु नखानु भनेको छ। तर अहिले बिहानबेलुकै त्यही खाँदैछु।'
उनले आफ्नो दायाँ खुट्टाको सुरूवाल माथि सारे र ब्यान्डेज गरेको भाग देखाउँदै भने, 'मेरो खुट्टा पनि पहिला लडेर तीन टुक्रा भई फुटेको थियो। त्यसले पनि हिँड्न समस्या दिन्छ।'
यसरी अनेक दुःख सहँदै उनी काठमाडौं आउनुको कारण हो मिटरब्याज।
अलीका अनुसार २०७१ सालमा स्थानीय साहुसँग उनले ३८ लाख ७० हजार रूपैयाँ ऋण लिएका थिए। त्यो पैसाले उनले जग्गा किने, छोराछोरीको बिहे गरिदिए र एउटा छोरालाई विदेश पठाए।
ऋण लिँदा उनले एक विघा, ८ कट्ठा जमिन धितो राखेका थिए। हालसम्म ८२ लाख रूपैयाँ तिरिसकेको उनी बताउँछन्। तर साहुले उनको जमिन बेचिदिए।
'साहुसँग जग्गाको हिसाब मागिरह्यौं तर अहिलेसम्म दिएनन्। अहिले त हाम्रो सम्पर्कमै छैनन्,' तयाब अलीले भने, 'मेरो जग्गा थियो, त्यो अहिले उसको नाममा छ। ऋण तिरेपछि त्यो जग्गा मलाई फिर्ता आउनुपर्ने होइन?'
उनले पाँच कट्ठा जमिन राखेर अर्का साहुसँग पनि २१ लाख रूपैयाँ लिएका थिए। त्यो जग्गा पनि अहिले ती साहुले आफ्नै भएको दाबी गर्न थालेका अलीले बताए।
अलीजस्तै मिटरब्याजबाट पीडित भएकाले न्याय पाउनुपर्ने माग लिएर काठमाडौं आएकाहरू करिब ८० जना छन्। उनीहरू तमसुक व्यवस्था खारेज गर्न र कानुन बनाउन भन्दै काठमाडौं आएका हुन्।
गत जेठ अन्तिममा पनि मिटरब्याज पीडितहरू न्याय माग्दै माइतीघर आएका थिए। त्यति बेला उनीहरूले १४ दिनसम्म धर्ना दिए। त्यसपछि साउनमा ४७ दिन धर्ना दिएका थिए। दुई चरणको धर्नापछि गृह मन्त्रालयले सुदखोरहरूको धनसम्पत्ति छानबिन गर्ने, पीडितलाई लिखित र मौखिक धम्कीबाट मुक्त गर्ने लगायत सम्झौता गरेको थियो।
'सम्झौताअनुसार आफ्नो सम्पत्ति फिर्ता पाउन पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुपर्ने थियो। उजुरी दिँदा त्यहाँका सिडिओहरूले कानुन नबनेसम्म आफूहरूले समस्या समाधान गर्न नसक्ने भन्दै फर्काइदिए। त्यसैले फेरि काठमाडौं आएका हौं,' मिटरब्याज पीडितका अभियन्ता संघर्ष दाहालले भने।
संघर्षका अनुसार पैसा लेनदेनमा तमसुक बनाउँदा साहुहरूले लिएकोभन्दा धेरै रकम उल्लेख गर्छन्। त्यस्तै ऋण लिँदा धितोका रूपमा राखेको जग्गा साहुकै नाममा पास गरिदिनुपर्ने बाध्यात्मक अवस्था पनि हुन्छ। यही अवस्थाको फाइदा साहुहरूले उठाइरहेका छन्।
यति हुँदाहुँदै पनि उनीहरू किन बैंक वा वित्तीय संस्थामा नगई साहुसँग ऋण लिन्छन् त?
जवाफमा सप्तरीका मिटरब्याज पीडित मोहम्मद मुस्तकिन भन्छन्, 'बैंकले यो भएन, त्यो भएन, यो सम्पत्ति कहाँबाट ल्याएको लगायत भन्दाभन्दै निकै झमेला गर्छ। आजभोलि गर्दागर्दै चाहिएको समयमा पैसा पाइन्न। त्यही भएर उनीहरूसँग पैसा लिनुपरेको।'
मोहम्मद बुवाले लिएको सात लाख ऋणका कारण अहिलेसम्म मिटरब्याजमा फसेको बताउँछन्। ऋण लिँदा बुवाले दुईतले घरसहितको जग्गा धितो राखेका रहेछन्।
'मैले विदेश गएर कमाएर सात लाखको २१ लाख तिरिसकेँ तर सम्पत्ति फिर्ता पाएको छैन। साहुले अब ६० लाख तिर्नुपर्ने भन्छ,' उनले भने, 'साहुले अहिले कि पैसा तिर, कि घर खाली गर नभए प्रहरी लगाउँछु भन्दै धम्की दिएको छ। सरकारले त्यो घुसखोरलाई सजाय दिने कानुन बनाइदिओस् भनेर काठमाडौं आएको हुँ।'
साहुहरूबाट आर्थिक मात्र होइन मानसिक र शारीरिक पीडा पनि भोग्नुपरेको उनीहरू बताउँछन्।
सिरहाकी पुनितादेवी महतोले स्थानीय महिलासँग ५५ हजार ऋण लिएकी थिइन्। एक सातामै पाँच हजार फिर्ता गरिन्। बाँकी ५० हजारका लागि साताको ११ हजार रूपैयाँ ब्याज तोकिएको उनले बताइन्।
एक लाख ११ हजार रूपैयाँ बुझाइसक्दा पनि उनको ऋण सकिएको छैन। साहुले पाँच लाख रूपैयाँ मागेको र नदिएका कारण मुद्दा लगाएको महतो बताउँछिन्।
'मैले लिएको पैसा फिर्ता दिएँ। पाँच लाख तिर्नै सक्दिनँ भनेपछि अदालतमा मलाई मुद्दा हालियो। अदालतबाट अहिले तीन लाखको पुर्जी आएको छ तर ऊ पाँच लाख नै दिनुपर्छ भन्छे। मलाई गाली गर्छे, कुट्न आउँछे र पैसा दिन नसक्ने भए मेरो घरमा काम गरेर बस् भन्छे।'
पुनितादेवी एकल महिला हुन्। १२ वर्षअघि उनी श्रीमानको मृत्यु हुँदा पहिलोपटक काठमाडौं आएकी थिइन्। यो उनको दोस्रोपटक हो।
उनी भन्छिन्, 'एकल महिलालाई त न गाउँले सुन्छ, न सिडिओले। हाम्रो गाउँका ठूलाहरूले हामीलाई दबाएर गाउँबाटै पनि निकालेको छ। काठमाडौंले त मेरो समस्या सुन्ला भनेर आएकी हुँ।'
धनुषा, सबैलाकी कल्पना धामी पनि आफूले लिएको ५० हजारकै कारण मिटरब्याजमा फसेपछि दूधे बालक च्यापेर काठमाडौं आएकी बताउँछिन्। आफ्नो पाँच वर्षे ठूलो छोरा बोल्न नसक्ने भएकाले उपचारका लागि उनले ५० हजार ऋण लिएकी थिइन्। लघुबित्तबाट पैसा झिकेर साहुलाई एक लाख रूपैयाँ तिरिसकिन्।
'अब दुई लाख तिर्नुपर्ने रे। महिनाको २० हजार तिर् भन्दै साहुले सताउँछिन्। नराम्रो नराम्रो शब्दले गाली गर्छिन् र चप्पलले मारपिट गर्छिन्। अन्याय सहनुभन्दा सडकमै आउँछु भनेर ६ महिने बच्चा च्यापेर काठमाडौं आएकी हुँ,' उनले भनिन्।
यसपटक मिटरब्याज पीडितहरूको आन्दोलन गर्ने, धर्ना दिने, सिंहदरबार जाने लगायत विभिन्न योजना छ। उनीहरू तमसुक व्यवस्था खारेज नभएसम्म र मिटरब्याजविरूद्ध कानुन नबनेसम्म नफर्कने अडानमा छन्।
'हाम्रो कुरा न पुलिसले सुन्छ, न सिडिओले। त्यही भएकाले जति दिन लाग्छ, योपटक त कानुन बनाएर जाने हो,' पीडित मोहम्मद मुस्तकिनले भने, 'हाम्रो जग्गाजमिन त साहु–महाजनले लिइहाल्छ, अनि हामी कहाँ बस्ने?'