यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
खासमा उनको नाम सुनिल थियो। कक्षामा तीक्ष्ण थिए। शिक्षकले सोधेको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिन्थे।
सुनिल कक्षा ६ मा पढ्दै थिए। दोस्रो घण्टीमा अंग्रेजीको कक्षा थियो। अंग्रेजी पढाउने शिक्षक अलिक कठिन प्रश्न सुनिललाई नै सोध्थिन्।
एक दिनको कुरा हो शिक्षकले सधैंझैं प्रश्न सोधिन्। सुनिल केही अलमलमा परे। हो कि होइन भन्ने लाग्दालाग्दै जवाफ दिए। शिक्षकले त्यही प्रश्न अरू केहीलाई सोधेपछि सुनिल आफ्नो जवाफ मिलेकोमा ढुक्क भए।
अब शिक्षकको स्याब्बासी पाउने कुरामा सुनिल पक्का भए। जवाफ मिलेको थियो तर सधैंभन्दा विपरीत त्यस दिन सोच्दै नसोचेको घटना भइदियो।
शिक्षकले सुनिललाई उभ्याइन् अनि भनिन्, 'यो सुनिल केटा हो कि केटी हो? अब के भनेर बोलाउनु?'
सुनिल छाँगाबाट खसेझैं भए। साथीहरू छानै उचालिने गरी खित्का छाडेर हाँसे। सुनिल कालोनीलो भए।
यतिन्जेलमा तेस्रो घण्टी लाग्यो। सुनिलले कक्षामा बस्ने साहस गुमाए। स्कुल छुट्टी नहुँदै घर गए। त्यो दिन रोएरै बित्यो।
सुनिललाई मर्नै मन लाग्यो रे। मर्ने विचार बलियो हुँदै गयो। अर्को दिन स्कुल गएनन्। स्कुल गएर कक्षामा पसेको र आफूलाई देखेर साथीहरू हाँसेको कल्पना गरे। मर्ने नै चाहना भयो। दोस्रो दिन पनि स्कुल गएनन्।
मर्ने टुंगो गर्दै थिए। आमाबुबा सुम्झे। दाजुदिदीहरू सम्झे। तत्कालका लागि निर्णय फेरियो। दुई दिन घर बसेर आँसुले मनको पीडा धोए। तेस्रो दिनमा स्कुल गए।
सुनिल जसोतसो हिम्मत जुटाएर स्कुल त गए तर चैन भएन।
'तीन दिनपछि म फेरि स्कुल गएँ तर साथीहरूले मलाई दुर्व्यवहार गर्न थाले। बसेको ठाउँमा पछाडिबाट सर्टमा कोरिदिने, मसी लतपत्याइदिने गर्न थाले,' उनले भने, 'आफ्नै साथीहरूले त्यस्तो नराम्रो व्यवहार गर्दा पनि केही बोल्न सक्दिनथेँ। निराश हुन्थेँ र रुन्थेँ।'
उनले स्कुलको घटना घरमा सुनाउन सकेनन्। घरमा पनि आफैंलाई गलत ठान्ने हुन् कि भन्ने पर्यो। पीडा आफैंभित्र गुम्सियो।
सुनिल सानैदेखि चित्र बनाउन सिपालु थिए। आफ्नो पीडा चित्रमा प्रकट गर्न थाले। चित्रमा अलमलिँदा मनको पीडा भुल्थे।
३५ वर्षअघि रामेछापमा जन्मेका उनी कान्छो सन्तान भए। छोरो जन्मेकामा आमाबुबा खुसी थिए। उनी सानैदेखि चञ्चले स्वभावका थिए। गुडिया खेल्न मन लाग्थ्यो। केटीहरूलाई साथी बनाउन र उनीहरूसँगै खेल्न मन लाग्थ्यो। घरमा बढी समय दिदीसँगै बित्थ्यो।
स्कुलमा सुनिलको हाउभाउ केटीको जस्तो थियो। धेरै जसो केटीहरूसँगै बस्थे, उनीहरूसँगै हिँड्थे। सानै छँदा उनको स्वभावबारे कसैलाई पनि ख्याल भएन। उमेर बढ्दै जाँदा साथीहरूले शंका गर्न थाले। घरमै पनि शंका भयो।
सुनिलले थाहै नपाई साथीहरूले उनलाई 'हिजडा' र 'छक्का' भन्न थालेका रहेछन्। घरमै पनि उनले आफूलाई छक्का भनेको सुने। 'केटी हुनु पर्ने केटो भएर जन्मेछ' भनेर मुखेन्जी भन्नेहरू पनि भेटिन थाले।
यतिन्जेलसम्म पनि उनले आफूलाई किन यस्तो भनेको हो, मलाई किन हाँसोको पात्र बनाएको हो भन्ने थाहा पाएनन्। उनले आफ्नो आनीबानी केटाको जस्तै बनाउने प्रयास गरे तै पनि सफल भएनन्। अरूले उनलाई केटीकै स्वभावको देखे।
स्थायी घर रामेछाप भए पनि सबै परिवारजन काठमाडौंमा बस्थे। सुनिल बागबजारको एउटा स्कुलमा पढ्थे। एक दिन साँझपख स्कुलबाट फर्कने क्रममा उनी रत्नपार्कतिर भुलिरहेका थिए। एक महिलाले अचानक उनलाई बोलाइन्। ती महिलाले सुनिलको स्वभाव पहिचान गरेर बोलाएकी थिइन्।
खासमा ती महिला ट्रान्सवुमन अर्थात पारलैंगिक महिला थिइन्, पुरुष शरीरमा महिला स्वभाव भएकी। ती महिलाले सुनिलको अवस्थाबारे जानकारी लिइन् र ढाढस दिइन्। एक दिन उनले सुनिललाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक-अधिकारका लागि काम गर्ने संस्था नील हीरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को कार्यालयमा पुर्याइन्।
त्यो समय संस्थाका अध्यक्ष थिए सुनिलबाबु पन्त। पन्तले सुनिलको अवस्थाबारे जानकारी लिए। त्यहाँ सुनिलले आफू पारलैंगिक महिला रहेछु भन्ने थाहा पाए। आफूजस्तै अरू व्यक्तिहरूसँग भेट्न र कुरा गर्न पाए।
नील हीरा समाजको सम्पर्कमा पुगेपछि सुनिलले आफूलाई चिने। आफ्नो लैंगिक स्थितिबारे थाहा पाए। आफू पारलैंगिक केटी हुँ भन्ने कुरामा प्रष्ट भए।
त्यहीँ चिनिएका साथीहरूले सुनिलको महिला नाम सोफी राखिदिए। अब केटा सुनिल सुनुवार केटी सोफी सुनुवार भइन्। सुनिलको जीवनले सोफी भएर नयाँ बाटो समात्यो।
सोफी दस कक्षामा पढ्दै थिइन्। नील हीरा समाजको सम्पर्कले पारलैंगिक समुदायका बारेमा थाहा पाउँदै गइन्। हप्तामा एक पटक समाजको कार्यालयमा पुग्थिन्।
सोफीले एसएलसी परीक्षा उत्तीर्ण गरिन्।
'मैले कलेज पढ्ने खर्च आफैं जुटाउने विचार गरेँ,' सोफीले भनिन्, 'नील हीरा समाजले मासिक दुई हजार रूपैयाँ पाउने गरी थोरै काम दियो। यसले गर्जो टर्न थाल्यो।'
केटी नै हुँ भन्ने पक्का भए पनि केटीको हुलियामा हिँड्ने आँट आइसकेको थिएन। राति मेकअपसहित केटीको हुलियामा रमाउने र दिउँसो केटाकै हुलियामा हिँडिन्। उनको यस्तो अवस्थाबारे घरमा छलफल हुन थाल्यो। छिमेकीहरूले पनि सुइँको पाएर कुरा काटिरहेका थिए।
परिवारमा आफ्नो अवस्थाबारे खुलेर सबै बताए पनि उनले सहयोग पाइनन्। अन्ततः घर छाडेर डेरामा बस्न थालिन्।
दिन बित्दै थियो। नील हीरा समाजमार्फत सोफीले 'ढोकामै आर्ट' नामको प्रोजेक्टमा बैंकक जाने मौका पाइन्। उनले त्यहाँ रूखमा स्याउ फलेको चित्र बनाइन्। धेरै स्याउमध्ये एउटा स्याउमा नीलो रङ दिइन्।
आयोजक र सहभागीहरू सबैको ध्यान फरक रङको स्याउमा गयो। खासमा उनी धेरैमा एउटा फरक हुनुको अर्थ बुझाउन चाहन्थिन्। त्यो फरक रङ नियाल्ने व्यक्तिको अवस्था कस्तो हुन्छ, यसरी फरक हुनु राम्रो हो कि नराम्रो भन्ने कुरा चित्रबाटै बुझाउन चाहन्थिन्।
सोफीले भनिन्, 'मैले त्यसरी स्याउको एउटा मात्रै दानामा फरक रङ प्रयोग गर्नुको अर्थ बताएँ। मेरो छनोट र चित्र सबैले मन पराए। एकदम राम्रो विषय उठाएको भनेर धन्यवाद दिए।'
यसरी उनले धेरैको समूहमा थोरै व्यक्ति फरक हुनु नराम्रो होइन भन्ने कुरा बुझाइन्। म अरू सबै सरहको मानिस हुँ तर स्वभावले अलिक फरक छु भन्ने कुरा बुझाइन् जसरी अरूभन्दा उनको चित्रमा नीलो रङको एक दानो स्याउ फलेको थियो।
सोफीले बैंककमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले खुलेर काम गरेको देखिन्। आफूजस्ता व्यक्तिहरू महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसेको पनि देखिन्। यसबाट उनको हौसला बढ्यो। पारलैंगिक महिलाका रूपमा जीवन बाँच्ने आँट बलियो भयो।
'हाम्रो देशमा अझै पनि लैंगिक तथा यौनिक अल्पसंख्यकलाई यौन पेसा गर्ने व्यक्तिका रूपमा बुझ्ने चलन छ,' सोफी भन्छिन्, 'विदेशमा हामीजस्ता व्यक्ति उच्च पदहरूमा देख्न पाउँदा खुसी लाग्यो। हामी पनि गर्न सक्छौं भन्ने हिम्मत आयो।'
उनले पारलैंगिक महिलाहरू ब्युटिसियन भएर काम गरेको देखिन्। यस्ता व्यक्तिहरू कुनै किसिमको हीनताबोध बिना सशक्त ढंगले काममा लागेको देखिन्। उनले पनि आफू ब्युटिसियन हुनु र पेसा अघि बढाउनु उचित ठानिन्।
नेपाल फर्कनासाथ सोफीले सन् २००६ मा ६ महिनाको मेकअप तालिम लिइन्। उनी संलग्न संस्थाले ब्युटिपार्लर खोल्न सहयोग गर्यो। उनले नृत्य पनि सिकिन्। आफैं आफ्नो मेकअप गरेर नृत्यमा सहभागी हुन थालिन्।
दर्शकहरूले मेकअप मन पराएर सोधीखोजी गरे। मेकअपको तारिफले सोफी उत्साहित भइन्। नील हीरा समाजका अध्यक्ष सुनिलबाबुको सहयोगमा विदेशी प्रशिक्षकबाट मेकअपको थप तालिम लिन पाइन्। सोफीले मेकअपका सामान जुटाएर काम सुरू गरिन्। आफूले थालेको पेसाको प्रचार गरिन्। चिनारुहरू सबैलाई सुनाइन्।
यही क्रममा उनले एउटा अवसरको सदुपयोग गर्ने विचार गरिन्। सन् २००९ को मिस नेपाल प्रतियोगितामा निःशुल्क मेकअप गरिदिने मेकअप आर्टिस्टका रूपमा कामका लागि अनुरोध गरिन्। प्रतियोगितामा काम त गरिन् तर उनले सोचेजस्तो भएन।
'आयोजकहरूले अपेक्षित सहयोग गरेनन्। म उत्साहित हुन सकिनँ। तर चाँडै मेकअप आर्टिस्ट ट्रान्सवुमन सोफी भनेर परिचित हुनेछु भन्ने अठोट गरेँ,' उनले भनिन्, 'मिस नेपालका आयोजकहरूको उपेक्षाभावको बदलामा ममा यस्तो दृढता जागेको थियो।'
फेरि अर्को एउटा अवसर आयो, मेकअप प्रतियोगिता हुने भयो। उनी सहभागी भइन् तर विजयी हुन सकिनन्।
'म मेकअप आर्टिस्ट हुन सक्दिनँ कि, असफल मात्र हुँदैछु' भन्ने निराशाको भाव पनि उत्पन्न भयो।
प्रतियोगितामा भाग लिन सोफीले आफ्नी साथी अन्जली लामाको मेकअप गरेर फोटो पठाएकी थिइन्। नसोचेको कुरा के भयो भने अञ्जलीको फोटो खिच्ने फोटोग्राफरले एक दिन अचानक सोफीलाई फोन गरे।
एउटा म्यागेजिनका लागि अभिनेत्री नम्रता श्रेष्ठको फोटो खिच्न उनको मेकअप गरिदिनु पर्ने भयो। त्यही फोन र नम्रताको मेकअपले सोफीको सपना साकार हुने मार्ग खोलिदियो।
अब सोफीलाई अवसरको कमी भएन। साँच्चै मेकअप आर्टिस्ट बनिन्। आफू आत्मनिर्भर भइन्। आत्मसन्तुष्टि बढ्दै गयो। सोफी यतिमा मात्रै सीमित भइनन्। उनले प्रशिक्षण पनि दिन थालिन्। पेसा तय भयो। जीवनले बाटो समात्यो। आर्थिक रूपमा आत्मनिर्भर भइन्।
तर उनको लैंगिक स्थिति घरमा अझै पनि स्वीकार्य भएको छैन। उनी डेरामै बस्छिन्। बुढी भएकी आमाको चित्त दुखाउन चाहन्नन्। कहिलेकाहीँ घर जान्छिन् तर पुरुष हुलियामा।
'म महिला भएर गइदिँदा गाउँहरूले आमालाई नचाहिँदो कुरा सुनाउँछन्। आमाको मन नदुखोस् भनेर म छोरा नै भएर जान्छु,' सोफी भन्छिन्, 'कहिलेकाहीँ दाइसँग भेट हुन्छ तर नचिनेको जस्तो गर्नुहुन्छ। त्यस बेला भक्कानिएर रुन मन लाग्छ तर आफूलाई सम्हाल्छु।'
सोफी आफूलाई पारलैंगिक महिला भूमिका श्रेष्ठसँग दाँजेर हेर्छिन्। त्यस बेला आकाश–जमिनको फरक पाउँछिन्।
उनले भनिन्, 'भूमिकाले अवार्ड पाउँदा उनकी आमा भूमिकालाई अँगालो हालेर रुनुभएको थियो। आमा र दाइले मलाई यसै गरी अँगालो हालेर मेरो मन कहिले बुझ्ने होला भन्ने लाग्छ।'
सोफीले महिला लैंगिक पहिचानसहितको नागरिकता प्रमाणपत्र बनाउन खोजिन्। तर त्यसका लागि कानुनी प्रक्रिया पूरा गर्न नसक्ने ठहर गरिन्। उनी पुरुष नाम र पुरुष लैंगिक पहिचानकै नागरिकताले काम चलाउँदै छिन्। उनी लैंगिक पहिचानमा 'अन्य' लेखेको नागरिकता लिन चाहन्नन्।
सोफी मेकअप आर्टिस्टकै रूपमा रमाएकी छन्। आफूजस्तै पारलैंगिक महिलाहरूलाई निःशुल्क तालिम दिने गरेकी छन्। हालसम्म करिब हजार जनाले आफूसँग तालिम लिएको उनले बताइन्।
सोफी हाल 'रिभिल मेकअप स्टुडियो' चलाउँछिन्। फिल्मी कलाकार, नृत्यंगना, म्युजिक भिडिओका कलाकारहरू लगायतको मेकअप गर्छिन्। अहिले उनी नेपालको 'पहिलो ट्रान्सवुमन मेकअप आर्टिस्ट' भनेर परिचित छिन्।
उनी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू जनप्रतिनिधिमा निर्वाचित भएको; डाक्टर, इञ्जिनियर, वकिल, पाइलट भएको, उनीहरूले उच्च पद सम्हालेर जिम्मेवारी पूरा गरेको देख्न चाहन्छिन्।
आफूलाई समयमै चिन्न सके सबै कुरा सम्भव हुने सोफीको विश्वास छ।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी
यी पनि पढ्नुहोस्ः
पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'
'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ'
६५ वर्षे छुटकनु भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो