नीरबहादुर तामाङ काभ्रे-भक्तपुर आउजाउ गरिरहन्थे। आफ्नो स्कुटरमा उनी केही हप्तायता काभ्रे जाने-फर्किने गरिरहेका थिए।
४४ वर्षीय नीरबहादुरको पुर्ख्यौली घर काभ्रे बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा हो। पुर्ख्यौली घरमा उनकी ७५ वर्षीया आमा लडुलम र ४० वर्षीया बहिनी साबित्री बस्थे। आमा लडुलमको हेरचाह साबित्रीले नै गर्दै आएकी थिइन्।
साबित्री तीन महिनाअघि मात्रै कतारबाट घर फर्किएकी थिइन्। बुवा बितेपछि आमा एक्लै होलिन् भनेर साबित्री फर्किएकी थिइन्।
नीरबहादुर भने आफ्नो परिवारसँग भक्तपुरमा बस्थे। उनी गार्मेन्टको पनि व्यवसाय गर्थे। बेथानचोकमा उनले अर्को व्यवसायको सुरू गरेका थिए।
बेथानचोकमा पुर्ख्यौली घरकै माथिल्लो स्थानमा नीरबहादुरको जग्गा छ। जहाँ उनले चलाल गणेशस्थान रोडा-ढुंगा उद्योग सञ्चालन गरेका थिए। उनकै अगुवाइमा स्थानीयसँग मिलेर उक्त उद्योग सञ्चालनमा आएको हो।
त्यहाँ काम सुरू भएको पनि आठ दिन मात्रै भयो। आफ्नो व्यवसाय नै सुरू भइसकेको हुँदा उनी त्यहाँ आउजाउ गरिरहेका थिए। बुधबार पनि उद्योगमा पुगे।
उनी हिजो भक्तपुर नफर्किएको बेथानचोक गाउँपालिका-४ का वडा सदस्य कर्ण तामाङले जानकारी दिए।
‘उहाँले आफ्नै जग्गामा खानी सञ्चालन गर्नुभएको थियो। उहाँकै नेतृत्वमा जग्गा मिलाउने, कागजातको काम सबै भइरहेको थियो,’ उनले भने, ‘हिजो सुरूमा घर फर्किन्छु भनेर जानुभएको रहेछ। सडकमा धेरै जाम भएपछि काभ्रे नै फर्किनुभएछ। पानी पनि धेरै परिरहेको थियो। यतै आमासँग बस्नुभयो।’
आमा र छोराछोरी खाना खाएर सुतेका थिए। राति पानी पनि झमझम परिरहेको थियो।
त्यसबीच करिब १ बजे घरमाथि पहिरो खस्यो। ठूलो आवाज आएपछि नजिकैका छिमेकी पनि बाहिर निस्किए। उनीहरूको घर पुरै भत्किएको देखेपछि स्थानीयले तत्कालै प्रहरी, जनप्रतिनिधिलाई खबर गरे।
स्थानीयले खबर गरेपछि करिब २ बजेतिर जनप्रतिनिधि र प्रहरी घटनास्थलमा पुगे।
आमा लडुलम, छोरा नीरबहादुर र छोरी साबित्री पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सेतोपाटीलाई जानकारी दिए।
नीरबहादुर र साबित्रीको घटनास्थलमै मृत्यु भएको थियो। आमा लडुलमलाई उपचारको लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्याइएको थियो।
उपचारको क्रममा उनको पनि मृत्यु भएको एसपी जोशीले बताए। उनीहरूको उद्धार गर्ने क्रममा पनि पहिरो खसिरहेको थियो।
एसपी जोशी भने बिहानपख मात्रै घटनास्थलमा पुगेका थिए। त्यतिबेला पनि पहिरो खसिरहेको उनले बताए। अहिले त्यहाँ पहिरो पन्छ्याउने काम सकिइसकेको छ।
उनका अनुसार पहिरो खस्नुको कारण केही दिनअघि खोलिएको रोडा-ढुंगा उद्योग हो।
‘घरमाथि डोजर लगाएर खनेका रहेछन्। घर पनि गहिरो स्थानमा छ। हिजो पानी पनि परिरहेको थियो,’ उनले भने, ‘माथिल्लो पट्टी खनिएको हुँदा पहिरो खस्यो।’
खानी नै सञ्चालन गर्न थालेपछि आफन्तहरूले त्यस घरमा नबस्न पनि अनुरोध गरिसकेको उनले बताए। तर आमा लडुलमले नै घर छाड्न नमान्दा उनीहरू त्यहाँ बस्दै आएका थिए।
बेथानचोक-४ का वडाध्यक्ष कृष्णबहादुर लामाले पनि त्यहाँ खानी चलाउनुअघि नीरबहादुरलाई सचेत गराएको बताए।
‘पहिल्यै दर्ता गराएर उहाँहरू वडा कार्यालयमा आउनुभएको थियो। सहमति खोज्नुभएको थियो,’ उनले भने, ‘खानी सञ्चालन गर्नुअघि नै तपाईंहरूसँग लाइसेन्स छैन भने नचलाउनुस् भनेको थिएँ। उहाँहरूले लाइसेन्स छ भनेर भन्नुभएको थियो।’
१२-१४ जना मिलेर उनीहरूले उद्योग सञ्चालन गरिरहेको उनले बताए। ढुंगा बेच्ने काम पनि सुरू भइसकेको थियो। पहिरो खसेको घर नजिकै अर्को एउटा होटल पनि छ।
उनका अनुसार खानी सञ्चालन हुन लागेको हुँदा होटलबाट उठेर जान भनेपछि उक्त घर पनि खाली भइसकेको थियो।
होटल खाली भए पनि नीरबहादुरको घर भने खाली भएन। नीरबहादुरले आफ्नी आमा लडुलमलाई काठमाडौं पनि लिएर जान खोजेको वडाध्यक्ष लामाले बताए।
‘खानी उद्योगले जोखिम बढेको थियो। होटलवाला सरेर गइसकेको थियो। तर आमा जान खोज्नुभएन। छोरा नीरबहादुर हिजो यहीँ बसेका थिए। आमालाई सम्झाइबुझाइ काठमाडौं लग्ने भनेर पनि आएका रहेछन्,’ उनले भने, ‘तर उहाँ मान्नुभएन।’
यो उद्योग वैध हो वा होइन भन्ने जानकारी नभएको उनी बताउँछन्।
जिल्ला प्रहरी कार्यालयका एसपी जोशीले पनि उद्योग यो वैध/अवैधबारे थाहा नभएको बताए।
‘सम्झौता गरेका त रहेछन्। उहाँहरूको कागजातहरू के-कस्ता छन्, सम्झौता वैध मान्ने/नमान्ने विषयमा सम्बन्धित समन्वय समितिका अध्यक्षसँग बुझ्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसमा मानवीय त्रुटी पनि भएको हो।’
अहिले मृतकका परिवारहरू काभ्रे आइरहेको उनले बताए।
तस्बिरहरू:
तस्बिर स्रोत: काभ्रे प्रहरी।