काठमाडौं, कीर्तिपुरकी जेनी थापाले झन्डै १५ वर्ष विकासका क्षेत्रमा काम गरिन्। म्याग्दीमा जन्मे-हुर्केकी जेनीलाई त्यसपछि भने आफूले चाहेको क्षेत्रमा काम गर्ने वातावरण मिलेन। उनी बुवा-आमाकी एक्ली सन्तान थिइन्। उनका श्रीमान पनि एक्लो सन्तान भएकाले दुई परिवार अनि आफ्नो करिअरलाई सँगै लैजान कठिन भयो। अर्कातिर आफ्ना बच्चा हुर्काउने जिम्मेवारी त छँदै थियो।
उनले आफूजस्तै अप्ठेरोमा पर्नेहरूका लागि सहज होस् भनेर जेष्ठ नागरिकका लागि केयर होम स्थापना गर्ने सोच बनाइन्। त्यसपछि उनी कुपण्डोलमा रहेको अलोकी केयर होममा आवद्ध भएकी हुन्।
‘मलाई परिवारको पृष्ठभूमिले यता लाग्न प्रेरित गर्यो। म एउटै सन्तान थिएँ। आमालाई हेरचाह गर्न र आफ्नो जागिर व्यवस्थापन गर्न कठिन भयो। मेरो श्रीमान पनि एक्लो सन्तान हो। जसले गर्दा दुइटा परिवार व्यवस्थापन गरेर अघि बढ्न गाह्रो भयो,’ जेनीले सेतोपाटीसँग भनिन्,‘मैले धेरै समय सँगै लैजाने प्रयास गरे पनि नसकेपछि यसको विकल्प सोच्नुपर्छ भनेर केयर होममा त्यस्ता आमा बुवालाई राखेर सेवा दिँदा के हुन्छ होला भन्ने मनमा आयो। अनि २०७६ सालदेखि यसमा आवद्ध भएँ।’
जेनीका अनुसार अलोकी केयर होमले मुख्य तीन वटा सेवा दिन्छ।
पहिलो, जो परिवारले आफ्ना अभिभावकलाई सँगै राख्न चाहन्छन् तर दिउँसोमा आफ्नो जागिर अनि व्यवसाय छ भने त्यस्ता जेष्ठ नागरिकलाई लक्षित गरेर दिवा सेवा छ। बिहान आएका बुढाबुढी दिनभरि त्यहीँ बस्छन् अनि बेलुका छोरा-छोरी वा आफन्त आएर लिएर जान्छन्। दिउँसो औषधी खानुपर्ने वा अस्पताल लैजानु परे केयर होमले नै व्यवस्था गरिदिन्छ।
‘दोस्रो कुरा हामीले आवासीय सेवामा रहने आमा-बुवालाई चौबीसै घन्टा हेरचाह पनि गर्छौं, जसलाई अरूको हेरचाह चाहिन्छ त्यस्ता आमा बुवालाई हामीले यहाँ राख्छौं,’ जेनीले भनिन्,‘तेस्रो,हामीले अस्पतालको बसाइपछिको स्वास्थ्य पुनर्स्थापना पनि गर्छौं। जसलाई फिजियोथेरापी लगायतका सेवा चाहिन्छ, त्यस्ता व्यक्तिलाई समेत सेवा उपलब्ध छ। गम्भीर स्वास्थ्य समस्या भएका अन्य उमेर समूहकालाई समेत हामीले सेवा दिन्छौं।’
आफूहरूले १ सय २ वर्षकी आमालाई पनि सेवा दिएर पठाएको र अहिले ९३ वर्षकी आमालाई हेरचाह गरिरहेको उनले बताइन्।
‘सानोभन्दा सानो स्वस्थ्य समस्या हुँदासमेत परिवारको समय यसै खेर जान्छ। त्यस्ता आमा-बुवालाई समेत हामी हेरचाह गर्छौं,’ उनले भनिन्, ‘कतिपयका सन्तान यहीँ भएर पनि कामले व्यस्त छन्। कतिपयका सन्तान विदेश छन् भने पनि हामीले हेरचाह गर्छौं। पौष्टिक खानादेखि समयमा खाना खुवाउने सम्मको सेवा दिनुपर्छ।’
जेष्ठ नागरिकको कुरा सुनिदिने, समस्याको समाधान गरिदिने अनि आफ्नै उमेर समूहकाको भेट हुने हुँदा उनीहरूलाई केयर होममा थप सहज भएको जेनीको दाबी छ।
यस्ता केयर होममा आमा-बाबुलाई ल्याउन अझै पनि धेरैले अप्ठेरो मान्ने गरेको उनको अनुभव छ। यसलाई वृद्धाश्रमको रूपमा हेर्न नहुने उनले बताइन्। चाहेर पनि आमा-बुवाको सेवा गर्न नसकेका परिवारका लागि यस्ता केयर होम उपयक्त हुने उनको भनाइ छ। कतैबाट आर्थिक सहयोग नलिइकन सञ्चालन भएको प्राइभेट लिमिटेड भएकाले सेवाग्राहीबाट शुल्क लिने र शुल्क अनुसारको सेवा दिने गरेको जेनीले बताइन्।
‘सामान्यत: महिनाको ४० देखि ४५ हजार रुपैयाँ लाग्छ। किनकी हामीले ६ देखि ८ पटकसम्म खाना खुवाउँछौं। त्यही अनुसारको हेरचाह पनि गर्छौं। सामान्य सहयोग चाहिनेका लागि भने अझै फरक हुनसक्छ। सन्तानले चाहँदा चाहँदै पनि सेवा गर्न नसक्ने जेष्ठ नागरिकलाई मात्र यहाँ ल्याइन्छ। हाम्रो चाहना पनि यही हो,’ उनले भनिन्,‘जेष्ठ नागरिक जोसँग पुग्दो सम्पत्ति छ तर उहाँहरूले सुरक्षित जीवनयापन गर्न पाउनुभएको छैन भने त्यस्ता आमा-बुवाको लागि पनि यो ठाउँ उपयुक्त छ।'
परिवार र समाजले के भन्छ भनेर केयर होममा ल्याउन डराउनेहरूले एक पटक आफूहरूको सेवा- सुविधा हेर्न पनि उनले आग्रह गरिन्।
आफूहरूको सेवा-सुविधा हेरेकाहरूले ढुक्कसाथ आफ्ना आमा-बाबुलाई ल्याएर राखेका छन्। विदेशमा हुनेहरूले त अझै सकरात्मक प्रतिक्रिया दिएका छन्। अष्ट्रेलियालगायत देशमा रहेका सन्तानले आफूले पनि त्यस्तै ठाउँमा काम गरेकाले राम्रो कामको सुरूवात गरेको भनेर खुसी हुँदै सेवा लिएको जेनीले बताइन्।