हात्तीसारमा टुकुचा खोल्सा जमिनमुनि बगाउन निर्माण गरिएको सुरूङ उत्खननको घटनापछि दुइटा नाम सामुन्ने आए —
एउटा नाम वीरशमशेर जंगबहादुर राणा, जसले आजभन्दा कम्तिमा १३० वर्षअघि स्थानीय किसानहरूको जग्गा अधिग्रहण गरी भूमिगत सुरूङ बनाए।
अर्को जोगवीर स्थापित, जसको इञ्जिनियरिङ डिजाइनमा टुकुचा सुरूङ बन्यो।
टुकुचा सुरूङ मात्र होइन, राणा प्रधानमन्त्री वीरशमशेरका पालामा बनेका अधिकांश दरबार — नारायणहिति, सेतो दरबार, चारबुर्जा दरबार, फोहोरा दरबार, हात्तीसार दरबार, जावलाखेल दरबार — लगायतको इञ्जिनियरिङ डिजाइन पनि जोगवीरले नै गरेका हुन्।
करिब सय वर्षअघि स्वयम्भू महाचैत्य पुनर्निर्माण जोगवीरकै नेतृत्वमा भएको थियो।
यसबाहेक थुप्रै चैत्य र आफ्नै टोलमा बहाल र चोकहरू बनाएको श्रेय उनको खातामा छ।
इतिहास अक्सर राजा–महाराजाको लेखिन्छ। सर्वसाधारणको कथाले इतिहासमा बिरलै ठाउँ पाउँछ। त्यसमाथि कालिगढ र कर्मीहरूको इतिहास त झनै लेखिन्न। ठूल्ठूला दरबार, हवेली र संरचनाहरूको इतिहास हेर्ने हो भने त्यो काम जुन राजा–महाराजाको पालामा भयो, उनीहरूको विवरणले इतिहासको गाथा भरिएको हुन्छ तर त्यही काममा रगत–पसिना बगाउने कालिगढ र कर्मीहरूको कथा ‘फुटनोट’ मा खुम्च्याएर राखिन्छ।
वीरशमशेर राणा र उनका वंशजबारे इतिहासले जति बढाइचढाइ लेख्यो, जोगवीर स्थापितबारे एक वाक्यभन्दा बढ्ता लेख्ने दरकार राखेन।
इतिहासले त कतिसम्म अन्याय गर्यो भने, उनको नाममा धरि एकरूपता छैन। कहीँ जोगवीर भनिएको छ, कहीँ जोगलाल। कहीँ दुवै अलग–अलग व्यक्ति हुन् भनिएको छ, कहीँ दुवैलाई एउटै व्यक्ति बताइएको छ।
मैले यो स्टोरी लेख्ने क्रममा जोगवीर जन्मे–हुर्केको टोलमा गएर उनको परिवारका सदस्यहरूसँग भेटेको थिएँ। उनका छरछिमेक, खलकका विभिन्न व्यक्ति र स्थापित समाजका दुई जना पदाधिकारीसँग पनि कुरा गरेँ। उनीहरू जोगवीरलाई कुलकै ‘गौरव’ मान्छन् र सबैको एउटै भनाइ छ– ‘इतिहासले जसलाई जोगलाल भन्छ, उहाँको खास नाम जोगवीर हो।’
यति मात्र होइन, यी तत्कालीन समयका सुविख्यात कालिगढ, कर्मी वा इञ्जिनियरलाई काठमाडौंले माया र सम्मानका साथ सम्झने नाम त अर्कै रहेछ — जोगवीनाय:।
जोगवीरको छोटकरी रूप ‘जोगवी’ र त्यसमा उनको काम जनाउने ‘नाय:’ (नाइके) शब्द जोडेर– जोगवीनाय:।
को हुन् त जोगवीनाय:?
आजभन्दा १३० वर्षअगाडि जब जनताका सन्तानलाई पढ्ने–लेख्ने सुविधा थिएन, त्यस्तो समयमा पनि उनी कसरी त्यत्रा आलिशान दरबार, कुशल कालिगढी झल्किने चैत्य र जमिन खनेर टुकुचा बगाउने भूमिगत सुरूङ खन्न काबिल भए?
के हो उनको शिल्पको राज? को हुन् उनका सन्तान? कहाँ बस्छन् ती? के गर्छन् ती?
यो कथा इतिहासको ‘फुटनोट’ मा सीमित उनै जोगवीर स्थापित उर्फ जोगवीनाय: र उनको वंशको वृत्तान्त हो।
इतिहासको पानामा गुमनाम मान्छे खोज्नु भनेको आफैंमा एउटा यात्रा हो। यो यात्रामा पाँचवटा पडाव आउँछन्। यी पाँचै पडाव पार गरेपछि बल्ल हामी सय वर्षअघि नेपाल मण्डलमा आफ्नो इञ्जिनियरिङ शिल्प देखाएर धूम मच्चाएका जोगवीर स्थापित र उनको कामबारे बुझ्न सक्नेछौं।
आउनुहोस् यात्रा सुरू गरौं।
काठमाडौं महानगरका मेयर प्रत्यासी केशव स्थापितले चुनावअघि कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका थिए, ‘हामी लिच्छवि कालदेखिको इतिहास भएका शिल्पी हौं। मल्लहरूको प्रवेशपछि तलेजु मन्दिरदेखि थुप्रै मल्लकालीन दरबारहरू बनाउने हाम्रै पुर्खा हुन्। हामीले यो थर यसै पाएका होइनौं। यज्ञ गरेर पाएको पदवी हो– स्थापित।’
उनको यो भनाइ सम्झेर मलाई लाग्यो, कतै जोगवीर स्थापित भनेका केशव स्थापितकै जिज्यू–हजुरबुवा त होइनन्? वा, उनकै पुर्खाका कुनै सदस्य पो हुन् कि?
यही प्रश्न सोध्न मैले केशव स्थापितलाई फोन गरेँ।
एक घन्टाको अन्तरमा दुईचोटि कल गर्दा पनि उनले उठाएनन्। त्यसपछि मैले आफ्नो परिचयसहित मेसेज पठाएँ। त्यसको आधी घन्टामा फेरि कल गर्दा उनले बल्ल उठाए र भने, ‘भाइ म जिम जान लागेको, एकदमै हतार छ। तपाईंले के सोध्न खोज्नुभएको, तुरून्तै भनिहाल्नुस् त?’
मैले आफ्नो प्रश्न राखेँ।
जवाफमा उनले भने, ‘जोगलाल स्थापित त नामै गलत, उहाँको नाम जोगवीर स्थापित हो। तर उहाँ मेरो खलकमा पर्नुहुन्न भाइ।’
उनले अगाडि भने, ‘हामी पनि जोगवीरजस्तै शिल्पी नै हौं। म मिखाढोँ (आजको चलनचल्तीको भाषामा मखन) को स्थापित हुँ। मेरो वंश मिखाढोँसँग सम्बन्धित छ। उहाँहरू चाहिँ थायमदुको स्थापित खलक पर्नुभयो।’
‘थायमदु’ नाउँ धेरैका लागि नौलो हुनसक्छ। यो काठमाडौं कोर–सिटीको माथिल्लो बस्ती अर्थात् इन्द्रचोकबाट पश्चिमतर्फ ठमेल, थँहिति, छत्रपाटी लगायत क्षेत्रको मध्य–भागमा पर्ने प्राचीन नेवार बस्ती हो, जसलाई हिजोआज बोलीचालीमा ‘बांगेमुढा’ भनिन्छ।
तपाईंहरूले दाँत दुख्दा भित्तामा किला ठोकेर सिक्का गाड्ने ठाउँ देख्नुभएको छ? सडक किनारमा रहेको त्यो ठाउँमा आज पनि थुप्रै सिक्का गाडिएका देखिन्छन्। स्थानीयहरू त्यसलाई ‘वास्या द्यः’ भन्छन्। केही समयअघि त्यहाँ सिक्का गाड्ने काठ मान्छेहरूले काटेर लान थालेपछि सिसाको बाकसले छोपेर राखिएको छ।
‘थायमदुको कुन ठाउँमा होला त जोगवीरहरूको खलक?’ मैले केशव स्थापितलाई सोधेँ, ‘के तपाईं उहाँको खलकको कोही मान्छे चिन्नुहुन्छ?’
उनले असमर्थता जनाए।
केही व्यक्तिको नाम र फोन नम्बर त टिपाए तर ती व्यक्तिसँग सम्पर्क हुन सकेन।
एउटा कुरा चाहिँ थाहा भयो– जोगवीर स्थापित थायमदु अर्थात् बांगेमुढाका बासिन्दा रहेछन्। यो सूचना एउटा मुख्य ‘ब्रेक–थ्रू’ थियो।
यहाँ हाम्रो यात्राको पहिलो पडाव पार हुन्छ। अब हामीले थायमदुको घना बस्तीमा स्थापित खलक पहिचान गर्नुछ।
मल्ल के. सुन्दर नेपाल भाषाका एक प्रख्यात् लेखक हुन्। उनका थुप्रै उपन्यास र किताबहरू प्रकाशित छन्। उनी राजनीतिकर्मी पनि हुन् र नेवार इतिहास र संस्कृतिका अध्येता पनि। त्योभन्दा महत्वपूर्ण परिचय त अर्कै छ — उनी मल्लकालमा तत्कालीन कान्तिपुर राज्यका विभिन्न मल्ल सामन्तहरूमध्ये एक सामन्तका वंशज हुन् जसलाई आज पनि ‘थकू जुजू’ भनेर चिनिन्छ। यस अर्थमा मल्ल राजाहरूसँग उनको धमिलो–धमिलो वंश साइनो गाँसिएको छ।
तर अहिले हामी जुन खोजमा छौं, त्यसका लागि मैले मल्ल के. सुन्दरलाई सम्झिनुको कारण अर्कै छ — उनी थायमदुका रैथाने बासिन्दा हुन्।
पारिवारिक विरासत, इतिहास र संस्कृतिका अध्येता र रैथानेसमेत भएकाले मलाई लाग्यो– थायमदुमा कसैले मलाई जोगवीर स्थापितको खलकसम्म पुर्याउन सक्छ भने ती मल्ल के. सुन्दर नै हुन्।
यहाँ मेरो अनुमान सही साबित भयो।
उनले जोगवीर स्थापितलाई वास्तविक नाउँले भन्दा ‘जोगवीनाय:’ भनेर बढ्ता चिनिन्छ भन्ने जानकारी मात्र दिएनन्, थायमदुमा उनको खलक कहाँ भेटिन्छ भनेर ठ्याक्कै ठाउँसमेत चिनाइदिए।
मैले उनले भनेअनुसार कुन बाटोबाट कता मोडिने र कुन गल्लीमा कतातिर छिर्ने भनेर डायरीमा नक्सा उतारेँ।
उनले यो पनि भनेँ, ‘त्यहाँ अहिले को–को बस्छन् मलाई थाहा छैन। जो बस्छन्, उनलाई जोगवीनाय:बारे कति जानकारी छ, त्यो पनि भन्न सक्दिनँ। तर एकचोटि त्यहाँ जानुभयो भने कोही न कोही अवश्य भेट्नुहुन्छ जसले तपाईंलाई जोगवीनाय:बारे बताउन सक्छ।’
यहाँ हाम्रो यात्राको दोस्रो पडाव पार हुन्छ। अब कम्तिमा जोगवीर स्थापित जन्मे–हुर्केको टोलसम्म हामी अवश्य पुग्नेछौं। त्यहाँ उनको खलक भेटिएला कि नभेटिएला, भेटिए पनि उनीहरू केही बताउन समर्थ होलान् कि नहोलान् भन्ने चाहिँ त्यहीँ पुगेपछि मात्र थाहा होला।
अगाडि बढौं है त!
थायमदुमा लिच्छविकालीन इखानारायण मन्दिर छ। त्यही मन्दिरलाई देब्रे पारेर असन जाने बाटोको दाहिनेपट्टि एउटा पुरानो सत्तल छ। काष्ठमण्डपकै ढाँचामा बनेको यो सत्तललाई ‘थायमदु’ भनिन्छ जसको नाउँबाटै टोलको नाउँ रहेको हो।
मल्ल के. सुन्दरसँग कुरा गरेपछि मलाई थायमदुमा जोगवीर स्थापितको टोल हेर्ने हुटहुटी यति बढ्यो, म त्यसै दिन राति ८ बजेतिर त्यहाँ पुगेँ।
डायरीमा कोरेको नक्सा पछ्याउँदै थायमदु सत्तलमा गएँ र त्यहाँका एक पसलेलाई ‘न्हू बहाः कहाँ पर्छ?’ भनेर सोधेँ।
उनले बाटो देखाइदिए।
म अब गन्तव्यको नजिक थिएँ।
थायमदु सत्तलको ठ्याक्कै पछाडि देब्रेतिर एउटा सानो गल्ली छ। घरहरूको बीचबाट छिर्ने त्यो गल्ली होचो भएकाले झुकेर हिँड्नुपर्छ।
जसै म साँघुरो, अँध्यारो गल्ली छिचोलेर भित्र छिरेँ, फराकिलो, उज्यालो बहाल मेरो सामुन्ने थियो।
न्हू बहाःको बीचमा दुइटा मध्यम आकारका बौद्ध स्तुप छन्। वरिपरि नेवार वास्तुकला झल्किने पुराना घरहरू छन्। केही नयाँ घर पनि बनिसकेका रहेछन् जसले नेवार वास्तुकलाको क्रमभंग गरेको अनुभूत हुन्छ।
रातको समय भएकाले बहाल सुनसान थियो। थुप्रै मोटरसाइकल दाँतको लहरझैं लश्कर मिलाएर पार्क गरिएका थिए। दिनभरि गल्लीमा भौंतारिएर थाकेका कुकुरहरूले मेरो पदचाप सुनेर पुलुक्क टाउको उठाए तर भुक्ने कष्ट गरेनन्।
मैले वरिपरि नियालेँ। त्यहाँ एक जना पनि मान्छे थिएनन्। घरहरूबाट भान्साको टाङटुङ आवाज सुनिँदै थियो। कुनै कुनै घरको झ्यालबाट हिन्दी सिरियलको संवाद उडेर आउँदै थियो।
मैले फेरि डायरी हेरेँ।
मल्ल के. सुन्दरले भनेका थिए, ‘न्हू बहाः पुगेपछि सिधा अगाडि अर्को गल्ली देख्नुहुन्छ। त्यो गल्ली नाघेपछि सानो चोक आउँछ। त्यसलाई ‘दथू चूक’ भनिन्छ। त्यो चोकभित्र फेरि अर्को चोक आउँछ जसलाई ‘ल्हवँ चूक’ भनिन्छ।’
उनले यो पनि भनेका थिए, ‘न्हू बहाः र भित्रका दुवै चोक जोगवीनाय:ले नै बनाएका हुन्।’
मैले डायरीबाट आँखा उठाएर सिधा अगाडि हेरेँ।
एउटा फराकिलो गल्ली देखियो। घरहरू मुनिबाट छिर्ने भए पनि त्यो गल्ली अघिको भन्दा अग्लो थियो।
म भित्र गएँ।
अगाडि बढेपछि सानो चोकमा पुगेँ। त्यहाँ एउटा मात्र घर नयाँ थियो, बाँकी जम्मै नेवार वस्तुकला झल्किने पुरानो डिजाइनका थिए।
मल्ल के. सुन्दरले भनेअनुसार म अहिले जोगवीर स्थापितले आफ्नै बसोबास निम्ति डिजाइन गरेको चोकमा थिएँ। तर यहाँबाट दोस्रो चोक छिर्ने गल्ली चाहिँ देखिएन। कसैलाई सोधुँ भने कोही मान्छे पनि थिएन। रातको समय अपरिचितको घरमा घन्टी बजाउन म अनकनाएँ।
भैगो भनेर जसै फर्किएको थिएँ, एक किशोरी स्कुटर चढेर न्हू बहा:बाट त्यही चोकभित्र छिरिन्।
म पछ्याउँदै गएँ र सोधेँ, ‘तपाईंको घर यहीँ हो?’
उनले ‘हो’ भनेपछि मैले उनलाई जोगवीर स्थापितका बारेमा सोधेँ।
उनले जवाफ दिए, ‘हामी त ‘प्रधान’ हो। यहाँ अरू सबै घर स्थापितहरूका हुन्।’
रातको समय सानो चोकको गुनगुन पनि गाइँगुइँ सुनियो होला, ती किशोरीले इसारा गरेको घरबाट एक महिलाले घरक्क ढोका उघारिन्।
‘हामी स्थापित हो, भन्नुस् कसलाई खोज्नुभएको?’
मेरो गोडामा फुर्ति आयो। लम्केर उनीतिर गएँ र सिधै प्रश्न गरिहालेँ, ‘तपाईं जोगवीर स्थापितलाई चिन्नुहुन्छ?’
‘चिन्छु,’ ती महिलाले फ्याट्टै उत्तर दिइन्, ‘हाम्रो अजा (हजुरबुवा) हो।’
मैले सफलताको लामो सास फेरेँ।
‘अजा कि अजाको पनि अजा?’
काठमाडौंमा प्रायः हजुरबुवाभन्दा अगाडिका सबै पुर्खालाई अजा नै भनिन्छ, त्यसैले मैले आफू प्रस्ट हुन यो प्रश्न सोधेको थिएँ। उनले जवाफ दिइन्, ‘अजाको पनि अजा।’
‘ओहो तपाईं त ठ्याक्कै मैले खोजेको मान्छे फेला पर्नुभयो, तपाई जोगवीनाय:का बारेमा केही बताउन सक्नुहुन्छ?’
‘म त बुहारी हुँ, मलाई खासै थाहा हुन्न,’ उनले भनिन्, ‘मेरो ससुराबुवालाई थाहा हुन्छ। तर अहिले उहाँ सुतिसक्नुभयो, तपाईं भोलि आउनुस् है।’
‘तपाईंको ससुराबुवाको नाम?’
‘पद्मरत्न स्थापित।’
मैले अझै ढुक्क हुन यो पनि सोधेँ, ‘यो चोकलाई के भनिन्छ?’
उनले ‘ल्हवँ चूक’ भनिन्।
‘यहाँ त दुइटा चोक छ भन्ने सुनेको थिएँ!’
‘अर्को चोक भित्र छ,’ उनले छेउको घरतिर हात लम्काउँदै भनिन्, ‘त्यहाँ जाने बाटो चाहिँ यो घरले थुनियो। तपाईं जाने भए अर्कोतिरबाट घुमेर जानुपर्छ।’
मलाई अहिले त्यहाँ जानु थिएन। जे खोजेको हो, त्यो मैले भेटिसकेको थिएँ। चोकको नाम चाहिँ छ्यासमिस भएछ।
यति बेलासम्म स्कुटर लिएर आएकी किशोरी आफ्नो घर पसिसकेकी थिइन्।
यहाँ हाम्रो यात्राको तेस्रो पडाव पार हुन्छ। अहिलेसम्मको यात्रामा हामीले जोगवीर स्थापित जन्मे–हुर्केको टोल मात्र होइन, उनकै खलकको घरसमेत पत्ता लगायौं। सबभन्दा खुसीको कुरा त, उनीहरू अझै जोगवीरलाई चिन्छन् र सम्झना गर्छन्।
अब जोगवीर स्थापित र हामीबीच एक रातको दुरी छ।
यो रात किन यति लामो हँ!
मैले चारचोटि घन्टी थिच्दा पनि साइँसुइँ सुनिएन। काठको पुरानो ढोका ढक्ढकाएँ, तै चालचुल भएन।
म एकछिन चुपचाप उभिइरहेँ।
पाँचौंपटक घन्टी थिचेको मात्र के थिएँ, किररर आवाजसँगै बुइगलमा काठको झ्याल घटटट खुल्यो। एक जना वृद्धले होचो झ्यालबाट टाउको निकाल्दै सोधे, ‘कुने सु?’ (तल को?)
मैले माथि हेर्दै दुई हात जोडेर नमस्कार गरेँ र भनेँ, ‘म पद्मरत्न स्थापित बालाई खोज्न आएको।’
‘जिए खः’ (मै हुँ), उनले भने, ‘कुने च्वना च्वः, जी वे।’ (तल बस्दै गर्नुस् है, म आउँछु)
बूढा मान्छेलाई पुरानो घरको पुरानो भर्याङ ओर्लन सकस भएछ क्यारे, करिब छ मिनेटपछि स्याँस्याँ गर्दै तलको ढोका घरक्क उघारे।
मैले आफ्नो परिचय दिएँ र उनलाई भेट्न आउनुको प्रयोजन बताएँ।
उनले मलाई भित्र आउने अनुमति दिए।
छिँढीको सानो कोठामा एउटा सानो टेबल र दुइटा कुर्सी थिए। भर्खरै कसैले त्यही टेबलमा बसेर खाना खाएका रहेछन् — टेबलमा भातका सिता, तरकारीका त्यान्द्रा र अचारका छिटाहरू छरपस्ट थिए।
म एउटा कुर्सीमा अलक्क बसेँ र अर्को कुर्सीमा बसेका पद्मरत्न स्थापितसँग कुराकानी गर्न थालेँ।
पद्मरत्न ८२ वर्षका भएछन्। जन्म, बिक्रम सम्बत् १९९७ साल।
उनी जोगवीर स्थापितका पनाति रहेछन्। तर साख्खै पनाति होइन।
‘हामी जोगवीनाय:को दाजुभाइ खलकका सन्तान हौं,’ उनले नेवार भाषामा भने, ‘मलाई उहाँको बारेमा खासै धेरै थाहा छैन।’
म खङरङ्ग भएँ।
तै पनि केही सूचना निचोर्न सकिएला कि भनेर सोधेँ, ‘केही त सुन्नुभएको होला उहाँको बारेमा।’
‘सुन्न त के–के सुनेँ सुनेँ, तर सब बिर्सिसकेँ। अचेल म मान्छे त राम्ररी चिन्दिनँ। अहिले तपाईंलाई भेटेँ, भोलि तपाईंलाई नै बिर्सिन्छु।’
पद्मरत्नबाट खासै सूचना आउलाजस्तो भएन।
धन्न उनले मलाई निराश चाहिँ बनाएनन्, ‘यो अगाडिको घर मेरो दाइ द्रव्यरत्न स्थापितको। ऊ चाहिँ जोगवीरको साख्खै पनाति। उसलाई सोध्नू भए थाहा हुन्छ।’
उनले अगाडि भने, ‘तर दाइहरू अचेल यहाँ बस्नुहुन्न।’
‘कहाँ बस्नुहुन्छ त?’ मैले हड्बडाउँदै सोधेँ।
‘खोई त्यो पनि बिर्सेँ,’ उनले भने, ‘त्यहीँ गएर सोध्नू। अहिले त्यो घरमा दाइको साली बस्छ। उसलाई थाहा होला।’
उनी छिटोछिटो मलाई विदा गर्न चाहन्थे। मैले पनि उनलाई धेरै बेर अल्मल्याइनँ।
म पद्मरत्नको घरभन्दा ठ्याक्कै अगाडि, काठका आँखीझ्यालहरूले भरिएको र काठकै बुट्टेदार ढोकाले सजिएको पुरानो घर ढक्ढकाउन गएँ।
यहाँ पनि पाँच मिनेटसम्म मान्छेको स्वर सुनिएन। छैठौं मिनेट बित्नै लाग्दा ढोका होइन, छिँढीको झ्यालको पर्दा खुल्यो।
एक जना महिलाले पर्दा पन्छाउँदै बाहिर हेरिन्। उनी र म बीच फलामे ग्रिलको दिवार थियो।
उनी द्रव्यरत्न स्थापितकी साली तारा श्रेष्ठ रहिछन्। उनी यहाँ बस्न थालेको २५–३० वर्ष भइसकेछ।
म आउनुको कारण बुझेपछि उनले भनिन्, ‘पहिले यो पूरै चोक जोगवीर स्थापितकै खलकको थियो रे। अहिले त सब लाखापाखा लागिसके।’
‘द्रव्यरत्न बा चाहिँ कहाँ बस्नुहुन्छ त?’ मैले डराउँदै डराउँदै सोधेँ, ‘नेपालमै हुनुहुन्छ कि विदेशतिर?’
‘नेपालमै हुनुहुन्छ,’ उनले मेरो आशा मर्न दिइनन्, ‘टोखामा बस्नुहुन्छ। मसँग छोरीको नम्बर छ। तपाईं फोन गरेर सोध्नुस्।’
मैले द्रव्यरत्नकी छोरी रोजी स्थापितको नम्बर टिपेँ र तुरून्तै फोन गरिहालेँ।
उताबाट रोजीको स्वर सुनेपछि मेरो सासमा सास आए।
मैले उनलाई सब कुरा बताएँ।
उनले भनिन्, ‘म एकचोटि बासँग कुरा गर्छु। उहाँले मान्नुभयो भने तपाईंलाई कल गर्छु।’
मसँग विकल्प थिएन। मैले उनको विश्वास जित्न आफू र आफ्नो उद्देश्यबारे दुई–चार कुरा थपेँ, ताकि त्यही सुनाएर उनले आफ्नो बाको विश्वास जित्न सकून्!
उनले उता मोबाइलको लाइन काटिन्, यता मेरो मुटु घन्टाघरको रालोझैं ढ्वाङढ्वाङ गर्न थाल्यो।
गन्तव्यबाट यति नजिक आएर पनि म र गन्तव्यबीच द्रव्यरत्नको सिंगो सहमतिको दुरी थियो।
प्रतीक्षाको घडी किन यति लामो हँ!
म आफ्नो अत्यास मार्न न्हू बहाःमा टहलिन थालेँ। त्यहाँ एउटा फर्निचर कारखाना थियो। एक जना व्यक्ति करौंतीले काठ चिर्दै थिए। उनी पनि जोगवीर स्थापितकै सन्तान हुन् कि भनेर मैले सोधेँ।
हो रहेछन्।
उनले मलाई स्थापित खलकबारे केही महत्वपूर्ण सूचना दिए।
‘हामी स्थापित भनेको घर बनाउने शिल्पी हौं,’ ५९ वर्षीय राजु स्थापितले भने, ‘मल्लकाल र अझ त्योभन्दा अगाडि लिच्छविकालदेखि नै हाम्रो खलक संरचना निर्माणमा संलग्न छ।’
उनले अगाडि भने, ‘पहिले पहिले जसको घर बनाउँदा पनि जग हाल्नेदेखि भित्र–बाहिर सबै डिजाइन गर्ने हामीले नै हो। सर्वसाधारणको घरदेखि राजा–महाराजाका दरबार र मन्दिरदेखि चैत्यसम्म सबै हामीले नै बनाउँथ्यौं। तलेजु मन्दिरदेखि काठमाडौंका अधिकांश मल्लकालीन दरबार र मन्दिरहरूको जग हाल्ने काम स्थापितहरूले नै गरेको इतिहास छ।’
नयाँ संरचना स्थापना गर्ने भएकाले नै सम्मानपूर्वक ‘स्थापित’ भनिएको राजुको भनाइ छ।
उनका अनुसार काठमाडौंमा स्थापितहरूको बसोबास मुख्य गरी चार ठाउँमा रहेछ — थायमदु (बांगेमुढा), मिखाढोँ (मखन), लगन र भीमसेनस्थान।
यी चार ठाउँमा बस्ने स्थापितहरू चार छुट्टाछुट्टै खलक हुन्। यी खलकभित्र पनि छुट्टाछुट्टै परिवार छन्। प्रत्येक परिवारको आफ्नै गुठी छ जसलाई ‘कवः’ भनिन्छ।
उदाहरणका लागि, थायमदु खलकभित्र चारवटा कवः छन् — न्हू बहाः कवः, पेंग थाः कवः, सँ छेँ कवः र वला छेँ कवः।
कवःलाई व्यक्तिका आधारमा वर्गीकरण गर्ने हो भने न्हू बहाः कवः भनेको जोगवीर स्थापित उर्फ जोगवीनाय:को परिवार हो। त्यस्तै, पेंग थाः कवः रत्नदास–केशवदास स्थापितको परिवार हो भने सँ छेँ कवः तीर्थ स्थापितको र वला छेँ कवः सप्तरत्न स्थापितको परिवार हो।
सप्तरत्नका छोरा राजु स्थापित वला छेँ कवःकै सदस्य हुन्।
थायमदुजस्तै मिखाढोँ, लगन र भीमसेनस्थानको खलकभित्र पनि चार–पाँच कवः छन्।
राजुका अनुसार घर बनाउने स्थापित खलकमध्येबाट जो टोली नाइके छानिन्छ, उसलाई ‘नाय:’ भन्ने पदवी दिइन्छ। जोगवीर स्थापित तिनै टोली नाइकेमध्ये एक हुन्।
‘न्हू बहाः टोलका सबै स्थापित जोगवीनाय:का सन्तान हुन्,’ राजुले भने, ‘हामी चाहिँ उहाँको दाजुभाइ खलकमा पर्छौं।’
उनले आफ्नो परिवारबारे पनि केही बताए।
राजुका बुवा सप्तरत्नलाई सबैले ‘ग्वारा स्थापित’ भनेर चिन्छन् — ज्यान मोटो भएकाले। नेवार भाषामा ‘ग्वारा’ को अर्थ मोटो हो। उनी जोगवीरजस्तै आफ्नो समयका नाय: अर्थात् नाइके मात्र थिएनन्, जोगवीरले जस्तै राजाका दरबारहरू बनाउने काम पनि गरे।
उनले नारायणहितिदेखि सुवर्णशमशेरको रवि भवन दरबारसम्म बनाएको राजु सम्झन्छन्।
वीरशमशेर राणाले बिक्रम सम्बत् १९४३ मा रणोद्दीपशमशेरको निजी दरबार ‘नारायणहिति’ लाई जगैदेखि भत्काएर नयाँ दरबार निर्माण गराउँदा त्यसको इञ्जिनियरिङ डिजाइन जोगवीर स्थापितले गरेका थिए। त्यसको ७७ वर्षपछि २०२० सालमा जब राजा महेन्द्रले पुरानो नारायणहिति जगैदेखि भत्काएर अहिले हामीले देख्ने नयाँ दरबार निर्माण गराए, त्यहाँ काम गर्ने नेवार शिल्पीहरूमध्ये राजुका बुवा सप्तरत्न स्थापित पनि एक थिए।
त्यति बेला नारायणहिति दरबारको डिजाइन अमेरिकी आर्किटेक्ट बेन्जामिन पोल्कले गरेका थिए तर काम गर्ने शिल्पी स्थापितहरू नै भएको राजु बताउँछन्।
संयोगले जति बेला सप्तरत्न स्थापित नयाँ नारायणहिति दरबार बनाउँदै थिए, त्यसै वर्ष राजुको जन्म भएको थियो।
‘बुवाले नारायणहिति बनाउँदाको धेरै अनुभव हामीलाई पछिसम्मै सुनाउने गर्नुहुन्थ्यो,’ राजुले भने, ‘दरबारको नक्सा डिजाइन विदेशबाटै बनेर आएको थियो रे। बुवाहरू त्यही डिजाइन हेरेर दरबारको संरचना बनाउनुहुन्थ्यो रे। काम गर्दै जाँदा कतिपय डिजाइन त विदेशी नक्साअनुसार नमिलेर बुवाहरूले आफैं बनाउनुभएको थियो रे।’
अमेरिकी आर्किटेक्टले बनाएको नक्सा संशोधन गरेर अर्कै ढाँचामा बनाएको एउटा उदाहरण सप्तरत्नले राजुलाई सुनाएका थिए। त्यही सम्झना राजुले मसँग बाँडे।
नारायणहितिको मूलढोकाभन्दा ठ्याक्कै अगाडि झन्डै तीन दर्जन खुड्किला भएको लाम्चो भर्याङ छ। पहिले त्यो भर्याङको डिजाइन गोलाकार रहेछ। निर्माण सुरू भएपछि जति जति खुड्किला थपिँदै गए, सप्तरत्न स्थापितलाई उति उति अप्ठ्यारो लाग्दै गयो। उनले भर्याङको वास्तुशैलीमा खोट देखेका थिए तर विदेशीले बनाएको डिजाइनमा खोट देखाउने आँट गर्न सकेका थिएनन्।
उनी सधैं त्यो भर्याङतिर हेर्दै मुसुमुसु हाँस्थे तर बोल्न चाहिँ सक्थेनन्।
एकदिन सप्तरत्न भर्याङतिर हेर्दै मुसुमुसु हाँसिरहेको राजा महेन्द्रले देखेछन्।
महेन्द्रले सोधे, ‘ए ग्वारा, के भो तँलाई? किन हाँसेको?’
‘भनुँ भने के भनुँ सरकार, तर नभन्न पनि सक्दिनँ,’ सप्तरत्नले जवाफ दिए।
‘भन् न भन्, किन हाँसिस् तँ?’
महेन्द्रले कर गरेपछि सप्तरत्नले भनेछन्, ‘महाराज, हुन त यो भर्याङ विदेशीले डिजाइन गरेका हुन्। उनले राम्रै गरे होलान्। तर मेरो दृष्टिमा यसको वास्तु मिल्दैन।’
‘के मिल्दैन भन् त?’
महेन्द्रले भर्याङको वास्तु त्रुटि खोल्न अनुमति दिएपछि सप्तरत्नले जवाफ दिएछन्, ‘महाराज, यो गोलाकार भर्याङको भार एक ठाउँमा मात्र केन्द्रित छ। कुनै दिन यही भारले भर्याङ भत्किन्छ।’
यति सुनेपछि राजा महेन्द्रले जोखिम मोल्न चाहेनन्। उनले प्राविधिकहरूलाई डाकेर सोधे।
सप्तरत्नको शंका सही साबित भयो।
महेन्द्रले गोलाकार डिजाइनको सट्टा सप्तरत्नले भनेझैं नयाँ डिजाइनको भर्याङ बनाउन लगाए र उनलाई बक्सिस पनि दिए।
सप्तरत्नको खलकमा किम्बदन्तीझैं सुनिँदै–सुनाइँदै आएको यो घटनाको सत्यता पुष्टि हुन सक्दैन। तर यसले एउटा कुरा प्रस्ट भन्छ — चाहे त्यो सर्वसाधारणको घर होस् वा राजा–महाराजाको दरबार, हिन्दु धर्मावलम्बीको मन्दिर होस् वा बौद्ध धर्मका चैत्यहरू, जब कुनै संरचना निर्माणको कुरा आउँछ, त्यहाँ स्थापितहरूको योग्यतामाथि प्रश्न गरिन्न। त्यसमाथि नाय:ले भनेपछि त ‘पत्थरको लकीर’ भइहाल्यो!
हामीले कमै नाम सुनेको सप्तरत्न नाय: त यस्ता थिए भने इतिहासले कुशल शिल्पी मानेको र राणाहरूले धरि पत्याएका जोगवीनाय: झन् कस्ता थिए होलान्?
म अझै जोगवीनाय:की साख्खै खनातिनी रोजी स्थापितको फोनको प्रतीक्षामा छु।
झन्डै एक घन्टा राजुसँग कुरा गरेपछि रोजीको फोन आयो।
मैले कामिरहेको मुटु थामेर फोन उठाएँ।
रोजीले खुसखबरी सुनाइन्, ‘बुवाले हुन्छ भन्नुभयो। तपाईं आजै आउनुस्, हामी कुरिरहन्छौं।’
म फोन राख्नासाथ जोगवीरको पुर्ख्यौली थलो थायमदुबाट उनका पनातिको हालको बसोबास टोखातिर कुदेँ।
यहाँ हाम्रो यात्राको चौथो पडाव सकिन्छ र सुरू हुन्छ पाँचौं र अन्तिम पडाव, जसमा हाम्रो भेट जोगवीर स्थापितका आफ्नै पनाति द्रव्यरत्न स्थापितसँग हुँदैछ।
यो पडावमा जोगवीर स्थापितबारे कति जानकारी एकत्रित गर्न सकिन्छ, यसैमा हाम्रो पूरा यात्राको सफलता वा असफलता निर्भर गर्नेछ।
हेरौं के होला! दुई औंला भाँचेर ‘फिंगर क्रस’ गर्नुस् है!
टोखाको भूतख्यः पार्कलाई दाहिने पारेर अगाडि बढेपछि थोरै उकालो आउँछ। त्यहाँबाट दुई–तीन घुम्ती छिचोलेपछि चारैतिर हरियाली देखिने शान्त ठाउँमा मूल सडकबाट देब्रेतिर पर्छ, द्रव्यरत्न स्थापितको घर।
घरको आँगनमै मेरो भेट रोजी स्थापितसँग भयो। उनले मलाई भुइँतलाको बैठक कोठामा लगेर राखिन् र आफू बालाई लिन माथि उक्लिन्।
दुई–तीन मिनेट पनि बितेको थिएन, रोजी वृद्ध बालाई लिएर बैठकमा आइन्।
म जुन जोगवीर स्थापितलाई पछयाउँदै थिएँ, उनका साख्खै पनाति द्रव्यरत्न स्थापित अहिले मेरा आँखाअगाडि थिए। हामी एउटै सोफामा आमुन्नेसामुन्ने थियौं। रोजी पनि कुर्सी तानेर छेउमा बसिन्। मलाई द्रव्यरत्नसँगको कुराकानीमा रोजीको खाँचो पर्नेछ। बुढेसकालका कारण सम्झनाशक्ति क्षीण हुँदै गएकाले द्रव्यरत्न सबै कुरा राम्ररी सुनाउन सक्दैनन्। उनले सुनाएका सबै कुरा सायद म राम्ररी बुझ्न सक्दिनँ।
बिक्रम सम्बत् १९९२ मा जन्मेका द्रव्यरत्न ८७ वर्षका भए। उनले आफ्नो जिज्यू–हजुरबुवा जोगवीरसँग एउटै समयकाल बिताउन पाएनन्।
उनका अनुसार जोगवीरको जन्म १८९५ मा भयो भने निधन १९८३ मा भयो। उनी ८८ वर्ष बाँचे।
द्रव्यरत्न जन्मँदा जोगवीरको निधन भएको नौ वर्ष बितिसकेको थियो। जोगवीर नब्बे सालको भुइँचालोभन्दा सात वर्षअगाडि नै बिते, द्रव्यरत्न भुइँचालोभन्दा दुई वर्ष पछाडि जन्मे।
एउटा परिवारको सम्झना हस्तान्तरण हुनलाई नौ वर्ष खासै लामो समय होइन। पुर्खाको सम्झना भनेको परिवारभित्र पुस्तौं पुस्ता बाँचिरहन्छ। नौ वर्षमा त झन् एकदमै तरोताजा रहने नै भयो। त्यही भएर द्रव्यरत्नले सानैदेखि आफ्ना जिज्यू–हजुरबुवाका बारेमा सुने, उनलाई चिन्ने मौका पाए र उनकै कथा–किस्साहरू सुन्दै हुर्के।
सायद त्यही प्रभावले हो वा स्थापितहरूको पुर्ख्यौली पेसा नै त्यही भएर हो, द्रव्यरत्न आफैं पनि इञ्जिनियर (ओभरसियर) हुन्। फरक यत्ति हो, जोगवीर पुर्ख्यौली ज्ञानका आधारमा इञ्जिनियर भए, द्रव्यरत्न पुल्चोक इञ्जिनियरिङ कलेजमा पढेर। उनले लामो समय खानेपानी संस्थानमा जागिर पनि खाए। २०४८ पछि गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदा उनी सेवानिवृत्त भएका थिए।
धमिलिँदै गएको सम्झनाका रेखाहरू तानतुन पारेर द्रव्यरत्नले मलाई आफ्ना जिज्यू–हजुरबुवाको परिवार र कामबारे धेरै थोक सुनाए।
जोगवीर स्थापितका बुवाको नाम आशामरू स्थापित र आमा जोगवती स्थापित हो।
उनका दुई श्रीमती थिए — ज्ञानमाया स्थापित र दानमाया स्थापित। ज्ञानमायाको निधनपछि उनले दानमायासँग विवाह गरेका थिए।
जेठी श्रीमतीबाट उनका चार छोरा थिए। तीमध्ये दुई जना — दानवीर र प्रतापवीर — को नाम मात्र द्रव्यरत्नलाई याद छ। कान्छी श्रीमतीबाट एउटी छोरी मात्र भइन्, जोगकुमारी। उनको नरदेवीमा तुलाधर परिवारसँग विवाह भयो। त्यही परिवारका एक सन्तानले पछि ठमेलमा ‘स्टार होटल’ चलाएको उनले बताए।
प्रतापवीरको शाखा–सन्तानबारे द्रव्यरत्नलाई खासै हेक्का छैन।
अब रहे दानवीर, जो द्रव्यरत्नका साख्खै हजुरबुवा हुन् — दानवीरका छोरा बुद्धरत्न र बुद्धरत्नका दुई छोरा द्रव्यरत्न र योगरत्न। योगरत्न गणितका प्राध्यापक थिए। उनको निधन भइसकेको छ।
द्रव्यरत्नका दुई छोरा र दुई छोरी गरी चार सन्तान छन् — अञ्जली, अमोलरत्न, अमिनरत्न र रोजी। यीमध्ये अमिनरत्नको निधन भइसकेको छ भने अमोलरत्नको परिवार अस्ट्रेलिया बस्छ। अञ्जली पुतलीसडक बस्छिन्, रोजी आफ्नो बुवासँग टोखामै छिन्।
यो त भयो पारिवारिक वंशवृक्ष, अब जोगवीरले गरेका कामको कुरा गरौं।
वीरशमशेरसँग जोडिनुअघि नै जोगवीर काठमाडौंका कहलिएका शिल्पी थिए। उनले स्वयम्भूमा अजिमा मन्दिरको ठ्याक्कै पछाडि रातो इँटाको चैत्य निर्माण गरे। ढुंगाले बनेका अन्य स्तुपको दाँजोमा यो विशेष देखिन्छ।
स्वयम्भूकै शान्तिपुरभन्दा पश्चिमतिरको चैत्य पनि उनैले बनाएका हुन्। बिक्रम सम्बत् १९७५ देखि १९७८ सम्म चलेको स्वयम्भू महाचैत्य पुनर्निर्माणको नेतृत्व पनि जोगवीरले गरेका थिए।
स्वयम्भू महाचैत्य पुनर्निर्माण गर्दा माथिल्लो भागमा तह–तह परेको घुमाउरो गजुर राख्ने र केही नयाँ बुद्ध मूर्तिहरू स्थापना गर्ने काम जोगवीरबाटै भएको द्रव्यरत्न सम्झन्छन्।
‘स्वयम्भूमा गरेको कामलाई लिएर हाम्रो परिवारमा एउटा उखानै प्रचलित थियो — लामाजीको पैसा, धमा साहुको नाम, बनाउने जोगवीनाय:,’ द्रव्यरत्नले भने।
मैले उनलाई यसको अर्थ खुलाउन आग्रह गरेँ।
उनले हाँस्दै भने, ‘स्वयम्भू पुनर्निर्माण गर्न लामाजीहरूले थुप्रो पैसा लगानी गरेका थिए रे। मुख्य दाता र पैसाको चाँजापाँजो मिलाउने काम भने ज्याठाका धर्मा साहु (त्यति बेलाका चर्चित व्यापारी तथा समाजसेवी धर्ममान तुलाधर) ले गरे। त्यसैले नाम उनको मात्र आयो। अनि कामको जिम्मा चाहिँ हाम्रा जिज्यू–हजुरबुवा जोगवीनाय:को।’
यति मात्र होइन, उनले १९५५ सालमा सम्यक् दान पनि गरेका थिए।
नेपाल सम्बत् क्यालेन्डरअनुसार दसौं महिना (गुँला) भरि नेवाः बौद्ध धर्मावलम्बीहरू सम्यक् दान गर्छन्। यो बेला दिपंकर बुद्ध मूर्ति स्थापना गर्नुका साथै काठमाडौंका विभिन्न बहाबहीका थकाली र भन्तेहरूलाई दान दिइन्छ। सम्यक् दान क्रममा जोगवीरले स्थापना गरेको दिपंकर बुद्ध मूर्ति न्हू बहाःमा अहिले पनि छँदैछ।
यस्तै सामाजिक कार्य र पुस्तैनी शिल्पका कारण उनी वीरशमशेरको नजरमा परेको हुनसक्ने पनाति द्रव्यरत्न बताउँछन्।
राणाकालीन इतिहास हेर्ने हो भने जोगवीरभन्दा अगाडि रनसुर विष्टको नाम वास्तुकलाविद् (आर्किटेक्ट) का रूपमा उल्लेख भएको पाइन्छ। जंगबहादुर राणाको थापाथली दरबार रनसुन विष्टले बनाएको पुरूषोत्तमशमशेर जबराले आफ्नो किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्त (भाग १)’ मा लेखेका छन्। जब वीरशमशेरले आफ्नो निम्ति दरबार निर्माण गर्न सुरू गरे, त्यति बेला पनि रनसुर विष्ट छँदै थिए। तर उनले रनसुरलाई छाडेर काठमाडौंका चर्चित वास्तुकलाविद् जोगवीरलाई साथ लिए।
वीरशमशेरले सबभन्दा पहिला १९४३ सालमा ‘नारायणहिति’ दरबार निर्माण गराएको र पछि २०२० सालमा राजा महेन्द्रले त्यसलाई जगैदेखि भत्काएर नयाँ दरबार बनाउँदा सप्तरत्न स्थापितहरूले काम गरेको प्रसंग मैले माथि उल्लेख गरिसकेको छु। त्यही बेलाको अर्को एउटा प्रसंग मलाई द्रव्यरत्नले सुनाए।
‘नारायणहिति बनाउँदा म पनि संलग्न थिएँ,’ उनले भने, ‘हामीले जग खन्दै जाँदा काठमाथि राखिएको ढुंगाको शिलालेख फेला पारेका थियौं जसमा वीरशमशेर र मेरो जिज्यू–हजुरबुवा जोगवीर स्थापितको नाम लेखिएको थियो।’
‘अहिले कहाँ छ त त्यो शिलालेख?’ मैले सोधेँ।
‘खोइ कहाँ छ!’ द्रव्यरत्नले भने, ‘हामीले त्यो शिलालेख दरबारका तत्कालीन बडाकाजी पुष्पराज राजभण्डारीलाई जिम्मा लगायौं। उहाँले महेन्द्र सरकारलाई देखाउँछु भनेर लग्नुभयो। त्यसपछि के भयो, थाहा छैन। सोधीखोजी गर्ने कुरा पनि भएन।’
नारायणहिति दरबारपछि वीरशमशेरले त्यसैको आसपास एकपछि अर्को थुप्रै दरबार निर्माण गराए। यसका लागि त्रिदेवी मन्दिरदेखि नागपोखरी–कमलपोखरीसम्मको जम्मै भूभाग अधिग्रहण गरिएको सम्पदाविद् तथा इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सुदर्शनराज तिवारीले बताएका छन्।
वीरशमशेरले निर्माण गराएका दरबारमा नारायणहितिबाट दक्षिण–पश्चिमतर्फ रहेको बहादुर भवन एक हो। यसलाई ‘चारबुर्जा दरबार’ भनिन्छ। १९४६ सालमा निर्माण भएको यो भवनमा अहिले निर्वाचन आयोग छ। त्यसको अर्को वर्ष लाल दरबार बन्यो जहाँ याक एन्ड यती होटल छ।
बिक्रम सम्बत् १९५० सालमा जमल बहालको उत्तरपूर्वपट्टि बनेको सेतो दरबारलाई वीरशमशेर पालाका दरबारहरूमध्ये सबभन्दा उत्कृष्ट मानिन्छ। यो त्यति बेला भारतको कलकत्तास्थित अंग्रेज सरकारका प्रतिनिधि बस्ने बेल्भेडोय दरबारको डिजाइनमा तयार पारिएको ‘द रानाज् अफ नेपाल’ किताबमा उल्लेख छ। बेल्जियम र भेनिसबाट ल्याइएका ऐना र फर्निचरहरूले सजिएको सेतो दरबार १९९० सालको आगलागीमा परेर ध्वस्त भयो। अहिले एउटा मोहडा मात्र बाँकी छ।
यही क्रममा फोहोरा दरबार र हात्तीसार दरबार पनि बने।
पुरूषोत्तमशमशेर जबराको किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ मा उल्लेख भएअनुसार वीरशमशेरले निर्माण गराएका सबै दरबारको डिजाइन जोगवीर स्थापितले नै गरेका थिए।
यी दरबार युरोपको ‘निओ–क्लासिकल’ ढाँचामा बनेका थिए। खासगरी जंगबहादुर राणाको बेलायत भ्रमणपछि काठमाडौंमा युरोपेली शैलीले प्रवेश पाएको थियो। राणाहरूको पश्चिमा सोखलाई जोगवीरजस्ता स्थानीय शिल्पीहरूले बखुबी पूरा गरे।
‘जोगवीनाय:ले वीरशमशेरका लागि थुप्रै दरबार बनाउनुभएको थियो। यसले राणा खलकसँग उहाँको राम्रो हिमचिम भयो,’ उनले भने, ‘त्यही भएर हाम्रो घरमा राणाजीहरूबाट ठूल्ठूला ऐना र सन्दुकहरू उपहार आएका थिए।’
यहाँनिर रोजीले थपिन्, ‘मैले देख्दासम्म हामीकहाँ राणाजीका दरबारमा हुनेजस्ता अग्ला–अग्ला ऐनाहरू थुप्रै थिए। बुवाका दाजुभाइबीच अंशबन्डा हुँदा ती ऐनाको पनि भाग लागेको थियो। अहिले पनि थायमदुको हाम्रो पुरानो घरमा दुईवटा त्यस्ता ऐना बाँकी नै छन्। अरू दाजुभाइ र दिदीबहिनीहरूकहाँ पनि एउटा न एउटा ऐना पुगेकै होला।’
ऐनाकै सम्बन्धमा मल्ल के. सुन्दरले मसँग भनेका थिए, ‘जोगवीनाय:को घरको बुइगलमा ऐनै ऐनाले भरिएको कोठा थियो जसलाई हामी ‘न्हाय्कं कोठा’ भन्थ्यौं। धेरैअगाडि म आफैं पनि एकचोटि त्यो कोठामा पुगेको छु। ती सबै ऐना राणाहरूले जोगवीनाय:लाई बक्सिस दिएका हुन्।’
जोगवीरको डिजाइनमा बनेका संरचनाको कुरा उठेपछि मैले टुकुचा खोल्सा जमिनमुनि बगाउन निर्माण गरिएको भूमिगत सुरूङको प्रसंग झिकेँ।
द्रव्यरत्न यो सुरूङलाई आफ्नो समयको ‘इञ्जिनियरिङ मास्टरपिस’ भन्छन्।
‘त्यो समय सक्कली काम हुन्थ्यो,’ टेलिभिजन समाचारमा टुकुचा सुरूङ भत्काइँदै गरेको खबर देखेर दुखी भएका उनले भने, ‘अब भत्काएर बनायो भने त्यस्तो सक्कली काम हुनै सक्दैन।’
हात्तीसारमा टुकुचालाई सुरूङभित्र हाल्ने योजना सफल भएपछि वीरशमशेरले नै काठमाडौं उपत्यकाका प्रमुख सहरहरूमा ढल व्यवस्थापनका लागि त्यस्तै सुरूङ निर्माण गराएका थिए।
उनले बिक्रम सम्बत् १९५४ मा काठमाडौं सहरमा ‘सरसफाइ अभियान’ चलाउँदै बाटोमा ढल व्यवस्थापन गरेको र गल्ली–गल्लीमा सरसफाइ गरेको पुरूषोतमशमशेर जबराको किताबमा छ। त्यति बेला वीरशमशेरले काठमाडौंको ढल व्यवस्थापन निम्ति बनाएका संरचना अहिलेसम्म छन्। ती संरचना जयनेपाल हलको आँगनमा फेला परेको इँटाको गुम्बजजस्तै छन्।
‘हाम्रै थायमदु टोलमा जमिन मुनि–मुनिबाट ढलहरू बगेको देखेको छु,’ रोजीले भनिन्, ‘त्यस्तो घना बस्तीमा पनि सुरूङ कसरी खनियो होला?’
यहाँ द्रव्यरत्नले जोगवीर स्थापितकै डिजाइनमा बनेको अर्को भूमिगत ढलबारे जानकारी दिए।
उनका अनुसार बर्खामा जमल बहालमा जम्ने पानीलाई निकास दिन भूमिगत ढल निर्माण गरिएको थियो जुन विश्वज्योति हल, सेतो दरबार र राजा महेन्द्रको शालिक हुँदै लाल दरबारको पछाडि पछाडिबाट काठमाडौं प्लाजानिर गएर टुकुचामा मिसिन्थ्यो।
‘दरबारमार्गको सडक खन्ने बेला बीचमा कतै ढल बिग्रियो,’ खानेपानी संस्थानको लामो अनुभवका आधारमा द्रव्यरत्नले भने, ‘अहिले पनि त्यो ढल खोजेर बनाउने हो भने बर्सेनि जलमग्न हुने जमलको समस्या समाधान हुन सक्छ।’
यसरी आफ्नो समयकालमा अतुलनीय र अद्वितीय संरचनाहरू निर्माण गरेका जोगवीर स्थापितका सम्बन्धमा मलाई एउटा कुरा ताज्जुब लाग्छ — उनले इञ्जिनियरिङको औपचारिक शिक्षा पाएनन्। विदेशमा गएर तालिम पनि लिएनन्। तै पनि घरदेखि दरबार, चैत्यदेखि मन्दिर र भूमिगत सुरूङसम्मको डिजाइन कसरी गरे? के थियो उनको शिल्पको राज?
जवाफमा द्रव्यरत्नले भने, ‘हामी स्थापितहरू पुस्तैनी शिल्पी हौं। त्यसमाथि जोगवीनाय: अलि बढी नै काबिल हुनुहुन्थ्यो भनेर हामी सुन्थ्यौं।’
आफ्नो व्यक्तिगत खुबीका अतिरिक्त जोगवीर लगायत स्थापित खलकका शिल्पीहरूसँग वास्तुकलासम्बन्धी केही पुस्तैनी ग्रन्थ पनि थिए। नेपाली कागजमा हातले लेखिएका ती ग्रन्थ (थ्यासफू) मा कुन संरचना कसरी बनाउने भनेर सचित्र ढाँचा वर्णन गरिएको हुन्थ्यो।
घर बनाउँदा जग र माथिका तल्लाहरूको नापनक्सा कत्रो हुनुपर्छ र चैत्य र मन्दिर बनाउँदा अपनाउनुपर्ने वास्तुकला के हुन् भन्ने पनि थ्यासफूमा सिकाइएको हुन्थ्यो। यसले कुनै पनि संरचना बनाउँदा अध्ययन सामग्रीको काम गर्थ्यो।
‘के तपाईंसँग त्यस्ता थ्यासफूको कुनै नमूना होला?’ मैले सोधेँ।
‘म सानो हुँदासम्म घरमा एक–दुईवटा देखेको थिएँ,’ उनले भने, ‘अहिले त कहाँ छ, भन्न सक्दिनँ।’
यही प्रश्न मैले मल्ल के. सुन्दरलाई गरेको थिएँ। उनले त्यस्ता केही थ्यासफूको संकलन रक्तकालीस्थित ‘आशा सफूकुथि’ मा रहेको जानकारी दिएका थिए। आशा सफूकुथि भनेको नेपाल भाषाका प्राचीन पाण्डुलिपिहरूको अभिलेखालय हो।
द्रव्यरत्नसँग भेटेको भोलिपल्ट मैले आशा सफूकुथि गएर प्राचीन वास्तुकलाबारे लेखिएका केही थ्यासफू हेरेको थिएँ। त्यसैबाट स्वयम्भू महाचैत्य, प्रतापपुर, कंग अजिमा (कंकेश्वरी) लगायतको नापनक्सासहितको तस्बिर लिएँ। आशा सफूकुथिका अभिलेखकर्ता शरद कसा भन्दै थिए, ‘वीरेन्द्र राजाको पालामा स्वयम्भूको प्रतापपुर आगो लागेर ध्वस्त भयो। पछि थ्यासफू हेरेर पुनर्निर्माण गरिएको थियो।’
पुस्तौं पुस्तादेखि वास्तुकलासम्बन्धी ज्ञान हस्तान्तरण गर्दै आएका तिनै थ्यासफूमध्ये एउटा त राजा भाष्कर मल्लको पालामा मखन टोलका जयशंकर स्थापितले लेखेको पनि फेला पर्यो। उक्त थ्यासफूमा जयंशकर स्थापितलाई ‘विश्वकर्माकै अवतार’ भनेर चिनाइएको छ।
यसबाट द्रव्यरत्नले आफ्ना पुर्खाको अध्ययन सामग्रीबारे मलाई सुनाएको कुरा पुष्टि हुन्छ।
यो त परम्परागत नेवार वास्तुकलाको कुरा भयो तर जोगवीरले युरोपको ‘नियो–क्लासिकल’ ढाँचाका दरबार पनि बनाएका थिए। विरासतमा पाएको शिल्प र परम्परागत थ्यासफूकै भरमा आफूले देख्दै नदेखेको विदेशी ढाँचा कसरी यहाँ हुबहु उतार्न सकियो होला?
मेरो यो प्रश्नमा द्रव्यरत्नले एउटा राज खोले, ‘म सानो छँदा घरमा विदेशी आर्किटेक्चरका किताब पनि देख्थेँ जसमा विदेशी दरबारहरूको नमूना हुन्थ्यो।’
उनले अगाडि भने, ‘मेरो विचारमा यी नियो–क्लासिकल दरबारहरूको मूल इञ्जिनियरिङ डिजाइन विदेशमै हुन्थ्यो होला। राणाहरू त्यही नक्सा बोकेर ल्याउँथे र यहाँका शिल्पीलाई देखाएर त्यस्तै बनाउन लगाउँथे। विदेशी आर्किटेक्टले गरेको डिजाइनमा काठमाडौंको संस्कृति, चालचलन र हावापानीअनुसार परिमार्जन गर्ने काम यहाँका शिल्पीहरूको हुन्थ्यो।’
उनको यो भनाइ इतिहास र संस्कृतिका अध्येता मल्ल के. सुन्दरले पनि पुष्टि गरे।
झन्डै एक घन्टा कुराकानीपछि छुट्टिने बेला मैले द्रव्यरत्न स्थापितलाई सोधेँ, ‘अरू केही सम्झिनुहुन्छ जोगवीनाय:बारे?’
उनी एकछिन सोचमग्न भए।
अलि बेरमा सुस्तरी भने, ‘एउटा कुरा — तपाईंले थायमदु जाँदा हाम्रो ल्हवँ चूकमा घोडा बाँध्ने काठको थाम देख्नुभयो?’
म छक्क परेँ।
त्यस्तो साँघुरो चोकमा घोडा बाँध्ने थाम कहाँबाट आयो? किन चाहियो?
‘अहँ मैले त देखिनँ।’
मेरो जवाफ सुनेर द्रव्यरत्नले मुसुक्क हाँस्दै भने, ‘उसो भए फेरि एकचोटि जानुस् र त्यो थाम खोज्नुस्। जोगवीनाय:को बारेमा लेख्ने हो भने त्यो तपाईंले हेर्नैपर्छ।’
मैले हुन्छ भनेँ र त्यसबारे विस्तृतमा सुन्न चाहेँ।
‘राणाहरूको दरबार बनाउने र राणाजीहरूसँगै हिमचिम गर्ने भएपछि जोगवीनाय:को शान पनि राणाहरूको जस्तै थियो रे,’ उनले भने, ‘उहाँ घोडा चढ्नुहुन्थ्यो। आफ्नै चोकभित्र घोडा बाँध्ने तबेला बनाउनुभएको थियो। त्यो तबेला मैले देख्दासम्म पनि थियो।’
काठमाडौंको पुरानो बस्तीमा भित्री चोकहरू छिर्ने गल्ली प्रायः साँघुरो हुन्छ। कति ठाउँमा त घरको मुनिबाट टाउको निहुराएर जानुपर्छ। जोगवीनाय:ले भने आफ्नो चोक यस्तरी बनाएका रहेछन्, त्यहाँ एउटा चोकबाट अर्कोमा घोडा चढेरै जान मिल्थ्यो, द्रव्यरत्नले भने, ‘जुन चोक (ल्हवँ चूक) मा घोडा बाँध्ने थाम छ, त्यहाँको मूल ढोका नै अरूभन्दा ठूलो छ। त्यसलाई हामी ‘तँ द्वा’ (ठूलो ढोका) भन्छौं।’
‘तपाईं एकचोटि जसरी भए पनि त्यहाँ पुग्नू है। त्यसको फोटो पनि खिचेर छाप्नू।’
यति भनेपछि म नगइरहन कहाँ सक्थेँ र! जोगवीरले घोडा बाँध्ने थाम हेर्ने हुटहुटी मलाई पनि कम्ता थिएन!
द्रव्यरत्न स्थापितसँग भेटेपछि हाम्रो यात्राको पाँचौं तथा अन्तिम पडाव पूरा हुन्छ।
यहाँसम्म आइपुग्दा जोगवीर स्थापित र उनको व्यक्तित्वको एउटा खाका बन्यो होला!
उनको धमिलो आकृतिमा हल्का इन्द्रधनुष भरियो होला!
यी उनै जोगवीर स्थापित उर्फ जोगवीनाय: हुन् जसले वीरशमशेरको पालामा दरबारहरू बनाए। जसले स्वयम्भू महाचैत्य पुनर्निर्माण गराए। आफ्नो चोक बनाए। काठमाडौंमा थुप्रै चैत्यहरू निर्माण गराए।
यी काठमाडौं थायमदुका उनै जोगवीनाय: हुन्, जसले हात्तीसारको जमिनमुनि भेटिएको भूमिगत सुरूङमा आजभन्दा १३० वर्षअघि आफ्नो रगत–पसिना बगाए।
थप पढ्नुहोस्: