मिथिलाक कथासभ : अध्याय १०
मिथिलाका राजा जनकको दरबारमा विद्वानहरूको कुनै कमी थिएन। तिनै विद्वानहरूको समूहमा एक जना बालक थिए, जसको नाम थियो अष्टाबक्र।
अष्टाबक्राका दुई विशेषता थिए —
पहिलो, उनको शरीरका आठवटा अंग बांगाटिंगा थिए। आफ्नै बुवा कहोड ऋषिको श्राप पाएर उनले यस्तो शारीरिक अपांगता झेल्नुपरेको थियो। बांगाटिंगा अंगकै आधारमा उनले अष्टाबक्र नाम पाएका थिए।
दोस्रो विशेषता उनको विलक्षण प्रतिभासँग सम्बन्धित छ।
अष्टाबक्रले आमाको गर्भमा छँदै बाहिरी संसार देख्न सक्ने विलक्षण क्षमता प्राप्त गरेका थिए।
उनका यी दुवै विशेषता एकअर्कासँग जोडिएका छन्।
कसरी?
भएछ के भने, एकदिन कहोड ऋषिले वेदका मन्त्र उच्चारण गर्दा आठ ठाउँमा गल्ती गरेछन्। त्यति बेला अष्टाबक्र आमाको पेटमै थिए। गर्भबाटै संसार देख्नसक्ने क्षमता पाएका अष्टाबक्रले तत्काल आफ्ना बुवाको गल्ती औंल्याइदिएछन्।
कहोड ऋषिलाई त्यसपछि के चाहियो?
रिसले आगो भएर उनले गर्भमै रहेका आफ्ना पुत्र अष्टाबक्रलाई आठ ठाउँमा बांगो भएर जन्मिने श्राप दिएछन्।
बुवाको श्रापका कारण शरीर बांगो भए पनि अष्टाबक्रको विलक्षण क्षमता गुमेन। उनी निडर भए र विद्वान पनि कहलिए।
एकचोटि राजा जनकको सभामा शास्त्रार्थ (बौद्धिक बहस) आयोजना गरिएको थियो। शास्त्रार्थमा भाग लिन गएका कहोड ऋषि अबेरसम्म घर फर्किएनन्। उनकी श्रीमती चिन्तामा परिन्। आमालाई चिन्तित देखेपछि बालक अष्टाबक्र आफ्ना बुवाको हाल बुझ्न आफैं जनकको दरबार गए।
टाउको, हात, खुट्टा, छाती लगायत शरीरका आठवटा अंग बांगो भएका उनी सर्पझैं घस्रँदै–घस्रँदै जनकको दरबारसम्म पुगे।
राजसभामा भेला भएका सबै विद्वान अष्टाबक्रको ज्यान देखेर गलल हाँस्न थाले।
अष्टाबक्रलाई भने यसले कत्ति पनि हिनताबोध भएन। उनी त आफ्नो मजाक उडाएर हाँसिरहेका विद्वानसँगै जोडजोडसँग हाँस्न थाले।
उनको यस्तो सहनशीलता देखेर राजा जनक छक्क परे।
उनले सभामा उपस्थित सबैलाई शान्त रहन आदेश दिए र अष्टाबक्रलाई सोधे, ‘हे बालक! यी विद्वान किन हाँसे भन्ने कारण त मलाई थाहा छ, तर तिमी चाहिँ किन यिनीहरूलाई देखेर हाँस्यौ?’
राजा जनकको प्रश्न सुनेपछि बालक अष्टाबक्रले भनेछन्, ‘रिसानी माफ होस् महाराज। म उनीहरूमाथि हाँसेको होइन। म त तपाईंलाई देखेर हाँसेको हुँ।’
यो सुनेर राजा जनक झनै छक्क परे।
अष्टाबक्रले अगाडि भने, ‘तपाईंको राज्यमा संसारकै महान् विद्वानहरू छन् भन्ने सुनेको थिएँ। तर तपाईं त मान्छेलाई उसको रूपरंग र चालढाल हेरेर मूल्यांकन गर्ने यस्ता चमरीका व्यापारीसँग पो ज्ञान लिनुहुँदो रहेछ! तपाईं यस्ता विद्वानबाट ज्ञान लिनुहुँदो रहेछ भन्ने थाहा पाएर म हाँसेको हुँ, महाराज।’
अष्टाबक्रको जवाफ सुनेर राजा जनकले लज्जा महसुस गरे। उनले यी सामान्य बालक होइनन् भन्ने बुझिहाले। अनि सभामा उपस्थित भएर शास्त्रार्थ गरिरहेका सबै विद्वानलाई छाडेर अष्टाबक्रलाई नै आफ्नो गुरू बनाए।
मिथिला कथा शृंखलाको निम्ति रिपोर्टिङ गर्ने क्रममा जनकपुरमा भेटेका अधिकांश संस्कृतिविद् तथा संस्कृति अध्येताहरूले हामीलाई बढो रूचिपूर्वक यो कथा सुनाएका थिए।
यो कथा सुनेपछि हामी दुई लेखकहरूबीच पटकपटक यसबारे कुराकानी भयो।
म (सबिना श्रेष्ठ) घरिघरि मेरा सहकर्मी तथा सहलेखक रोहित महतोलाई अष्टाबक्रको कथा सम्झाउँथे। उनलाई यो कथा किन सम्झाउनुपर्थ्यो भने, उनी घरिघरि आफ्नो रूपरंग कालो भएको प्रसंग झिकिरहेका हुन्थे। म उनलाई भन्थेँ, ‘अष्टाबक्रको कथा बिर्सिनुभयो? मान्छे राम्रो–नराम्रो छुट्टयाउने भनेको उसको छाला र रूपले होइन। छालाको रङ हेरेर मूल्यांकन गर्ने मान्छे, मान्छे नै होइन, चमरीको व्यापारी हो।’
मैले यस्तो भनेपछि रोहित खुब हाँस्थे।
रोहितले पटकपटक आफ्नो छालाको रङ सम्झिनुको कारण त्यसप्रति हिनभाव भएर होइन। मधेसमा जन्मिएको र कालो वर्ण पाएकोमा उनलाई गर्व छ। उनी गर्वसाथ आफूलाई ‘मधेसी’ भन्छन्। आफूभन्दा गोरो छाला भएकाहरूले कहीँकतै जिस्काइहाले पनि रातोपिरो हुँदैनन्। उनलाई दुःख चाहिँ त्यतिखेर लाग्छ, जब राज्यले नै उनको छालाको रङ हेरेर विभेदपूर्ण व्यवहार गर्छ।
रोहितले एकदिन मसँग भनेका थिए, ‘एकपटक म काठमाडौं जाँदा त्यहाँका मान्छेले मलाई इन्डियाबाट आएको भनेर हेप्न खोजे। मलाई झोँक चलेको थियो। म नेपाली हुँदाहुँदै, नेपालकै भाषा बोल्दाबोल्दै आफ्नै देशमा अनागरिकजस्तो व्यवहारमा परेको थिएँ।’
काठमाडौंमा मात्र होइन, रोहितले जनकपुरमै समेत यस्तो हेपाइ सहनुपरेको रहेछ। तर जनकपुरको हेपाइ उनको छालाको रङलाई लिएर थिएन, उनले बोल्ने भाषालाई लिएर थियो।
‘म मैथिली भाषा बोल्छु। तर जनकपुरकै मान्छे मैले बोल्ने भाषा ठेटी हो भनेर हेप्छन्,’ उनले भने, ‘त्यही भएर मैले आफू मैथिली भाषी हुँ भन्ने जान्दाजान्दै जनगणनामा मगही भाषी भनेर लेखाएको छु। मेरो घर र गाउँका मान्छे पनि त्यही लेख्छन्। यो यहाँका कथित उच्च वर्गका व्यक्तिहरूले गर्दै आएको विभेदप्रति हाम्रो विद्रोह हो।’
रोहितको कुराले म अलमलिएँ। मैले बुझेकी थिइनँ, मैथिली भाषा बोल्नु र ठेटी वा मगही भनिनुको अन्तर के हो?
मिथिला कथा शृंखलाको यो दसौं अध्यायमा हामी यसैबारे चर्चा गर्दैछौं।
हामी संस्कृति अध्येता तथा लेखक रोशन जनकपुरीसँग ‘जनकपुर सहर कसरी बन्यो?’ भन्ने सन्दर्भमा कुराकानी गर्न गएका थियौं। उनी संस्कृतिसँगै मधेस राजनीति र भाषा आन्दोलनबारे पनि उत्तिकै जानकार छन्। त्यसैले हाम्रो साढे दुई घन्टा लामो कुराकानीमा भाषाका बारेमा पनि चर्चा भयो।
जनकपुरीका अनुसार मिथिला क्षेत्रमा पहिले जुन भाषा विकसित भएको थियो, त्यसलाई ‘प्राकृत’ भनिन्थ्यो। गंगा नदीपारि त्यसैलाई ‘मैथिली’ भन्न थालियो। संस्कृतको प्रभाव परेपछि संस्कृतका तत्सम शब्दहरू प्राकृत वा मैथिली भाषामा घुस्न थाले र शब्दमा फेरबदल हुन थाल्यो।
‘सत्तामा ब्राह्मणहरू थिए। उनीहरूको लेखन, पठनपाठन सबै संस्कृतमा हुन्थ्यो,’ जनकपुरीले भने, ‘उनीहरूले संस्कृत र मैथिली मिसमास पारेर लेख्न थाले। जसले प्राचीन र शुद्ध मैथिली भाषा बोल्थे, उनीहरू सत्ताबाट अलग भए। उनीहरूले आफ्नै भाषा शुद्ध बोलेकोमा विभेद सहनुपर्यो।’
उनले अगाडि भने, ‘समयक्रममा यहाँका स्थानीयले बोल्ने जुन प्राचीन मैथिली भाषा थियो, त्यसलाई ‘ठेटी’ भन्न थालियो। ठेटीको अर्थ देहात हुन्छ।’
जो ठेटी भाषा बोल्थे, उनीहरू सामान्यतया पढेलेखेका थिएनन्। जब उनीहरू स्कुल जान थाले, उनीहरूले ब्राह्मण तथा कायस्थ समुदायले लेखेका संस्कृति–मिश्रित मैथिली भाषा पढ्नुपर्यो, जुन घरमा बोलिनेभन्दा फरक थियो।
उदाहरणका लागि, पानीलाई मैथिली भाषामा ‘पाइन’ भनिन्छ। जबकि, त्यसलाई लेख्दा ‘पानि’ भनेर लेखियो। मैथिलीमा हुन्न वा नाई भन्नु छ भने ‘नइँ’ भनिन्छ। त्यसलाई ‘ङै’ लेखियो। हिजोआज ‘नहि’ धरि लेख्न थालिएको छ।
बोलिने र लेखिने शब्दबीचको अन्तरले शुद्ध मैथिली बोल्नेहरू अलमलिए। उनीहरूले आफूले बोल्ने शब्द शुद्ध हो कि पढ्ने शब्द शुद्ध हो भनेर आफैं टुंगो लगाउन सकेनन्।
‘जो शुद्ध मैथिली बोल्थे, उनीहरूले पानीलाई ‘पाइन’ र हुन्नलाई ‘नइँ’ नै भनेर पढे। तर संस्कृतबाट प्रभावित मिसमास मैथिली बोल्नेहरूले त ‘पानि’ र ‘ङै’ भनेर पढ्छन्,’ रोशन जनकपुरीले भने, ‘जसरी बोलिन्छ, त्यसरी नलेखिँदा मैथिली भाषा हराउने क्रममा छ। जो साँच्चिकै शुद्ध मैथिली बोल्छन्, उनीहरूको न लेखन सुरक्षित छ, न भाषा सुरक्षित छ।’
यो स्टोरीका सहलेखक रोहित महतो पनि यही भाषाको अलमलमा फसेका छन्।
उनले बटेश्वस्थित देहात (गाउँ) बाट जनकपुरमा पत्रकारिता सुरू गर्दा भाषाकै कारण सास्ती खेप्नुपरेको थियो। बिस्तारै उनले आफूलाई यही समाजको संरचनामा ढाल्न सिके।
‘पहिला त हामी ठेटी बोल्नेहरूलाई जनकपुरका पढे–लेखेकाहरूले खुब हेप्थे। बोल्नै आउँदैन, लेख्नै आउँदैन भनेर मलाई नै कतिपटक यहाँका सम्पादकहरूले झपारेका थिए। मलाई पनि यहाँ नहि नै लेख्नू भनेर सिकाइयो। अनि मैले उनीहरूले भनेजस्तै लेख्न थालेँ,’ उनले भने, ‘तर म सोच्छु, भाषाको यस्तो हेराफेरी कतै मेरो मातृभाषाले नै मर्दै गइरहेको त छैन!’
रोशन जनकपुरीले यही सन्दर्भ जोड्दै हामीसँग भने, ‘यो एकदम खतरनाक सिकाइ हो। सत्ताले त खोजेको नै यही हो। जसले त्यस्तो व्यवहार खेपेको छ, बिस्तारै उसलाई आफ्नो परिचयप्रति घृणा जाग्न थाल्छ। अरूले जस्तै सिक्दा र अरूले जस्तै बोल्दा प्रतिष्ठा बढ्छ भन्ने दौडमा उनीहरूको पहिचान जे हो, त्यो हराउँदै गएको छ। इतिहास हेर्ने हो भने प्राचीन मैथिली भाषा बचाउने त खासमा ती व्यक्ति नै हुन्, जो आज पनि ठेट भाषा बोल्छन्। अहिले जसलाई हामी मैथिली भन्छौं, त्यो त संस्कृति मिसिएको अपभ्रंसवाला भाषा हो।’
हामीले बोल्ने भाषामा सत्तासँगै धर्मको पनि उत्तिकै प्रभाव रहेको जनकपुरी बताउँछन्।
‘जल भन्यो भने पवित्र हुने र पानी भन्यो भने अपवित्र हुने भनाइ छ,’ उनले भने, ‘उनीहरूको तर्क के छ भने संस्कृत देव भाषा हो।’
जनकपुरीका अनुसार जसले ‘ठेटी’ भाषा बोल्थे, उनीहरू गाउँमा बस्थे र त्यति पढे–लेखेका थिएनन्। त्यसैले सुरूमा उनीहरू राज्य र बौद्धिक जमातबाट हेपाइको सिकार भए। बिस्तारै पढे–लेखेकाको जमात ‘ठेटी’ समुदायमा पनि बढ्न थाल्यो। तर उनीहरूले उचित स्थान पाउन सकेनन्। उनीहरू विकल्प खोज्न थाले। त्यसैबीच मगही भाषा नयाँ अवसर बनेर आयो। लामो समयदेखि ‘तैंले बोलेको भाषा मैथिली होइन’ भनेर सुन्दै आएका उनीहरूले मगही भाषा अपनाए।
‘मगही भाषीहरूको जनसंख्या निकै कम थियो। संख्या कम भएपछि अवसर पनि आउँछ। मेरा कति रेडियोमा काम गर्ने साथीहरू मगही भनेर मैथिलीमै बोल्छन्,’ रोहितले भने, ‘उनीहरू भन्न त मगहीमा समाचार भनेको भनिरहेका हुन्छन्। तर त्यो मैथिली भाषामा हुन्छ। मगहीमा अवसर छ र अवसरका लागि मान्छे मगहीभाषी पनि हुन्छन्।’
जनकपुरीका अनुसार मगही मैथिलीभन्दा पिछडिएको भाषा हो। मैथिली र भोजपुरीसँग निकट यो भाषा भारतको गंगापारि उत्पत्ति भएको मानिन्छ। त्यसलाई प्रचार गर्नेमा आलोक बाबा भन्ने एक सन्तको प्रभाव रहेको उनी बताउँछन्।
भाषा यसरी छ्यासमिसे हुँदै जानुमा नेपालका विभिन्न राजनीतिक घटनाक्रम पनि जिम्मेवार छ।
२०१७ सालमा राजा महेन्द्रको शाही ‘कू’ पछि राज्यले नै एक भाषा, एक भेषको नीति लिएको थियो। यही नीतिअनुरूप देशभरिका विभिन्न भाषा, भेष र संस्कृतिमाथि बलजफ्ती नेपाली भाषा थोपरियो। नेपाली भाषालाई स्थापित गर्ने अभियानमा अरू भाषाहरू राज्यबाट उपेक्षित हुँदै गए। प्रशासनमा अवसर पाउन वा राज्यका अरू अवसर उपभोग गर्न नेपाली भाषा नै अंगीकार गर्नुपर्ने बाध्यता आइलाग्यो। नेपालीबाहेक आ-आफ्ना जातजातिका मातृभाषा बोल्नेहरूलाई अवसरबाट वञ्चित गरियो। यसले नेपाली बोल्न नजान्ने मधेसीहरूले आफ्नो देशभित्रै विदेशीजस्तो व्यवहार सहनुपर्यो। यसले मधेसका रैथाने भाषाहरू प्रभावित हुँदै गए।
त्यही समय भारतमा हिन्दी भाषालाई स्थापित गर्ने पहल हुँदै थियो। त्यसले नेपालका सीमावर्ति सहर–बजारमा पनि प्रभाव पार्न थाल्यो। त्यसै पनि विगतमा धेरै जना पढ्न जाने ठाउँ भारत नै थियो। जो त्यहाँबाट पढेर आए, उनीहरू हिन्दीमै लेख्थे। यसले मधेसमा हिन्दी भाषाको प्रभाव बढी नै थियो।
‘२०१५ सालको पहिलो संसदीय निर्वाचन बेला बेदानन्द झाले तराई कांग्रेस भन्ने पार्टी बनाएर हिन्दीलाई प्रचार गरेका थिए,’ जनकपुरीले भने, ‘त्यसपछि दोस्रो चरणमा मधेसमा हिन्दी भाषा लिएर आउनेमा गजेन्द्रनारायण सिंह, रामजनम तिवारी, श्यामलाल मिश्र, विश्वनाथ साह लगायत पर्छन्, जसले कांग्रेस पार्टीमा विद्रोह गरेर नेपाल सद्भावना परिषद गठन गरेका थिए।’
२०४७ सालपछि गजेन्द्रनारायण सिंहको अध्यतामा नेपाल सद्भावना पार्टी स्थापना भयो, जसले नागरिकता समस्या सामाधान, मधेसीलाई आरक्षणसहित हिन्दी भाषाको मान्यतालाई आफ्नो राजनीतिक एजेन्डामा राखेका थिए।
‘हिन्दीले यहाँको भाषामा जतिसुकै प्रभाव पार्न खोजे पनि त्यो असफल नै छ। त्यसले अभियानमा जोडिएकाहरूबाहेक यहाँका मातृभाषीलाई खासै प्रभाव पार्न सकेको छैन,’ जनकपुरीले भने।
यहाँनिर केही सकारात्मक प्रभाव पनि देखिन्छ। पछिल्लो समय मातृभाषाको आन्दोलनले गति लिएको छ। मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाइनुपर्छ भन्ने रिटमा सर्वोच्चले रोक लगाइदिएपछि मातृभाषा आन्दोलन अझ व्यापक हुँदै गएको जनकपुरी बताउँछन्।
२०६२–६३ को जनआन्दोलनपछि चर्किएको मधेस आन्दोलनले राजनीतिक अधिकार मात्र होइन, भाषाप्रतिको चेतनासमेत हलक्क बढाइदिएको उनको भनाइ छ। तर यसबीच भाषामाथिको विभेद र राजनीतिक प्रभावका कारण देशकै दोस्रो ठूलो भाषाका रूपमा लिइने मैथिलीमा असर देखिन थालिसकेको छ। २०६८ र २०५८ को जनगणना हेर्ने हो भने नै मैथिली भाषामाथि परेको असर देखिन्छ।
२०५८ मा मैथिली भाषा बोल्ने १२.३० प्रतिशत थिए भने २०६८ मा ११.६७ प्रतिशत भए। २०५८ सम्म मगही भाषा बोल्नेहरू थिएनन्। त्यो संख्या २०६८ को जनगणनामा ०.१३ प्रतिशत पुग्यो। मगहीको संख्या यो जनगणनामा अझै बढ्छ भन्ने यसले संकेत दिन्छ।
‘यसले घाटा त मैथिली भाषालाई नै भएको छ। एकथरि मान्छे संस्कृत मिसाएर मैथिली लेखिरहेका छन्, बोलिरहेका छन्। अर्कातिर जसले शुद्ध बोलिरहेका छन्, उनीहरूलाई ठेटी भनेर हेप्न थालेपछि मगही भाषीहरूमा वृद्धि हुन थालेको छ,’ जनकपुरीले भने, ‘अब बिस्तारै संस्कृत-मिश्रित मैथिली र मगहीको बोलबाला चल्छ, यसको चपेटमा ठेट वा प्राचीन मैथिली भाषा बिस्तारै हराउँदै जान्छ।’
उनले अगाडि भने, ‘म त कयौंपटक भन्छु, लड्नु छ भने ठेटीका लागि लड। उनीहरूले लड्नुपर्ने त आफ्नै भाषाका लागि थियो तर अर्कै बाटो रोजेर मगही भए।’
पछिल्लो समय जनकपुरी आफैं मैथिली साहित्य लेख्दा ‘ठेटी’ मा लेख्ने प्रयास गर्दैछन्। गाउँमा जस्तो बोलिन्छ त्यसरी नै लेख्छन्। जस्तो, पानीलाई उनी मैथिलीमा बोलिने ‘पाइन’ नै भनेर लेख्छन्।
उनलाई आफ्नो एक्लो प्रयासले मात्र केही हुन्न भन्ने थाहा छ। नयाँ पुस्ताले पनि संस्कृत-मिश्रित धार पछ्याएको देख्दा उनलाई नराम्रो पनि लाग्छ। तै उनले आफूले रोजेको धार छाडेका छैनन्।
‘भाषाको राजनीतिकरणले मैथिली भाषालाई घाटा भइरहेको छ। म आफ्नो तर्फबाट शुद्ध मैथिली चलाउने कोसिस गर्दैछु, हेरौं कहाँसम्म सफल भइन्छ!’ उनले भने।
यी पनि पढ्नुहोस्: