काठमाडौंको हात्तीसारमा भूमिगत बग्ने टुकुचालाई सतहमा ल्याउने भन्दै मेयर बालेन शाहले डोजर चलाएको १३० वर्ष पुरानो राणाकालीन सुरूङ पुनर्निर्माण गर्ने जिम्मा कसको हो भन्ने अहिले प्रश्न उठेको छ।
पुरातत्व विभागको प्रतिवेदनलाई आधार मान्ने हो भने काठमाडौं महानगरपालिकाले भत्काएको सुरूङ महानगरले नै मौलिक स्वरूपमा पुनर्निर्माण गर्नुपर्नेछ। यसका लागि पुरातत्वसँग समन्वय गरेर काम गर्न भनिएको छ।
हात्तीसारका पीडितहरूले महानगरको डोजरले कोपरेर ह्वांग पारेको टुकुचा सुरूङ जतिसक्दो छिटो पुनर्निर्माण गर्नुपर्ने आवाज उठाइरहेका छन्। पीडितहरूको हस्ताक्षर संकलन गरेर पुरातत्व विभागमा ज्ञापनपत्र दिने तयारी भइरहेको छ। महानगरले खाल्डो खनेका ठाउँमा डिल भासिँदै गएकाले जोखिम बढेको र खुला टुकुचाबाट डुङ्डुङ्ती दुर्गन्ध फैलिन थालेको स्थानीय बताउँछन्।
महानगरले पुरातात्विक महत्वको भूमिगत सुरूङमा डोजर चलाएपछि पुरातत्व विभागको टोली त्यहाँ अध्ययन गर्न गएको थियो। पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको टोलीले तयार पारेको अध्ययन प्रतिवेदन विभागले हालसम्म सार्वजनिक गरेको छैन। विभाग सम्बद्ध स्रोतबाट सेतोपाटीलाई उक्त प्रतिवेदन प्राप्त भएको छ।
पुरातत्वले आफ्नो प्रतिवेदनमा आजभन्दा कम्तिमा १३० वर्षअघि निकै व्यवस्थित र वैज्ञानिक तरिकाले बनाइएको गुम्बज शैलीको भूमिगत सुरूङलाई महानगरको डोजरले तीन ठाउँमा क्षति पुर्याएको जनाएको छ।
'प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सय वर्ष नाघेका मौलिक स्वरूपमा रहेका कुनै पनि संरचना पुरातात्विक महत्वको हुन्छ,' पुरातत्व भन्छ, 'टुकुचाको भूमिगत संरचना कम्तिमा १३० वर्षअघि राणाकालमा बन्नुका साथै इञ्जिनियरिङ दृष्टिले निकै महत्वपूर्ण भएकाले पुरातत्व विभागको समन्वयमा महानगरपालिकाद्वारा मौलिक स्वरूपमा संरक्षण गर्नुपर्ने देखिन्छ।'
यो सुरूङको लम्बाइ ४४० मिटर छ। टुकुचाको दुवैतर्फ इँटाको गारो उठाएर माथिपट्टि अर्धगोलाकार गुम्बज स्वरूपमा चुनासुर्कीको मोटार प्रयोग गरी भूमिगत 'ढल' संरचना बनाइएको विभागले जनाएको छ।
राणाकालमा टुकुचाको दुवैतर्फ पर्ने हात्तीसार दरबार, सेतो दरबार, लाल दरबार र ती दरबारसँग सम्बन्धित वास्तुकलामा टुकुचाको बाढी नपसोस् र दरबार क्षेत्र दुर्गन्धित नहोस् भनेर ढल निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ। विभाग भन्छ, 'यस्तो संरचना अध्ययनका लागि महत्वपूर्ण भएकाले जोगाउन सकेको खण्डमा पर्यटकका लागि समेत आकर्षण केन्द्र हुन सक्छ। अतः महानगरपालिकाद्वारा टुकुचा देखाउने क्रममा क्षति पुर्याइएको ढल मौलिक स्वरूपमा संरक्षण गर्नुपर्ने देखिन्छ।'
पुरातत्व विभागले सुरूङको निर्माण इतिहास र निर्माण ढाँचाबारे पनि विस्तारमा वर्णन गरेको छ।
सबभन्दा पहिला कुरा गरौं, सुरूङको निर्माण इतिहासबारे पुरातत्व के भन्छ?
इतिहास खोज्ने क्रममा पुरातत्वले अमेरिका बस्ने 'मनोज मनुज' नामका व्यक्तिले आफ्नो फेसबुकमा सेयर गरेको एउटा दस्तावेजलाई आधार मानेको छ। त्यो दस्तावेज प्रधानमन्त्री वीरशमशेर र कमान्डर-इन-चिफ जनरल देवशमशेरको सहीछाप भएको विक्रम सम्बत १९४९ माघ सुदी २ मा जारी लालमोहर हो।
उक्त लालमोहरअनुसार सतहमा बगेको टुकुचालाई भूमिगत सुरूङ खनेर जमिनमुनि बगाइएको र त्यसमाथि पटांगिनी बनाइएको पुष्टि हुन्छ।
टुकुचा दायाँबायाँका जग्गा अधिग्रहणबारे लालमोहरमा भनिएको छ, 'दुनियाँको गुठी बिर्ता जग्गा सदर दफटर खानाबाट नापजाँच गरी ठहर्याएको जग्गा एक रोपनीको २०० रूपैयाँका दरले र मिचिएको बालीसमेत त्यस अड्डाबाट दिएको दरभाउले रूपैयाँ दिलाई दिनू।'
'पटांगिनीलाई नेपाली शब्दकोषले घरका दायाँबायाँ बनाएको खुला मैदान, कोखे आँगनसम्म परेको फराकिलो चउरका रूपमा परिभाषित गरेको छ,' पुरातत्व भन्छ, 'तत्कालीन प्रधानमन्त्री वीरशमशेरले नारायणदहिति राजदरबारको दक्षिणपूर्वी क्षेत्रमा आफ्ना रानी र छोराहरूका लागि भव्य दरबार, मनोरञ्जन स्थल, पौडी पोखरी, गोही पाल्ने पोखरी लगायत दरबार वास्तुकलासँग सम्बन्धित अनेकौं संरचना बनाएका थिए। तीमध्ये टुकुचापारि खाल्डो रहेको जमिन पुरेर पटांगिनी बनाएको लालमोहरमा उल्लेख छ।'
पुरातत्व अगाडि भन्छ, 'पटांगिनीमा तत्कालीन राणाहरूले ठूला ठूला समारोह आयोजना गर्थे। हाल उक्त पटांगिनी कुन ठाउँमा थियो भन्न यो छोटो अनुसन्धानमा सम्भव देखिँदैन। हात्तीसार क्षेत्रमा रहेका अधिकांश जग्गाको स्वामित्व निजी भएको हुँदा यो खोज चुनौतीपूर्ण छ। नारायणहिति दरबार र त्यसको दक्षिणपूर्वमा पर्ने सेतो दरबार, लाल दरबार, हात्तीसार दरबार लगायत क्षेत्रको राणाकालभन्दा पहिलेको इतिहास अज्ञात छ।'
यहाँनिर पुरातत्वले पुरूषोत्तमशमशेर जबराको 'राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू' शीर्षक किताब उद्धृत गर्दै प्रतिवेदनमा लेखेको छ, 'वीरशमशेरले राजदरबारलाई हनुमानढोकाबाट नारायणहितिमा सारेपछि पहिलेको रणोद्दिप सिंहको निजी निवास रहेको नारायणहिति दरबार साँघुरो भयो। त्यसैले वीरशमशेरले करिब ४४४ रोपनी २ आना जग्गा अधिग्रहण गरी नारायणहिति राजदरबार बढाएका थिए।'
यसबाहेक वीरशमशेरले नारायणहिति दरबारको दक्षिणपूर्वस्थित टुकुचा खोलाको दायाँ र बायाँ सेतो दरबार, लाल दरबार, फोहोरा दरबार, हात्तीसार दरबार, पोखरी, धारा, पटांगिनी लगायत संरचना आफ्ना प्रिय रानी र विभिन्न छोराहरूलाई बनाइदिएको पुरूषोत्तम जबराले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
ती ठाउँमा राणाकालभन्दा अगाडि ज्यापुहरूको धान खेत रहेको हुँदा करिब १ हजार १ सय १९ रोपनी जग्गा केही न्यून मूल्यमा खरिद गरेको र केही अधिग्रहण गरेर ती संरचना बनाइएको पनि उक्त किताबमा छ।
'यसबाट स्पष्ट हुन्छ, अहिलेको नारायणहितिको पूर्वमा अवस्थित पर्खालदेखि वर्तमान तीनधारा मार्गसम्म नै राणाकालको सुरूआतसम्म टुकुचा खुला थियो र त्यसको दायाँबायाँ ज्यापुहरूको खेत थियो,' पुरातत्व भन्छ, 'यसै पृष्ठभूमिमा वर्तमान नारायणहिति दरबार संग्रहालयको पूर्वतर्फको पर्खालनजिकै अर्थात् जयनेपाल हलको प्रांगणदेखि करिब ३० मिटर उत्तरतर्फबाट काठमाडौं प्लाजानजिकै पर्ने तीनधारा मार्गसम्म करिब ४४० मिटर लामो टुकुचा खोलालाई भूमिगत पारेर ढल निर्माण गरिएको देखिन्छ।'
अब हामी ढलको निर्माण ढाँचाबारे कुरा गरौं।
उक्त भूमिगत ढल माथिपट्टि अर्धगोलाकार गुम्बज स्वरूपमा रहेको र माआप्पा इँटाको गारोमा मास, चाकु, सरेस, चुना, पिना र सुर्कीजस्ता परम्परागत निर्माण सामग्री प्रयोग गरेर बनाइएकाे पुरातत्वले भनेको छ।
'यसरी चुनासुर्कीको मोटार प्रयोग गरी संरचना बनाउने परम्पराको सुरूआत राणाकालमा भएको हुँदा उक्त संरचना राणाकालमै बनेको कुरामा कुनै दुबिधा रहेन,' पुरातत्व भन्छ, 'जयनेपाल हल पछाडि महानगरले डोजर प्रयोग गरेको ठाउँमा सुरूङको माथिपट्टि सतहमा 'श्री ३ वीर' अभिलेख अंकित इँटा भेटिएको छ। यसले उक्त संरचना कम्तिमा वीरशमशेरको पालाभन्दा अगाडि बनेको वा समकालीन देखिन्छ।'
पुरातत्वका अनुसार जयनेपाल हलको आँगनको माथिल्लो सतहमा करिब ५५ फिट भत्काइएको छ। सुरूङको माथिल्लो सतहको अर्धगोलाकार संरचना २० फिटजति हटाएर बगिरहेको टुकुचा देखाइएको छ। यहाँ टुकुचाको दुवैतर्फ इँटाको ८० सेन्टिमिटर चौडा मजबुत गारो उठाउँदै अर्धगोलाकार गुम्बज निकालेर खोला छोपिएको पुरातत्वले भनेको छ।
प्रतिवेदनअनुसार दुवै गारोको बीचमा खुला ठाउँ २ मिटर ६ सेन्टिमिटर छ। गुम्बजको तल्लो भागदेखि खोलाको पिँधसम्म १.४० सेन्टिमिटर उचाइ छ। सुरूङमा २१x१४x५ सेन्टिमिटर, २०x१२x५ सेन्टिमिटर नापका सादा माआप्पा इँटा र चुनासुर्कीको मोटार प्रयोग गरिएको छ। यहाँ प्रयोग भएको इँटामा कुनै अभिलेख छैन।
सुरूङ बनाइसकेपछि भित्रपट्टिको पानी बाहिर र बाहिरको पानी भित्र नजाओस् भनेर वरिपरि कालो माटोको लेपन लगाइएको छ। सुरूङको माथिल्लो सतहमा पाइएको पर्खालमा 'श्री ३ वीर' अभिलेख अंकित इँटा छ। यसको नाप २३x११x७ र २२x११x७ सेन्टिमिटर छ। सबभन्दा माथिपट्टि अहिलेको जमिनको तह छ।
नारायणहितिको पर्खालभित्र जुन ठाउँबाट ढल सुरू हुन्छ, त्यहाँ टुकुचा खोलामा माथिबाट आउने बाढीले ढललाई क्षति नपुऱ्याओस् भनेर साँचो निर्माण गरी पातपतिंगर र अन्य सामग्री छेक्ने विधि अपनाइएको छ। उक्त साँचो पानी अड्कलेर पठाउने तरिकाले निर्माण गरिएको पुरातत्वले जनाएको छ।
'नारायणहिति दरबारको पर्खालबाट सुरू भएको ढल निश्चित दुरी पार गरेपछि छांगोजसरी तल खसालेर फेरि निश्चित दुरीसम्म 'स्लोप' (भिरालो) मिलाउँदै काठमाडौं प्लाजा नजिकै खसालिएको छ। यसबाट उक्त ढल निकै व्यवस्थित र वैज्ञानिक तरिकाले बनाएको देखिन्छ,' प्रतिवेदनमा उल्लेख छ।
निर्माण इतिहास र निर्माण ढाँचापछि अब हामी हात्तीसार क्षेत्रमा प्राप्त विवरणबारे पुरातत्वको प्रतिवेदनमा के छ, त्यो हेरौं।
जयनेपालको आँगनमा प्राप्त विवरणबारे त हामीले माथि चर्चा गरिसक्यौं। यसबाहेक जयनेपाल र लक्ष्मी बैंकको बीचमा पर्ने ठाउँमा १४x१६ फिट माथिल्लो सतह र सुरूङको २.५ मिटर अर्धगोलाकार गुम्बज संरचना भत्काई टुकुचा देखाइएको पुरातत्वको प्रतिवेदनमा छ।
लक्ष्मी बैंक क्षेत्रमा जमिनको सतहदेखि १२ फिट तल सुरूङको अर्धगोलाकार गुम्बज देखिन्छ। माथिल्लो सतहको २१x१४ फिट भत्काइएको छ भने तल गुम्बजको २ मिटर खण्ड भत्काएर टुकुचा देखाइएको छ।
त्यस्तै लक्ष्मी बैंकदेखि दक्षिण र काठमाडौं प्लाजादेखि उत्तरतर्फ दुई ठाउँमा डोजर प्रयोग गरी टुकुचाको खोजी गरे पनि फेला नपरेको प्रतिवेदनमा छ।
पुरातत्वले टुकुचाको स्रोत र योसँग जोडिएका केही सांस्कृतिक पक्षको पनि चर्चा गरेको छ।
कतिपय इतिहासविदले काठमाडौं उपत्यकाका अन्य नदीनालाजस्तै टुकुचाको उद्गमस्थल पनि शिवपुरी जलाधार क्षेत्र नै भएको र यो बुढानिलकण्ठबाट नारायणथान, बाँसबारी हुँदै चुनदेवी क्षेत्रमा प्रवेश गर्ने र त्यहाँबाट कालमोचन घाटमा गएर बागमती नदीमा मिसिने उल्लेख गरेका छन्।
पुरातत्वले भने टुकुचाको उद्गमस्थलबारे यकिन आधार नभएको जनाएको छ।
प्रतिवेदनमा चुनदेवी क्षेत्रका वयोवृद्धहरूलाई उद्धृत गर्दै भनिएको छ, 'चुनदेवी, गणेश बस्ती, टुसाल, चण्डोल लगायत क्षेत्र पहिले काठमाडौं उपत्यकाको सिमसार क्षेत्रमध्ये एक थियो। त्यही सिमसार क्षेत्रबाट निस्केको एउटा सानो खोला टुकुचा हो।'
पुरातत्व अगाडि भन्छ, 'वर्तमान समयमा टुकुचा चुनदेवी, टुँडालदेवी मन्दिर, चिनियाँ दूतावास, नीलसरस्वती, नारायणहिति संग्रहालय, जयनेपाल हल, तीनधारा मार्ग, बागबजार, अद्वैतमार्ग, भृकुटी मण्डप, भद्रकालीस्थित सेनाको मुख्यालय हुँदै कालमोचन घाटमा पुगेर बागमतीमा मिसिन्छ। हाल टुकुचाको कुल लम्बाइ लगभग ६ किलोमिटर छ।'
टुकुचा आसपास पर्ने प्रमुख धार्मिक स्थलमध्ये काठमाडौं महानगरपालिका वडा नम्बर ४ स्थित चुनदेवी मन्दिर र त्यहाँ रहेको इक्षेश्वर कुवालाई नै टुकुचाको उद्गमस्थल मानिने प्रतिवेदनमा उल्लेख छ।
टुकुचा किनारमा अवस्थित अर्को महत्त्वपूर्ण सम्पदा टुँडालदेवी मन्दिर हो, पुरातत्व भन्छ, 'मन्दिरको गर्भगृहमा रहेको मातृका तेस्रो-चौथो शताब्दीतिरको मानिन्छ। करिब ३० वर्ष अगाडिसम्म उक्त क्षेत्र दाहसंस्कार गर्ने घाट थियो।'
यसैगरी टुकुचा किनारमा रहेका अन्य सम्पदामा नील सरस्वती, कमलादी गणेश, कालमोचन घाटस्थित जंगम हिरण्य मन्दिर लगायत महत्त्वपूर्ण रहेको पुरातत्वले भनेको छ।
थप पढ्नुहोस्: