सेतोपाटी आत्मकथा शृंखलाबाट
संस्कृति क्षेत्रमा लाग्दालाग्दै म नाट्य क्षेत्रमा पनि संलग्न भएँ। दुइटा भाषामा थुप्रै नाटक लेख्नुबाहेक मैले अभिनय पनि गरेको छु। यो फरक विधालाई लिएर यदाकदा प्रश्न आउने गरेका छन्।
म मुलुककै पुरानो नाट्य परम्परा 'कात्तिक नाच' हुने ललितपुरको बासिन्दा भएकाले नाटकमा मेरो लगाव थियो। यो नाटक बर्सेनी देखाउन थालेको पौने चार सय वर्षभन्दा बढी भइसकेको छ। नाटकमा मेरो संलग्नता भने एउटा सिंगो समुदायका केटाकेटीको शिक्षा अवसरसँग जोडिएको छ।
राणाकाल सकिए पनि ललितपुरको भित्री टोलमा बस्ने कृषक परिवारका केटाकेटी स्कुल जान थालेका थिएनन्। परका स्कुल उनीहरू अनुकूल मान्थेनन्। केवल साहुमहाजन र जागिरदारका छोराछोरी मात्र जान्थे।
यस्तो अवस्थामा २००८ सालतिर तिनै कृषक समुदायका केटाकेटीलाई केन्द्रित गरेर मेरो घर छेवैमा श्री शान्ति विद्याश्रम स्थापना गरियो। त्यो मेरै पहलमा भएको थियो र स्कुलको नामाकरण पनि मैले नै गरेको थिएँ। अहिलेसम्म चलिरहेको त्यो स्कुलमा हिजोआज १२ कक्षासम्म पढाइ हुन्छ। त्यति बेला प्राथमिक तहसम्म पढाउने गरी स्कुल स्थापना गर्ने काम चाहिँ एउटा अर्कै अभियानअन्तर्गत भएको थियो।
प्रजातन्त्र आएलगत्तै धेरै उथलपुथल मच्चियो। त्यही क्रममा गोर्खा दलको आतंक सुरू भयो। त्यो आतंक सामना गर्न सबैतिरका स्थानीय संगठित भए। त्यही क्रममा ललितपुरमा भने मेरै नेतृत्वमा रक्षा दल बनेको थियो। हामीले विभिन्न गतिविधि चलायौं। रातभर पहरा दियौं। यसरी उक्त आतंक त निर्मूल भयो, अनि स्थापना भइसकेको त्यो संगठन के गर्ने भनेर कुराकानी निस्क्यो।
ललितपुरको रक्षा दलका कार्यक्रममा मेरो निम्तो मानेर राजा त्रिभुवन पटकपटक सरिक हुनुभएको थियो। त्यस्तो महत्वको संस्था खारेज नगरौं भन्ने सुझाव मैले दिएँ। यसलाई समाजको भलो हुने काममा निरन्तरता दिन एकमत भयो।
त्यही संगठनका तर्फबाट हामीले श्री शान्ति विद्याश्रम खोल्यौं।
स्कुल त खोलियो। चलाउने कसरी?
हामी टोल छिमेककै पढेलेखेकाहरूले स्वयंसेवकका रूपमा पढाउन थाल्यौं। यो काममा धेरैको सहयोग थियो।
त्योबाहेक नाटक पनि देखाउने निधो गरियो। नाटकको नाम थियो 'खड्गसिद्धि'।
काठमाडौंका अन्तिम मल्लराजा जयप्रकाश मल्लको भोगाइमा आधारित उक्त नाटकका नायक अर्थात् जयप्रकाश मल्ल म आफैं बनेको थिएँ।
पृथ्वीनारायण शाहले हमला गर्नुअगावै जयप्रकाशले सत्ता गुमाएका थिए। उनका गलत चालचलनले युवराजलाई राजा घोषित गर्दै रानीले सत्ता हातमा लिएकी थिइन्। यस्तो अवस्थामा अनेकतिर चहारेपछि अन्तिममा गुह्येश्वरी मन्दिर पुगेर जयप्रकाशले खड्गसिद्धि साधना गरेको इतिहास छ।
साधनापछि पाएको शक्तिकै बलमा उनले फेरि भाइभारदार हातमा लिएर सत्ता फिर्ता पाएका थिए।
यही घटनामा आधारित नेवारी नाटक थियो 'खड्गसिद्धि'। मास्टर हेमलालले लेखेको र निर्देशन गरेको नाटक। त्यो नाटकलाई जहाँ जहाँ बोलावट हुन्थ्यो, हामी त्यहीँ पुगेर देखाउँथ्यौं। हनुमानढोकामा 'च्वसा पासा' नामको संस्थाले गरेको साहित्य सम्मेलनमा पनि देखायौं।
च्वसा पासा अर्थात् नेपालीमा पत्रमित्र। राणाकालमा संगठनको अनुमति नभएकाले उतिबेलै यसको स्थापना कोलकातामा भएको थियो। प्रजातन्त्र आएपछि त्यही संस्था यहाँ आएर सक्रिय भयो। च्वसा पासाको साहित्य सम्मेलन बेला वसन्तपुर डबलीमा मैले अभिनय गरेको थिएँ।
नेपालमा नाटक सुरूआतका प्रमाण लिच्छविकालदेखिकै पाइन्छन्। हाँडीगाउँतिर अहिले पनि डबलीका अवशेष देखिन्छ। त्यहाँ विभिन्न लेखोट छन्। तर नाट्य परम्परा अर्थ्याउने खासै प्रमाण भेटिएको छैन।
मल्लकालका धेरै कुरा स्पष्ट छन्। मल्लहरूले शासन गर्न थालेदेखि नै यहाँ नाटकको बलियो प्रभाव देखिन्छ। प्रारम्भिककालको कुरा गर्ने हो भने मिथिलाञ्चलको प्रभाव यहाँका नाटकमा पाइन्छ। मैथिली भाषा र पद्धतिमै नाटक हुन्थे। मल्लहरूले पनि मैथिलीमै नाटक लेखेका थिए।
पछि नेवारी भाषाका नाटकमा निकै उन्नति भयो। त्यसमध्ये सबभन्दा धेरै भक्तपुरका अन्तिम मल्लराजा रणजीत मल्लका छन्। उनका मात्रै २२–२३ वटा छन्। नेवारी भाषा धनी बनाउने श्रेय उनलाई जान्छ। करिब आधा शताब्दी शासन गरेपछि उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गरेका थिए।
त्यति बेला यहाँ देखाइने नाटक नेवारी भाषाकै भए पनि ती संस्कृतकै नियममा बाँधिएका थिए। कालीदासको भैरवी वा शाकुन्तलजस्ता नाटककै पद्धतिमा अघि बढ्थे। फरक के थियो भने, यता देखाइने नाटक संगीतप्रधान हुन्थे।
मंगलाचरण मात्र नभएर केही भन्नुपर्दा पनि श्लोक बनाएर सांगीतिक रूपमा अभिव्यक्त गरिन्थ्यो। कुन ताल र कुन राग हो भन्नेसमेत मिलाएर एउटा मिश्रित सिर्जना तयार हुन्थ्यो। कतिपय बेला परिस्थिति वर्णन गर्न सूत्रधार पनि राखिन्थ्यो।
रणजीत मल्लपछि शाहहरूले शासनसत्ता हातमा लिए। नाट्य परम्परा त्यही रूपमा अघि बढ्यो।
त्योभन्दा पहिले यहाँ एक किसिमको 'ख प्याखँ' भन्ने परम्परा थियो। ख प्याखँ अर्थात् खट भएको। किसानका घरमा चिउरा कुट्ने ठूल्ठूला ओखल हुन्थे। तिनै ओखललाई तलबाट चारैतिर राखेर माथि मञ्च बनाइन्थे।
यसरी खुलामञ्च जस्तो बनाएर नाटक देखाइन्थ्यो। ख प्याखँ धेरैजसो हास्यप्रधान हुन्थे। खासगरी गाईजात्रा र इन्द्रजात्रा बेला यस्ता नाटक देखाउने छुट थियो। अघिपछि सितिमिति यस्ता नाटक देखाउन पाइँदैन थियो। गाईजात्रा बेला त आठ दिनै नाटक देखाउन छुट थियो।
पाटनमा भने सिद्धिनरसिंह मल्लको पालादेखि कात्तिक नाचको असाध्यै बलियो परम्परा अघि बढ्यो। कति बलियो भने आजसम्म पनि चलिरहेकै छ।
कृष्णका वरपर रहने प्रत्येक पात्रलाई दिनको एक जना वर्णन गर्नेगरी सुदामा, सुरदास इत्यादि नाटक देखाइन्थे। यो हरिवंशका भागवतबाट लिइएका 'प्लट'हरूमै आधारित थियो। त्यसैगरी बराह अवतारको पनि नाच हुन्थ्यो। यसरी कात्तिक नाच सुरूमा सात दिनसम्म चल्थ्यो।
सिद्धिनरसिंहका छोरा श्रीनिवास राजा भएपछि त्यसमा 'बाँठ' भनेर बाठो मानिसको नाटक थपे। उनले कात्तिक नाचको अवधि बढाएर दुई साता पुर्याए।
बाँठ विशुद्ध लोकनाटक थियो। बाठो पात्रमा आधारित त्यो नाटकमा सामाजिक विसंगतिमाथि व्यंग्य गरिन्थ्यो। पात्रले नचिनिने गरी मुखुण्डो लगाउँथ्यो। यसलाई संगीतले गाइड गर्थ्यो। नाटकको एउटा परिस्थितिबाट अर्को परिस्थिति बताउन संगीतकै सहारा लिइन्थ्यो। खीँ बाजाले संकेत गरेबमोजिम पात्रहरू 'मुभ' हुन्थे। मञ्चमा पात्रको प्रस्थान र प्रवेशमा जम्मै शास्त्रीय पद्धति अपनाइन्थ्यो।
त्यो बेला यहाँ प्रचलित भाषालाई 'देश भाषा' भनिन्थ्यो। यही भाषामा नाटक बन्थे।
श्रीनिवासको निधनपछि उनका छोरा योगनरेन्द्र मल्लले फेरि त्यसमा 'उषा हरण' र 'बानासुर' लगायत प्लट थपे। अवधि बढाएर एक महिना बनाइदिए।
कात्तिक शुक्ल त्रयोदशीका दिन नरसिंहलाई मध्यरातमा निकाल्नैपर्थ्यो। किनभने हिरण्यकश्यपले रात र दिनमा कसैले मार्न नसक्ने वरदान पाएका थिए। उसको संहार गर्ने नरसिंह कृष्ण मन्दिरका पुजारीको सन्तान हुनुपर्थ्यो। यो परम्परा आज पनि छ।
नरसिंह पात्रले सात दिनसम्मै पुरूषचरण गर्नुपर्थ्यो। ब्रह्मचर्य बस्नुपर्ने। सात दिनसम्मै नरसिंहको मुखुण्डो पूजा गर्नुपर्ने। मुखुण्डोमा सत् हुन्छ। मुखुण्डो लगाएपछि देउता चढ्छ। उसैले छुनेबित्तिकै दैत्य अर्थात् हिरण्यकश्यप ढल्छ।
कात्तिक नाचमध्ये यो एउटा खण्ड एक प्रकारको ब्याले नै हो। यसको नाच मौलिक छ। संसारमा अन्त कतैको नाचसँग यो मिल्दैन। कात्तिक नाचका अरू खण्ड भने संवादमा आधारित नाटक हुन्।
यसरी अघि बढेको कात्तिक नाच २००८ सालसम्म एक महिनै चल्थ्यो।
त्यो बेला छेभडेल नामक एउटा अड्डा थियो, नगरपालिकाजस्तो। गुठीका धेरै काम त्यही अड्डाले गर्थ्यो। मान्छे धरपकड गर्ने हिसाबले कताकति प्रहरीजस्तो काम पनि गरिदिन्थ्यो। त्यही अड्डाले देवीदेवताका नाचगानको पनि व्यवस्थापन सम्हाल्थ्यो।
२००८ सालपछि भने कात्तिक नाच दुई दिन मात्र चलाउन थाले– बराह निकाल्ने र नरसिंह निकाल्ने।
पछि २०३८ सालमा आएर नवयुवकहरूले एउटा कमिटी बनाए। यही कमिटीले सम्पदा संरक्षण गर्नुपर्छ भनेर फेरि त्यो नाचलाई आठ दिनको बनायो। बाँठ, सुरदास र सुदामा फेरि समेटिए। त्यसैले अहिलेसम्म निरन्तरता पाइरहेको छ।
इतिहासको कुरा गर्दा अझ अगाडिको एउटा अर्को नाटक 'रामांक नाटिका' को प्रसंग आउँछ। त्यो विशुद्ध संस्कृत नाटक थियो।
करिब पाँच-छ सय वर्षपहिले लेखिएको र ललितपुरमा मञ्चन गरिएको त्यो नाटक तालपत्रका रूपमा फेला परेको थियो। त्यसलाई पछि प्रज्ञा प्रतिष्ठानले अनुवाद गराएर किताब नै बनाएको छ।
उक्त नाटकको भूमिकाअनुसार त्यो बेला ललितपुर भक्तपुरको अधीनमा थियो। केन्द्र भक्तपुर रहे पनि त्यसबाट अलिकता स्वायत्तता पाएर स्वतन्त्रजस्तो भएको उपलक्ष्यमा त्यो रामांक नाटक ललितपुरमा खेलाउन थालिएको हो।
तालपत्रमा संस्कृत भाषामै नाटक फेला पर्नुको अर्थ त्यो कालखण्डमा यहाँ संस्कृत भाषामा नाटक देखाइन्थ्यो भन्ने बुझिन्छ। मान्छेले भाषा बुझ्थे कि बुझ्थेनन्, थाहा छैन। हेर्न चाहिँ पक्कै हेर्दा रहेछन्।
रामांक नाटकपछि कात्तिक नाच नै पुरानो हो।
त्यसो त हरिसिद्धि र नरदेवीको श्वेतभैरवी पनि पुराना नाच हुन्। तर त्यसमा बलि परम्परा जोडिएको छ। कात्तिक नाच शुद्ध 'पफर्मेन्स' हो।
यस्तो परम्परा अघि बढ्दै गएको मुलुकमा राणाकाल आएपछि पारसी थिएटर भित्रियो। पारसी थिएटर भनेको चारैतिर खम्बा गाडेर स्टेज बनाउने। त्यसमा किसिम किसिमका पर्दा प्रयोग हुन्थे। पर्दामा जंगल, नदीनालादेखि दरबारसम्मका चित्र कोरिन्थे। परिस्थितिअनुसार पर्दा तानेर देखाइन्थ्यो। त्यसैगरी मञ्चकै अगाडि पनि पसलको सटरजस्तो पर्दा हुन्थ्यो।
नक्कल गरेर ल्याइएको पारसी थिएटरसँगै उर्दू भाषाको प्रभाव पनि नाटकमा भित्रियो। संवाद, गीतदेखि लिएर प्लटमा पनि उर्दूकै प्रभाव विस्तार भयो।
त्यो बेला यहाँ नाटक देखाउन 'मुन्चा' प्रसिद्ध नाम थियो। असनको त्यो तुलाधर परिवारले हरेक वर्ष गाईजात्रा र इन्द्रजात्रामा नाच र नाटक देखाउँथे।
राणाहरूले पर्सियन थिएटर भित्र्याएकामध्ये सबभन्दा प्रभावशाली सिंहदरबारभित्रै थियो। चन्द्रशमशेरले महँगा र ठूल्ठूूला १५–२० वटा पर्सियन पर्दाहरू राखेका थिए। फरक परिस्थिति दर्शाउन ती पर्दा अब्बल गुणस्तरका थिए।
सिंहदरबार हलमा पर्दा मात्र होइन, अरू कुराको पनि प्रभाव निकाल्न अनेक उपाय लाइएको थियो। बिजुली गर्जिंदाको आवाज निकाल्न नेपथ्यमा माथिदेखि ठूलो ढुंगा काठको सिँढीबाट तल खसालिन्थ्यो। त्यो डाङडाङ डुङडुङ गर्दै ठूलै आवाज निकालेर तल खस्दा हलमा बसेका दर्शक चकित खान्थे।
त्यसैगरी बिजुली चम्काउन कार्बन प्रयोग हुन्थ्यो। स्टेजको तलतिर मानिस बसिरहेका हुन्थे। त्यही मानिसले दुईवटा कार्बन जोडिदिँदा ह्वार्रर ठूलो उज्यालो निस्कन्थ्यो।
यस्ता तरिका अपनाएर राणाहरूले पर्सियन थिएटरकै उत्कृष्ट नमूना काठमाडौंमा स्थापित गरेका थिए। सिंहदरबारभित्रको नाचघर पछिसम्मै सञ्चालनमा थियो। यसको छेउमा अहिले नेपाल टेलिभिजनको कार्यालय छ।
राजा महेन्द्रको राज्याभिषेक बेला (२०१३ साल) मैले त्यो नाचघरमा काम गरेको थिएँ। राज्याभिषेकको नाटक मूल समारोह समिति भनेर छुट्टै निकाय खडा गरिएको थियो। त्यसमा कवि शिरोमणि लेखनाथ पौड्याल अध्यक्ष थिए। सिद्धिचरण श्रेष्ठ सचिव। बालकृष्ण समदेखि केदारमान ब्यथितसम्म रहेको समितिमा म पनि थिएँ। यही आयोजनाबाट मेरो सामिप्य देशका कलासाहित्य क्षेत्रका व्यक्तिसँग भएको थियो।
राज्याभिषेकमा देखाउन समले लेखेको भिमसेन थापामा आधारित ऐतिहासिक नाटक 'राजेन्द्रलक्ष्मी' छानियो। यसमा समले आफूसहित छोरा, छोरी, नाति, ज्वाइँ सबैलाई अभिनय गराएका थिए।
राणाकालमा सिंहदरबारबाहेक अरू पनि नाटक हल थिए। नारायणहिटीमा हुने नै भयो। केशरशमशेरले पनि केशर महलभित्रै सानो नाचघर बनाएका थिए। त्यसैगरी दरबारिया शानमा बस्ने गुर्जुहरूले पनि नाचघर बनाएका थिए। थापाथलीमा पनि एक जना राणाजीले नाचघर बनाएका थिए। गाईजात्रा बेला त्यहाँ पनि नाटक चल्थे।
काठमाडौंका नामी नाचघर यिनै थिए। त्यहाँ तीन–चार महिना तालिम गराएरै नाटक देखाइन्थ्यो। जनस्तरमा भने मुन्चा र मुसलमानहरूले पनि नाटक देखाउँथे।
ऐतिहासिक परम्परा छाडेर समकालीन नेपाली नाटकको इतिहासमा बलियो मोड कोर्ने श्रेय भने बालकृष्ण समको 'मुकुन्द इन्दिरा' लाई जान्छ। एक हिसाबले भन्ने हो भने अहिलेसम्म पनि त्यसैको प्रभाव छ।
यो १९९५ सालको कुरा हो। त्यति बेला समले दरबार हाइस्कुलका विद्यार्थी लिएर 'मुकुन्द इन्दिरा' खेलाएका थिए। म त्यहीँ चार कि पाँच कक्षामा पढ्थेँ। आफू विद्यार्थी भएकाले मैले नाटक हेर्ने मात्र होइन, त्यसका चहलपहल पनि देख्न पाएँ। पाटनदेखि ओहोरदोहोर गर्नुपर्ने भएकाले नाटकमा भाग लिने मौका भने पाइनँ।
त्यो बेला उक्त नाटकले एक किसिमको क्रान्ति नै गरेको थियो। नाट्य क्षेत्रमै ठूलो फड्को त्यसैले मारेको हो। नाटकमा उर्दूको एकछत्र प्रभाव चलिरहेको नेपाली समाजमा पहिलोपटक पूरै नेपालीमा लेखिएको नाटक थियो त्यो। गीत पनि नेपालीमै थिए।
त्योभन्दा अगाडि त नाटक मञ्चन मात्रै नेपालमा हुन्थ्यो। संवाद, गीत सबै उर्दूमै हुन्थ्यो। नेपाली भाषामा गीत गाउने कल्पना कसैले गरेका थिएनन्।
बालकृष्ण समको यो नयाँ प्रयोग थियो। उनको प्रयोग नाटकमा मात्र होइन, मञ्चमा पनि देखियो। उनले राखेका पर्दा सबै काला रङका थिए। परिस्थितिहरू झल्काउने रंगीविरंगी पर्दा थिएनन्।
नाटक हेर्न जुद्धशमशेर पनि आएका थिए। नाटक हेरेपछि उनले पुरस्कार वितरण गरे। त्यसपछि नाटक सिंहदरबार पुग्यो। त्यहाँ धेरै दिन चलेपछि नारायणहिटी लगियो।
नेपाली भाषामा पनि नाटक हुँदो रहेछ भन्ने मान्यता 'मुकुन्द इन्दिरा' ले नै स्थापित गरिदियो।
नाटकमा छोरा लिन कोलकाता हिँडेका मुकुन्दका पिता भवदेवले लय हालेर 'हे, पान्त (यात्री) के तिमी कहिल्यै पुगेका छौ नेपालमा?' भनेर गाउँदा दर्शकको मनै हुरूक्क हुन्थ्यो।
एक त पहिलोपटक नेपाली भाषाको हेरेको, त्यहाँमाथि राष्ट्रवादी भावले भरिएको नाटक। भवदेवका लयसँगै हामी दर्शकका शरीरका रौं ठाडा हुन्थे।
त्यो बेला नाटकमा स्त्रीको भूमिका पनि पुरूषले नै गर्थे। इन्दिराको भूमिका रामकेशरी नाम गरेका एक केटा विद्यार्थीले गरेका थिए। उसलाई कपाल पाल्न लगाएर महिलाकै जस्तो स्वरमा बोल्न लगाइएको थियो।
मुकुन्द–इन्दिरा नाटक यति लोकप्रिय भयो, नाटक खेलेर रिझाएकै कारण कप्तान रहेका सम मेजर कप्तानमा बढुवा भए।
त्यो बेला दरबार हाइस्कुलमा रूद्रराज पाण्डे हेडमास्टर थिए। विद्यार्थीलाई कुशलतासाथ व्यवस्थापन गरेर नाटक सम्पन्न गराएकोमा उनले गोरखा दक्षिणबाहु पाए। त्यसपछि त उनले आफ्नो नाम नै 'गोदवा रूद्रराज पाँडे एमए इलाहावाद' लेख्न थाले।
उता नारायणहिटीमा पनि मुकुन्द–इन्दिरा हेरेर राजा धेरै खुसी भएको सुनियो। सबै कलाकारलाई दरबारभित्रै चाँदीका भाँडामा राखेर भोज खुवाएका थिए रे! नाटकमै सरिक मेरा सहपाठीले यी कुरा सुनाएका थिए।
कलाकारलाई कोलकाता लगेर डिस्क रेकर्डसमेत गराइयो। उनीहरूले रेकर्ड गरेर सात–आठवटा चक्का लिएर आएका थिए।
यसरी लामो समय बलियो पकड बनाउँदै आएको पारसी थिएटरलाई मुकुन्द इन्दिराले मिल्काइदियो। र, नेपालमा नाटकको नयाँ युग सुरू भयो।
समले भव्यताका साथ मुकुन्द–इन्दिरा देखाएपछि अर्को जोडदार उपस्थिति भिमनिधि तिवारीको भयो।
यो २००८ सालपछिको कुरा हो। तिवारीले 'सहनशिला सुशिला' मञ्चन गरे।
राजा त्रिभुवन तिवारीबाट निकै प्रभावित भएका थिए। तिवारीले नाटक उत्थान गर्न एउटा संस्था खडा गर्ने इच्छा देखाएका थिए। त्रिभुवनले यस निम्ति रानीपोखरी छेउको अञ्चलाधीश कार्यालयदेखि अहिलेको शान्ति वाटिका हुँदै सोह्रहाते गणेशसम्मको जग्गा तिवारीलाई दिए। समले पनि राजालाई यतिसम्म रिझाएका थिएनन्।
तर राजाले दिएको जग्गा तिवारीले प्रयोग गरेनन्। यसको कारण भने थाहा हुन सकेन।
यसरी लिच्छविकालका अज्ञात परम्परा, मल्लकालका सम्पन्न नाटक हुँदै अघि बढेको नाट्य परम्परामा आज हामीकहाँ जे जति नाटक भइरहेका छन् त्यसको प्रारम्भ गराउने श्रेय बालकृष्ण समलाई नै जान्छ।
यो नेपालको नाट्य परम्पराको पहिलो खण्ड हो। दोस्रो खण्ड एकेडेमी स्थापनासँग जोडिन्छ।
नाट्य परम्पराको दोस्रो खण्ड
सुरूमा एकछिनसम्म सारंगी बज्थ्यो।
त्यसपछि गीतले भन्थ्यो, 'सारंगीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म गाइने मित लाउँछ।'
बीचमा थियो, 'मेरै स्वरमा मेरै गाउँ र बस्तीको कथा, सुनाइ हिँड्छु लडाइँ र पिरतीको व्यथा।'
र, अन्त्यमा कतैतिर टुंगिने बेला भन्थ्यो, 'नेपालीले नेपालीलाई नचिनेझैं गर्छ।'
त्यो 'नेपालीले नेपालीलाई' भन्ने अन्तिम वाक्य पछि रेकर्ड गर्ने बेला परिवर्तन गरियो र 'आफ्नै दाजुभाइले मलाई नचिनेझैं गर्छ' बनाइयो।
यसरी २०३२ सालतिर दार्जिलिङबाट आएका कलाकार दाजुभाइले काठमाडौंमा ठूलै हंगामा गरे।
त्यसो त कमलादीमा एकेडेमी हल २०२६ सालमै तयार भएको थियो। त्यो हलसँग यहाँका बूढापाकादेखि केटाकेटीसम्मलाई जोड्न भने छ वर्ष पर्खनुपर्यो।
हेर्ने मान्छेको मन केले पगाल्छ भन्ने कुरा कहिलेकाहिँ ठम्याउन गाह्रो पर्छ। त्यही ठम्याउन नसक्दा मुलुककै सबभन्दा ठूलो र आधुनिक नाचघर भइकन पनि प्रज्ञा भवन राम्ररी भरिन सकेको थिएन।
त्यो भवनमा स्टेजदेखि लिएर प्रकाश व्यवस्था हुँदै अर्केस्ट्रा पिट (वाद्यवादक बस्ने मञ्च अगाडिको खाल्डो) सम्म थियो। झन्डै चौध सय दर्शक अटाउने बालकोनीसहितको त्यो भव्य हलमा के सुविधा थिएन? पियानोदेखि बाँसुरीसम्म विदेशबाटै झिकाइएका थिए। दर्शक बस्ने मखमलले मोडिएका कुर्सीसमेत बेलायतबाट ल्याइएको थियो।
त्योताका आउने विशिष्ट भारतीय अतिथिहरूसमेत 'ओहो तिमीहरूकहाँ कस्तो राम्रो हल' भनेर चकित खान्थे।
तर दुर्भाग्य के भने, बालकृष्ण समजी आफैं त्यहाँ हुँदाहुँदै पनि कहिल्यै आफ्नो नाटक त्यो मञ्चमा प्रस्तुत गरेनन्। त्यसको कारण मैले आजसम्म थाहा पाएको छैन।
सुरूमा राजा महेन्द्र कुलपति र बालचन्द्र शर्मा उपकुलपति थिए। लगत्तै महेन्द्रले छाडेपछि र शर्माको निधन भएपछि समजी नै उपकुलपति बनाइए। हालिमुहाली नै उनको थियो। तै पनि आफ्नै नाटक देखाएनन्।
२०२६ सालमा जब आठ जना सहप्राज्ञ भर्ना गरियो त्यसमा एक जना म पनि परेँ, त्यो बेला नाट्य क्षेत्रमा कहलिएका विजयबहादुर मल्ल र श्यामदास बैष्णव पनि हाम्रो टोलीमा थिए।
त्यसपछि उनीहरूले नै त्यो हल 'कन्ट्रोल' गरे। उनीहरूका प्रस्तुतिमध्ये 'कुमारी' ब्याले ज्यादै प्रसिद्ध भयो। त्यो विजय मल्लको थियो।
त्यति बेला नर्वेका हेनरिक इब्सेनबाट प्रभावित नाटक पनि त्यहाँ आए। ती सामाजिक विषयवस्तुमै उभिए पनि उच्च बौद्धिक दर्शक निम्ति केन्द्रित थिए।
'पत्थरको मान्छे' जस्तो शीर्षकका नाटक चल्थ्यो। त्यसले बौद्धिक दर्शकलाई प्रभाव परेको थियो। मासमा जनतालाई भने आकर्षित गरेन।
हलको क्षमता त्यति धेरै छ। ब्यालेसम्म त राम्रै चल्थे। नाटक चाहिँ फुस्सा। पहिलो दुई-दिन जसोतसो चल्ने। त्यसपछि फाट्टफुट्ट मात्रै मान्छे आउने। त्यहाँ पालो बस्ने र ओभरटाइम गर्नेलाई तिर्ने पैसा पनि पुग्दैन थियो। उल्टो नोक्सानीमा जाने।
यस्तोमा के देखाउने? कसरी देखाउने?
यसै क्रममा एकेडेमीमा हाम्रो दोस्रो कार्यकाल थपियो। सूर्यविक्रम ज्ञवाली कुलपति भए। म सदस्यसचिव। अर्थात् सारा एकेडेमी चलाउने प्रशासकीय अधिकार मेरो भयो।
एकदिन कुलपति ज्ञवालीजीले मलाई बोलाए।
'जोशीजी, साराले तारिफ गर्ने यति राम्रो हल छ,' कुलपतिको भनाइ थियो, 'तर यस हलको महत्व बढाउने गरी हामीले केही गर्न सकिरहेका छैनौं।'
इब्सेन शैलीका नाटकको विकल्प के कसो हुन्छ, विचार गर्ने कुरा उनले राखे।
त्यतिबेलै दार्जिलिङस्थित साहित्य सम्मेलनले एउटा नाटक देखाएर उतातिर निकै हल्लीखल्ली मच्चाइरहेको थियो। मनबहादुर मुखियाले लेखेको 'अनि देउराली रून्छ' नाटकको चर्चा बाछिटाजस्तो यता आइरहेको थियो।
मैले सूर्यविक्रमजीसँग त्यसलाई काठमाडौं ल्याउने प्रस्ताव राखेँ। उनी राजी भए।
त्यसपछि मैले नै लेखापढी गरेर त्यो नाटक यहाँ भित्र्याएँ।
त्यो बेला अहिलेको जस्तो सञ्चार विकास भइसकेको थिएन। मान्छेको दार्जिलिङ आवतजावत चलिरहन्थ्यो। त्यही हिसाबले त्यो टोलीलाई बोलाउने काम गरियो।
हामीले साहित्य सम्मेलनसँगै सोझो सम्पर्क गर्यौं।
लगत्तै नाटक प्रस्तुत गर्ने ठूलै टोली काठमाडौं आइपुग्यो। उनीहरूलाई धरहरामा बसोबास व्यवस्था गर्यौं।
त्यो बेला धरहरा पनि अहिलेको जस्तो होटलले भरिभराउ थिएन। एक जना 'धरहरा माइला' नामका चियापसले थिए। उनैले भर्खर होटलका रूपमा निर्माण गरेको घर सिंगै बुक गरेर दार्जिलिङबाट आएको टोलीलाई बसोबास र खानपिन व्यवस्था मिलायौं।
त्यो नाटक देखाउन सुरू गरेपछि त अचम्मै भयो।
'यत्तिका दिनसम्म काठमाडौंका यत्राविधि दर्शक कहाँ हराएका थिए?' भन्ने जस्तो भान पार्ने गरी मान्छे ओइरिए।
त्यो बेला कमलादीको एकेडेमीमा टिकट बेच्न नसकेर समस्या भयो। यत्रो भिडलाई टिकट उपलब्ध गराउने कसरी? तोकिएका मान्छेका हात–हातमा टिकटका मुठा थमाएर बाहिरै बेच्न लगाउनुपर्ने अवस्थासमेत आयो। त्यसले पनि समस्या समाधान भएन।
थामिनसक्नुको भिडले साह्रै दुःख पाएपछि अन्तिममा एउटा उपाय लगाइयो।
त्यो बेला भृकुटीमण्डपमा टिकट बिक्री गर्न काउन्टर नै बनेको थियो। बकायदा बार लगाएर बनाइएको त्यो संरचना अहिले पनि त्यहाँ देखिन्छ। यसरी व्यवस्थित काउन्टर भएकाले त्यहाँ हुलमुल हुन पाउँदैन थियो।
हामीले एकेडेमीमा देखाउने नाटक 'अनि देउराली रून्छ' को टिकट त्यही भृकुटीमण्डपको काउन्टरबाट बेच्न सुरू गर्यौं। त्यहाँ पनि टिकट बेच्दा परैसम्म मान्छेको लाम हुन्थ्यो।
दार्जिलिङका कलाकारले तयार पारेको त्यो नाटकको प्लट हाम्रै गाउँघरको थियो। दुःख पाएर मुग्लान जानेहरू, गाउँका शोषक–सामन्तीहरू र विषमताबीच बाँचिरहेका छोरीबेटीहरूको मन पगाल्ने कथा सरल किसिमले व्यक्त थियो।
त्यतिले नपुगेर त्यो नाटकमा रहेका केही गीत अचम्मै राम्रा थिए। त्यसैमध्येको एउटा थियो, 'सारंगीको तारले'।
त्यसैगरी छोरीलाई विदाइ गरेर पठाउँदा माइतीको भावना बोकेर पृष्ठभूमिमा बज्ने 'हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि?' भन्ने गीत पनि मन पगाल्ने थियो। त्यसमा अरू पनि धेरै राम्रा गीत थिए। समूहमा नाचगानका प्रस्तुति पनि समेटिएको थियो।
यी सब कुराले काठमाडौंका दर्शकको मन पग्लियो।
नाटक त चिताएभन्दा कता हो कता 'हिट' भइदियो। सबै खालका दर्शकको मन छोएपछि यस्तो हुँदो रहेछ।
झन्डै दुई सातासम्म त्यो नाटक चल्यो। त्योताका असाध्यै राम्रो नाटक छ भने राजपरिवारका सदस्य पनि हेर्न आउँथे। त्यति बेला राजारानी आफैं नाटक हेर्न आएपछि असाध्यै प्रभावित भएर एक लाख कम्पनी (भारतीय) रूपैयाँ उपहारै दिए। त्यति बेला त्यो धेरै ठूलो पैसा थियो।
राजाले दिएको पैसा त छँदै थियो। त्यसबाहेक हामीले पनि उठेको पैसामा खर्च कटाएर बाँकी उनीहरूलाई दियौं। दार्जिलिङका कलाकारहरू खुसीसाथ विदा भए।
त्यसपछि हामीले 'नाटक चल्छ' र 'नाटकले पैसा कमाउँदो रहेछ' भन्ने ठूलो ज्ञान पायौं।
ज्ञान त पाइयो। तर, नाटक खोइ?
त्यो 'अनि देउराली रून्छ' फर्किएर जानेबित्तिकै यहाँ सामसुम भयो। त्यसपछि फेरि कुलपतिजीले मलाई आफ्नो कक्षमा डाके।
'जोशीजी, यो अनुभवबाट नाटक चल्छ भन्ने जानियो,' उनले भने, 'अब तपाईं आफैंले एउटा नाटक लेख्नुपर्यो।'
विजयजीले लेख्ने किसिमका नाटक त छँदैछ। त्यसबाहेक अलि सामाजिक र सम्प्रेषण गर्ने किसिमको केही लेखिनुपर्यो भन्ने कुलपतिजीको जोड थियो।
'अनि देउराली रून्छ' ले एउटा 'प्याट्रन' प्रस्तुत गरिदियो। त्यो मोडलमा अघि बढ्ने हो भने घरपरिवारका नातिनातिनादेखि बाजेबज्यैसम्म नाटक हेर्न आउँछन् भन्ने भयो।
कुलपतिजीले मलाई नाटक लेख्न त भने तर म सदस्यसचिव भएको मान्छे प्रशासन चलाऊँ कि नाटक लेखेर बसौं?
'तपाईंले यो सब कुरामा टाउको दुखाउनुपर्दैन,' सूर्यविक्रमजीले भने, 'घरैमा बस्नुस् र नाटक लेख्ने काम गर्नुस्।'
घरैमा बसेर नाटक तयार गरेमा काम पनि हुने र एकेडेमीलाई पैसा पनि हुने हिसाबले त्यस्तो सल्लाह थियो।
यसरी मैले पहिलो नाटक लेखेँ– 'फर्केर हेर्दा'। यो २०३३ सालको कुरा हो।
कुलपतिजीले घरैमा बसेर लेख्नु भने पनि म त्यसरी के बस्न सक्थेँ? एकेडेमी पनि आइरहेँ–नाटक पनि लेखिरहेँ। त्यसैले अलि समय लाग्यो। जे होस्, केही महिनामै देखाउन मिल्ने गरी नाटक तयार भयो।
नाटक सामाजिक विषयवस्तुमा आधारित थियो। सासूले एउटा युवकलाई घरज्वाइँ राख्न खोज्दाका नतिजा नाटकमा देखाइएको थियो। अर्को कुनै मान्छेले ज्यादै दुःख गरेर हुर्काएको त्यो युवक अर्काको घरज्वाइँ बस्न खोज्दाको प्लट थियो। मानिसले विगत बिर्सिए ऊ अगाडि बढ्न सक्दैन भन्ने सन्देश यसले दिन्थ्यो।
यो नाटकलाई पनि त्यो बेलाको प्रचलित स्वादअनुसार सांगीतिक हिसाबले तयार पारियो। अम्बर गुरूङले यसका गीत उनको टोली लगाएरै तयार पारे।
यसरी मेरो नाटक 'फर्केर हेर्दा' एकेडेमीमा चल्यो।
सुरूमा त के होला–कस्तो होला भन्ने लाग्यो। तर हेर्दाहेर्दै मेरो नाटक पनि हिट भयो। त्यसले पनि एकेडेमीमा भिड तान्यो। राम्रो पैसा कमायो।
त्योताका एकेडेमीसँग भएको सवारी साधन भनेकै एउटा पिकअप भ्यान थियो। त्यसैले सबै सदस्यलाई घरदेखि एकेडेमी ल्याउने–लैजाने गर्थ्यो।
कुलपति चढ्ने चाहिँ एउटा मोटर थियो। त्यो पनि पूर्वकुलपति केदारमान व्यथितजीले चार वर्ष चढेपछि थोत्रो भइसकेको। जहिले पनि बनाइरहनुपर्ने। सूर्यविक्रमजीलाई हरेक सात दिनमा त्यो मोटर वर्कशप लैजाने सास्ती थियो।
एकदिन दिक्क भएर उनले त्यो मोटरै चढ्न छाडे। घट्टेकुलोमा डेरा थियो। त्यहाँबाट हिँडेरै आउजाउ गर्न थाले।
त्यति बेलै बजारमा निकै राम्रो मोडलको एउटा कोरियन कार आयो। हामीले 'फर्केर हेर्दा' नाटकबाट कमाएको पैसाबाटै त्यो कोरियन कार किनेर कुलपतिलाई उपहार दिने निधो गर्यौं।
'यो हाम्रो नाटकको कमाइबाट तपाईंलाई उपहार भयो,' टोली नै पुगेर साँचो दिँदै भन्यौं, 'ल चढ्नुस्।'
बुढा मख्ख परे।
यसरी लगालग दुइटा नाटकले उदाहरण पेस गरेपछि अब नाटकबाट एकेडेमीलाई आम्दानी पनि हुने र कलाकारलाई पनि अलिअलि पैसा हुने स्थिति बन्यो।
मेरो नाटक हेर्न आएकै बेलामा राजा वीरेन्द्रले राष्ट्र विकास निम्ति नाटकको पनि महत्वपूर्ण भूमिका हुन्छ भनेर सन्देश दिएका थिए। उनी बेलायतबाट पढेर आएका मान्छे, यस्ता कुराले समाजलाई अघि बढाउन कसरी मद्दत गर्छ भन्ने राम्ररी बुझ्थे।
तर राजाको सन्देशलाई सबैले त्यही रूपमा लिइदिएनन्।
त्यो बेला उत्तम कुँवरले 'रूपरेखा' नामको मासिक पत्रिका निकाल्थे। त्यो पत्रिकामा उनले राजालाई व्यंग्य गर्दै 'यो कसरी सम्भव छ?' भनेर प्रश्न उठाए।
'काठमाडौंमा त एकेडेमीको आफ्नो मञ्च छ र नाटक गर्यो,' उनको सोधाइ थियो, 'अन्त कतै मञ्च नै नभएको अवस्थामा कसरी नाटक देखाएर विकास हुन्छ भनिएको हो?'
पाँच–छवटा बुँदा राखेरै कुँवरले 'यो सम्भव छैन र यदि छ भने सरकारबाट जानकारी पाऊँ' भनेर लेखिएको आलेख दरबारमै पठाएछन्।
त्यसपछि दरबारका सचिव नारायणप्रसादले मलाई भेटेर 'कुँवरले यस्तो कुरा लेखेर पठाए' भनेर सुनाए।
मैले त्यति बेला नाटक र सभागृहबारे आफूले जानेसम्मको उत्तर दिएँ। 'एकेडेमीको सभागृह त भर्खरको कुरा हो। हाम्रो इतिहास त डबलीको छ, खप्याखँको छ। त्यसैले सभागृह नहुँदैमा अन्त नाटक मञ्चन हुन सक्दैन भन्ने कुराको अर्थ छैन।'
हामी प्रकृतिले जे दिएको छ त्यसैमा रमाएर अघि बढेको समाज हौं। हामीलाई त प्रकाश व्यवस्था नै आवश्यक थिएन। यी सब धेरै पछि आएका कुरा हुन्। हिजोआज बत्ती आए पनि कात्तिक नाच बेला छेउमा तेलबत्ती बालेरै प्रदर्शन हुन्छ।
मैले त्यति भनेर पठाएपछि दरबारबाट त्यही जवाफ उत्तम कुँवरलाई बाह्रवटा बुँदा राखेर दिइएको थियो।
पछि सडक नाटक आयो। त्यसले पनि मेरो कुरा पुष्टि गरिदियो।
यही तर्क पुष्टि गर्ने गरी उतिबेलै पनि मेरो यही नाटक देखाइएको थियो। यो पनि २०३३ सालकै कुरा हो।
त्यति बेला राजा वीरेन्द्रको सवारी क्याम्प धनकुटा पुगेको थियो। 'फर्केर हेर्दा' काठमाडौंमा असाध्यै चलेपछि त्यो नाटक धनकुटामा देखाउने प्रस्ताव आयो।
धनकुटामा मसहित लैनसिंह बाङ्देल, चुडानाथ भट्टराय हुँदै विजय मल्लसम्म पुगेर सम्पूर्ण बन्दोबस्त मिलायौं। यहाँजस्तै मञ्च तयार पार्ने भनेर सारा मालसामान बोकाएर धनकुटा लग्यौं।
त्यहाँ पुगेपछि थाहा भयो, स्टेज बनाउने ठाउँ नै छैन। आपत आइलाग्यो।
फेरि एकपटक कुँवरलाई राजाले दिएको जवाफ सम्झियौं। नाटक त जहाँ पनि देखाउन सकिन्छ भनिएको थियो। यस्तो अवस्थामा स्टेज नै किन चाहियो?
स्टेज नबनाएर प्राकृतिक सेटिङमै देखाउने कुरा भयो। एउटा त्यहीँको घरलाई मञ्चका रूपमा प्रयोग गर्ने टुंगो लगायौं। यसरी प्राकृतिक परिवेशमै मञ्च तयार भयो।
छेउको एउटा घरलाई नै मञ्च बनाउँदा धनकुटाको टुँडिखेलभरि अटाउने हजारौं मान्छेले पनि हेर्न पाउने भए। माइक चाहिँ प्रयोग गरियो।
यसरी बिनामञ्च नाटक देखाउँदा विजय र बाङ्देल पनि प्रभावित भए।
यो ठूलै चर्चाको विषय बन्यो। धेरै लेख–रचना आए। मसँग अहिले पनि त्यसको संकलन छ।
एउटा लोकनाटक यसरी प्राकृतिक परिवेशमै प्रस्तुत भएको कुरालाई बिस्तारमा व्याख्या गर्दै मोहनहिमांशु थापाले गोरखापत्रमा लेखे। चूडानाथ भट्टरायले आफ्नो लेखमा यसलाई 'एउटा नयाँ प्रयोग' भन्दै प्रशंसा गरे। त्यो नाटकलाई संगीतका हिसाबले कसरी उभ्याइयो भनेर अम्बर गुरूङले लेखे। नाटकमा प्रस्तुत नृत्यको पनि चर्चा गरेर बेग्लै लेख आएको थियो।
'फर्केर हेर्दा' नाटकको मुख्य भूमिकामा उति बेलाकी चर्चित दोहोरी गायिका यदुकुमारी थिइन्। अभिनयमा भने उनले पारा ल्याइनन्। त्यो अवस्थामा तुलसी दिवसले धरानतिरकी एक जना सिपालु अभिनेत्री ल्याइदिए।
उनी थिइन्, शान्ति मास्के। पछि शान्ति मास्के नेपालकै नामी कलाकार भइन्। सिनेमा खेलिन्। नेपाली कला क्षेत्रमा चरित्र अभिनेत्रीका हिसाबले सर्वाधिक चिनिनेमध्येकी शान्तिको अभिनय प्रारम्भिक समयमा यसरी मेरो नाटकबाट भएको थियो।
उनी मेरो नाटकमा मुख्यपात्रकी आमाको भूमिकामा थिइन्। हरिहर शर्मा हिरोका बाबु। शकुन्तला गुरूङ नायिका थिइन्। त्यही नाटकबाट नजिकिएका हरिहर र शकुन्तलाले पछि बिहे नै गरे। त्यसका नायक हरिबहादुर थापा थिए।
यसरी 'फर्केर हेर्दा' को सफलता पछि नाटकलाई अझ अघि बढाउन मैले एकेडेमीमा 'नाटक महोत्सव' को प्रस्ताव ल्याएँ।
हरेक मुलुकमा नयाँ वर्ष पारेर कुनै न कुनै सिर्जनात्मक काम हुन्थ्यो। सबैले आफ्ना परम्पराअनुसार केही न केही गर्थे। हामीकहाँ भने केही थिएन। त्यसैले नयाँ वर्षका दिन नाटक महोत्सव चलाऔं भनेर मैले प्रस्ताव गरेँ।
त्यस्तो महोत्सवमा उपत्यकाभित्रका मात्र नभई बाहिरका सर्जकलाई पनि निम्त्याउने कुरा अघि बढाएँ। यसका लागि ज–जसले जे–जस्ता सिर्जना लिएर आए पनि एकेडेमीमै आवश्यक परिमार्जन गरिदिन सकिन्थ्यो।
बाहिरबाट आउनेलाई आतेजाते खर्चबाहेक उनीहरूको नाटक जति दिन चल्छ त्यही हिसाबले पैसा दिने पनि बन्दोबस्त मिलाएँ।
मेरो प्रस्तावमा छलफल चल्यो। सबै सहमत भएपछि पास भयो। यसरी नाटक महोत्सव परम्परा सुरू भयो। यो पनि २०३३ सालताकाकै कुरा हो।
यो परम्पराले काठमाडौं बाहिरका थुप्रै कलाकारलाई एकेडेमीको भव्य मञ्च उपलब्ध गरायो। 'सर्वनाम' का अशेष मल्लले त्यतिबेलै धनकुटादेखि नाटक ल्याएको म अहिले पनि सम्झन्छु।
'तुवाँलोले ढाकेको बस्ती' नामको त्यो नाटक असाध्यै राम्रो थियो र निकै चल्यो पनि। त्यति बेला उनीहरू भर्खरकै थिए। यस्ता सिर्जना गर्ने मान्छे अन्तबाट पनि धेरै आए।
यसरी त्यो नाटक महोत्सवले परम्पराको रूप लियो– राष्ट्रिय दिवसको महत्वका रूपमा।
त्यो परम्परा पछिसम्म पनि चलेको थियो।
त्यसैगरी गाईजात्रा अवसरमा एकेडेमीमा हास्यव्यंग्य सिर्जनाहरू प्रस्तुत गर्ने काम पनि मेरै प्रयासमा सुरू भएको हो।
एकेडेमीमा रहँदै 'फर्केर हेर्दा' बाहेक 'सपना ब्यूँझन्छ' र 'जब घाम लाग्छ' जस्ता मेरा अन्य नाटक क्रमैसँग चले। यी तीनवटै नाटक प्रत्येकमा चार-चारवटाका हिसाबले बाह्रवटा गीत अटाएका थिए। ती बाह्रवटै गीतमा मेरो शब्द थियो भने संगीत अम्बर गुरूङको। यी तीनवटैको निर्देशन प्रचण्ड मल्लले गरेका थिए।
यति सबै गर्दागर्दै एकेडेमीमा मेरो अवधि सकियो। तेस्रो कार्यकाल निम्ति नियुक्तिमा परिनँ। म फेरि चीन गएँ।
यसअघि चीनबाट फर्केपछि नै २०२६ सालमा म प्राज्ञ बनाइएको थिएँ। एकेडेमीबाट विदा भएपछि फेरि मेरा निम्ति चीनको ढोका खुल्यो। मैले नै सुरू गरेको यो काम निरन्तरता दिने मान्छे चीनलाई सदैव चाहिन्थ्यो।
काम उही थियो। बेइजिङका रेडियोकर्मीलाई नेपाली भाषा सिकाउने। भाषा त सिकाइ सकिएको थियो। पछिल्लो भ्रमणको उद्देश्य चाहिँ त्यसैलाई परिमार्जनसहित सिकाउने।
यसरी चीन पुगेपछि म बेग्लै खोजीको काममा पनि लागिरहेँ। त्यहाँ बसेकै बेला अरनिकोसम्बन्धी शोधकार्य गरेँ। किताबै तयार पारेँ।
राजा वीरेन्द्रले २०४४ सालमा चीनको औपचारिक भ्रमण गर्दा त्यही पुस्तक आफूसँग लिएर गएका थिए। अरनिकोबारे लेखिएको मेरो पुस्तक राजाले उक्त भ्रमणमा राष्ट्रपति ली सियन नियनलाई उपहारस्वरूप प्रदान गरे।
यता नाटक क्षेत्रमा भने लामो अन्तराल बित्यो। उता एकेडेमीमा पनि नाटक एउटा अस्ताइसकेको घामजस्तै भइसकेको थियो। पूरै सामसुम। अन्त पनि नाटकको चर्चा थिएन। यस्तो बेला नाट्यकर्मी सुनिल पोखरेलले 'गुरूकुल' स्थापना गरे। उनीहरूले नै नाटक परम्परा फेरि अघि बढाए।
त्यसै क्रममा सुनिलले मेरो दुइटा नाटक त्यहाँ देखाए। एउटा 'बाघभैरव'। त्यो पूर्णांकी नाटक थियो। लामो समयसम्म त्यो नाटक मञ्चित भयो।
मलाई त्यसका कलाकारहरूले भेटघाट बेला 'तपाईंको नाटक गर्दा मुनाफा कमाएका छौं' भनेर सुनाएका थिए। यसरी 'बाघभैरव' चलेपछि फेरि अर्को नेवारी नाटक 'ध्वँचोलेचा' देखाइयो। यो नेवारी लोककथामा आधारित थियो। नेपालीमा 'बुद्धिमती बाख्री' अर्थ लाग्ने त्यो नाटक पनि गुरूकुलमा चल्यो।
यसरी केही गर्ने कोसिस गरिरहँदै आरोहणलाई त्यहाँको जग्गाधनीले हटाइदिए। उनीहरूको उठिवास भयो। त्यहाँका कलाकार बिचल्लीमा परे।
पछि त्यहीँ तालिम पाएका कलाकारको एउटा समूहले 'मण्डला थिएटर' भनेर अनामनगरमा काम सुरू गरे। उनीहरूले आफ्नै किसिमको सानो नाचघर पनि बनाए।
त्यसैगरी अर्को समूहले 'शिल्पी थिएटर' भनेर बत्तीसपुतलीमा बेग्लै नाचघर तयार पारे।
मण्डलामा राजन खतिवडाको नेतृत्व थियो भने शिल्पीमा घिमिरे युवराजको।
यीबाहेक अर्का एक जना विमल सुवेदीले राजदरबारको पछिल्तिर 'थिएटर भिलेज' भनेर अर्को संस्था उभ्याए। विमल पनि दिल्लीको प्रसिद्ध 'नेसनल स्कुल अफ ड्रामा' का उत्पादन हुन्।
नयाँ पुस्ताका यी तीनै जनाले फेरि मेरा नाटक देखाउने इच्छा राखे। त्यसै क्रममा युवराजले शिल्पीमा 'मजिपा लाखे' को छनौट गरे। इन्द्रजात्राको दिन आउने लाखेलाई पात्रका रूपमा राखेर लोककथामा आधारित नाटक थियो त्यो।
त्यो नाटकलाई उनीहरूले नेपाल मात्र नभई कोलकातामा पनि लगेर देखाए। त्यहाँ आयोजित 'मालिन्दी व्रत्याजन अन्तर्राष्ट्रिय नाटक महोत्सव' मा यसलाई प्रस्तुत गरियो।
यता राजनले मेरै अर्को कृति नाटकमा उतारे। उति बेलै कर्णाली सभ्यताको खोजी गर्दै जुम्ला पुग्दा लोककथामा आधारित 'सुनकेशरी मैयाँको कथा' लेखेको थिएँ। मण्डला थिएटरले त्यो 'सुनकेशरी' नाटक पनि काठमाडौंमा मात्र नभएर बंगलादेशमा आयोजित एक अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत देखायो।
त्यसैगरी अर्को नाटक सम्राट अशोककी छोरी चारूमतीको नेपाल आगमनका सन्दर्भमा थियो। त्यसलाई थिएटर भिलेजमा विमलले तयार पारेर देखाए। त्यो नाटक तत्कालीन राष्ट्रपति रामवरण यादवले पनि हेरेका थिए।
यसरी पछिल्लो समय नयाँ पुस्ताका नाटककारहरूले मेरा तीनवटा नाटक झन्डै एकसाथ देखाएका छन्। एकै जना नाटककारको तीन फरक नाटकलाई तीन फरक संस्थाले यसरी लगातार देखाएर 'ह्याट्रिक' गरिदिए।
बुढानिलकण्ठमा पढ्ने विद्यार्थीले आन्तरिक प्रदर्शनका हिसाबले मेरै अर्को नाटक 'मृत्यु एक प्रश्न' पनि देखाए। यो अलि आध्यात्मिक किसिमको छ।
नेपाल भाषा एकेडेमीको चान्सलरका हैसियतमा रहँदा यहाँ पनि दुइटा नाटक प्रस्तुत भएका छन्। एउटा 'लाखे कोठैगु' (राक्षसलाई परास्त गर्ने), अर्को 'बाघ भैरव' कै नेवारी संस्करण।
नाटक क्षेत्रमा यसरी लामो समयदेखि अघि बढ्दै जाँदा केही महिनाअघिको घटनाले भने मलाई नराम्ररी बिथोलिदियो।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले मेरो एउटा पूर्णांकी नाटक देखाउने योजना बनाए। 'महर्षि याज्ञवल्क्य' को कथामा आधारित त्यो नाटक मैले अलि पहिले नै लेखेर राखेको थिएँ। त्यसलाई खारिएका पुराना निर्देशक बद्री अधिकारीले पाँच–छ महिना लगाएर तयार पारे।
पुस १८ गतेबाट यसलाई नाचघरमा देखाउन सुरू गरियो।
त्यसको मूलपात्र राजा जनकको भूमिका थियो। नाटक सुरू भएको दोस्रो दिन पनि दृश्यमा ब्रह्मसभा चलिरहेको थियो। त्यस सभामा राजा जनकले महर्षि याज्ञवल्क्यलाई सुनको पाताले सिंग सिँगारिएका हजारवटा गाई पुरस्कार दिँदै थिए। त्यो बेला याज्ञवल्क्यलाई जनकले सर्वश्रेष्ठ ब्रह्मज्ञानी, ब्रह्मनिष्ठ तथा ब्रह्मबेत्ता ठहर गर्नुपर्ने थियो।
राजा जनक अर्थात् मुख्य भूमिकामा रहेका विष्णुभक्त फुयाँल उत्तिकै कुशलतासाथ अभिनय गरिरहेका थिए। उनी २०१९ सालदेखि रंगमञ्चको अनुभव बोकेका माझिएका कलाकार थिए।
अचानक नाटकमा लेखिएको भन्दा बेग्लै दृश्य त्यहाँ मञ्चित भयो। राजा जनक हेर्दाहेर्दै सह–अभिनेताको काँधमा ढले। फुँयालको शरीर चलमलाउन छाडेको आभाष भएपछि नाटक रोकेर दौडादौड उनलाई अस्पताल लगियो। त्यहीँ डाक्टरले उनलाई मृत घोषित गरे।
धेरैजसो कलाकर्मीको रहर अभिनय गर्दागर्दै मृत्युवरण गर्ने हुन्छ। यो कस्तो संयोग!
अघिल्लो दिन मात्र नाटकको पहिलो प्रदर्शन क्रममा फुँयालजीले मलाई जीवनमुक्तिको कामना सुनाएका थिए। भोलिपल्टै उनको रंगमञ्चमै प्राण गयो।
आजीवन अभिनयमै आफूलाई उत्सर्ग गरेका उनले मञ्चमै प्रस्तुत हुँदाहुँदै देह त्यागे। इच्छ्याएको हिसाबले नै जीवनबाट मुक्ति पाए।
यस्तो घटना विरलै होला!
मञ्चमै त्यो घटना भएपछि त्यो नाटक फेरि दोहोर्याएर आजसम्म देखाइएको छैन। फुयाँलको निधनकै क्षणदेखि मेरो नाटक पनि आजसम्म रोकिएकै छ।
(सेतोपाटीमा लामो समय शृंखलाबद्ध प्रकाशित 'सत्यमोहन जोशीको आत्मकथा शृंखला' बाट। उक्त शृंखला गिरीश गिरीले लेखेका हुन्।)
यी पनि पढ्नुहोस्: