मिथिलाक कथासभ : अध्याय ९
मिथिला परिकारहरूको स्वाद चाख्न आउनुभएका हाम्रा सबै पाठकमा मिथिला कथा शृंखलाको नवौं अध्यायमा स्वागत छ।
यो अध्यायको सुरूआत मिथिलाको एउटा प्रख्यात उक्तिबाट गरौं–
पग–पग पोखैर माछ मखान
मधुर बोल मुस्की मुख पान
विद्या वैभव शान्तिक प्रतीक
सरस क्षेत्र मिथिलांचल थिक
अर्थात्, पाइलैपिच्छे माछा, मखान र पान; मिथिलाको पहिचान।
जनकपुरमा प्रचलित यो उक्तिले नै मिथिला क्षेत्र धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदामा मात्र होइन, खाना खजानामा पनि भरिपूर्ण छ भन्ने बुझाउँछ।
सुरूआतमा हामी माथि उल्लिखित तीन परिकारबारे चर्चा गर्नेछौं, त्यसपछि तपाईंहरूलाई जनकपुरका विविध सांस्कृतिक पर्वसँग जोडिएका अन्य परिकारको स्वाद चखाऊँला है!
कुनै समय मिथिला क्षेत्र पूर्वमा कोशी नदीदेखि पश्चिममा गण्डकी र दक्षिणमा गंगा नदीदेखि उत्तरमा हिमालयसम्म फैलिएको थियो। तीन दिशामा तीन नदीले घेरिएको मिथिला क्षेत्रको महत्वपूर्ण सहर जनकपुर त झन् पौराणिक कालदेखि नै ७२ वटा पोखरीका लागि प्रख्यात छँदैछ।
पोखरी अर्थात् पानी। पानी अर्थात् माछा। त्यसैले जनकपुरमा एउटा भनाइ नै छ, यहाँ मान्छेभन्दा बढी माछा छन्।
रेवा, नैनी, भ्याकुर, कमनकार्प लगायत दर्जनौं थरीका माछा जनकपुरका विशेषता हुन्। यहाँ माछालाई शुभको प्रतीक मानिन्छ। बाटोमा कसैले माछा मार्दै गरेको देख्यो वा माछा बेच्दै गरेका व्यापारीसँग जम्काभेट भयो भने साइत पर्यो भन्ने चलन छ।
माछालाई शुभकै प्रतीक मानेर विवाह वा अन्य शुभकार्यमा सगुनका रूपमा लैजाने चलन रहेको जनकपुरकी स्थानीय रिंकुकुमारी मिश्र बताउँछिन्। उनका अनुसार मिथिलामा माछा खाने परम्परा अहिले जति प्रख्यात छ, त्रेतायुगका राजा जनकको पालामा त्यति प्रख्यात नहुन सक्छ।
उनले यसो भन्नुको कारण छ।
‘मिथिलाका राजा जनक महर्षि हुनुहुन्थ्यो। राजा र ऋषि दुवै। जो मान्छे ऋषि हुन्छ, ऊ न आफू माछा–मासु खान्छ, न आफ्नो ठाउँका मान्छेलाई माछा–मासु खान दिन्छ,’ उनले भनिन्, ‘त्यसैले राजा जनकको समयमा सायद यहाँ माछा–मासु खाने चलन थिएन। तर माछालाई हेरेपछि काम बन्छ र साइत पर्छ भनेर पोखरीमा पाल्ने चलन पहिलेदेखि चलेको हुनुपर्छ।’
उद्योग र व्यापार विस्तार हुँदै गएपछि स्थानीयले माछालाई पनि परिकारका रूपमा लिन थालेको हुनसक्ने उनको अनुमान छ।
जानकी मन्दिरका पुजारी ऋषिकेश झा पनि यसमा सहमत छन्। उनी रिंकुलेझैं राजा जनकका पालामा मिथिला राज्य साकाहारी थियो भन्ने संकेत गर्छन्।
उनका अनुसार जानकी मन्दिरमा माछा–मासु खाने एउटा पनि पुजारी बस्दैनन्। तुलसीको माला लगाएपछि माछा–मासु खाँदै आएको भए पनि त्याग्नुपर्ने परम्परा छ।
विवाह पञ्चमीको समयमा भने राम मन्दिरबाट जानकी मन्दिरमा माछा ल्याउने परम्परा रहेको उनले बताए।
‘राम मन्दिरलाई बेहुलातर्फको र जानकी मन्दिरलाई बेहुलीतर्फको मानेर एकअर्कालाई सगुन पठाइन्छ। विवाह पञ्चमीको दिन जानकी मन्दिरबाट सगुन जान्छ भने त्यसको दुई दिनपछि राम मन्दिरबाट सगुन आउँछ। जानकी मन्दिरको सगुनमा माछा हुँदैन तर राम मन्दिरको सगुनको डोलामा सबभन्दा अगाडि माछा राख्ने परम्परा छ,’ पुजारी झाले भने, ‘सगुनमा आएको माछालाई मन्दिरभित्र भने छिराइन्न। बाहिर परिक्रमा गराएर फर्काइन्छ। माछालाई शुभ संकेत मानेर सगुन ल्याउने परम्परा भए पनि राम र जानकी दुवै मन्दिरमा माछा–मासु नचल्ने हुँदा भित्र छिराउन नदिइएको हो।’
मिथिलामा पाहुना स्वागत गर्ने प्रवेशद्वार, कलाका सामग्री तथा चित्रहरूमा पनि माछा बनाउने चलन व्यापक छ।
मिथिलाको माछा प्रभाव काठमाडौंको नेवाः समुदायमा पनि देखिन्छ। नेवाः समुदायमा जन्मदिन होस् वा कुनै चाडपर्व, सगुनमा माछा नभई हुँदैन। अरू बेला खासै माछा नखाने काठमाडौंका नेवारहरू सगुनका रूपमा कहिल्यै छुटाउँदैनन्। माछालाई सगुन मान्ने चलन मिथिलाबाटै काठमाडौं भित्रिएको हुनुपर्ने पाटनका कृष्णबोधिनी मिश्रले हामीलाई बताएका थिए। हामीले यसबारे यही कथा शृंखलाको अघिल्लो अध्याय ‘मिथिलासँग जोडिएको नेवार सभ्यता’ मा चर्चा गरेका छौं।
रिपोर्टिङ क्रममा हामीले कुराकानी गरेका मिश्रको एक महिनाअघि निधन भएको छ। उनले हामीलाई नेवार सभ्यतामा मैथिलहरूले कसरी माछा घुसाए भन्ने प्रसंगमा भनेका थिए, ‘नेवारहरूको सगुनमा मासु, अन्डा र पालामा अलिकति रक्सी हुन्छ। हामी पर्यौं मासु पनि नखाने, रक्सी पनि नखाने। हाम्रो सगुन भनेको पाँचवटा माछा, पाँचवटा लड्डु, पाँचवटा केरा, एउटा दही। त्यही दहीले हामी टीका मुस्छौं र त्यही टीका लगाउँछौं। त्यसले मुख जूठो गरेपछि मात्रै शुभकार्य हुन्छ। त्यही भएर हामीले नै सगुनमा माछा राख्ने चलन चलाएको हुनुपर्छ।’
माछाकै विषयमा मिथिलासँग जोडिएको अर्को किस्सा पनि छ।
एकपटक काठमाडौंमा खडेरी र अनिकाल लाग्दा यज्ञ गर्न मिथिलाबाट केही मैथिल ब्राह्मणहरूलाई उपत्यका बोलाइएको थियो। उनीहरूले यहाँ आफ्नो काम सम्पन्न गरेपछि राजा प्रसन्न भए। अनि उनीहरूलाई यहीँ बस्न प्रस्ताव राखे।
जवाफमा ती मैथिल ब्राह्मणहरूले भनेछन्, ‘हामीलाई त आँप र माछा दुवै चाहिन्छ। हामी यी दुवै पाइने ठाउँमा मात्र बस्न सक्छौं।’
आँप र माछा दुवै पाइने ठाउँ काठमाडौं नजिकको नुवाकोटमा फेला परेपछि उनीहरूलाई त्यतै बस्ने व्यवस्था गरिएको भनाइ छ। त्यसको प्रमाण के हो भने नुवाकोटमा मैथिलहरू बसेको ठाउँलाई अहिले पनि मैथिलटार भनिन्छ। अहिले त्यहाँ सेनाको ब्यारेक छ, जसलाई मैथिल ब्यारेक भनिन्छ। त्यहाँ मैथिली भगवतीको मन्दिर पनि छ।
काठमाडौं र जनकपुरे माछाको अर्को सम्बन्ध पनि छ। काठमाडौंमा केही अघिसम्म जनकपुरको माछा भनेर बेच्ने चलन थियो। जनकपुरको माछा यति प्रख्यात थियो, कतिले अन्य ठाउँबाट ल्याएको माछासमेत जनकपुरको भनेर बेच्ने गर्थे।
अब हामी मिथिलाको अर्को खानेकुरा मखानबारे कुरा गरौं, जसलाई यहाँ माछा जत्तिकै शुभ मानिन्छ।
जसरी मिथिलामा नदी र पोखरी प्रशस्त हुनुले माछा प्रशस्त पाइन्छ, मखान लोकप्रिय हुनुको कारण पनि यही हो।
सेतो मकैको गुच्चाजस्तो देखिने मखान कमलको फूलको जरा वा बीउ हो, जुन पानीमा उम्रन्छ। यसलाई पानीबाट निकालेर घाममा सुकाएपछि आगोमा भुटेर खाइन्छ।
भारतका खाना वैज्ञानिक तथा इतिहासकार के.टी. आचार्यका अनुसार यजुर्वेदमा कमलको जराको उल्लेख छ। त्यस्तै बाह्रौं शताब्दीका चालुक्य राजा सोमेश्वर तृतीयको किताब ‘मानसोल्लासः’ मा पनि दालमा कमलको जरा हालेर पकाएको भनेर लेखिएको छ।
प्रोटिन र एन्टिअक्सिडेन्ट बढी मात्रामा पाइने मखानले स्वास्थलाई फाइदा पुर्याउनुसँगै पाचन प्रक्रियामा सहयोग गर्छ।
पानी फल र त्यसमाथि सेतो रङको भएकाले मखानलाई शुद्ध मानेर भगवानलाई चढाइन्छ। कोजाग्रत पूर्णिमाको दिन देवीदेउतालाई पान, मखान र बतासा प्रसादका रूपमा चढाइने जनकपुरका संस्कृति अध्येता श्यामसुन्दर शशि बताउँछन्।
‘मैथिली संस्कारको प्रतीकका रूपमा रहेको जानकी मन्दिरमा कोजाग्रत पूर्णिमाको दिन विशेष मेला लाग्छ। त्यसै दिन राति राम र सीताको प्रतिमा मन्दिरबाहिर निकालेर गीत, संगीतसँगै पान, मखान र बतासाको वर्षा गराइन्छ,’ उनले भने, ‘नवविवाहित पुरूषहरूको घरमा पूजाआजा र यस्तै रौनक हुन्छ। ससुरालीबाट आएको चिउरा, दही, पान, मखान र मिष्ठान्न सबैलाई बाँड्ने चलन छ।’
जानकी मन्दिरमा पूर्णिमाको रात पान, मखान र बतासाको वर्षा गर्ने चलन मन्दिर बनेपछि सुरू भएको हो। तर मिथिलामा मखानको लोकप्रियता त्योभन्दा धेरै पहिलेदेखि थियो। जानकी मन्दिरका पुजारी ऋषिकेश झाका अनुसार भारतका प्रधानन्त्री नरेन्द्र मोदी जानकी मन्दिर आउँदासमेत उनलाई मखानको माला लगाएर स्वागत गरिएको थियो।
‘मखानलाई मिथिलामा यति शुद्ध मानिन्छ, कसैलाई स्वागत गर्नुपर्दा यसको माला लगाइदिने चलन छ,’ उनले भने।
माछा र मखानपछि मिथिलामा शुद्ध मानिने अर्को परिकार हो, पान। यहाँ शुभकार्यमा पान खाने वा पानलाई सगुनका रूपमा दिने चलन छ। पानको यो परम्पराले पनि मिथिलालाई काठमाडौंको नेवाः समुदायसँग जोड्छ।
काठमाडौंका नेवार सामान्यतया पानका पारखी हुँदैनन्। अरू बेला खासै खाँदा पनि खाँदैनन्। तर विवाहको सगुन लैजाँदा, विवाह भोजमा वा अन्य शुभ अवसरमा माछाजस्तै पान पनि नभई हुँदैन। यो चलन मिथिलाबाटै काठमाडौं भित्रिएको हुनुपर्छ।
स्वास्थ्यका दृष्टिले पनि पान लाभदायक छ। क्याल्सियम र भिटामिनको मात्रा प्रचुर पाइने पान दाँत र पेटका लागि राम्रो मानिन्छ। स्तनपान गराउने आमाहरूलाई यसले फाइदा पुर्याउने मानिन्छ।
छैठौं शताब्दीको हिन्दु ग्रन्थ ‘स्कन्द पुराण’ मा पनि पानको पातको सन्दर्भ छ। कथाअनुसार देउता र दानवहरू अमरत्वका लागि अमृत प्राप्त गर्न समुद्र मन्थन गर्छन्। समुद्र मन्थन गर्दा सागरको गर्भबाट विभिन्न सामग्री निस्कन थाल्छन्। त्यसैमध्ये पानको पात एक हो भन्ने भनाइ छ।
पानको वर्णन महाभारत, भागवत् पुराण, विष्णु पुराण लगायत महाकाव्यमा पनि पाइन्छ। यसले पानको धार्मिक महत्व दर्शाउँछ।
हनुमानलाई पनि पानको पातको माला लगाइदिने चलन छ। यो चलन कसरी सुरू भयो भनेर कारण खोज्दै जाँदा रामायणमा एउटा प्रसंग भेटिन्छ।
लंकाका राजा रावणले सीतालाई अपहरण गरेपछि आफ्नो बगैंचामा बन्दी बनाएर राखेका हुन्छन्। राम र लक्ष्मण सीतालाई खोज्दै जंगल जंगल भौंतारिन्छन्। यही क्रममा रामको सन्देश लिएर लंका गएका हनुमानले जसै सीतालाई भेट्छन् र सन्देश सुनाउँछन्, सीताले आफ्नो श्रीमानको सन्देश ल्याइदिएकोमा हनुमानलाई धन्यवाद भन्दै पानको पात टिपेर माला लगाइदिन्छिन्। रामायणको यही कथाका आधारमा हिन्दुहरूले हनुमानलाई पानको पात लगाएर पूजा गर्ने गरेको मान्यता छ।
‘हिन्दु धर्मावलम्बीहरू पानको पातमा विभिन्न देवीदेउताको वास हुन्छ भन्ने विश्वास राख्छन्। त्यसैले यसलाई पूजाआजामा चढाउने गरिन्छ,’ इतिहास, संस्कृति र खानाबारे लेख्ने भारतकी स्वतन्त्र लेखक रथिना संकारीले वेटस्टोन पत्रिकामा लेखेकी छन्।
उनका अनुसार पहिले–पहिले एकअर्कालाई सन्देश पठाउन पनि पान प्रयोग गरिन्थ्यो। पानको आकार, त्यसभित्र हालिएका सामग्री, पान बाँध्ने तरिका र बाँध्न प्रयोग गरिएको धागोको रङले सन्देशको अर्थ दिन्थ्यो।
‘प्रेम, रोमान्स, प्रेमको अस्वीकृति, सम्बन्ध बिच्छेद लगायत अभिव्यक्ति पनि पानमार्फत् नै दिइन्थ्यो,’ संकारीले लेखेकी छन्।
संसारभर ९० थरीका पानको पात पाइने अध्ययनले देखाएको छ। तीमध्ये ४० थरीका पात भारतमा पाइन्छ। पानको सांस्कृतिक महत्व र खाने परम्परा भारतमा बढी भए पनि यसको उत्पत्ति स्थल भारत नभएको खाना वैज्ञानिक तथा इतिहासकार के.टी. आचार्यले ‘अ हिस्टोरिकल डिक्सनरी अफ इन्डियन फुड’ किताबमा उल्लेख गरेका छन्। उनका अनुसार पानको उत्पत्ति स्थल दक्षिणपूर्वी एसियाली क्षेत्र हो।
जनकपुरमा पनि पहिले पानको पात रोप्ने चलन थियो। अहिले बाहिरबाट आयात गरिएको बंगाल पत्ता, मिठा पत्ता, बनारसी पत्ता बढी प्रयोगमा आउँछ। जनकपुरमा फलेको पानको पात मान्छेले खासै नरूचाएकाले कम प्रयोग भएको संस्कृति अध्येता श्यामसुन्दर शशि बताउँछन्।
‘पहिले त हरेकले आफ्नै बारीमा पानको बोट रोपेका हुन्थे। आफूले खाने पान आफ्नै बारीमा उमार्ने चलन थियो,’ उनले भने, ‘तर यताको पान अलि टर्रो हुने भएकाले पछि धेरैले रोप्नै छाडे। अहिले पूजापाठलाई मात्र थोरै उमार्ने गरिन्छ।’
जनकपुरकी स्थानीय रिंकु मिश्रले पनि पूजाआजामा प्रयोग गर्न घरमै पान उमार्ने गरेको बताइन्।
उनले हामीलाई मिथिलामा प्रसिद्ध माछा, मखान र पानबारे प्रचलित एउटा भनाइ पनि सुनाइन्, ‘माछा, मखान र पान स्वर्गमा पनि पाइन्न, त्यो केवल मिथिलामा पाइन्छ।’
मिथिलाका प्रसिद्ध माछा, मखान र पानपछि अब हामी यहाँका संस्कृति र मौसमसँग जोडिएका अन्य परिकारको चर्चा गरौं। यसको समग्र जानकारी हामीलाई रिंकुले नै दिएकी हुन्।
सुरू गरौं वर्षको पहिलो दिन अर्थात् वैशाख १ बाट।
यस दिन मिथिला क्षेत्रमा ‘सतुवाइन’ पर्व मनाइन्छ। यो पर्वमा आफ्नो कुलदेउतालाई सातु चढाउने चलन छ। विशेषगरी चना पिसेर बनाइने सातुमा मकै, गहुँ, जौ, भटमास लगायत पनि मिसाउन मिल्छ। सातुले शितलता प्रदान गर्ने र स्वस्थ राख्ने मान्यता छ।
सतुवाइनको भोलिपल्ट अर्थात् वैशाख २ गते ‘जुडशितल’ पर्व मनाइन्छ। यो दिन अम्खरा, गाग्री, कलश लगायत भाँडामा राखिएको पानी घरका ज्येष्ठ सदस्यले अन्य सबै सदस्यको टाउकोमा राखेर वर्षभर शितलताको कामनासहित आशिर्वाद दिन्छन्।
यो पर्वमा अघिल्लो रात पकाएर राखिएको बासी खानेकुरा चढाउने चलन छ। कसैले त्यो खानेकुरा प्रसादका रूपमा पनि खान्छन्। खानेकुरामा कडहीबडी, सोहिजनको तरकारी, तरूवा लगायत बनाइन्छ। त्यसलाई पहिले चुल्हो, मूलढोका र घरका अन्य ढोकामा चढाएपछि बिसर्जन गरिन्छ।
‘गर्मी महिनामा खाना खराब हुन्छ, त्यसैले बासी खाना नखाऔं भन्ने सन्देशसहित बिसर्जन गरेजस्तो लाग्छ,’ रिंकुले भनिन्।
रिंकुका अनुसार दही मिसाएर बनाइने कडहीबडी, सोहिजन र तिलकोर पातको तरूवा भनेका स्वास्थ्यवर्द्धक र शितलता दिने तरकारी हुन्। त्यस दिनबाट यी तरकारी खाने क्रम सुरू हुन्छ।
त्यस्तै, असार–साउनमा खिर, दही र चिउरा खाइन्छ। तराई क्षेत्रमा धेरै मान्छे कृषि पेसामा लागेकाले खेतीपातीको सुरूआतसँगै यी खानेकुरा खाने चलन छ। दही–चिउरा खाजाका रूपमा पनि खाइन्छ। भोजहरूमा त चिउराको महत्व झनै धेरै हुन्छ।
भदौमा ‘चौरचन’ पर्व मनाइन्छ। भदौ शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्वमा पुरी, खिर, खजुरिया, ठेकुवा लगायत खानेकुरा पकाएर चन्द्रमालाई भोग चढाउने चलन छ। यो पर्वमा दही एक प्रमुख खानेकुरा हो। छ–सातवटा माटाका भाँडामा दही राखेर पूजा र भाकल गरिन्छ।
‘भदौतिर एकदमै गर्मी हुने भएकाले शितलताको प्रार्थना गर्दै यो पर्व मनाइन्छ,’ रिंकुले भनिन्, ‘दहीले शरीरलाई शितलता दिने हुँदा यसलाई शितलताको प्रतीकका रूपमा लिइन्छ।’
अब कुरा गरौं दसैंको।
दसैं बेला घरमा भगवतीको मूर्ति स्थापना गरिसकेपछि माछा–मासु र लसुन–प्याज खान हुँदैन। अष्टमीको दिन खसी काटेर जनकपुरको राजदेवी मन्दिरमा भोग चढाइन्छ, अनि बल्ल अष्टमीको रात वा नवमीदेखि माछा–मासु खाने चलन छ।
‘राजदेवी मन्दिरमा भोग चढाउनुभन्दा अगाडि जनकपुरमा माछा–मासु खान त के, बेच्न पनि मिल्दैन,’ रिंकुले भनिन्।
दिपावलीदेखि छठसम्म पनि माछा–मासु खाइँदैन। तर लक्ष्मीपूजाको दिन ब्राह्मण समुदायका नवविवाहित दम्पतीमा बेहुली पक्षबाट बेहुलाको घरमा कोसेली लग्ने चलन छ, जसमा माछा, मखान र पानसँगै अन्य ड्राइफ्रुटहरू लग्नुपर्छ।
छठ पर्वमा प्रचलित खानेकुरामा भुसुवा, ठेकुवा, खजुरिया लगायत रोटी प्रमुख छन्। ठेकुवा त अनिवार्य नै हुन्छ। गहुँको पिठोमा सख्खर, घ्यू र मरमसला हालेर ठेकुवा बनाइन्छ। ठेकुवामा विभिन्न बुट्टा कुँदिएको हुन्छ। मुछेको पिठोलाई बुट्टेदार साँचोमा हालेर थिचेपछि त्यही बुट्टा रोटीमा आउँछ। साँचोमा ठोकेर बुट्टा कुँदिने भएकाले नै यसको नाम ठेकुवा रहेको भनाइ छ।
मंसिर शुक्लपक्षका दिनबाट ‘रहिब’ पर्व सुरू हुन्छ। यो पर्वमा हरेक आइतबार र मंगलबार पोखरीमा स्नान गरेर फलफूलको अर्घ दिइन्छ र त्यसपछि एक समय मात्र खाने चलन छ। स्थानीयहरू यो बेला पुरी, खिर, फलफूल लगायत खानेकुरा खान्छन्।
‘यो पर्वमा गहुँको आँटा, सख्खर, घ्यू, गुँद लगायत मिसाएर रोटी बनाइन्छ र मन्दिर वा घरका भगवानलाई भोग लगाइन्छ,’ रिंकुले भनिन्, ‘मंसिरको चिसोमा सुरू हुने यो पर्व वैशाखमा धेरै घाम लाग्ने समय आएपछि समापन हुन्छ।’
त्यसबीच अर्को मुख्य पर्व आउँछ, होली।
होलीको अघिल्लो दिन होलिका दहनमा मालपुवा, खिर, पुरी लगायत बनाएर भगवानलाई भोग लगाउने चलन छ। मिथिला क्षेत्रमा फागु पूर्णिमाको दोस्रो दिन मात्र होली मनाइन्छ। यसको कारण बताउँदै रिंकुले भनिन्, ‘फागु पूर्णिमाको दिन मिथिला माध्यमिकी परिक्रमाको १५ दिन हुन्छ। त्यस दिन बिहान उठेर प्रायः सबै जनकपुरवासी जनकपुरको पञ्चकोशी परिक्रमा गर्छन्। दिनभरि परिक्रमामा हिँडेकाले त्यस दिन आराम गरेर भोलिपल्ट होली मनाइन्छ।’
होलीको दिन मालपुवा, पुरीसँग अनिवार्य रूपमा मासु खाने चलन भएको रिंकुले बताइन्।
‘पैसा नहुनेले पनि कर्जापैंचो गरेर मासु खान्छन्। त्यस दिन भगवानको भने पूजा हुँदैन। पूरा दिन रमाइलो गरेर बित्छ,’ उनले भनिन्।
वर्षभरका यी प्रमुख पर्व र ती पर्वमा खाइने खानेकुराबाट हामी के थाहा पाउन सक्छौं भने मिथिलाका धेरै खानेकुरा र पर्व यहाँको मौसम र कृषिसँग जोडिएका छन्।
‘पहिले यहाँका सबैजसो मान्छे किसान थिए। त्यही भएर धेरै पर्व र खानेकुरा कृषिसँग जोडिएको पाइन्छ,’ रिंकुले भनिन्।
हामी अब तपाईंहरूलाई मिथिलाका केही विशेष खानेकुराबारे जानकारी दिन्छौं।
कडहीबडी
यो परिकार चनाको दाल पिसेर डल्लो–डल्लो बनाई तारेर दही र मरमसलाको झोलमा पकाइन्छ। चनाको सट्टा प्याजको पकौडाजस्तो बनाएर हाल्ने चलन अहिले व्यापक छ। कडही भनेको दहीको झोल र बडही भनेको तारेको दालको डल्लो हो। विशेषगरी यो खानेकुरा जुडशितल पर्वबाट खान थालिन्छ।
‘दहीमा पकाइने भएकाले यसले शितलता दिन्छ भन्ने विश्वास छ। यहाँ गर्मी महिनाभर यो खानेकुरा धेरै पाक्छ,’ रिंकुले भनिन्।
अदौरी
अदौरी केराउ, हरियो दाल, सेतो मास, मस्यौरी, खेसरी, रहर लगायत विभिन्न दाल पिसेर घाममा सुकाएर बनाइन्छ। यो मस्यौराजस्तै हुन्छ।
कुभिन्डोलाई स–साना चाना बनाएर मासको दालको बेसनमा मिसाएर पनि अदौरी बनाइन्छ। सागलाई मासको दालको बेसनमा मिसाएर घाममा सुकाएर पनि बनाउने चलन छ।
‘यहाँ पहिला दालको धेरै खेती हुन्थ्यो। बढी भएको दाल खेर नजाओस् भनेर अदौरी बनाएर राखिने चलन थियो। साग र अन्य तरकारी पनि धेरै भयो भने अदौरी बनाइन्थ्यो। अहिले पहिलेजस्तो खेतीपाती धेरै छैन, तर मान्छेहरू सोखले अदौरी बनाउँछन्,’ रिंकुले भनिन्, ‘जुन महिनामा पानी पर्छ र तरकारी धेरै नफलेर अभाव हुन्छ, त्यस्तो महिना अदौरीको तरकारी बनाएर खाइन्छ।’
विभिन्न समुदायका खानाका परिकारबारे जानकारीमूलक किताब ‘टिम्मुर’ लेखेका प्रशान्त खनालका अनुसार पहाड र हिमाली क्षेत्रतिर जाडो महिनाका लागि खाना सुकाएर भण्डार गर्ने चलन छ भने तराईमा मनसुन बेला त्यसरी खाना भण्डार गरिन्छ।
‘हाम्रोतिर त मनसुन भनेको हरियोपरियो खानेकुरा फल्ने समय हो। तराईमा भने मनसुनमा बाढीको जोखिम हुन्छ, त्यसैले यहाँभन्दा ठ्याक्कै उल्टो गरिन्छ,’ प्रशान्तले भने।
अदौरीजस्तै चमलको पिठोमा तिल हालेर सुकाएर तिलौरी बनाउने चलन पनि छ।
तरूवा
हामीले अगाडि नै तिलकोर पातमा बेसन र मरमसला हालेर तेलमा तारेर बनाइने तरूवा मिथिला क्षेत्रमा प्रसिद्ध भएको बताइसक्यौं। तिलकोरबाहेक सोहिजन, भ्यान्टा लगायत तरकारीको पनि तरूवा बनाइन्छ। यो खानेकुरा हरेक पर्वमा बनाउन सकिन्छ।
‘चाडपर्वमा मात्र होइन, आज अलि राम्रो खाना खानुपर्यो भन्ने भयो भने तरूवा पकाउने गरिन्छ,’ रिंकुले भनिन्।
बगिया
काठमाडौंका नेवाः समुदायले पकाउने यःमरि जस्तै देखिन्छ, बगिया। तर यसमा यःमरिमा जस्तो चाकु हुँदैन। मैथिलभन्दा बढी थारू समुदायमा लोकप्रिय यो खानेकुरामा चामलको पिठोको डल्लोभित्र आलु र तरकारीहरू हालिन्छ। बगियामा हाल्नुपर्ने मुख्य चिज कुर्थीको दाल भएको रिंकुले बताइन्।
‘कुर्थीको दाल खाएपछि शरीर न्यानो हुन्छ। मंसिरमा धान भित्र्याइन्छ। त्यही धानको चामल पिसेर पुस–माघ महिनामा बगिया पकाइन्छ,’ उनले भनिन्, ‘चामल र दाल हालिएको बगिया पानीको बाफमा पकाइने भएकाले स्वस्थकर मानिन्छ।’
दही
हामीले अघिल्ला अध्यायहरूमा पनि जनकपुर सहर बन्ने क्रममा सबभन्दा पहिला साधुहरू आएको र त्यसपछि किसानहरू बसोबास गर्न थालेको बताएका थियौं। त्यही भएर यो भू–भागका मान्छे लामो समय कृषि पेसामा आबद्ध थिए। दूध उत्पादन प्रशस्त हुन्थ्यो। दूध जमाएर दही बनाउने र खाजाका रूपमा खाने चलन व्यापक भयो। दूध, दही, घ्यू लगायत खानेकुरालाई शुद्ध मानेर भगवानलाई चढाउने परम्परा पनि छ।
‘हाम्रोतिर ‘दही खाएपछि सही हुन्छ’ भन्ने भनाइ छ,’ रिंकुले भनिन्, ‘दही छ भने भोज ठिक छ, छैन भने भोज ठिक छैन भनिन्छ।’
‘टिम्मुर’ का लेखक प्रशान्त खनाल मिथिलामा दही खाने चलन नेवा: समुदायमा भन्दा व्यापक भएको बताउँछन्। त्यसको कारण मिथिलामा गाई पाल्नेहरू धेरै भएकाले हुनसक्ने उनको अनुमान छ।
‘मैथिलहरूमा डेरीको परम्परा निकै बलियो छ। त्यहीँ नजिकका थारू समुदायले पहिले दूधको गन्ध पनि मन पराउँदैनथे भन्ने सुनेको थिएँ,’ उनले भने, ‘भारतको बंगालमा पनि भक्तपुरमा जुजु द्यौ बनाएजस्तै ‘मिष्टी दोई’ बनाउने चलन छ। यिनीहरूबीच केही समानता छ जस्तो मलाई लाग्छ।’
मिथिला क्षेत्रमा पाइने धेरै खानेकुरा भारत वा बंगालबाट प्रभावित मानिन्छ। प्रशान्त भने यसलाई बंगालबाट प्रभावित भन्दा पनि मिथिला क्षेत्र पहिले कहाँसम्म फैलिएको थियो भन्ने कुराले निर्धारण गरेको बताउँछन्।
‘मिथिला पहिले दक्षिणमा गंगा नदीदेखि उत्तरमा हिमालय क्षेत्रसम्म फैलिएको थियो भनिन्छ। त्यति बेला नेपाल–भारतको सीमाना भन्ने नै थिएन। सबै एउटै थियो,’ उनले भने, ‘त्यस समय मिथिला कला, संगीत, संस्कृति खाना सबै मिलेको राम्रो सभ्यता थियो। त्यसो हुनुमा यहाँ समथर भू–भाग हुनुले पनि हो। त्यसले नै यो क्षेत्रलाई कृषि, माछा पालन र खानामा बलियो बनायो।’
‘त्यसैले मिथिलाको परिकार भारतको बंगालबाट प्रभावित छ भनेर भन्नुभन्दा यो सम्पूर्ण भू–भागमा एकै समय यी खानेकुराको चलन सुरू भएको हुनसक्छ,’ उनले भने।
संस्कृति अध्येता श्यामसुन्दर शशि पनि प्रशान्तसँग सहमत छन्। उनी सहरको सभ्यता जति पुरानो हुन्छ, त्यति नै सहर सम्पन्न हुने बताउँछन्।
‘सभ्यता भएपछि संस्कृति, लोक जीवन, खानपान र जनजीवनका आयाम जोडिँदै जान्छन्। मिथिला परिकारमा मात्र होइन, यी सबै कुरामा सम्पन्न छ। त्यसो हुनुको कारण मिथिला सभ्यता धेरै पुरानो भएकाले हो,’ उनले भने।
यी पनि पढ्नुहोस्: