मिथिलाक कथासभ : अध्याय १
अंग्रेजी शब्द 'मिथ' जोडिएर यो सहरको नाम मिथिला रहनु एउटा गज्जबको संयोग हो।
कथ्य (मिथ) र तथ्यको मिश्रणमा यदि सहर बन्छ भने मिथिला अलि बढी कथ्य र केही तथ्य मिलेर बनेको सहर हो। इतिहासका अभिलेखमा नभेटिने, पुरातात्विक अन्वेषणले पुष्टि नगर्ने र वैज्ञानिक खोजले पनि सुल्झाउन नसक्ने रहस्य 'मिथ' मा लुकेको हुन्छ। झन् नाममै मिथ जोडिएको यो सहरबारे जान्न हामीले ऐतिहासिक अभिलेखभन्दा अगाडि पुराणका ठेलीहरू पल्टाउनुपर्छ।
पुराण भन्छ, 'मिथिला पूर्वमा कौशिकी (कोशी) नदीदेखि पश्चिममा गण्डकी र दक्षिणमा गंगा नदीदेखि उत्तरमा हिमालय क्षेत्रसम्म फैलिएको थियो। गण्डकी किनारमा रहेको जंगललाई त्यति बेला चम्परायन भनिन्थ्यो। गण्डकीदेखि चम्परायनसम्म फैलिएको क्षेत्र विदेह नामले प्रख्यात थियो जसलाई तिरभुक्ती वा तिरहुत भन्न थालियो।'
संस्कृति अध्येताहरूका अनुसार मिथिला सहर पहिले भारतको वैशाली, मुजफ्फरपुर, दरभंगा, भागलपुर लगायत ठाउँसम्म फैलिएको थियो। सन् १९०३/०४ मा वैशालीमा गरिएको पुरातात्विक उत्खनन क्रममा चौथो शताब्दी (गुप्त काल) का अभिलेख भेटिएका थिए। ती अभिलेख तिरभुक्तीका अधिकारीहरूलाई सम्बोधन गरी लेखिएको पत्र थियो।
तिनै पत्रका आधारमा 'तिरभुक्ती' शब्द निकै पुरानो हो भनेर भन्न सकिन्छ। यो शब्दले नदी नजिकको जमिन वा क्षेत्र जनाउँछ।
तिरभुक्तीभन्दा पहिलेका नाम विदेह र मिथिला प्रयोगको ऐतिहासिक प्रमाण भने हामीसँग छैन। यी नाम सिधै पौराणिक कथासँग जोडिएका छन्।
परापूर्वकालमा 'विदेघ माधव' वा कतैकतै 'विदेघ माथव' पनि भनिने राजाका नामबाट यो सहरलाई 'विदेह' भन्न थालिएको पाइन्छ।
वैदिक कालमा सरस्वती नदी किनार हुँदै विदेघ माथव यस ठाउँमा आउँदा चारैतिर हिलो र दलदल थियो। उनले अग्नि वैश्वानर (आगोका देउता) को सहायताले यहाँको दलदल भू–भाग सुकाए र बस्न लायक बनाएको किम्बदन्ती छ।
किम्बदन्तीअनुसार राजा विदेघले यो ठाउँलाई बसोबासयोग्य बनाउन आफ्नो मुखमै अग्नि देउता लिएर हिँडेका थिए। मुखबाट अग्नि देउता फुत्किने डरले उनी कसैसँग बोल्दैनथे। उनका पुरोहित गौतम ऋषि रहुगणले यो थाहा पाएपछि अग्नि देउतालाई बाहिर निकाल्न ऋगवेदका मन्त्र उच्चारण गर्दै भन्न थाले, 'हे, ज्ञानी अग्नि! तपाईं ज्योतिवान र शक्तिशाली हुनुहुन्छ, बाहिर आउनुहोस्।'
गौतम ऋषि रहुगणले यति भन्दा पनि राजा विदेघले मुख खोलेनन्।
गौतम ऋषि पनि आफ्नो हठ कहाँ छाड्थे र!
उनले मन्त्रोचरण गरिरहे।
'हे, अग्नि! तिम्रो किरण, ज्वाला र प्रकाश चम्किलो छ। हामीलाई आफ्नो शक्ति देखाउनुहोस्।'
राजाले तैपनि कुनै प्रतिक्रिया जनाएनन्।
गौतम ऋषिको मन्त्र उच्चारण जारी थियो।
'हे, नौनीजस्ता अग्नि! हामी तपाईंलाई बोलाउँछौं।'
यहाँनिर गौतम ऋषिको मुखबाट निस्केको 'नौनी' शब्दले काम गर्यो। नौनीको नाम सुन्नेबित्तिकै अग्नि देउता राजाको मुखबाट फुत्त बाहिर आए। राजाले आफ्नो मुखमा उनलाई सम्हालेर राख्नै सकेनन्।
लामो समय राजा विदेघको मुखमा कैद अग्नि देउता बाहिर आएपछि उनी आमाबुवाको नियन्त्रणबाट फुत्किएर खेल्न बत्तिएको बालकझैं यत्रतत्र दौडन थाले। उनी दौडिँदै पृथ्वीको पूर्वी किनारसम्म पुगे र त्यहीँबाट आगो लगाउन सुरू गरे।
गौतम ऋषि रहुगण र राजा विदेघ उनलाई पछ्याउँदै गए।
अग्नि देउताको आगोको तापले पृथ्वीका सबै नदी, खोलानाला, तालतलैया सुक्न थाले।
यही क्रममा जसै अग्नि देउता उत्तरी हिमाल हुँदै बग्ने सदानीरा नदी पुगे, उनी ठाउँको ठाउँ टक्क अडिए।
अग्नि देउताले सदानीर नदीमाथि आगो ओकलेनन्।
यो नदी यति पवित्र थियो, पहिले–पहिले ब्राह्मणहरूले समेत तर्न हुँदैन भनिन्थ्यो। उनीहरू तर्थेनन् पनि। यही कारण अग्नि देउताले सदानीर नदीलाई छुने हिम्मत गरेनन्।
त्यति बेला अयोध्या राजधानी भएको कोशल राज्य र विदेह राज्यको सिमानामा बग्ने सदानीर नदीलाई अचेल गण्डकी भनिन्छ। अग्नि देउताले धरि छुन नसकेकाले नदी आसपासको ठूलो क्षेत्र हिलो र दलदलले भरिएको थियो, जहाँ खेतीपाती हुन्थेन। हामीले चर्चा गर्न खोजेको विदेह वा मिथिला पनि यही दलदले क्षेत्रमा पर्थ्यो।
पछि नदीको पूर्वतिर केही ब्राह्मणहरू बसोबास गर्न आए। तिनै ब्राह्मणले यज्ञ गरेर अग्नि देउता बोलाए र अग्निले भूमि स्पर्श गरेपछि यो ठाउँ बसोबास गर्न लायक बन्यो।
विदेह राज्य स्थापनासँग जोडिएको राजा विदेघको यो कथा पुष्टि गर्ने कुनै प्रमाणित इतिहास वा अभिलेख हामीसँग छैन। तर माथि भनेजस्तो परम्परागत रूपमा चलिआएका कथ्य (मिथ) हरूमा इतिहासका अप्रमाणित प्रसंग लुकेका हुन्छन्। अलौकिक रूपमै भए पनि ती कथ्यले ऐतिहासिक अभिलेखमा समेटिन नसकेका घटनाक्रम वर्णन गर्छन्।
यस आधारमा माथिको कथाबाट के आकलन गर्न सकिन्छ भने, मानव बस्ती र खेतीयोग्य जमिन बनाउन मिथिलाका प्राग–प्राचीन पुर्खाहरूले निकै संघर्ष गर्नुपरेको थियो। यहाँ विदेघ राजाले मुखमा आगो बोकेर हिँडेको प्रसंगले त्यति बेलाको दलदले भूमिमा मानव बस्ती बसाउन उनले गरेको कडा परिश्रम जनाउन खोजेको हुनसक्छ। सायद विभिन्न कालखण्डका मानव पुर्खाको यस्तायस्तै संघर्षले नै पृथ्वी बस्नयोग्य भूमि बनेको हो।
किम्बदन्तीमा विदेघ राजा र अग्नि देउताको अर्को प्रसंग पनि छ।
एकदिन राजा विदेघले अग्नि देउतासँग भेट हुँदा सोधेछन्, 'म कहाँ बस्न जाऊँ?'
उनलाई अग्नि देउताले सदानीर नदीको पूर्वतिर बस्न इसारा गरेछन्।
अग्नि देउताको आज्ञा मानेर राजा विदेघले नदीभन्दा पूर्व बस्ती बसालेको र कालान्तरमा त्यो बस्तीलाई उनकै नाममा 'विदेह' भन्न थालिएको मानिन्छ।
यो किम्बदन्तीमा जसरी 'नदीको पूर्वतिर बस्ती बसाउनू' भनिएको छ, त्यसले सभ्यताको केन्द्र पश्चिमबाट पूर्व सरेको घटनालाई संकेत गरेको हो कि!
विदेहहरूलाई ब्राह्मणवादको प्रतिनिधि मानिन्छ। त्यसैले केही विद्वानहरू राजा विदेघ माथव र ऋषि गौतम रहुगणको कथालाई आर्य सभ्यता पश्चिमबाट पूर्व फैलिएको प्रमाणका रूपमा पनि लिन्छन्।
यति मात्र होइन, अग्नि देउताले इसारा गरेको क्षेत्रमा अहिले पनि विदेघका वंशहरू भेटिन्छन् भन्ने विश्वास गरिन्छ। त्यति बेला ब्राह्मणहरू पूर्वका कोशी, कोशल र विदेहजस्ता ठाउँलाई ज्ञानभूमिका रूपमा मान्थे र तप–जप गर्न आउँथे भन्ने इतिहासले पनि पुष्टि गरेको छ।
यहाँसम्म त विदेह राज्य स्थापनाको कुरा भयो। कथा यतिमै सकिँदैन।
विदेह राज्य स्थापना गरी राजा विदेघ माथव र उनका वंशले यो क्षेत्रमा धेरै धेरै, धेरै नै वर्ष शासन गरे। तर कुनै पनि शासन सदापर्यन्त रहँदैन। विदेघ राजाको शासन पनि चिरस्थायी रहेन।
एकदिन शासनको बागडोर इक्ष्वाकुवंशी राजा निमिको हातमा गयो।
विष्णु पुराणका अनुसार विदेह राज्य आफ्नो हातमा आएपछि निमिले बलियो शासन व्यवस्था कायम होस् भनी महायज्ञ गराउन खोजे। त्यसका लागि उनी आफ्ना कुल पुरोहित महर्षि वशिष्ठलाई डाक्न गए।
वशिष्ठ यस्ता ऋषि थिए जो पृथ्वीदेखि स्वर्ग लोकसम्म आफ्नो इच्छाअनुसार आउजाउ गर्न सक्थे। उनले पटक–पटक स्वर्गमा वैदिक अनुष्ठान र यज्ञ गरी देवराज इन्द्रको मनोकामना पूरा गरेका कथाहरू छन्। स्वर्गका वैद्य अश्विनीकुमारसँग पनि उनले राम्रो मित्रता गाँसेका थिए।
जब राजा निमि महर्षि वशिष्ठलाई डाक्न गए, त्यति बेला वशिष्ठलाई देवराज इन्द्रबाट आफ्नो यज्ञमा सहभागी हुन निम्तो आएको रहेछ। त्यही भएर वशिष्ठले निमिलाई भनेछन्, 'राजा निमि, मैले पहिले नै देवराज इन्द्रलाई उनको यज्ञमा आउने बाचा गरिसकेको छु। म त्यहाँको यज्ञ सकेर तपाईंकहाँ आउनेछु। त्यतिञ्जेल मलाई कुर्नुस्।'
निमिले वशिष्ठको जवाफमा कुनै प्रतिक्रिया जनाएनन्। वशिष्ठले यसलाई उनको स्वीकृतिका रूपमा बुझे।
देवराज इन्द्रको यज्ञ करिब पाँच सय वर्ष चल्यो। राजा निमिले यति लामो समय वशिष्ठ ऋषिलाई कुर्न सकेनन्। त्यो अवधिमा त निमिको महायज्ञ गर्ने समय नै घर्किसक्थ्यो। त्यही भएर उनले वशिष्ठको अनुपस्थितिमा अर्का पुरोहित गौतम ऋषिमार्फत यज्ञ सम्पन्न गराए।
इन्द्रको देवलोकमा यज्ञ सकेर महर्षि वशिष्ठ जसै पृथ्वी लोकमा फर्के, उनी सरासर राजा निमिकहाँ गए।
उनी पुग्दा निमि आफ्नो महायज्ञको मध्यमा पुगिसकेका थिए।
महायज्ञ निम्ति आफूलाई कुर्नू भन्दाभन्दै निमिले आज्ञा पालना नगरेको देखेर वशिष्ठ रिसले चुर भए।
'निमि, तिमी निकै घमण्डी रहेछौ। मैले कुर्नू भन्दाभन्दै तिमीले मलाई कुर्न सकेनौ,' वशिष्ठले निमिलाई श्राप दिँदै भने, 'म तिम्रो देह भष्म होस् भनेर श्राप दिन्छु।'
वशिष्ठ ऋषिको यही श्रापका कारण निमिको देह भष्म भयो।
राजाको देह भष्म भएकाले नै यो ठाउँलाई 'विदेह' भनिएको हो भन्ने भनाइ पनि छ।
इक्ष्वाकुवंशी राजा निमिपछि उनको वंश चलाउने अरू कोही उत्तराधिकारी थिएनन्। त्यसैले महायज्ञका लागि आएका गौतम ऋषि र उनका सहायक पुरोहित मिलेर निमिको मृत शरीरलाई गंगासागरको पवित्र पानीमा मथेर नयाँ शरीर जन्माए, जो पहिलेभन्दा निकै पराक्रमी र सिद्ध पुरूष बने।
बुवाको शरीरबाट मन्थन गरेर निकालिएकाले पुरोहितहरूले उनको नाउँ 'मिथि' राखिदिए।
मिथिले आफ्नो पराक्रम, ज्ञान र सिद्धीको बलमा विदेह राज्यलाई अझ सुन्दर बनाए। समयक्रममा त्यो सहरलाई मिथिकै नामबाट 'मिथिला' भन्न थालियो।
यसरी पुरानो बस्ती बढाएर नयाँ सहर बसालेकाले मिथिलाई सबैले सम्मानपूर्वक 'जनक' भन्न थालेको कहावत छ। त्यसैले जनक कुनै नाम नभई एउटा पद हो। जनकको राज्यमा गार्गी, यज्ञवल्क्य, अष्टावक्र लगायत विद्वानको बोलबाला थियो।
सीताको पिताका रूपमा प्रसिद्ध राजा जनक मिथि वंशकै तेइसौं राजा सीरध्वज जनक हुन्। उनलाई सम्मान गरेर 'महाजनक' पनि भनिन्थ्यो।
सीता कसरी जनककी छोरी भइन् भन्ने कथा हामी धेरैले सुन्दै–पढ्दै आएका छौं। राजा सीरध्वज उर्फ महाजनकले यज्ञको निम्ति जमिन खन्ने क्रममा एउटी नवजात बालिका भेटेको र आफ्नी छोरीका रूपमा दरबार भित्र्याएको प्रसंग पौराणिक कथाहरूमा छ।
सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो। भगवान शिवले हजारौं वर्षपहिले मिथिलामा आफ्नो शिव–धनुष छाडेका थिए। त्यो धनुष यति गह्रुंगो थियो, संसारका महाबलशालीहरूले पनि डेग हल्लाउन सक्थेनन्। एक ठाउँबाट अर्को ठाउँ लग्न सयौं पहलवान भारदारहरू खटाउनुपर्थ्यो। सीताले भने सानै उमेरमा पूजाकोठा सरसफाइ गर्दा त्यो शिव–धनुष पनि उचालेर सफा गर्ने गर्थिन्।
सीताले यति सजिलै धनुष उचालेको देखेपछि सीरध्वज जनकले संकल्प गरे, 'जसले यो धनुष उचालेर ताँदो चढाउन सक्छ, उसैसँग मेरी छोरीको विवाह गरिदिन्छु।'
यही शिव–धनुष अयोध्याका राजकुमार रामले उठाएर ताँदो चढाउन खोज्दा धनुष नै भाँच्चिएको र उनैसँग सीताको विवाह भएको प्रसंग हामीले रामायणमा पढेका छौं, सुनेका छौं।
पौराणिक कथा रामायणले सीताको जन्मभूमि मानेको विदेह वा मिथिला राज्य पछि कुनै प्राकृतिक प्रकोप वा युद्धका कारण विलिन भएको हुनसक्छ। यसको कुनै स्पष्ट जानकारी पाइन्न।
समयक्रममा पौराणिकबाट ऐतिहासिक कालसम्म आइपुग्दा विदेह वा मिथिला राज्य तिरभुक्ति अर्थात् तिरहुतका नामले प्रसिद्ध भयो। एघारौं शताब्दीमा तिरहुत राज्यको राजधानी सिमरौनगढ रहेको इतिहास छ। तर हामीसँग उपलब्ध ऐतिहासिक अभिलेखहरूले चिनेको सिमरौनगढको कथा पौराणिक राम–सीता वा जनकसँग नभई आफ्नो छुट्टै इतिहाससँग जोडिन्छ।
इतिहास हेर्ने हो भने सिमरौनगढमा कर्नाटवंशीय राजाहरूले एघारौंदेखि चौधौं शताब्दीसम्म शासन गरेका थिए। दिल्लीका मुगलहरूको आक्रमणपछि यो राज्य तहसनहस भएको थियो।
पुराण र इतिहासको बीचमा एउटा अर्को घटना भयो।
कुरा आजभन्दा करिब तीन सय वर्षअगाडिको हो — सत्रौं वा अठारौं शताब्दीको। रामानन्दी सम्प्रदायका व्यक्तिहरू पौराणिक कालको मिथिला खोजीमा लागे।
पुराण पढेका र पुराण वाचन गर्दै हुर्केका रामानन्दी सम्प्रदायका व्यक्तिहरूको दिमाग र मन्त्रमा राजा जनकको मिथिला राज्य त थियो, तर त्यो राज्य कहाँ छ भनेर उनीहरूलाई थाहा थिएन। उनीहरूले राम राज्य अयोध्या भारतमा फेला पारिसकेका थिए। अब उनीहरू सीताको भूमि जनकपुर फेला पार्न आतुर थिए।
खोज्दै खोज्दै जाँदा अहिले जहाँ जनकपुर छ, त्यही ठाउँ प्राचीन मिथिलाको राजधानी जनकपुरधाम हो भनेर उनीहरूले औंल्याए।
रामानन्दीहरूको खोज ऐतिहासिक तथ्यमा आधारित थिएन। उनीहरूले आफ्नो सपना र कल्पनाका तार जोड्दै जनकपुरधाम नै प्राचीन मिथिला हो भनेका थिए। त्यसैले मिथिला राज्य यही हो भनेर इतिहासकारहरूले यकिनसाथ भन्न सकेका छैनन्।
बरू मिथिला क्षेत्रमै पर्ने र रामानन्दीहरूले जनकपुर फेला पार्नुभन्दा पाँच–छ सय वर्षअघि नै राज्यको इतिहाससहित भेटिने तिरहुतको राजधानी सिमरौनगढ नै पौराणिक मिथिला राज्य हुनसक्ने इतिहासकारहरूको मत छ। यसै आधारमा सिमरौनगढ र जनकपुरको सम्बन्ध पहिल्याउन नयाँ शिराबाट खोजीको विकल्प उनीहरूले दिएका छन्।
सिमरौनगढमा एघारौं–बाह्रौं शताब्दीतिरका दरबारका भग्नावशेष अझै छन्। ती भग्नावशेष संरक्षणको पर्खाइमा छन्।
सिमरौनगढका यिनै भग्नावशेषमुनि प्राचीन मिथिला राज्यको इतिहास दफन हुनसक्छ। यसलाई खोतल्ने हो भने मिथिलाका रहस्य सुल्झिएलान् कि!
अर्को उपाय पनि छ — बृहत् विष्णु पुराणका अनुसार विदेह वा मिथिला राज्य कौशिकी नदीबाट गण्डकीतिर ९६ कोश लम्बाइमा छ। यसको चौडाइ गण्डकीबाट हिमालय क्षेत्रतिर ६४ कोशमा छ। यसको राजधानी भारतको वैशालीबाट ३५ माइल छ।
पौराणिक ग्रन्थहरूले बताउने यस्ता मिथका सूत्र पछ्याउँदै जाने हो भने सायद हामीलाई मिथिलाका रहस्य सुल्झाउन मद्दत पुग्ला!
हाम्रो यो कथा श्रृंखलाले मिथिला राज्यको रहस्य सुल्झाउने काम गर्दैन। त्यो हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो। बरू मिथिला क्षेत्रसँग सम्बन्धित कथा, सांस्कृतिक गतिविधि र त्यहाँको समाज के–कस्तो छ भनेर विगतसँग दाँजेर हेर्ने प्रयास गर्छ।
आजबाट हामी 'मिथिलाक कथासभ' अर्थात् मिथिलाका कथाहरूको शृंखला सुरू गर्दैछौं, जुन एकदिन बिराएर (साताको तीनवटा) प्रकाशित हुनेछ। यो शृंखलामा तपाईंहरूले सिमरौनगढ र जनकपुरसँग जोडिएका एक दर्जनभन्दा बढी कथा पढ्न पाउनुहुनेछ।
कथा शृंखलाको सुरूआत मंगलबार सिमरौनगढबाट हुनेछ।
यी पनि पढ्नुहोस्: