झापाको शिबसताक्षी नगरपालिका–१० टेक्रास्थित कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा बिहीबार एक अधबैसे पुरूषको शव फेला परेको थियो।
मृतक कन्काई नगरपालिका–४ बस्ने वर्ष ५५ को पदमलाल बाँस्तोला भएको खुलेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनायो।
प्रहरीले मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थाहा पाएपछि अनुसन्धानलाई शुक्ष्म रूपमा अघि बढाएको थियो। बाँस्तोला कनकाईको बगरमा भाइ बुहारीसँग घाँस काट्न आएका थिए।
उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटर मात्र दुरीमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धानका लागि भन्दै मृतककी भाइ बुहारी रनमाया बाँस्तोलालाई नियन्त्रणमा लिएर केरकार गर्न सुरू गर्यो।
उनले जेठाजुको हत्या आफैंले गरेको बयान प्रहरीलाई दिइन्।
‘घर पालुवा चौपायालाई घाँस काट्न जेठाजु सँगै गएकी थिएँ। १० मुठा जति घाँस काटेपछि जेठाजुले अनैतिक व्यवहार गर्नुभयो। प्रतिकार गर्ने क्रममा घाँस काट्ने हसिँयाले जेठाजुको हत्या गरिदिएँ,’ उनले प्रहरीलाई बयान दिइन्।
प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ। आफूमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेपछि उनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए।
उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।