सेतोपाटी आत्मकथा शृंखलाबाट
हिजोआज स्कुले केटाकेटीहरू परम्परागत पोसाकमा सजिएर चर्या नृत्य गरिरहेको देख्दा रमाइलो लाग्छ।
आर्यावर्त आदिबुद्ध, त्यसपछि बज्रसत्व र पछिल्ला बुद्ध शाक्यमुनी सिद्धार्थ गौतमले यो नृत्य प्रतिपादन तथा विकास गरेको मानिन्छ।
नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै यही चर्या हो। यसका गीत संस्कृत भाषामै गाइन्छन्।
मेरै घरमा विशिष्ट अतिथि आउँदा चर्या नृत्य देखाएरै स्वागत गर्ने गरेको छु। त्यस्तो बेला चर्या गुरूहरू आएर यो नाच प्रस्तुत गरिदिन्छन्।
बौद्ध धर्मको बज्रयानी बज्राचार्य गुरूहरूले परम्परादेखि आगम पूजा कोठाभित्र यसलाई अभ्यास गर्दै आएका हुन्। उनीहरूले मान्ने शून्यवादको जुन सिद्धान्त छ त्यसैलाई यो नृत्यका माध्यमबाट प्रस्तुत गरिन्छ। यसलाई परमार्थ सत्य आत्मसात गर्ने काव्यरूपी संगीतमय साधना पनि भनिन्छ।
युगौंदेखि अभ्यासमा रहेको यो नृत्य यसरी बाहिर प्रस्तुत हुन थालेको धेरै पछि हो। त्यसलाई पूजाकोठाबाट बाहिर ल्याउने काम ६२ वर्षअघि हामीले नै गरेका थियौं।
त्यति बेला बज्राचार्य गुरूजुहरूलाई सम्झाउन निकै मुश्किल परेको थियो।
२०१३ कात्तिक ३० गते नेपालले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बेला यो नृत्य पहिलोपटक मञ्चमा पुगेको थियो। सम्मेलन छ दिनसम्म चलेको थियो। त्यति बेलै चर्या मात्र होइन, नेपालका धेरै सांस्कृतिक विशेषता उजागर गर्ने अवसर पनि सम्मेलनले जुराएको थियो।
त्यति बेला ‘धर्मोदय सभा’ का अध्यक्ष थिए भिक्षु अमृतानन्द।
लंका, जापान र बर्माले विश्व बौद्ध सम्मेलन आयोजना गरिसकेपछि चौथो कहाँ गर्ने भन्ने कुरा आइरहेको थियो। भिक्षु अमृतानन्दले नेपालको कुरा अघि बढाए। त्यो बेला महेन्द्र भर्खर राजा भएका थिए। उनका निजी सचिव थिए लोकदर्शन बज्राचार्य। उनी लगायत माध्यमहरू प्रयोग गरेर भिक्षु अमृतानन्दले दरबारमा यो कुरा पुर्याए।
बुद्ध जन्मेको देश। बौद्ध परम्पराका अभ्यास चल्दै आएको समाज। नेपालले यस्तो महत्वको सम्मेलन गर्न पाए ज्यादै राम्रो हुने कुरा राजालाई बुझाइयो।
राजाबाट सम्मेलन निम्ति सकारात्मक संकेत मिल्यो। तयारी सुरू भयो।
ललितपुरकै आशाराम शाक्य सचिव भए। त्यो बेला मणिहर्षज्योति नेपाल–भारत दुवैतिर पहिचान बनाएका व्यक्ति थिए। पैसावाल पनि भएका हुनाले कोषाध्यक्ष उनैलाई राखियो।
उता पद्मोदयमा अंग्रेजी भाषा पढाउने कृष्णबहादुर मानन्धर थिए। उनलाई पनि राखियो। ललितपुरबाटै म र मेरा साथी मूर्तिमान शाक्य पनि त्यसमा समेटियौं। तिब्बतका व्यापारी सागररत्न तुलाधर यतै आइरहेको बेला भएकाले उनलाई पनि राखियो। परोपकारका दयावीरसिंह कंसाकार अर्का सदस्य थिए। कवि चित्तधर हृदय पनि त्यसमा थिए। यसरी जम्मा १५ जनाको कमिटी बनाइएको थियो।
अहिले त त्यो १५ जनामध्ये म एक जना मात्र बाँचेको छु। कहिलेकाँही त यस्ता कथा भनिरहनकै निम्ति बाँचिरहेको छु जस्तो लाग्छ।
हाम्रो तयारी सुरू भयो। सजिलो चाहिँ थिएन। सबभन्दा पहिले त नेपालमा त्यति बेला गतिलो होटलै थिएनन्। बाहिरबाट आउने त्यत्रा पाहुनालाई कहाँ राख्ने? फेरि सम्मेलन कहाँ गर्ने? त्यो बेला हल पनि थिएन।
सिंहदरबारको ग्यालरी बैठक थियो। त्यो पनि अलि सानो भइदियो। यस्तो सम्मेलनमा आममानिसको पहुँच चाहिन्थ्यो।
अन्तिममा टुँडिखेलस्थित खरीको बोट छनौट गरियो। त्यो खरीको बोटमा पल्टनले कवाज खेल्नेदेखि लिएर बिरामी जाँच्ने स्वास्थ्य क्याम्पसम्म आयोजना हुन्थ्यो।
खरीको छायामुन्तिर ओत लाग्न मिल्ने गरी फराकिलो चौतारा थियो। त्यहीँ बनाइएको मञ्चमा राजा महेन्द्रबाटै सम्मेलनको समुद्घाटन भयो।
हिन्दुस्तानको संविधान मस्यौदा समितिका अध्यक्ष भीमराव अम्बेडकरले त्योताकै बौद्ध धर्म अंगीकार गरेका थिए। उनीसमेत सहभागी भएको त्यो सम्मेलनमा अनेक मुलुकका विशिष्ट अतिथि, भिक्षु र बौद्ध विद्वान विदूषीको उपस्थिति थियो।
यसरी सबैतिरका गरेर झन्डै दुई–तीन सय सहभागी काठमाडौं आएका थिए।
अन्तिममा उनीहरूलाई बसाउने ठाउँ पनि टुंगो लाग्यो। कृष्णशमशेरले शितल निवास सरकारलाई सुम्पेर गइसकेका थिए। त्यसैको अतिथि विभागमा विशिष्ट पाहुना राखिए। बन्द सेसन पनि शितल निवासकै कोठामा चलाइयो।
सदस्यमध्ये कवि चित्तधर हृदय र मलाइ चाहिँ सम्मेलनमा सांस्कृतिक पाटो हेर्ने जिम्मा दिइयो। हामीले सम्मेलनकै निम्ति नेपालको कला र संस्कृति चिनाउने स–साना ग्रन्थहरू प्रकाशित गरेका थियौं।
त्यसपछि आयो कुरा सांस्कृतिक कार्यक्रमको। यसका लागि गृह मन्त्रालयले सिंहदरबार भित्रको नाचघर दिने भयो। बुद्ध जन्मेको मुलुकमा यस धर्मसँगै जोडिएका महत्वपूर्ण कुरा के हुनसक्छ भनेर हामीले खोज्दै गयौं।
नाटकका निम्ति पहिलो भेट भयो बालकृष्ण समसँग। समजीले एकांकीका रूपमा भृकुटीबारे एउटा नाटक देखाउने जिम्मा लिए। त्यसैगरी अर्का नाटककार थिए भिमनिधि तिवारी। तिवारीजीले पनि ‘हुन्छ म सिद्धार्थ गौतम नामबाट एउटा एकांकी बनाएर प्रस्तुत गर्छु’ भने।
त्यो बेला चुडानाथजीहरूले वाल्मीकि विद्यालयका तर्फबाट एउटा संस्कृत नाटकको पनि तयारी गरे।
उपत्यकाका नेवारहरूको ‘नासः खलः’ भन्ने सांस्कृतिक संस्था थियो। उनीहरूले ‘महासत्व पाख्यान’ देखाउने निधो गरे। त्यो निकै महत्वपूर्ण नाटक थियो।
उपत्यकाभन्दा पूर्वतर्फ बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल नमोबुद्ध छ। त्यसै स्थानसँग जोडिएको मिथकमा आधारित कथा थियो त्यो।
कथाअनुसार शिकारी दाजुभाइसँग घुम्न निस्केका राजकुमार महासत्वले बाटैमा एउटा सुत्केरी बघिनी भेट्छन्। भोक खप्न नसकेपछि आफ्नै बच्चा खान लागेकी बघिनीलाई राजकुमारले रोक्न खोज्छन्, असाध्यै भोकाएकी बघिनी मान्दिन।
यस्तो अवस्थामा दयालु राजकुमार महासत्वमा करूणा उत्पन्न हुन्छ। दाजुहरूसँग मनको इच्छा राख्छन्।
सारा प्राणीलाई दुःख दिने बाघको शिकार गर्नुपर्नेमा उल्टो त्यसैलाई बचाउन आफैंलाई समर्पित गर्न खोज्ने भाइको कुरा सुनेर अन्य राजकुमार आक्रोशित हुन्छन्। सम्झाउन खोज्छन्। अनेक उतारचढाव चल्छ।
अन्तिममा राजकुमारले आफ्नै साप्रो काटेर बघिनीलाई खुवाउँछन्।
बौद्ध धर्ममा यतिसम्म करूणा, दया र त्याग हुन्छ भन्ने कुराको उदाहरण हो यो। यति हदसम्मको परोपकारी मिथक हामीकहाँ अवदानका रूपमा प्रचलित छ र त्यसैलाई मानेर पूजा पनि चल्दै आएको छ।
महासत्वले बघिनीलाई आफ्नै मासु काटेर खुवाएको मूर्ति नै नमोबुद्धमा छ।
नाटकका लागि कथाको छनौट त गरियो, अब शास्त्रीय पद्धतीबाट गीत, संगीत र नृत्यका साथ देखाइनुपर्ने यो नाटक तयार कसरी पार्ने?
यो नाटक पहिले कहाँ–कसले गरेको रहेछ भनेर खोजी गर्यौं। ‘श्री ५ राजेन्द्रवीरविक्रमको पालामा उनैले लेखेर चाबहिल चारूमती विहारमा देखाएको’ भन्दै एक ठाउँमा फेला पर्यो।
त्यसका गीतमा आफ्नै किसिमका राग थिए। गीतले नै नृत्य र संवाद अघि बढाउने। त्यस निम्ति दाफा बाजा चाहिन्थ्यो।
त्यस्तो नृत्य कसले गराउन सक्छ भनेर उपत्यकाका तीनै सहरमा खोजी गरियो। निकै मेहनतपछि पाटनको भिन्छेँबहालमा एक जना चैत्यराज भन्ने गुरूजु भेटिए। उनैले वीरकुश, सिद्धार्थ गौतमको नाटक गरेका रहेछन्। उनलाई नै यस्तो बाजा बजाएर गीत गाउन लगाउँदै नृत्यसमेत गराउने तरिका थाहा रहेछ।
त्यसपछि नाटक देखाउने जिम्मेवारी लिएको ‘नासः खलः’ ले तिनै चैत्यराज गुरूलाई नाट्य निर्देशकका रूपमा विधिवत पूजाको आयोजना गरेरै प्रशिक्षण दिन लगाए।
नाटकमा अनेक प्रभावशाली दृश्य थिए। राजकुमारका पहिरनदेखि परीहरूले गर्ने नृत्यसम्म। अन्तिममा महासत्वले भोकाएकी बघिनीलाई आफ्नै मासु काटेर खुवाएको दृश्य देखेपछि सारा दर्शकको आँखा रसाएको थियो।
यसरी तयार भएको नाटक हेरेपछि संसारभरबाट आएका बौद्ध धर्मावलम्बी पाहुना अचम्म परे। बौद्ध धर्मभित्र परोपकारको यति महान उदाहरण प्रस्तुत गर्ने यस्तो पनि कथा रहेछ भन्ने उनीहरूको जानकारीमै थिएन।
यो नाटकले चैत्यराज गुरूको पहिचान गराइदिएर अर्को महत्वपूर्ण योगदान गरेको थियो।
परम्परा पछ्याउँदै दाफा भजनमा शास्त्रीय नृत्य समेटिएका नाटकको जे जति शैली हामीकहाँ विकास भयो, २०१३ सालमा तिनै चैत्यराज गुरूजुबाट सुरू भएको हो। पछि त्यौडका कान्छाबुद्ध बज्राचार्यले चैत्यराजबाटै यो पद्धति टिपेका थिए। त्यसैका आधारमा कान्छाबुद्ध नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नाट्य विभागका निर्देशक भए। पछिल्लो समय धेरैले चिनेका वसन्त श्रेष्ठ लगायत नृत्य निर्देशक उनै कान्छाबुद्धका शिष्य हुन्।
यसरी एउटा महत्वपूर्ण परम्परा जुन चैत्यराज गुरूसँग सुषुप्त अवस्थामा बचेर बसेको थियो, त्यसले चतुर्थ बौद्ध सम्मेलनको उपजका रूपमा बाहिर आउने मौका पायो।
त्यही अवसरले परम्परादेखि बज्रयानी बज्राचार्य गुरूहरूले ‘अति गुह्य’ भनेर कडाइका साथ आगम पूजाकोठाभित्र मात्र अभ्यास गर्दै आएको चर्या नृत्य पनि बाहिर ल्याएको थियो।
सुरूमा त त्यो नाच देखाउन पाए अति जाती हुन्छ भनेर काठमाडौं र ललितपुरका बज्राचार्यहरूसँग भेट्दा उनीहरूले मरिकाट्टे मिल्दैन भनेका थिए।
‘यो त मन्त्र हो,’ उनीहरू भन्थे, ‘बाहिर ल्यायो भने त कुनै पनि मन्त्रको महत्व नै रहँदैन।’
त्योताका दीक्षाकर्म गरेका मानिसले मात्र पूजाआजा गरेर चर्या नृत्य अभ्यास गर्न र हेर्न पाउँथे।
‘यति महत्वपूर्ण सम्मेलनमा संसारभरबाट नेपाल आएका बौद्ध विद्वान र अतिथिलाई देखाउँदा के फरक पर्छ?’ भनेर सोध्दा यसको गोपनीयता भंग गर्नै मिल्दैन भनियो। वास्तवमै त्यति बेलासम्म कसैले पनि यो नृत्य बाहिर देखाएकै रहेनछन्।
जति गर्दा पनि बज्रयानी चर्या नृत्यका गुरूहरूले मान्दै मानेनन्।
‘यस्तो बेला पनि देखाउन पाइएन भने हामीसँग त्यस्तो अमूल्य सांस्कृतिक सम्पदा भएको के काम लाग्यो?’ भनेर सोध्यौं।
तै पनि मानेनन्।
पछि चारैतिरबाट ज्यादै जोड गरेपछि ‘भित्री आभ्यान्तरको चर्या नृत्य चाहिँ नदेखाउने, नृत्य परम्परामध्ये केही अंश छनौट गरेर बाहिर देखाए हुने’ भनेर निर्णय गराउन सफल भइयो।
यसरी सहमति मिलेपछि ललितपुरकै आशाकाजी बज्राचार्य र काठमाडौं मुबाहाःका बज्राचार्यहरूले सिंहदरबारस्थित नाचघरमा पहिलोपटक चर्या नृत्य देखाएका थिए। त्यो क्षण ऐतिहासिक बन्यो।
बज्राचार्य गुरूमध्येकै अलि ‘प्रोग्रेसिभ’ गुरूहरूले त्यति बेला यो नाच सिकाइदिएका थिए।
यो चर्या नृत्यले संसारभरबाट आएका दर्शकलाई निकै प्रभाव पार्यो।
यसरी नृत्य देखाउँदा त्यहाँ बज्राचार्य गुरूहरू पनि आएका थिए। उनीहरूले राम्रो मानसम्मान पाए।
हामीकहाँ र अन्य मुलुकमा फरक के भने हामीकहाँ बौद्ध धर्म मात्र होइन, त्यसलाई भरथेग गर्ने संस्कृतिसमेत बचाइराखिएको अवस्थामा छ। अन्त सैद्धान्तिक रूपमा, शास्त्रका रूपमा वा ग्रन्थका रूपमा होला तर संस्कृतिको हिसाबले सुरक्षित भएको कमै भेटिन्छ।
यहाँ त सांस्कृतिक हिसाबले अभ्यासै भइरहेका छन्। हाम्रा मठ मन्दिरका इतिहाससमेत यी नृत्यसँग जोडिएका छन्।
एउटा त टुँडिखेलमा अवस्थित महांकाल मन्दिरकै पनि छ। त्यो मन्दिरकै किम्बदन्ती चर्यामा आधारित हो।
आकाश चरीका रूपमा उडेर गइरहेको बज्रवीर महांकाललाई चर्या गीत र नृत्यकै कारणले समातेर ल्याएको र बस्न कबुल गरेपछि स्थापित गरिएको भन्ने भनाइ नै छ। त्यो जुन चर्या नृत्यले देउतालाई वशमा पारेको थियो, त्यसका बारेमा त्यहाँ विस्तारमा वर्णन गरिएको छ।
काठमाडौंकै सबलबहालका चर्या गीत साधक एवं बौद्ध तान्त्रिक विद्वान शाश्वतबज्र बज्राचार्यले ‘पञ्च कपाल’ नामको चर्या गीतको माध्यमबाट देउतालाई वशमा ल्याएको उल्लिखित छ।
यो गाउन पनि जसले पायो त्यसले मिल्दैन। साधकले साधना गरेर गाउने गीत हो।
चर्या गीतमध्ये श्री महामञ्जुश्री, श्री विषय, श्री जयबाञ्छली र श्री हेरूक बज्रदेवीको रचना असन तःक्षबहालका सिद्ध महापुरूष पण्डित सुरतबज्र बज्राचार्यले गरेका थिए।
उनी कतिसम्म चर्या साधक थिए भने काठमाडौंको बौद्ध समुदायमा उनको जीवन्त कथा चर्चित छ।
पेसाले व्यापारी उनी कुनै बेला तिब्बत पुगेका थिए। वाणिज्यबाहेक पनि उनको बौद्धिकताबाट प्रभावित ल्हासाको विद्वत समुदायले उनलाई उतै राख्ने प्रपंच गरेछन्। षड्यन्त्रको आभास पाएपछि उनी भागे। बाटोमा ब्रह्मपुत्र नदी थियो। तारिदिने माझी थिएनन्।
यस्तो अवस्थामा आफैंले रचना गरेको जयबाञ्छली नामक चर्या गीत राग पञ्चम, ताल त्रिहुरामा गाउँदै त्यस गीतकै अलौकिक शक्तिले निर्विघ्न ब्रम्हपुत्र तरेको वर्णन पाइन्छ।
चर्या नृत्यको महत्व कतिसम्म छ भने बाहिरबाट आएका विद्वानले समेत यसको अध्ययनबाट धेरै तथ्य फेला पारेका छन्।
त्यसैमध्येका एक थिए उति बेला पश्चिम बंगालका विद्वान गभर्नर सुनीतिकुमार चटर्जी। उनी अन्तर्राष्ट्रिय जगतमै तत्वान्वेषकका रूपमा चर्चित थिए।
त्योताका वाइजी कृष्णमूर्तिले राजा महेन्द्रको जीवनी तयार पारेपछि विमोचनका निम्ति चटर्जीलाई बोलाइएको थियो।
समारोहमा चटर्जीले नेपाल र भारतको सांस्कृतिक वृत्तभित्र विकास भएका साझा संस्कृतिबारे आफ्नो भनाइ राख्दै गर्दा एउटा अनौठो कुरा बताए।
‘मैले यसअघि पनि यहाँको वीर पुस्तकालयमा आएर अभिलेखहरू अध्ययन गरेको थिएँ,’ उनले भने, ‘त्यो अध्ययनका आधारमा भारतकै संस्कृतिलाई पनि जोगाइराख्ने श्रेय नेपालका बज्राचार्यहरूलाई जान्छ।’
त्यसलाई पुष्टि गर्न उनले चर्याकै आधार दिएका थिए।
‘उनीहरूले चर्या नृत्यको अभ्यासमार्फत बज्रयानको बुद्धिज्मलाई संरक्षित गरेर राखेका छन्,’ उनले भने, ‘वीर पुस्तकालयमा यस्तो चर्या पनि भेटिएको थियो जसमा हाम्रो बंग भाषासमेत मिश्रित रूपमा प्रयोग भएको पाइयो।’
तत्वान्वेषकको हिसाबले अध्ययन गर्दा त्यो चर्या गीतमा अपभ्रंसकै रूपमा भए पनि जसरी बंगाली प्रभाव आएको छ त्यसले आफ्नो भाषाको इतिहास नै एक हजार वर्ष अझ पछाडि धकेलिदिएको उनले सुनाएका थिए।
चटर्जीले यो कुरा उनको ‘भारत र नेपाल’ भन्ने शोधपूर्ण सम्बोधनपत्रमा समेत उल्लेख गरेका थिए। बंगाली भाषा तथा पूर्वीअपभ्रंश भाषाका प्राचीनतम अभिलेखहरू नेपालबाट नै प्राप्त भएको भनेर उनले लिखित रूपमै बताएका छन्।
सुनीति कुमारको यो भनाइ सार्वजनिक भएपछि थुप्रै बंगाली अध्येता नेपाल आएर थप अध्ययन गरे।
त्यसअगावै पनि राहुल सांस्कृत्यायन, प्रबोधचन्द्र बागची, महामहोपाध्याय डा. हरप्रसाद शास्त्री र कलकत्ता विश्वविद्यालयका डा. शशीभूषण दास लगायत आएर यी कुराको अध्ययन गरेको लिखतै छ।
यस्तो महत्वको चर्या नृत्यलाई पूजाकोठामा मात्र सीमित रहन नदिएर त्यसका थोरै बाहिर देखाउन मिल्ने हिस्सालाई सार्वजनिक प्रदर्शनमा ल्याइएको थियो।
त्यसैको प्रतिफलमा २०१३ सालयता यो हाम्रो आफ्नै पहिचानको शास्त्रीय नृत्यका रूपमा प्रस्तुत हुँदै आइरहेको छ।
भित्री अभ्यान्तरका गुह्यलाई नचलाएर त्यसका थोरै प्रभाव यसरी बाहिर ल्याउँदा यसले हाम्रो मौलिक नृत्यका रूपमा फैलने मौका पाइरहेको छ।
स–साना नानीहरूले समेत रमाएर चर्या नृत्यको अभ्यास गर्न खोजेको देख्दा आनन्द लाग्छ।
(सेतोपाटीमा लामो समय शृंखलाबद्ध प्रकाशित 'सत्यमोहन जोशीको आत्मकथा शृंखला' बाट। उक्त शृंखला गिरीश गिरीले लेखेका हुन्।)
यी पनि पढ्नुहोस्: