मिथिलाक कथासभ : अध्याय ४
सिमरौनगढ जाँदादेखि फर्कंदासम्म मसँगै रहेका रोशनकुमार झा घरिघरि मलाई भनिरहन्थे, ‘यदि तपाईं साँच्चै मिथिला खोज्न चाहनुहुन्छ भने त्यो तिरहुत वा सिमरौनगढमा छ।’
उनी अर्को कुरा पनि भनिरहन्थे, ‘मिथिला खोज्ने अर्को ठाउँ काठमाडौं उपत्यका हो।’
‘मिथिलाक कथासभा’ शृंखलाको अघिल्लो अध्यायमा हामीले सिमरौनगढ घुम्यौं, अब पालो काठमाडौंमा मिथिला खोज्ने।
...
काठमाडौं र मिथिला सम्बन्धको कडी खोतल्दै जाँदा म धेरैपटक सिमरौनगढकी रानी देवलदेवीसँग ठोक्किएँ। उनी सिमरौनगढका अन्तिम राजा हरसिंहदेवकी रानी हुन्।
दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणपछि सिमरौनगढ राज्य तहसनहस भएर जब कर्नाटवंशीहरू नेपाल उपत्यका छिरे, तब रानी देवलदेवी पहिलोपटक इतिहासको नजरमा परिन्। नभए राजाहरूकै रजगज हुने इतिहासमा रानी गुमनाम थिइन्। यसरी नै थुप्रै महिला वा अन्य महत्वपूर्ण पात्र इतिहासमा गुमनाम हुन सक्छन्। त्यही भएर भनिन्छ, इतिहास पटकपटक पुनर्लेखन गरिरहनुपर्छ।
देवलदेवीकै कुरा गर्ने हो भने सिमरौनगढमा कर्नाटवंशको अन्त्यपछि उनी नेपाल उपत्यकाको शासनसत्तामा एक सशक्त महिला पात्रका रूपमा देखा पर्न थालेकी थिइन्।
‘सिमरावन (सिमरौनगढ) छाडेर हरसिंहदेव पहाडतिर लाग्दा उनका साथमा जहान, छोराहरू, मन्त्री, भारदार आदि थिए। दोलखातिर आउँदा तीनपाटनमा विक्रम सम्बत् १३८२ माघमा हरसिंहदेवको मृत्यु भयो। उनका जहान, मन्त्री र भारदारहरू समातिए र पछि उनीहरूले शरण मागे,’ गोपाल वंशावलीमा उल्लेख छ।
संशोधन मण्डलले प्रकाशन गर्ने त्रैमासिक पत्रिका ‘पूर्णिमा’ को एउटा पुरानो अंकमा इतिहासकार धनवज्र बज्राचार्यले देवलदेवीलाई हरसिंहदेवकी जहानका रूपमा उल्लेख गरेका छन्।
‘शक्तिशाली भारदार रामवर्द्धनहरू र तात्कालिक नेपाल’ शीर्षकको लेखमा धनवज्र लेख्छन्, ‘यसभन्दा अगाडि देवलदेवीको नाम गोपाल वंशावली तथा अन्त कतै आएको थिएन। गोपाल वंशावलीबाट तिरहुते देवलदेवी शरणार्थीका रूपमा रूद्र मल्लको दरबारमा प्रवेश गरेको आभास हुन्छ।’
हरसिंहदेवको निधनपछि रानी देवलदेवीले नै नेतृत्व गर्दै आफूसँग आएका सबैलाई नेपाल उपत्यका ल्याइन्। गयासुद्दिन तुगलकको आक्रमणबाट भागेर उपत्यका पस्दा उनले कुलदेवी तुलजा भवानी पनि सँगै ल्याएको मानिन्छ।
किम्बदन्तीअनुसार स्वर्गका राजा इन्द्रले लामो समय तपस्या गरेबापत् महादेवबाट हरेक दिन विधिपूर्वक पूजा गर्ने गरी श्रीयन्त्रस्वरूप तुलजा भवानी पाएका थिए। लंकाका राजा रावणका छोरा मेघनादले इन्द्रलाई लडाइँमा हराएपछि स्वर्गबाट उक्त श्रीयन्त्र लंका ल्याए। रामले रावण वध गरिसकेपछि तुलजा देवीलाई पनि आफूसँगै अयोध्या ल्याएको भनाइ छ।
त्यही श्रीयन्त्रस्वरूप तुलजा भवानीलाई तुगलकको आक्रमणबाट बचाउन राजा हरसिंहदेव र देवलदेवीले आफूसँगै लिएर सिमरौनगढ राज्य छाडेका थिए। बाटोमा आउँदै गर्दा उनीहरूले विभिन्न सास्ती खेपे। यतिसम्म कि, उनीहरूले बोकेर ल्याएको रासन सकियो। लामो समय रासनपानीबिना हिँड्दा कति सेना भोकले छट्पटाउन थाले। कति मरे।
राजा हरसिंहदेव तुलजा भवानीका परमभक्त थिए। आफ्नो समस्याबाट त्राण पाउन उनले तुलजा भवानीको प्रार्थना गरे। भवानीले दर्शन दिइन् र समस्या सामाधानको उपाय बताइन्, ‘बिहान उठ्दा आँखाले पहिला जे कुरा देख्छौ, त्यही खानू।’
राजाले बिहानै एउटा राँगा (अर्ना) देखे। त्यो राँगा तुलजा भवानीलाई चढाए। सेनालाई पनि खुवाए। त्यही समयदेखि काठमाडौंमा राँगा खाने चलन आएको किम्बदन्ती छ। भोकाएका सेनाले राँगाको सिङ र खुरबाहेक टाउकोदेखि पुच्छरसम्म सबै भाग खाएछन्। हड्डीधरि छाडेनन्। अहिले पनि नेवाः समुदायले राँगाको खुर र टाउकोबाहेक सबै अंगका परिकार बनाउँछन्। यसको कारण यही किम्बदन्तीसँग जोडिन्छ।
हरसिंहदेवको निधनपछि रानी देवलदेवीले नै तुलजा भवानीलाई काठमाडौं उपत्यका ल्याएकी थिइन्। त्यति बेला उपत्यकाको राजधानीसमेत रहेको आफ्नो माइती भक्तपुरमा उनले विधिपूर्वक तुलजा भवानी स्थापना गरिन्। कर्नाटवंशीहरूको कुलदेवी भए पनि मल्लहरूले तुलजा भवानीलाई आफ्नै कुलदेवीका रूपमा स्विकारे, जसलाई आज तलेजु भवानीका रूपमा पुजिन्छ।
देवलदेवी भक्तपुर आउँदा यहाँका राजा रूद्र मल्ल थिए जो देवलदेवीका दाइ हुन्। धनवज्रको वर्णनअनुसार जब १३८३ सालमा ३० वर्षीय रूद्र मल्लको मृत्यु भयो, उनका कुनै छोरा जीवित थिएनन्। श्रीमती पनि उनीसँगै सती गइन्। त्यसपछि गद्दीमा बसेका अरि मल्लले भारदारहरूलाई अँठ्याउन सकेनन्। यसले रूद्र मल्लकी नाबालिग छोरी नायकदेवी उत्तराधिकारी बनिन्।
नायकदेवीको हेरचाह उनकी बज्यै पदुमलदेवीले गर्थिन्। पदुमलदेवीलाई राजकाजका काममा देवलदेवीले सघाइन्।
विक्रम सम्बत् १३८९ मा पदुमलदेवीको निधन भयो।
उनको निधनपछि नायकदेवीको संरक्षण जिम्मा देवलदेवीले लिइन्। उनकै सक्रियतामा काशी राजवंशका कुमार हरिचन्द्रसँग नायकदेवीको विवाह भयो। यो विवाहपछि नायकदेवीको हकवालाका रूपमा उनका श्रीमान हरिचन्द्रको प्रभाव बढ्ने कुरा केही भारदारलाई चित्त बुझेको थिएन। त्यही भएर १३९२ मा भारदारहरूले षड्यन्त्र गरेर हरिचन्द्रलाई विष खुवाएर मारे।
एउटै घरमा रहँदाबस्दा नायकदेवी र देवलदेवीका छोरा जगतसिंह एकअर्काका नजिक भए। पछि उनीहरूको विवाहसमेत भएको गोपाल वंशावलीकारले उल्लेख गरेका छन्। तर उनीहरूले यसलाई वैधानिक विवाह मानेका छैनन्।
कर्नाट वा भनौं तिरहुत (मिथिला) क्षेत्रबाट देवलदेवी, उनका छोरा र सेना आउनुअघि पनि मिथिलाबाट नेपाल उपत्यकामा थुप्रै व्यक्ति आउजाउ गरिन्थे। देवलदेवी आएपछि भने उनले राज्यस्तरमै आफ्नो अधिकार जमाइन्। उनलाई गोपाल वंशावलीकारले ‘महादेवी’ भनेर उपनाम पनि दिएका छन्।
‘देवलदेवी चतुर महिला थिइन्। कमजोर हुन लागेको भक्तपुर मजबुत बनाउन उनले बलिया भारदार महाथ अनेकराम, अभयराम, थयित लगायतलाई आफ्नो पक्षमा राखिन्। १३९४ पौषमा उनीहरूसँग मिलेर देवलदेवीले केही प्रदेशमा आफ्नो अधिकार जमाइन्,’ इतिहासकार धनवज्र बज्राचार्यले लेखेका छन्।
यति मात्र होइन, नेपाल उपत्यकामा मल्ल शासनको जग मजबुत बनाउने श्रेय पाएका जयस्थिति मल्ललाई देवलदेवीले नै दक्षिण मधेसबाट झिकाएकी थिइन्। उनले आफ्ना छोरा जगतसिंह र नायकदेवीकी छोरी राजल्लदेवीसँग विवाह गरेर नेपाल उपत्यकाको राजकाज सम्हाल्न जयस्थिति मल्ललाई ल्याएको इतिहास छ।
‘विसं १४११ मा राजल्लदेवी आठ वर्षकी भइन्। त्यस बेलाको धारणाअनुसार उनको विवाह गरिदिने अवस्था आइपुगेको थियो। उनकी बज्यै देवलदेवीले आश्विनमा जयस्थिति मल्ललाई वरका रूपमा बाहिरबाट भक्तपुर भित्र्याई पाँच महिनापछि विवाह गरिदिइन्। यो घटनाबाट नेपाल उपत्यकाको राजकाजमा एक दृढ व्यक्तिले हात हाल्ने अवसर पाए,’ धनवज्रले लेखेका छन्।
रामदेव राय दनुवारद्वारा लेखिएको ‘दनुवार जातिको ऐतिहासिक रूपरेखा’ नामक किताबमा उल्लेख भएअनुसार जयस्थिति मल्ल दनुवार समुदायका थिए।
‘स्थितिदेव (जयस्थिति मल्ल) ले सप्तरीका थुप्रै तागाधारी दनुवार (क्षत्री) हरूलाई जन्तीका रूपमा लिएर पहाड उपत्यका खुपुदेश (भक्तपुर) विवाह गर्न गएकोमा आजसम्म जन्तीसहित पुनः फर्केर आएको छैन,’ उनले लेखेका छन्।
विसं १४१३ को पशुपति अभिलेखमा पनि राजल्लदेवीका पति स्थितिदेव भनी उल्लेख भएको पाइन्छ।
भक्तपुरबाट दक्षिणतिर रहेको मधेसको भू–भागमा सप्तरी क्षेत्र पनि पर्छ, जहाँ स्थितिदेवका पिता पुरादित्य सिंहको राज्य थियो। यस प्रकार जयस्थिति मल्ल सप्तरीका राजकुमार हुन सक्छन्। द्रोणवार वंशीय राजा पुरादित्य सिंहको शासनकालमा सप्तरी राज्य अत्यन्त सबल र सम्पन्न थियो। तागाधारी दनुवार भएकाले उनीहरू मैथिलीमा बोल्थे।
जति बेला जयस्थिति मल्लले यहाँकी राजकुमारी राजल्लदेवीसँग विवाह गरे, उनी १६ वर्षका थिए। उनलाई डोलाजी प्रथाबाट विवाहका लागि झिकाइएको मानिन्छ। यो प्रथाअनुसार शासक वर्गले आफ्नी छोरीबेटी विवाह गरेपछि दुलहा दुलहीकै घरमा बस्छन्। आफ्नो घर जाँदैनन्। उनीहरूको घर, वंश अनि थर पनि दुलहीकै राखिन्छ।
यो प्रथामा कतिपय दुलहालाई सानैदेखि दुलहीको घरमा राखेर शासक बन्ने तालिम दिइन्छ। दक्षिण मधेसबाट झिकाएको पाँच महिनापछि बल्ल जयस्थितिलाई यहाँकी राजकुमारीसँग विवाह गरिदिनुको कारण उनलाई शासक बन्ने तालिम दिइएको हुनसक्छ।
जयस्थिति मल्ल नेपाल उपत्यकाको राजा बनेपछि यहाँको राज्यको अस्थिरता धेरै हदसम्म रोकियो। देवलदेवीजस्तै जयस्थिति पनि चतुर थिए। उनले आफ्नो बल र बुद्धिले विरोधीहरूलाई दबाई राज्याधिकार हात पारे। उनी आउँदा नेपाल उपत्यकामा नेवाः सभ्यता पहिल्यै विकसित थियो।
शासनमा आइसकेपछि उनले चाहेका भए त्यो सभ्यता मासेर आफ्नै शैली र स्वाद दिन सक्थे। तर उनले त्यसो गरेनन्। उनले यहाँको नेवाः सभ्यता जस्तो थियो, त्यसलाई त्यही रूपमा स्विकारे। यहीँको भाषा बोल्न थाले, यहीँको संस्कृति र चाडपर्व मनाउन थाले। आफू गद्दीमा बसे पनि, प्रजाले राजाको मान्यता दिए पनि जीवनभर राजल्लदेवीको पतिका रूपमा बस्नु नै उनले उचित ठाने।
आफ्नो कार्यकालमा जयस्थितिले गरेको सबभन्दा उल्लेखनीय काम यहाँको थिति बसाल्नु हो। चन्द्रविक्रम बुढाथोकीको किताब ‘जयस्थिति मल्लको सुधार’ का अनुसार उनले नेपालमा लोप भएर गएको सनातनी हिन्दु धर्म पुनरूत्थान गर्न जात व्यवस्था ल्याएका थिए। त्यसका लागि उनले तराईबाट ब्राह्मणहरू झिकाए।
‘जयस्थितिले पाँच जना सनातनी हिन्दु कट्टर ब्राह्मणहरू कीर्तिनाथ उपाध्याय, मैथिल ब्राह्मण रघुनाथ झा, रामनाथ झा, दक्षिण भारतका ब्राह्मण श्रीनाथ भट्ट र मदीनाथ भट्टको समिति गठन गरेका थिए। उनीहरूकै सल्लाहअनुसार नेपाल उपत्यकामा बौद्ध धर्मको अभिवृद्धि भएपछि लोप भएर गएको सनातनी हिन्दु धर्म पुनरूत्थान गरियो,’ बुढाथोकीले किताबमा लेखेका छन्।
जयस्थितिले समाजलाई चार वर्ण छत्तीस जातमा विभाजन र जातअनुसार पेसा अपनाउनुपर्ने नियम लगाएका थिए। यसबाट जात व्यवस्थालाई शासकीय रूप दिएको भन्दै आज उनको आलोचना पनि हुन्छ।
यति मात्र होइन, उनले घरखेतसम्बन्धी सुधार, अपराधसम्बन्धी दण्ड–नियम, नापतौलको व्यवस्था लगायत पनि लागू गरे।
जात व्यवस्था र हिन्दु धर्म पुनरूत्थानका लागि जयस्थितिले मिथिला क्षेत्रबाट ब्राह्मणहरू झिकाउनुअघि र त्यसपछि पनि यहाँका शासकहरूले ठुल्ठूला यज्ञ र पूजाका लागि मिथिलाका ब्राह्मणहरूलाई नेपाल उपत्यका बोलाएका छन्। एक शासकले त उनीहरूलाई नुवाकोटमा बस्ने ठाउँ नै दिएको साहित्यकार एवं संस्कृतिविद् राजेन्द्र विमल बताउँछन्।
एकपटक काठमाडौंमा खडेरी र अनिकाल लाग्दा त्यस्तै यज्ञ गर्न मिथिलाबाट केही मैथिल ब्राह्मणलाई उपत्यका बोलाइएको थियो। उनीहरूले यहाँ आफ्नो काम सम्पन्न गरेपछि राजा प्रसन्न भएछन्, अनि यहीँ बस्न प्रस्ताव राखेछन्। जवाफमा ती मैथिल ब्राह्मणहरूले भनेछन्, ‘हामीलाई त आँप र माछा दुवै चाहिन्छ। हामी यी दुवै पाइने ठाउँमा मात्र बस्न सक्छौं।’
आँप र माछा दुवै पाइने ठाउँ काठमाडौं नजिकको नुवाकोटमा फेला परेपछि उनीहरूलाई त्यतै बस्ने व्यवस्था गरिएको भनाइ छ।
‘मैथिलहरू बसेकाले त्यो ठाउँलाई अहिले पनि मैथिलटार भनिन्छ। अहिले त्यहाँ सेनाको ब्यारेक छ जसलाई मैथिल ब्यारेक भनिन्छ। मैथिली भगवतीको मन्दिर पनि छ,’ राजेन्द्र विमलले भने, ‘मैथिलहरू जहाँ जहाँ गए, त्यहाँ आफ्नो छाप छाडेका छन्। त्यो छाप काठमाडौं उपत्यकामा पनि पाउन सकिन्छ।’
जसरी जयस्थिति मल्ललाई नेपाल उपत्यकाकी राजकुमारीसँग विवाह गर्न मिथिलाबाट झिकाइएको थियो, यहाँका मल्ल तथा शाह शासकहरूले पनि कर्नाट वा मिथिलासँग वैवाहिक सम्बन्ध राख्ने चलन पछिसम्म कायम राखे।
राजा प्रताप मल्लकी दुई श्रीमतीमध्ये एक रानी मैथिल समुदायकी थिइन्। प्रताप मल्लले आफ्नो ज्ञानको फराकिलो दायरा देखाउन हनुमानढोका दरबारको एउटा शिलालेखमा १५ वटा लिपि खोपेका थिए। त्यसमध्ये मैथिल लिपि एक हो।
त्यस्तै राजा रणबहादुर शाहकी मनपर्ने रानी कान्तवती झा पनि मिथिला क्षेत्रकी विधुवा ब्राह्मणी थिइन्। आफ्नी कान्छी रानी भए पनि रणबहादुर शाहले उनको भावी सन्तानलाई नै शासनको उत्तराधिकारी बनाउने सर्तमा विवाह गरेका थिए। सर्तअनुसार रणबहादुर र कान्तवती झाका छोरा गिर्वाणयुद्ध विक्रम शाह राजा भए। विफरले कान्तवती झाको निधन भएपछि रणबहादुर पागल भए अनि मूर्ति र मन्दिरहरू भत्काउँदै हिँडेका थिए।
अर्का साहित्यकार एवं संस्कृति अध्येता रोशन जनकपुरी कर्नाटवंश वा मिथिला सभ्यतासँग यहाँका शासक आकर्षित हुनुलाई उनीहरूको प्रतिष्ठासँग दाँज्छन्।
‘कर्नाटवंश त्यति बेला प्रतिष्ठित राज्य थियो। त्यस कारण काठमाडौंका राजाहरूले पनि आफूलाई कर्नाटवंशसँग जोड्न चाहे। जसरी यता पहाडबाट आएका राजाहरूले आफूलाई हिन्दुपति भनेर देखाउने चलन भयो, काठमाडौं उपत्यकाका राजाहरूले आफूलाई ‘कर्नाटविलभूषण’ भनेर जोड्न थाले,’ उनले भने, ‘त्यसो गर्दा एक प्रकारले उनीहरूको सांस्कृतिक प्रतिष्ठा बढाउँथ्यो। राजाहरू जोडिएपछि त्यहाँका अरू पनि जोडिन्थे। त्यसले यहाँको संस्कृति र रितिथितिमा परिवर्तन ल्याउँथ्यो।’
काठमाडौंमा तन्त्र–मन्त्र र देवीहरूको पूजा गर्ने चलन पनि तिरहुतबाटै आएको जनकपुरी बताउँछन्।
मधेसबाट आएका मल्ल शासकहरू काठमाडौं उपत्यकाको नेवाः सभ्यतामा मिसिएपछि उनीहरूले मिथिला सभ्यतालाई पनि यहाँको भाषा, संस्कृति र कला–साहित्यमा जोड्दै गए। त्यही भएर काठमाडौं उपत्यकामा पाइने पौभाः कला, भजन र नाटकहरूमा मैथिल भाषा र संस्कृतिको अंश पाइन्छ। यसले काठमाडौं उपत्यकाको मिथिला प्रभावलाई अझै विस्तारमा बताउँछ।
म केही उदाहरण दिन चाहन्छु।
मैले चार वर्षअघि ‘मल्लराजा सिद्धिनरसिंहका ४०० वर्ष पुराना गीत’ भन्ने स्टोरी लेखेको थिएँ। पाटनका मल्लराजा सिद्धिनरसिंहले लेखेका ३२ गीत ज्याः पुन्हि (जेष्ठ पूर्णिमा) का दिन कृष्ण मन्दिरअगाडिको कात्तिक डबलीमा सुनाइन्छ। यो गीतमा नेपाल भाषासहित मैथिल, संस्कृत, फारसी र उर्दु भाषा पनि प्रयोग भएका छन्।
त्यसै दिन पाटन संग्रहालयभित्र राखिएको त्यति नै वर्ष पुरानो पौभाः चित्र प्रदर्शन गर्ने चलन छ। त्यो चित्र मिथिला सभ्यताबाट प्रेरित छ।
मल्लकालमा राजाहरूले मिथिला राजकन्यासँग विवाह गर्ने चलन थियो। मल्लकालीन चित्रहरू हेर्ने हो भने महिलाहरूले नाकमा नथिया लगाएको, घुम्टो ओढेको देखिन्छ जुन काठमाडौंको परम्परा होइन। पुरूषहरूको पहिरन पनि मुगल बादशाहको जस्तै छ।
जसरी नेवाः समुदायले पूजामा मण्डल बनाउँछ, त्यसरी नै मिथिला समुदायमा भित्ता र भुइँमा अरिपन बनाउने चलन छ। यी दुवै लगभग उस्तै हुन्छन्। झन् मिथिलालाई त कलाको सहर भन्दा फरक पर्दैन।
नेपाल मण्डलका कलाकृतिमा तिरहुतको प्रभावबारे अध्ययन गरेका हरिओम मेहेताका अनुसार जयस्थिति मल्ल नेपाल उपत्यकाको राजा भएको समयतिर अर्थात् चौधौं शताब्दीपछिका मूर्तिहरूमा तिरहुतको प्रभाव देखिन्छ।
‘चौधौं शताब्दीअघिका मूर्तिमा भगवानका स–साना हातखुट्टा हुन्छन् र तिनमा थोरै गरगहना लगाइएका हुन्छन्। सूर्य भगवानको मूर्ति, उमामहेश्वरको मूर्ति, बुढानिलकण्ठको विष्णुको मूर्ति यसका उदाहरण हुन्,’ उनले भने, ‘चौधौं शताब्दीपछिका मूर्तिमा भने धेरै गरगहना र बुट्टा कुँदिएको देख्न सकिन्छ। झन् सिमरौनगढतिर पाइने र यहाँ पाइने मूर्तिमा धेरै समानता भेट्न सकिन्छ।’
यति मात्र होइन, कात्तिक डबलीमा वार्षिक रूपले गाइने भजनबाहेक पाटनका विभिन्न भजनमा मैथिल भाषा जोडिएर आउँछ। त्यसमाथि हरेक साँझ कृष्ण मन्दिरमा गाइने भजन त पूरै मैथिल भाषामा छ। भक्तपुरमा गाइने भजनहरूमा महाकवि विद्यापतिको प्रभाव छ। तिरहुतका विद्यापतिको कालमा लोक–संगीत र साहित्य प्रगतिको उत्कर्षमा थियो।
गीत र भजनमा मात्र होइन, काठमाडौंमा मञ्चन गरिने सांस्कृतिक नाटकहरूमा पनि मैथिल भाषा जोडिएर आउँछ। पाटनको कात्तिक नाच त्यसैको उदाहरण हो। काठमाडौं उपत्यकाका डबलीहरूमा यस्ता नाटक समय–समयमा मञ्चन भइरहेका हुन्छन्। भक्तपुरका राजा भुपतिन्द्र मल्लले लेखेको १५३ वटा नाटकमध्ये ११५ वटा मैथिल भाषामा छन्। बाँकी २६ वटा नेपाल भाषा र १२ वटा हिन्दी र उर्दु भाषामा छन्।
संस्कृतिविद् मल्ल के. सुन्दरका अनुसार मल्लकालमा लेखिएका एउटै नाटकमा विभिन्न भाषाको संवाद प्रयोग गरिएका छन्।
‘ब्रह्मा, विष्णु लगायत देव पात्रहरू आयो भने उनीहरूले बोल्ने संवाद, गीत वा श्लोकमा संस्कृत भाषाको प्रयोग पाइन्छ। किनभने संस्कृतलाई देव भाषा भनिन्छ,’ उनले भने, ‘राजदरबारका राजपरिवारले बोल्ने भाषामा मैथिल, भोजपुरी वा बंगाली भाषा प्रयोग गरिन्थ्यो। जब नागरिकले बोल्ने भाषा आउँछ, त्यसमा नेपाल भाषा प्रयोग गरिएको पाइन्छ। यसले नेपाल मण्डलमा सांस्कृतिक तथा साहित्यिक रूपमै मिथिलाको प्रभाव थियो भन्ने स्पष्ट पार्छ।’
मल्ल के. सुन्दर राजनीतिक रूपमा पनि मिथिला वा तराईका राजाहरूसँग यताका राजाको सम्बन्ध राम्रो भएको बताउँछन्।
‘तराईमा नपाइने खाद्यान्न वा सामग्रीहरू उपहारका रूपमा दिइन्थ्यो र काठमाडौं उपत्यकामा नपाइने हात्तीजस्ता उपहार उताका राजाले यता पठाइदिन्थे। मिथिलाका राजाहरूले यहाँका राजालाई शिकार खेल्न बोलाउँथे,’ उनले भने, ‘उता सम्बन्ध राम्रो भएकैले यहाँका मल्ल राजाको जग्गा मिथिलाको दरभंगा र पटनासम्म पनि थियो।’
उनले अगाडि भने, ‘नेपाल मण्डलमा ठूलो लडाइँ पर्यो भने उनीहरूले मैथिल सेनाको पनि सहायता लिन्थे। जस्तो, जयप्रकाश मल्लले सिन्धुलीमा ब्रिटिस सेनासँग लड्दा मैथिल सेना बोलाएका थिए।’
काठमाडौं र मिथिलाको सम्बन्ध जनजीवनमा पनि जोडिएको देखिन्छ। यसको निम्ति मैले काठमाडौं उपत्यकाका केही मैथिलहरूसँग कुराकानी गरेकी छु।
पाटननिवासी कृष्णबोधिनी मिश्रका पुर्खा राजा रणबहादुर शाहका पालामा सिमरौनगढबाट काठमाडौं उपत्यका आएका थिए। मैले यो स्टोरी लेख्ने क्रममा चार महिनाअघि उनीसँग कुराकानी गरेको थिएँ। पुस २८ गते उनको निधन भयो।
उनले मसँग भनेका थिए, ‘पशुपतिनाथमा आरती गर्न, पूजाआजा गर्न र विशेषगरी महास्नान गर्न हाम्रो पुर्खालाई सिमरौनगढबाट झिकाइएको थियो। मेरो पुर्खाले सम्हाल्दै आएको पशुपतिनाथको त्यो रितिथितिलाई मैले पनि निरन्तरता दिएँ।’
नेपाल–मैथिल ब्राह्मण समाजको उपाध्यक्षसमेत रहेका मिश्रका अनुसार रणबहादुर शाहले त्यति बेला १३ जना ब्राह्मणलाई पशुपतिको महास्नानका गराउन सिमरौनगढबाट झिकाएका थिए।
मिश्रले हामीलाई यो परम्परा कसरी सुरू भयो भन्ने किस्सा पनि सुनाए —
त्यति बेला एक जना ‘मकै सुब्बा’ भन्ने रहेछन्। सिमरौनगढबाट आएका उनले वर्षको एकदिन पशुपतिनाथलाई महास्नान गराउँदा रहेछन्। त्यो थाहा पाएपछि रणबहादुरलाई लागेछ, त्यो सुब्बाले त यस्तो गर्दो रहेछ भने म त झन् राजा। मैले त झनै गर्नुपर्छ!
‘त्यसपछि उनले महिनाको एकपटक पूर्णिमाको दिन महास्नान गराउने चलन सुरू गरेछन्। यो चलन अझै कायम छ,’ मिश्रले हामीसँग भनेका थिए।
महास्नानको अर्थ पशुपतिनाथलाई शिरदेखि पाउसम्म पञ्चामृतले नुहाइदिने हो। नुहाइसकेपछि शृंगारपटार गरिन्छ, भोजन खुवाइन्छ। भोजन खुवाउन चौरासी व्यञ्जन पकाइन्छ। त्यसमा १० मुरी चामल, साग, सब्जी, मिठाई सबै राखेर शिवजीलाई खुवाइन्छ।
पशुपतिकै गुह्येश्वरीलाई मैथिल ब्राह्मणहरूले आफ्नो आराध्यादेवी मानेर पूजा गर्ने मिश्रले बताएका थिए। उनका अनुसार गुह्येश्वरीलाई जानकी वा सीता मानेर सीता जयन्ती बेला धुमधाम ‘देवाली पूजा’ गरिन्छ।
रणबहादुर शाहकै पालामा नेपाल उपत्यका छिरेका भए पनि आफ्नो रितिथिति अझै मधेस वा मिथिलासँग जोडिएको मिश्रले हामीलाई बताएका थिए। उनका अनुसार नेपाल उपत्यका प्रवेश गरेपछि उनीहरूले यहाँको भाषा, संस्कृति र रितिथिति अंगाले तर त्यहाँको आफ्नो भाषा, संस्कृति र रितिथिति पनि छाडेनन्। विशेषगरी अहिले पनि उनीहरूको बिहेवारी उतै चल्छ।
‘हामी विवाह गर्नुपर्यो भने जनकपुर, वीरगन्ज, सिमरौनगढ, दरभंगा, पटनासम्म जान्छौं। विवाह पनि मैथिल परम्पराअनुसार नै हुन्छ,’ आफू पनि विवाह गर्न वीरगन्ज पुगेको बताउँदै मिश्रले भनेका थिए, ‘त्यहाँ जानुको कारण विवाह मात्र होइन, यता काठमाडौं उपत्यकामा सबै आफ्ना नातागोता पर्ने भएकाले हो। यहाँ पनि विवाह गर्न त मिल्छ तर छ–सात पुस्ता नाघेको हुनुपर्छ, त्यस्तो एकदम कम छ।’
जसरी एक शासकले नुवाकोटमा मिथिलटार भनेर मैथिल ब्राह्मणहरूलाई बस्ने ठाउँ दिए, पाटनमा पनि एउटा त्यस्तै चोक छ जहाँ मिश्रहरू बस्छन्। त्यो चोकलाई ‘मिश्र चोक’ भनिन्छ। यहाँ चोकको बीच भागमा राधाकृष्णको मूर्ति छ। मिश्रहरू जहाँ–जहाँ बसे, उनीहरूले आफूले मान्ने भगवान उमामहेश्वर वा राधाकृष्णको मूर्ति राख्ने गरेको मिश्रले हामीलाई बताएका थिए।
जसरी नेवाः समुदायको गुठी छ, त्यसरी नै मिश्रहरूको पनि आफ्नो मैथिल समाज हुन्छ, उनले भनेका थिए, ‘पहिला उपत्यकाका तीन सहरमा मैथिलहरूको ७६ वटा घर थियो। अहिले नयाँ झा, मिश्रहरू आएर बढेको हुनसक्छ। ठुल्ठूला काम वा भोज भयो भने हामीले उहाँहरूलाई निमन्त्रणा दिनुपर्छ। त्यही क्रममा कुन घरको मान्छे को हो भनेर सबै थाहा हुन्छ। कुनै कुनै ठाउँमा त मैथिलहरू मिथिला नै बासना आउने गरी बसेका छन्।’
नेवाः समुदायमा जन्मदिन होस् वा कुनै चाडपर्व, सगुनमा माछा नभई हुँदैन। त्यो चलन मैथिलहरूबाटै आएको हुनुपर्ने उनी बताउँछन्।
‘नेवारहरूको सगुनमा मासु, अन्डा र पालामा अलिकति रक्सी हुन्छ। हामी पर्यौं मासु पनि नखाने, रक्सी पनि नखाने। हाम्रो सगुन भनेको पाँचवटा माछा, पाँचवटा लड्डु, पाँचवटा केरा, एउटा दही हो। त्यही दहीले हामी टीका मुस्छौं र त्यही टीका लगाउँछौं। त्यसले मुख जूठो गरेपछि मात्रै शुभकार्य हुन्छ। त्यही भएर हामीले नै सगुनमा माछा राख्ने चलन चलाएको हुनुपर्छ,’ उनले भनेका थिए।
कृष्णबोधिनी मिश्र पुर्खौंदेखि काठमाडौं उपत्यकामा बस्दाबस्दै यहीँको भइसकेका थिए। उनी मिथिलासँग नजिक त थिए, तर त्यहाँ मनाउने छठ मनाउँदैनथे। यहाँ बस्ने धेरै मैथिल झा, मिश्रहरू छठ मान्दैनन्। यसबाट हामी रणबहादुर शाहको समयभन्दा निकै पछि मात्र तराईमा छठ परम्परा सुरू भएको हो कि भन्ने आकलन गर्न सक्छौं।
पाटनकै आशिष मिश्रको मूल घर पनि मिथिला हो। यहाँको समाज र संस्कृतिमा सानैदेखि भिजेका उनी नेवाः सभ्यताबारे उत्तिकै जानकार छन्। यहाँका जात्रापर्व मनाउँछन्, नेपाल भाषा पनि बोल्छन्। उनी पनि तराईको छठ मान्दैनन्।
जति बेला रातो मच्छिन्द्रनाथ, अर्थात् बुंगद्यःलाई भारतको आसामबाट पाटन ल्याइयो, लगभग त्यही समयतिर आफ्नो पुर्खा यहाँ आएको उनी बताउँछन्।
मैथिलहरूको काठमाडौं प्रवेश तीन कालखण्डमा भएको इतिहास छ। एकथरि मिश्र, झा र ठाकुरहरू गौतम बुद्धकै पालामा काठमाडौं आएका थिए। अर्काथरि मैथिलहरू लिच्छवि राजा नरेन्द्रदेवका पालामा आएका थिए। आशिषको पुर्खा त्यसैमध्येको हो। तेस्रो चरणमा काठमाडौं भित्रिएका मैथिलहरू मल्ल शासक सँगसँगै आएका हुन्।
पहिलो कालखण्डमा आएका मैथिलहरूबारे जनाउने विहार पाटनमै रहेको यम्पी महाविहार हो। यहाँ सुन्यसी मिश्र (सटकोटी बाजे) कपिलवस्तुबाट आएर बसेको मानिन्छ। यसबारे मलाई आशिषले कथा सुनाएका छन् —
दुई हजार वर्षअघि कपिलवस्तुमा सुन्यसी मिश्र नाम गरेका व्यापारी थिए। उनले व्यापार गरेर प्रशस्त धन कमाइसकेका थिए। धनसम्पत्ति कमाइसकेपछि उनलाई आध्यात्मिक सोच आएछ, अब के त? मेरो जीवनको अर्थ यत्ति हो? सम्पत्ति कमाउने अनि मर्ने?
जीवनको केही न केही अर्थ हुनुपर्यो भन्ने भएपछि उनी घरबाट निस्किएर जोगी भएछन्।
हिँड्दा हिँड्दै उनी काठमाडौं आइपुगे। यहाँ एक जोगीसँग भेट भएछ जसले भनेछन्, ‘बाबु तिमी तिब्बत जाऊ। त्यहाँ बुद्धधर्मको अनुयायी बन्। त्यहाँ गुरूहरूसँग कुरा गर। त्यहाँ तिमीले खोजेको प्रश्नको उत्तर भेट्छौ। जीवनको अर्थ भेट्छौ।’
सुन्यश्री तिब्बत गए। त्यहाँका लामाहरूसँग संगत गरे। जाँदा ब्राह्मण थिए, फर्किंदा बौद्धधर्मी भएर आए।
यहाँ आएपछि उनले उता सिकेको ज्ञान बाँड्न अखडाजस्तो बनाएर यम्पी विहार भएको ठाउँमा बस्न थाले।
अंग्रेजी पत्रिका ‘द राइजिङ नेपाल’ मा संस्कृतिसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकार आशिष मिश्र भन्छन्, ‘विहारका कागजपत्रमा सुन्यसी मिश्रको नाम ‘सटकोटी बाजे’ भनेर भेटिन्छ। काठमाडौं आउँदा उनले ६ करोड रूपैयाँ लिएर आएको मानिन्छ। त्यही भएर पनि उनलाई संस्कृतमा सटकोटी भनिएको हो। यो विहारको स्थापना उनैले गरेका हुन्, जसलाई ललितपुरकै पहिलो विहार भनिन्छ। यसको अर्को नाम सुन्यश्री महाविहार पनि हो।’
इतिहास र संस्कृतिबारे गहिरो रूचि राख्ने आशिषका अनुसार सुन्यश्रीको परिवार उनलाई खोज्दै यहाँ आएका थिए। उनीहरूले कपिलवस्तुमै फर्किएर व्यापार, व्यवसाय गर्न आग्रह गरे, तर सुन्यश्रीले मानेनन्। बरू सुन्यश्रीले उनीहरूलाई पनि यहीँ बस्न भने। श्रीमान र पिताको मायामा उनीहरू काठमाडौंको क्वबहालमा बस्न थाले।
‘क्वबहाललाई त्यही भएर ललितपुरको पुरानोमध्येको विहार मानिन्छ। ललितपुरमा हुने सम्यक् महादानमा अन्य विहारका मान्छेले आफूहरूमध्येको जेष्ठ भनेर उनीहरूको खुट्टा धोइदिनुपर्छ। उनीहरू अहिले शाक्य लेख्छन्, तर पहिले मिश्र थिए,’ आशिषले भने।
यसरी गौतम बुद्धकै समयदेखि मैथिलहरूको काठमाडौं आउजाउ सुरू भए पनि राज्य स्तरमै परिवर्तन भने जयस्थिति मल्लपछि भयो। यहाँ आएपछि उनीहरूले नेवाः भाषा र संस्कृति अपनाउनुका साथै आफ्नो संस्कृति र भाषा पनि त्यसमा मिसाउँदै लगे।
‘जयस्थिति मल्लको पालापछि अन्तरराज्य सञ्चारको भाषा पनि मैथिल हुन पुग्यो,’ आशिषले भने, ‘जसरी अहिले अंग्रेजी भाषा बोल्दा कतिले स्ट्यान्डर्ड बढेको महसुस गर्छन्, आफूलाई पढेलेखेको देखाउनुछ भने त्यति बेला मैथिल बोल्ने चलन थियो।’
त्यसैको प्रभावले होला, नेपाल भाषामा दहीलाई धौ भनिन्छ, जुन मैथिलको ‘दहु’ बाट बनेको हो। पैसालाई नेपाल भाषामा ‘धेवा’ भनिन्छ, जुन मैथिलको ‘धौवा’ बाट आएको हो। यस्ता अनेकौं शब्द छन्।
आशिषका अनुसार काठमाडौंको मौलिक लिपि मानिने रञ्जना पनि मैथिल लिपिसँग मिल्दोजुल्दो छ। मैथिल लिपि पनि बंगाली लिपिबाट प्रभावित देखिन्छ।
काठमाडौं उपत्यका आउनेमा मैथिल झा मात्र थिएनन्, ठाकुर, चौधरी, कायस्थ लगायत अन्य जातजाति पनि थिए। तर काठमाडौं आएपछि उनीहरूको अन्तर्जातीय विवाह हुन थालेकाले नेवारजस्तै देखिन थालेको आशिष बताउँछन्। आफूहरूलाई भने धर्मको कट्टरताले जोगाएको उनको भनाइ छ।
‘नेवारहरूले हामीलाई नेवार मानेनन्, हामीले पनि आफूलाई नेवार मानेनौं,’ उनले भने, ‘तराईमै विवाह गर्नुपर्छ भन्ने कट्टरताका कारण हाम्रो जातीय अस्तित्व कायम रह्यो।’
त्यति बेला काठमाडौं आएका मौथिल ब्राह्मणको पुस्ता अहिले जम्माजम्मी १०–१५ प्रतिशत मात्र बचेको उनी बताउँछन्।
‘सुन्यश्री मिश्रसँग आएका सबै अहिले शाक्य भइसके। देवलदेवीसँग आएका भारदार पनि कति अमात्य भए। उनीहरू दरबारमा थिए, त्यसैले अमात्य उपाधि पाए र अमात्य नै लेख्न थाले। अहिले धेरै बचेको भनेका झा र मिश्रहरु हुन्। धेरै त मिश्रित भइसके,’ आशिषले भने।
मिथिला र नेपाल मण्डल (काठमाडौं उपत्यका) जोड्ने यस्ता उदाहरण अनेकन छन्। ती उदाहरणलाई म आगामी अंकमा पनि जोड्दै लगुँला।
...
म तपाईंहरूलाई पाँचौं अध्यायबाट जनकपुरका कथाहरूमा प्रवेश गराउँला भन्ने सोच्दै थिएँ। तर अघिल्ला तीन अध्याय प्रकाशन भएपछि एउटा घटना भयो, जसका कारण म अर्को अध्यायमा तपाईंहरूलाई सिमरौनगढसँगै जोडिएको अर्को कथा भन्नेछु, जुन काठमाडौंमा वैद्य परम्परा कसरी सुरू भयो भन्ने कथासँग जोडिन्छ।
यी पनि पढ्नुहोस्: