छ महिनापछि छोरीसँग सुन्धारा घुम्दा म आजको दिन सम्झिँदै हुनेछु, जब मनसुनको सिमसिमे झरीमा रूझ्दै पुनर्निर्माण हुँदै गरेको सुन्धारा क्षेत्र रिपोर्टिङ गर्न आएको थिएँ।
सुन्धारा आजभन्दा बिल्कुलै फरक छ।
यहाँ ४२ रोपनीको खुला पार्क छ जहाँ मध्यम उचाइका रूख, हरिया बुट्यान र रंगीबिरंगी फूलहरू छन्।
रूखको छहारीमा सुस्ताइरहेका बूढाबूढीको हाँसो र बल आसपास खेलिरहेका केटाकेटीको किलकारी पार्कभरि गुञ्जिएको छ।
युवायुवती कोही कम्मरमा हात बाँधेर, कोही एकअर्काका हात अँठ्याएर कछुवाभन्दा सुस्त हिँड्दै छन्।
मेरी छोरी छेउको भिडतिर इसारा गर्छे — त्यहाँ नयाँ धरहरा चढ्न टिकट काट्नेहरूको घुइँचो छ।
कतिले यसलाई झिल्के टावर भन्छन्। कतिले नक्कली धरहराको नाउँ दिएका छन्। तर यो टावरले २२ तलाको उचाइबाट काठमाडौं हेर्ने धेरैको धोको मेटेको छ।
म तलबाट देख्छु, अठारौं तलाको ‘अब्जरभेसन डेक’ मा मान्छेका छाया सल्बलाइरहेका छन्।
उनीहरूका आँखाबाट हेर्दा तल जमिनमा उभिएका हामी कीराजस्ता सल्बलाइरहेका हुँदा हौं!
‘हामी आज धरहरा चढ्दैनौं,’ म छोरीलाई फकाउँछु र पछाडिको ठुटे धरहरातिर लैजान्छु।
यो भुइँचालोमा ढलेको ‘सक्कली’ धराहराको अवशेष हो। यसलाई भित्रभित्र रेट्रोफिट गरेर बाहिरबाहिर रसायनको लेप दलिएको छ। पहिले यो अवशेषलाई सिसाले छोपेर राख्ने भनिएको थियो। पुरातत्वविदहरूले ऐतिहासिक सम्पदा छोप्न हुँदैन भन्ने राय दिएपछि ह्वांगै छाडिएको छ र घामपानीबाट जोगाउन रसायन लेपन गरिएको छ।
ठुटे धरहरामुनि भुइँचालोमा ज्यान गएकाहरूको नाउँ कुँदेर ‘मेमोरियल’ निर्माण गरिएको छ।
हामी त्यो मेमोरियल र ठुटे धरहरा पृष्ठभूमिमा राखेर सेल्फीहरू खिच्छौं र मल्लकालीन लुँहिति अर्थात् सुन्धारातिर झर्छौं।
लुँहितिका तीनटा धाराबाट कलकल पानी आउँदैछ। केटाकेटीहरू पानी छ्यापाछ्याप खेल्दै छन्। उनीहरूको आधा ज्यान लुछुप्पै भिजेको छ। माथि तहतह डिलमा हरिया घाँस उम्रेका छन्। केटाकेटीका आमाबाबु घाँसमाथि बसेर गफिँदै छन्, सँगसँगै पानीमा रमाइरहेका नानीहरूको रखवारी गर्दैछन्।
यहाँ अचेल बाह्रैमास, चौबीसै घन्टा पानी झर्छ। मेरी छोरी केही बेर पानीसँग खेल्छे, फोटो खिच्छे।
म माथि तहतह डिलमा उभिएर छोरी रमाएको हेरी बस्छु।
छ महिनापछि सुन्धारा पुगेर यी सब अनुभव गर्दा म आजको दिन सम्झिँदै हुनेछु, जब पुनर्निर्माण हुँदै गरेको सुन्धाराबारे रिपोर्टिङ गर्न इञ्जिनियर सञ्जय नकर्मीलाई भेट्न आएको थिएँ।
निर्माण कम्पनी रमन कन्स्ट्रक्सनका इञ्जिनियर नकर्मीका अनुसार सुन्धारा पुनर्निर्माणको काम ८० प्रतिशत सकिएको छ।
तीन अर्ब आठ करोड रूपैयाँ लागतको यो आयोजनामा अहिलेसम्म दुई अर्ब २० करोडका काम सकिएको उनले जानकारी दिए।
‘असोजसम्म संग्रहालयबाहेक सबै काम पूरा हुनेछन्,’ उनले भने, ‘आउँदो दसैंदेखि सर्वसाधारणका लागि खुला गर्ने गरी औपचारिक उद्घाटन गर्ने तयारी छ। संग्रहालयको काम भने पुससम्म सकिन्छ।'
पुनर्निर्माणको अन्तिम चरणमा पुगेको सुन्धारा क्षेत्रमा अहिलेसम्म के के काम सकियो? के के बाँकी छ?
नकर्मीले यसबारे सविस्तार वर्णन गरे।
सबभन्दा पहिला लुँहितिको कुरा गरौं जहाँ पहिलेजस्तै पानी आउँछ कि आउँदैन र आए पनि कसरी आउँछ भन्ने सबैलाई चासो छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पानी आपूर्तिका तीन विकल्प अघि बढाएको थियो।
प्राधिकरणले नयाँ धरहरासहित करिब ६० प्रतिशत काम सकेर सहरी विकास मन्त्रालयलाई जिम्मा लगाएको थियो। हस्तान्तरण गर्नुअघि प्राधिकरणले तय गरेका विकल्प यस्ता छन्–
एक, यही ठाउँमा बोरिङ गरेर भूमिगत पानी प्रयोग गर्ने।
दुई, खानेपानी पाइपलाइन जोडेर आपूर्ति गर्ने।
तीन, बर्खा बेला टुँडिखेलमा जम्मा हुने भूमिगत पानी संकलन गरी यहाँ पठाउने।
यसमध्ये बोरिङको काम पूरा भइसकेको छ। तर सम्पदा संरक्षण अभियन्ताहरूले सांस्कृतिक महत्वको सुन्धारामा बोरिङ नगर्न आवाज उठाएपछि यो विकल्पमा नजाने निर्णय भइसकेको छ।
बोरिङको पानी प्रयोग नगर्ने भएपछि दुइटा विकल्प रहन्छन् — खानेपानीको पाइप जोड्ने वा टुँडिखेलबाट आपूर्ति गर्ने, नकर्मीले भने, ‘हामी दुइटै विकल्पमा सँगसँगै काम गरिरहेका छौं।’
उनका अनुसार टक्सार विभागले प्रयोग गरिरहेको खानेपानी पाइप यहाँ पहिलेदेखि छ। त्यसैमा मेलम्ची प्रणाली जोडेर नियमित पानी आपूर्ति गर्न सकिन्छ।
‘यसबाट तीन महिनामै सुन्धारामा पानी खसाल्न सकिन्छ,’ नकर्मीले भने, ‘दीर्घकालीन रूपले आपूर्ति गर्न टुँडिखेलको भूमिगत पानी तानेर सुन्धारामा झार्ने तयारीमा छौं।’
यसका लागि पुनर्निर्माण प्राधिकरणले टुँडिखेलको कुन भागमा पानीको सतह कति छ भनेर परीक्षण गरेको थियो। तल्लो भाग अलिकति भिरालो भएकाले पानीको सतह कम पाइएको छ। लाजिम्पाटदेखि टुँडिखेलको महांकालसम्म पानीको सतह धेरै छ।
प्राधिकरणले महांकाल मन्दिर पछाडि खनेर हेरेको थियो। करिब १७ फिट खन्दा पानी फेला परेको थियो। त्यसै आधारमा महांकाल पछाडि इनारहरू खनेर त्यहाँको पानी सुन्धारा ल्याउने तयारी भइरहेको छ।
टुँडिखेलको पानी प्रयोग गर्न थप अध्ययन जरूरी भएको नकर्मी बताउँछन्।
‘पहिले हामीले सुख्खा याममा परीक्षण गरेका थियौं,’ उनले भने, ‘भूमिगत पानीको सतह सिजनअनुसार फरक पर्छ। हरेक महिना र हरेक सिजनमा पानी कति हुन्छ भन्ने हिसाब निकाल्नुपर्छ। सबभन्दा कम पानी हुने सिजनमा कति आपूर्ति हुन्छ र त्यसको निम्ति कति गहिरो खन्नुपर्छ भन्ने थाहा भएपछि मात्र इनार खन्ने काम अघि बढ्छ।’
टुँडिखेलमा इनार खन्न प्राधिकरणले नेपाली सेनासँग पत्राचार गरेको थियो। सहरी विकास मन्त्रालयको जिम्मामा आएपछि उसले पनि सेनासँग पत्राचार गरिरहेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही दिनअघि सुन्धारा निरीक्षण गर्दा टुँडिखेलमा इनार खन्नेबारे प्रधानसेनापतिसँग कुराकानी भइसकेको बताएका थिए। उनले काम अघि बढाउन सेनापतिलाई ‘फोन गरिदिने’ जानकारी पनि आयोजनाका अधिकारीहरूलाई दिएका थिए।
‘बालेन शाहले त्यसो भनेपछि सेना एक्टिभ छ। हामीले छिट्टै महांकाल पछाडि पानीको सतह जाँच्न पायौं भने इनार खन्ने काम सुरू गरिहाल्न सक्छौं,’ नकर्मीले भने, ‘विस्तृत रिपोर्ट आइसकेपछि कतिवटा इनार खन्नुपर्छ भन्ने तय हुनेछ।’
‘त्यो पानी सुन्धारासम्म कसरी ल्याउने त?’
यो प्रश्नमा नकर्मीले भने, ‘पाइपलाइनबाट। पहिले हुन्थ्यो भने सडक खनेर पाइप बिछ्याउनुपर्थ्यो। सधैं व्यस्त रहने सडक खन्नुपर्ने भएकाले योजना थाती रहँदै आएको थियो। अब सडक खन्नुपर्दैन।’
‘सडक नखनी कसरी ल्याउने त?’
‘नयाँ प्रविधि आएको छ,’ उनले भने, ‘सडक खन्दै नखनी जमिन मुनिमुनिबाटै पाइप बिछ्याउन मिल्छ। यसलाई चाहिने मेसिन हाम्रो कन्स्ट्रक्सनले झिकाइसकेको छ। त्यो मेसिनको पहिलो प्रयोग सुन्धारामै हुन्छ होला।’
मान्छेको शरीरमा ‘इन्डोस्कोपी’ गर्दा जसरी मुखको बाटो हुँदै पेटसम्म पाइप घुसारिन्छ, त्यसरी नै टुँडिखेलबाट जमिनमुनि छिराएको पाइप सिधै सुन्धारामा निकाल्न सकिँदो रहेछ।
‘यो विधि अलि खर्चिलो भए पनि समय बचत हुन्छ। व्यस्त सडकको आवागमनमा समस्या आउँदैन, काम गर्न सजिलो हुन्छ,’ उनले भने।
टुँडिखेलबाट तानेको पानी जम्मा गर्न सुन्धाराको ठ्याक्कै पछाडि ट्यांक निर्माण गरिनेछ र आवश्यकताअनुसार सुन्धारामा पानी खसाल्ने योजना छ, नकर्मीले भने, ‘टुँडिखेलबाट बाह्रै महिना पानी आपूर्ति नहुन सक्छ। त्यो बेला खानेपानी पाइप जोडेर भए पनि सुन्धारामा पानी झार्न सकिन्छ।’
यो योजना पूर्ण रूपमा कार्यान्वयन गर्न बजेटको समस्या भएको उनले बताए।
‘पुनर्निर्माणका लागि तोकिएको कामको विवरणमा सुन्धारा सफा गर्ने, त्यहाँ टुटफुट भएका वा हराएका ढुंगा पुनर्स्थापना गर्ने र सुन्धाराका पाँच धारामध्ये तीनटामा सुनको जलप लगाउने मात्र परेका छन्। टुँडिखेलमा इनार खनेर पानी तान्ने काम मास्टरप्लानमा छ तर हामीलाई दिइएको विवरणमा छैन। त्यसैले यो काम गर्न थप समय र बजेट लाग्न सक्छ,’ उनले भने।
यसबारे मैले आयोजना निर्देशक कोषनाथ अधिकारीसँग कुरा गरेँ।
पानी आपूर्तिका सबै विकल्प तयार भए पनि कुन रोज्ने तय नभएकाले निर्माण कम्पनीलाई दिइएको विवरणमा समावेश नगरिएको उनको भनाइ छ।
‘यो आयोजना धरहरा बनाउने र त्यस वरिपरिको पाँच रोपनी क्षेत्र पुनर्निर्माण गर्ने गरी सुरू भएको थियो,’ उनले भने, ‘समयक्रममा आयोजना विस्तार हुँदै आज ४२ रोपनीमा काम हुँदैछ। त्यसैमा सुन्धारा जिर्णोद्धार गरी पहिलेजस्तै कलकल पानी झार्ने योजना पनि परेको छ।’
उनले अगाडि भने, ‘निर्माण कम्पनीलाई दिएको विवरणमा छ कि छैन भन्नेले सुन्धारामा पानी झार्ने योजनामा समस्या आउँदैन। थोरै बजेट तलमाथि भए पनि समायोजन हुनेछ।’
‘उसो भए सुन्धारामा कहिलेसम्म पानी झर्छ?’ मैले नकर्मीलाई सोधेको प्रश्न आयोजना निर्देशक अधिकारीलाई पनि सोधेँ।
‘तीन महिनाभित्र सुन्धारामा पानी आउँछ,’ उनले भने, ‘सुरूमा हामी खानेपानी पाइपलाइनबाटै पानी झार्छौं। त्यसबीच टुँडिखेलको महांकालमा इनार खन्ने काम हुनेछ। टुँडिखेलमा बाह्रै महिना पानीको सतह मापन गरिसकेपछि त्यहाँबाट तानेर सुन्धारामा जोड्नेछौं।’
‘सुन्धारामा प्राकृतिक रूपले पानी आपूर्ति गराउने बाटो यही हो। मल्लकालदेखि टुँडिखेलकै बाटो पानी झारिँदै आएको थियो। काठमाडौं मल बनाउँदा कुलो पुरियो। हामी त्यसलाई नयाँ ढंगमा पुनर्निर्माण गर्दैछौं।’
यो त भयो पानी आपूर्तिको कुरा, अब चर्चा गरौं निकासको।
कुनै पनि पोखरी वा ढुंगेधारामा पानी आपूर्तिसँगै निकासको पनि प्रबन्ध हुनुपर्छ। सुन्धारामा जम्मा हुने पानी निकास निम्ति ठाउँठाउँमा मंगाल बनाएर पहिले हुलाक कार्यालय भएको ठाउँसम्म लगिएको छ। त्यहाँ पानी जम्मा गर्न भूमिगत इनार खनिएको छ। यही इनारका कारण अहिले पनि सुन्धारामा पानी जमेको छैन।
अब प्रश्न उठ्छ, इनारमा जम्मा हुने पानी निकास चाहिँ कसरी गर्ने त?
पहिलेको योजनाअनुसार यो पानीलाई टुँडिखेलको मंगालमा पठाउने र त्यहाँबाट ढलको बाटो टुकुचामा खसाल्ने भनिएको थियो।
यसमा एउटा समस्या आयो।
सुन्धारा जमिनको सतहभन्दा तल छ। त्यसैले यहाँबाट निकास हुने पानी जम्मा गर्न जुन इनार खनिएको छ, त्यो पनि जमिनको सतहभन्दा साढे ११ मिटर गहिरो छ।
यति गहिरो इनारमा जम्मा हुने पानी मंगालमा पठाउन मेसिन प्रयोग नगरी हुन्न। पहिले दुइटा पम्पले तानेर मंगालमा पठाउने योजना थियो। स्थानीय बासिन्दा तथा सम्पदा संरक्षण अभियन्ताहरू यसमा सहमत छैनन्। पानी आपूर्ति र निकास प्राकृतिक रूपले नै हुनुपर्ने उनीहरूको माग छ। त्यसो भएन भने सुन्धाराको मौलिकता हराउने उनीहरू बताउँछन्।
विकल्प के त?
‘यसका लागि इनारकै गहिराइमा भूमिगत ढल बिछ्याएर टुकुचा वा त्रिपुरेश्वरको विष्णुमती नदीसम्म लैजाने विकल्प छन्,’ नकर्मीले भने।
टुकुचासम्म भूमिगत ढल बिछ्याउन खर्चिलो हुनेछ। दुरी पनि लामो पर्छ। यसको दाँजोमा त्रिपुरेश्वर सजिलो विकल्प हो।
नकर्मीका अनुसार त्रिपुरेश्वरको जयन्ती पेट्रोल पम्पअगाडि अहिले नै ढलको मंगाल छ। सुन्धाराबाट पाइप बिछ्याएर त्यो मंगालसम्म पानी पुर्याउन सकिन्छ र त्यहाँबाट विष्णुमतीमा खसाल्न सकिन्छ।
सुन्धाराबाट त्रिपुरेश्वरसम्म ढल बिछ्याउने कुरा पहिले पनि उठेको थियो। यो बाटोमा जमिनभन्दा करिब चार मिटरमुनि खानेपानी र विद्युत प्राधिकरणका भूमिगत पूर्वाधार छन्। त्यही भएर साढे ११ मिटरमुनि ढल बिछ्याउन समस्या आयो।
नयाँ प्रविधिअनुसार सडक खन्दै नखनी ढल बिछ्याउन सकिने भएकाले अब यो विकल्प कार्यान्वयन गर्न सम्भव छ।
सहरी विकास मन्त्रालयले पानी आपूर्ति र निकासका सबै विकल्पबारे स्थानीय बासिन्दा, वडाध्यक्ष र परामर्शदाताहरूसँग छलफल गरिरहेको अधिकारी बताउँछन्।
‘जमिन मुनिमुनि पाइप बिछ्याउने प्रविधि आइसकेकाले पानी आपूर्ति र निकासको व्यवस्था गर्न गाह्रो छैन,’ उनले भने।
काठमाडौं महानगरका मेयर शाह पनि पानी आपूर्ति र निकास प्राकृतिक रूपमै हुनुपर्ने धारणा राख्छन्।
उनले केही दिनअघि सुन्धारा निरीक्षण क्रममा भनेका थिए, ‘एकचोटि पानी आउन थालेपछि स्थानीयको विश्वास आर्जन हुन्छ। त्यसपछि निकास निम्ति थप प्रक्रिया अघि बढाउन सजिलो हुनेछ।’
लुँहितिपछि अब हामी कुरा गरौं धरहराको।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्षदिनअघि नै उद्घाटन गरे पनि त्यति बेला धरहरा पूरै बनिसकेको थिएन। भर्याङ हाल्न बाँकी थियो। दुइटामध्ये एउटा लिफ्ट मात्र चालू थियो।
अहिले धरहराको काम लगभग सकिएको छ। भर्याङ पूरा भइसकेको छ भने छेउछेउमा स्टिलको ह्यान्डल राख्ने र प्रत्येक तलाको ढलानलाई तलबाट छोप्ने (फल्स सिलिङ) काम जारी छ। लिफ्ट दुइटै चालू भइसक्यो।
नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तला देखिन्छ, भित्र २२ तलाको छ। बाहिरबाट देखिने प्रत्येक एक तला बराबर भित्र दुई तला हुन्छ।
बिक्रम सम्बत् १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले यही स्वरूपको धरहरा निर्माण गराएका थिए। उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा यो स्मारक बनाएको भनाइ छ। १९९० सालको भुइँचालोमा पुरानो धरहरा भत्केपछि नौ तला मात्र पुनर्निर्माण गरियो, जुन भित्रबाट १८ तला थियो।
अहिले बाहिरी ‘आउटलुक’ जस्ताको तस्तै राखिए पनि निर्माण शैली फरक छ। विगतमा सुर्खीचुना प्रयोग गरिएको थियो। यसपालि ‘कंक्रिट’ को बनाइएको छ। सम्पदा अभियन्ताहरूले त्यही भएर यसको विरोध गर्दै आएका छन्।
नयाँ धरहराको अर्को मुख्य भिन्नता यसको भूमिगत संरचना हो।
धरहरामुनि दुई तला ‘अन्डरग्राउन्ड’ हुनेछ। सुरूमा ‘अन्डरग्राउन्ड’ झरेपछि बल्ल धरहरा चढ्ने ठाउँ पुगिन्छ। एउटा लिफ्टले आठ जनालाई माथि चढाउँछ, अर्कोले आठ जना ओराल्छ।
दुवै भूमिगत तलामा धरहराको इतिहास झल्किने सूचना सामग्रीहरू राख्ने योजना छ। यसले नयाँ पुस्तालाई धरहरा कसरी बन्यो, कुन–कुन बेला कसरी ढल्यो भन्ने इतिहास बुझाउँछ। मिनी–थिएटर पनि रहनेछ, जहाँ धरहरासम्बन्धी श्रव्यदृश्य सामग्री देखाइनेछ।
त्यस्तै सूचना केन्द्र, पर्यटकलाई धरहराका चिनो बेच्ने ‘सोभिनियर’ पसल र धरहरा चढ्नेहरूले फोटो खिच्ने स्टुडियो हुनेछ।
तपाईंहरूले दुबईको बुर्ज खलिफा, न्यूयोर्कको इम्पायर स्टेट बिल्डिङ लगायत अग्ला–अग्ला टावर चढ्नुभएको भए याद होला, त्यहाँ टुप्पोमा पुगेपछि खिचिक्क फोटो खिचिदिने मान्छे आउँछन्। तल झरेपछि फ्रेममा सजाइएको फोटो किन्न पाइन्छ। टावरकै आकृतिका ‘सोभिनियर’ बेच्ने पसलहरू पनि हुन्छन्। धरहराको ‘अन्डरग्राउन्ड’ मा ठ्याक्कै त्यस्तै बनाउने योजना छ।
दुवै भूमिगत तलामा रंगरोगन, ढलान छोप्ने र काठको काम भइरहेको नकर्मी बताउँछन्।
जमिनको सतहमा बगैंचाको संरचना र पेभिलियन निर्माणको काम जारी छ। पचास फिट अग्ला तीनटा फोहोरा बनाउने काम पनि हुँदैछ। यी सबै काम तीन महिनामा सकिनेछ।
संरचना निर्माण पूरा भएपछि बगैंचामा मध्यम खालका रूख, बुट्यान र फूलहरू रोप्ने जिम्मा नर्सरीलाई दिइनेछ। धरहरासँगै बाइस धारा निर्माण पनि हुँदैछ। यो बाइस धारा धरहराजत्तिकै पुरानो हो। पहिले सुकेको थियो, अहिले लुँहितिजस्तै ब्युँताइँदैछ।
त्यसपछि आउँछ, संग्रहालय।
पहिले जहाँ राष्ट्र बैंकको टक्सार विभाग थियो, त्यहाँ संग्रहालय बन्दै छ। तल्लो दुई तलामा ‘टक्सार संग्रहालय’ रहन्छ जहाँ पुराना सिक्का र ती सिक्का बनाउने विधि प्रदर्शन गरिनेछ। सिक्का छाप्ने पुराना मेसिन पनि प्रदर्शनमा राखिने छन्।
माथिल्ला दुई तलामा ‘भुइँचालो संग्रहालय’ रहन्छ जहाँ भुइँचालोका अवशेष सुरक्षित राखिने छन्। केटाकेटीलाई भुइँचालो कसरी जान्छ भनेर सचित्र जानकारी दिइनेछ।
संग्रहालयकै एउटा भागमा भुइँचालो अनुभव गर्ने कोठा हुन्छ जहाँ कति म्याग्निच्यूडको भुइँचालो जाँदा जमिन कसरी हल्लिन्छ र कस्तो आवाज आउँछ भनेर प्रत्यक्ष अनुभव गर्न पाइन्छ। केटाकेटीका निम्ति यो अनुभव रोचक हुनेछ।
यति मात्र होइन, धरहरा कसरी ढल्यो, काठमाडौंका अरू संरचना कसरी ढले र गाउँ–गाउँमा घरहरू कसरी ध्वस्त भए भन्ने देखाउन भिडिओ र तस्बिर प्रदर्शनमा राखिने छन्। राहत, उद्धार, पुनर्निर्माण र पुनर्स्थापना गतिविधि देखाइनेछ। भुइँचालो प्रतिरोधक घरका मोडल र बनाउने उपाय पनि प्रदर्शन गरिनेछ।
‘अर्थ साइन्स म्युजियम’ का रूपमा बन्ने यो संग्रहालयमा जापानको प्राविधिक सहयोग रहनेछ।
उता पहिले हुलाक कार्यालय रहेको ठाउँमा ‘अन्डरग्राउन्ड’ पार्किङ बन्दैछ। यहाँ छ हजार मोटरसाइकल र छ सयभन्दा बढी कार अट्नेछन्।
‘पार्किङमाथि जमिनको सतहमा कुनै घर बन्दैन,’ नकर्मीले भने, ‘यहाँ मुनिमुनि पार्किङ हुन्छ, माथिमाथि पार्क।’
यसबाहेक सुन्धारा क्षेत्र र कर्मचारी सञ्चय कोष भवन (काठमाडौं मल) बीचमा सडक निर्माणको काम हुँदैछ।
छ मिटर चौडा यो सडकले टुँडिखेललाई खिचापोखरीसँग जोड्छ। यहाँ एक मिटरको फुटपाथ हुनेछ। महांकालदेखि सुन्धारासम्म बिछ्याइने पानीको पाइपलाइन यही सडक छेउछेउ रहनेछ।
सडक किनार दुइटा संरचना बन्दै छन् — सेन्ट्रल युटिलिटी बिल्डिङ (सियुबी) र फुड कोर्ट। दुवै एक–एकतले भवन हुन्।
सुन्धारा क्षेत्रका लागि अग्नि नियन्त्रक, एअरकन्डिसन कन्ट्रोल र खानेपानीको सञ्चालन सियुबी भवनबाट हुनेछ। यहाँ डेढ लाख लिटर क्षमताको पानी संकलन ट्यांक छ। आगलागी भयो भने यही ट्यांकबाट स्वचालित रूपले पानी प्रवाह हुने नकर्मी बताउँछन्।
‘यो ४२ रोपनी क्षेत्रफलमा धरहरा, संग्रहालय, फुड कोर्ट र सियुबी भवनबाहेक अरू सबै खुला स्थल हुन्,’ उनले भने।
छुट्टिने बेला मैले काठमाडौंका स्थानीय नकर्मीलाई सोधेको थिएँ, ‘सबै काम पूरा भएपछि यो ठाउँ कस्तो देखिएला त?’
जवाफमा उनले भने, ‘काठमाडौंकै सबभन्दा हेर्नलायक ठाउँ हुनेछ।’
उनले यो पनि भने, ‘म असनको मान्छे, सुन्धाराको पानीले नुहाएर हुर्केको। यहाँ फेरि कलकल पानी आउँछ र यो पूरै क्षेत्र सुन्दर बगैंचामा परिणत हुँदैछ भन्ने कल्पनाले नै म रोमाञ्चित छु।’
छ महिनापछि छोरीसँग सुन्धारा घुम्दा म पनि यहाँको दृश्य देखेर र आज नकर्मीले भनेको कुरा सम्झेर रोमाञ्चित हुनेछु।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी