काठमाडौंको हात्तीसारमा भूमिगत सुरूङबाट बग्ने टुकुचालाई सतहमा ल्याउने भन्दै मेयर बालेन शाहले साढे दुई महिनाअघि त्यहाँका घरहरूमाथि डोजर चलाएका थिए।
त्यसयता हात्तीसारका जग्गा/घरधनीहरू आफ्ना लालपुर्जा, नापीनक्सा र महानगरले नै पास गरेर दिएको घरको नक्सा बोकेर अदालत गएका छन्। पुरातत्व विभागले पनि टुकुचा बग्ने गुम्बज शैलीको सुरूङ आजभन्दा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा बनेको पुष्टि गर्दै आफ्नो अनुमतिबिना उक्त ‘पुरातात्विक सम्पदा’ नबिगार्नू-नभत्काउनू भनेको छ।
हात्तीसारका पीडितहरू अब आफ्नो सम्पत्तिको नोक्सानीबापत् काठमाडौं महानगरसँग क्षतिपूर्ति मागिरहेका छन्। महानगरले भत्काएको घर–पर्खाल उसैले बनाइदिनुपर्ने मागसहित उनीहरू अर्को मुद्दा हाल्ने तयारीमा छन्।
यति मात्र होइन, डोजरले कोपरेर ह्वांग पारिएको टुकुचा सुरूङ जतिसक्दो छिटो पुनर्निर्माण गरिनुपर्ने आवाज पनि यहाँ उठ्न थालेको छ। यसका लागि पीडितहरूको हस्ताक्षर संकलन गरेर पुरातत्व विभागमा ज्ञापनपत्र दिने तयारी भइरहेको स्थानीय योगेश मिश्र बताउँछन्।
‘टुकुचा सुरूङ पुरातात्विक सम्पदा भएकाले अब यो विषय हेर्ने सरोकारवाला निकाय पुरातत्व विभाग हो। त्यसैले भत्काइएको सुरूङ जतिसक्दो छिटो पुरानै अवस्थामा बनाउनुपर्यो भनेर हामी पुरातत्वलाई भन्न जाँदैछौं,’ उनले भने, ‘क्षतिपूर्तिको जिम्मा महानगरले लिओस्, पुनर्निर्माणको काम पुरातत्वले अघि बढाओस्।’
स्थानीयले क्षतिपूर्ति र सुरूङ पुनर्निर्माणको माग गर्नुमा केही कारण छन्। महानगरले खाल्डो खनेका ठाउँमा डिल भासिँदै गएकाले जोखिम बढेको र खुला टुकुचाबाट डुङ्डुङ्ती दुर्गन्ध फैलिन थालेको उनीहरूको भनाइ छ।
स्थानीयले उठाएका यिनै विषयबारे जान्न हामी सोमबार हात्तीसार गयौं र जयनेपाल हलदेखि कमलादीसम्म जहाँ जहाँ डोजर चलेको थियो, त्यहाँ त्यहाँको अवस्था हेर्यौं।
हाम्रो यात्रा सुरू हुन्छ जयनेपाल हल प्रांगणबाट, जहाँ भदौ ३० गते महानगरले पहिलोपटक टुकुचाको भूमिगत सुरूङ खोतलेको थियो। आज यो ठाउँको दुरावस्था सडकबाटै प्रस्ट देखिन्छ।
पहिले महानगरले खनेको ठाउँ र सडकको बीचमा जयनेपाल हलको पर्खाल थियो। पर्खाल भत्किएपछि जस्तापाताले बारियो। त्यही जस्ताले बारिएको ठाउँ पनि अहिले सग्लो छैन। पर्खालको अवशेष गर्ल्यामगुर्लुम तल खसेको छ। जस्तापाता सबै उक्किएका छन्। कुनै पूर्व फर्किएका छन्, कुनै पश्चिम।
महानगरले खनेर अलपत्र छाडेको खाल्डो अहिले निकै चौडा भएको छ। खाल्डो वरिपरिका डिल भासिँदै गएका छन्। माटो फुसफुस झर्दैछ, इँटाहरू पत्रपत्र उक्किएका छन्। यसले जयनेपालको आँगन मात्र होइन, बाहिरको सडकपेटी पनि भत्किएको छ।
महानगरले खनेको एक सातामै सडकपेटी भासिएर प्वाल परेको थियो। त्यो प्वाल टुकुचा सुरूङसम्मै ह्वांग खुलेको थियो। यति हुँदा पनि मान्छेको ओहोरदोहोर रोकिएको थिएन। आधी पेटीमा हिँडडुल गर्न मिल्थ्यो। अहिले पूरै भासिएकाले ओहोरदोहोर बन्द छ।
खाल्डो चौडा हुँदै जानु र वरिपरिका संरचना भासिनुको मुख्य कारण महानगरले कुनै सुरक्षा उपाय नअपनाई जथाभाबी डोजर चलाउनु हो।
कुनै पनि भूमिगत संरचना खन्नुभन्दा पहिला छेउछाउमा टेकाहरू दिनुपर्छ। गहिरो खाडल खन्दा त झन् टेका नलगाई हुन्न। टेका लगाएन भने छेउछाउको माटो फुसफुस झरेर डिल भासिँदै जान्छ। केही इञ्जिनियरले त्यति बेलै महानगरले कुनै छेकबारबिना १५ फिट खाल्डो खनेकाले जोखिमपूर्ण हुनसक्छ भनेका थिए। महानगरले त्यसको सुनुवाइ गरेन, जसको परिणाम आज देखिएको छ।
हात्तीसारका स्थानीय योगेश मिश्र खाल्डोमा दिनप्रतिदिन माटो खस्दै गएको बताउँछन्।
‘हामीले देख्दादेख्दै खाल्डो ठूलो भइसक्यो,’ उनले भने, ‘तुरून्त पुरिएन भने कुनै दिन जयनेपाल हलको आँगन जम्मै भासिन सक्छ। छेउको सडकपेटी हुँदै सडकसमेत भासिने डर छ।’
यहाँका स्थानीयले झेलिरहेको अर्को समस्या टुकुचाको दुर्गन्ध हो। ढलमा परिणत भएको टुकुचा पहिले सुरूङभित्र थुनिँदा हात्तीसारमा दुर्गन्ध थिएन। महानगरले खनेर खुल्लै छाडेपछि ढलको गन्ध टाढैदेखि नाकमा ठोक्किन आइपुग्छ।
‘जति बेला टुकुचा खनियो, बर्खा सकिएको थिएन। त्यति बेला धेरै पानी बग्थ्यो, दुर्गन्ध कम थियो। अहिले पानी कम, ढल धेरै बग्छ। दिउँसो २–३ बजेपछि त डुङ्डुङ्ती गनाएर बस्नै सकिन्न,’ मिश्रले भने।
जयनेपालको गेटमा सानो पसल थापेर बसिरहेकी शान्ति तामाङले अर्को खतरा पनि औंल्याइन्। त्यो हो, भूमिगत सुरूङमा प्रयोग भएका पुराना इँटा चोरी हुने डर।
उनका अनुसार धेरै मान्छे सुरूङमा प्रयोग भएका राणाकालीन इँटा माग्न आइरहन्छन्। माग्न आउनेलाई त उनी फर्काइदिन्छिन् तर कसैले खुसुक्क छिरेर इँटा लग्यो भने रोक्न मुश्किल पर्ने उनी बताउँछिन्।
‘बार नाघेर भित्र छिर्न र इँटा चोर्न गाह्रो छैन,’ उनले भनिन्, ‘मान्छेहरू रातबिरात भित्र चिहाइरहेका हुन्छन्। हामीले देखेसम्म त रोक्ने हो, नदेखे के गर्ने? कति दिन पहरेदारी गरेर बस्ने?’
उनले अगाडि भनिन्, ‘यहाँका इँटा एकदमै पुराना र मूल्यवान छन् भनिन्छ। भोलि हरायो भने दोषी बन्नुपर्ने हामी नै त होला! बरू यी इँटा हराएर नासिनुभन्दा पहिले नै संरक्षण गरे बेस हुन्थ्यो नि, होइन र?’
परम्परागत इँटा र सुर्कीचुना प्रयोग गरेर गुम्बज शैलीमा निर्माण गरिएको भूमिगत सुरूङमा दुई किसिमका इँटा प्रयोग भएको पुरातत्व विभागले जनाएको छ। विभागको टोलीले सुरूङ भित्रैसम्म गएर अध्ययन गर्ने क्रममा माथिल्लो तहको इँटामा ‘श्री ३ वीर’ कुँदिएको फेला परेको थियो। यो आफैंमा एक ‘महत्वपूर्ण अभिलेख’ भएको पुरातत्वविद् तथा अध्ययन टोलीका संयोजक भाष्कर ज्ञवाली बताउँछन्।
उनका अनुसार यसले उक्त सुरूङ वीरशमशेरकै पालामा बनेको प्रमाणित गर्छ। ‘श्री ३ वीर’ कुँदिएका ती इँटाको लम्बाइ २२ सेन्टिमिटर, चौडाइ १२ सेन्टिमिटर र मोटाइ ७ सेन्टिमिटरको छ।
योभन्दा तल्लो तहमा अलि साना आकारका इँटा छन्, जसको लम्बाइ २० सेन्टिमिटर, चौडाइ १२ सेन्टिमिटर र मोटाइ ५ सेन्टिमिटर छ। यी इँटामा ‘श्री ३ वीर’ उल्लेख छैन। कतिपयमा ‘हीरा’ भनेर लेखिएको पाइन्छ। यस्ता इँटा काठमाडौंमा परम्परागत रूपले प्रयोग हुँदै आएका ‘माआपा’ हुन्। मल्लकालीन संरचनामा पनि यस्तै इँटा प्रयोग भएको पाइन्छ।
हामी पुग्दा दुवैथरी इँटा भुइँमा असरल्ल थिए। यसअघि धरहरामा प्रयोग भएका राणाकालीन इँटा पनि संरक्षण अभावले मासिएको उदाहरण ताजै छ। कतिपय त्यस्ता इँटा होटल, रेस्टुरेन्टहरूले सजावटमा प्रयोग गरेको पाइएको थियो।
जयनेपालमा खनिएको खाल्डोले सबभन्दा जोखिम सँगैको घरलाई छ। भूमिगत सुरूङ ठ्याक्कै त्यो घरमुनिबाट अगाडि बढ्छ। खाल्डो चौडा हुँदै जाँदा कुनै दिन सिँगो घर नै भासिन सक्छ। अहिले त्यहाँको भुइँतल्ला खाली गरिएको छ। माथिल्लो तल्लामा केही कार्यालय सञ्चालन भइरहेका छन्।
हामी जयनेपालबाट कमलादीतर्फ अघि बढ्दै एउटा आवासीय घरमा छिर्यौं। यो निरज कटवालको घर हो। यहाँ करिब ५० वर्षदेखि उनको परिवार बस्दै आएको छ। निरज आफ्नो बुवाको बिहे र आफ्नो जन्म यही घरमा भएको बताउँछन्।
आवासीय घर भन्ने जान्दाजान्दै महानगरले फुच्चे डोजर कम्पाउन्डमा हुलेर बिनासूचना पर्खाल कोपरेको थियो। महानगरले कोपरेको पर्खाल अहिले पनि उस्तै छ। हामी पुग्दा कटवाल आँगनमै थिए। उनले पर्खालको भग्नावशेष देखाए र भने, ‘मान्छेले सबभन्दा सुरक्षित महसुस गर्ने आफ्नो घरमा हो। बालेन शाहले भने हामीलाई आफ्नै घरमा सुरक्षित बस्न दिएनन्।’
आँखाको अप्रेसन गरेर कालो चस्मा लगाइरहेका कटवाललाई महानगरको डोजर घरभित्र पस्दाको त्रासदी अहिले पनि झल्झल्ती आँखामा आइरहन्छ।
मेयर शाहले ‘अधिनायकवादी शैलीमा अर्काको घर भत्काउँदै हिँडेको’ रिस पोख्दै ४५ वर्षीय कटवालले भने, ‘लोकतन्त्रमा सबभन्दा शक्तिशाली जनता हुन् भनिन्छ, तर महानगरले डोजर चलाउँदा हामीलाई आफू एकदमै निरीह महसुस भयो।’
उनले अगाडि भने, ‘राज्यले दिएको वैधानिक लालपुर्जा, नापीनक्सा र महानगरले आफैं पास गरेको घरको नक्सा साथमै हुँदा पनि हामीलाई भूमाफियाका रूपमा चित्रण गरियो। मिडियामा बेइज्जत गरियो। त्यो बेला नगर प्रहरीको दलबल, आफ्ना अगाडि तेर्सिएका दर्जनौं क्यामरा र डोजरको एक–एक ठोकरमा ताली पड्काउने भीड देखेर स्थानीय बासिन्दा डरले चुपचाप बस्न बाध्य भए।’
अहिले साढे दुई महिनापछि भने बल्ल केही साहस पलाएको र आफ्नो सम्पत्तिको नोक्सानीबापत् महानगरसँग क्षतिपूर्ति माग्ने र पुरातत्वमा गएर पुनर्निर्माणको कुरा उठाउने अवस्थामा पुगेको मिश्र बताउँछन्।
पुनर्निर्माण र क्षतिपूर्तिको आवाज उठिरहेकै बेला केही घरधनीले प्वाल परेका भित्ता अस्थायी रूपले छोपछाप पार्ने र खाल्डो पुरपार पार्ने पनि गरिरहेका छन्।
निरज कटवालको घरनजिकै उदीपरत्न शाक्यको निर्माणाधीन व्यावसायिक कम्प्लेक्स छ। यहाँ पनि टुकुचा बग्छ भन्दै महानगरले डोजर चलाएको थियो। उनीहरूले एउटा भित्ता प्वाल पारिदिएका थिए। घर निर्माण पनि रोकिएको थियो। अहिले निर्माण फेरि सुरू भएको छ। प्वाल पारिएको भित्ता प्लाइउड ठोकेर टालिएको छ।
हामी त्यहाँबाट टेम्पल ट्री र कफी टक रेस्टुरेन्ट भएका घरमा गयौं। महानगरले टेम्पल ट्रीको ठ्याक्कै अगाडि ठूलो खाल्डो खनेको थियो भने कफी टक बसेको अस्थायी टहरा भत्काउने धम्की दिएपछि रेस्टुरेन्ट सञ्चालकहरू आफैंले सामान हटाएका थिए।
अहिले टेम्पल ट्री अगाडिको खाल्डो ठूल्ठूला फ्लेक्स र प्लाइउड राखेर छोपिएको छ। चारैतिर बार पनि लगाइएको छ।
कफी टक बसेको टहराको तल्लो भागमा अहिले पनि रेस्टुरेन्टका सामान असरल्ल छन्। माथि क्याफे फेरि चल्न थालेको छ।
‘कति दिन यत्तिकै राख्नू!’ यहाँका घरधनी सुरज मानन्धरले भने, ‘यसै छाड्दा दुर्गन्धले बसिनसक्नु भयो। राति अँध्यारोमा कोही खस्ला कि भन्ने डर। त्यही भएर अहिलेलाई अस्थायी रूपमा फ्लेक्स र प्लाइउड राखेर खाल्डो छोप्यौं। रेस्टुरेन्ट र क्याफे पनि फेरि सञ्चालनमा आएका छन्। मान्छेको रोजीरोटी सधैं बन्द गरेर पनि त भएन।’
सुरजको घर परिसरमा जस्तै लक्ष्मी बैंक पछाडिको खाल्डो पनि जस्ताले छोपछाप पारिएको छ। बाटैमा खाल्डो खनिएकाले पछाडि घरसम्म गाडी लैजान भने मिल्दैन।
सिद्धार्थ बैंकले पनि आफ्नो पार्किङ क्षेत्रको खाल्डो छोपेर वरिपरि बार लगाएको छ।
हामी त्यहाँबाट हात्तीसारको सबभन्दा पुछारमा इम्पेरियल कलेजनिर रहेको घरमा पुग्यौं। महानगरले अन्तिममा डोजर चलाएको यहीँ हो। दिनैभरि खन्दा पनि टुकुचा फेला परेको थिएन। त्यही भएर यहाँका घरधनीले खाल्डो माटोले पुरेर पहिलेजस्तै माथिबाट स्ल्याब ओछ्याइसकेका छन्।
‘जयनेपाल हलबाहेक अरू खाल्डाहरू स्थानीय आफैंले छोपेका छन्,’ मिश्रले भने, ‘तर यो स्थायी समाधान होइन। पुरातत्व विभागले तुरून्तै ध्यान दिएन भने त्यही जस्तापाता, काठ र ढुंगामाटो सुरूङभित्र खसेर कुनै दिन टुकुचा नै जाम होला भन्ने अर्को डर छ। त्यसैले यो समस्या जतिसक्दो छिटो हल होस् भन्ने हामी चाहन्छौं।’
हामीले हात्तीसारका स्थानीयले उठाएका समस्याबारे पुरातत्व विभागसँग पनि कुरा गरेका छौं।
भूमिगत सुरूङ पुनर्निर्माणबारे प्रश्न गर्दा विभागका प्रवक्ता रामबहादुर कुँवर ‘अहिलेसम्म कुनै निर्णय नभएको’ बताउँछन्।
‘यो नेपालको महत्वपूर्ण ऐतिहासिक सम्पदा हो भन्नेमा कुनै दुबिधा छैन। यति लामो र पुरानो सुरूङ हामीले अहिलेसम्म भेटेका थिएनौं। त्यसैले यसलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने हाम्रो मान्यता छ,’ प्रवक्ता कुँवरले भने, ‘हामीले पुरातत्व विभागको अनुमतिबेगर भूमिगत सुरूङ नचलाउनू र नभत्काउनू भनेर महानगरलाई भनिसकेका छौं।’
यति हुँदाहुँदै भत्काइएको संरचना कसले बनाउने र कसरी बनाउने भन्नेबारे कुनै टुंगो नभएको उनले बताए।
‘हाम्रो सरोकार भनेको सुरूङ संरचनामा मात्र हो,’ कुँवरले भने, ‘त्यसैले अदालतको अन्तिम आदेश र महानगरले आफ्नो योजना कसरी अगाडि बढाउँछ भन्ने कुरेर बसेका छौं। त्यसपछि मात्र औपचारिक रूपमा कुनै निर्णयमा पुग्न सक्छौं।’
लामो समय भूमिगत रहेको सुरूङ एकाएक डोजरले खोस्रँदा भारवहन क्षमतामा असर परेको छ कि छैन भनेर अध्ययन हुनुपर्ने उनले बताए। यसको ऐतिहासिक पक्ष र वास्तुकलामाथि विस्तृत अध्ययन गर्न पनि बाँकी रहेको उनको भनाइ छ।
पुरातात्विक सम्पदा संरक्षण ऐनमा सय वर्षभन्दा पुरानो संरचना कसैले मास्न नपाउने र मौलिक स्वरूपमै संरक्षण गर्नुपर्ने उल्लेख छ। वीरशमशेर राणाको छाप लागेको एक दस्तावेजअनुसार बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथिबाट पुरिएको पुष्टि हुन्छ।
पुरातत्वविदहरूको टोलीले टुकुचा बग्ने भूमिगत सुरूङको बनोट र संरचनाबारे थप विवरण पनि फेला पारेको छ।
नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पुर्याइएको छ। त्यसैले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कहीँ कतै देखिन्न।
जयनेपालको आँगनदेखि काठमाडौं प्लाजासम्मको सुरूङको गहिराइ एकनास छैन। यो सुरूङ तह–तह (स्टेप–स्टेप) मा बाँडिएको छ। अघिल्लो तहको तुलनामा पछिल्लो तह गहिरो हुँदै जान्छ। जयनेपालको आँगनमा फेला परेको सुरूङ जमिनको सतहभन्दा १५ फिटमुनि छ भने त्यहाँभन्दा तल टेम्पल ट्रीको आँगनमा फेला परेको सुरूङ झन्डै २० फिट गहिरो छ।
अर्को महत्वपूर्ण तथ्य के भने, तह–तहमा बाँडिएको सुरूङ जयनेपालदेखि काठमाडौं प्लाजासम्म एकसरो निर्माण भएको छैन। सुरूङ बीच–बीचमा टुट्छ। टुटेको ठाउँमा टुकुचाको पानी छांगाजस्तो खस्छ र फेरि अर्को तहको अझ गहिरो सुरूङभित्र पस्छ।
यसलाई सजिलोसँग व्याख्या गर्दा जयनेपालको आँगनमा बनेको १५ फिट गहिरो सुरूङको प्वाल टेम्पल ट्रीनिर पुगेपछि खुल्छ। त्यहाँ टुकुचाको पानी छाँगाजस्तो तल खस्छ र करिब २० फिट गहिरोमा बनेको अर्को सुरूङको प्वालभित्र पस्छ।
यही क्रमअनुसार भूमिगत सुरूङको अन्तिम प्वाल काठमाडौं प्लाजाको पार्किङमा पुगेर खुल्छ।
‘काठमाडौं प्लाजामा गएर हेर्नुभयो भने त्यहाँ टुकुचाको पानी छांगाजस्तो खसेको देखिन्छ,’ ज्ञवालीले भने, ‘त्यहाँ जस्तो खालको स्टेप–स्टेप (तह–तह) संरचना देखिन्छ, माथि पनि सुरूङको बनोट त्यस्तै छ।’
उनले अगाडि भने, ‘टेम्पल ट्रीनेर सुरूङ खनेको ठाउँमा गएर ध्यान दिएर सुन्ने हो भने पानी छांगाजस्तो खसेको सुनिन्छ।’
बिक्रम सम्बत् १९४२ देखि १९५८ सम्म १५ वर्ष ८ महिना शासन गरेका राणा प्रधानमन्त्री वीरशमशेरले आफ्नो शासनकालमा ठूल्ठूला दरबारका साथै विभिन्न सहरी संरचना निर्माण गराएको इतिहास छ।
उनले १९४३ फागुनमा रणोद्दीपशमशेरको निजी दरबार ‘नारायणहिति’ लाई जगैदेखि भत्काएर नयाँ दरबार निर्माण गराएका थिए। त्यसैको आसपास एकपछि अर्को थुप्रै दरबार निर्माण गराए जसका लागि त्रिदेवी मन्दिरदेखि नागपोखरी–कमलपोखरीसम्मको भूभाग अधिग्रहण गरिएको थियो।
वीरशमशेरले निर्माण गराएका दरबारमा नारायणहितिबाट दक्षिण–पश्चिमतर्फ रहेको बहादुर भवन एक हो। यसलाई ‘चारबुर्जा दरबार’ भनिन्छ। १९४६ सालमा निर्माण भएको यो भवनमा अहिले निर्वाचन आयोग छ। यही क्रममा अहिले याक एन्ड यती होटल रहेको लालदरबार, सेतो दरबार, फोहोरा दरबार र हात्तीसार दरबारहरू बने। जमिन सम्याएर बनाइएको पटांगिनीमा राणाकालमा ठूल्ठूला समारोह आयोजना हुन्थे।
हात्तीसारमा टुकुचा सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका देखिन्छन्। वीरशमशेरले बिक्रम सम्बत् १९५४ मा काठमाडौं सहरमा ‘सरसफाइ अभियान’ चलाउँदै बाटोमा ढल व्यवस्थापन गरेको र गल्ली–गल्लीमा सरसफाइ गरेको पुरूषोतमलाल जबराको किताबमा उल्लेख छ।
त्यति बेला वीरशमशेरले काठमाडौंको ढल व्यवस्थापन निम्ति बनाएका संरचना अहिलेसम्म बाँकी छन्। ती संरचना जयनेपाल हलको आँगनमा फेला परेको इँटाको गुम्बजजस्तै भएको विज्ञहरू बताउँछन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
थप पढ्नुहोस्: