बुटवलको ड्रिम प्रोजेक्टको रूपमा निर्माण सुरू गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
आकाशबाट हेर्दा चन्द्र-सूर्य अंकित नेपालको झण्डा आकारमा निर्माण गरिएको सम्मेलन केन्द्र डिजाइन गरिएजस्तै आकर्षक देखिएको छ।
पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ बुटवल रामनगरमा सम्मेलन केन्द्र निर्माण गरिएको हो।
२०७१ साल माघ १५ गते सम्मेलन केन्द्रको शिलान्यास गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि रूख कटानमै २७ महिना अल्मलिएपछि ढिलो गरी निर्माण थालिएको थियो।
त्यसपछि पनि झण्डै २ वर्ष कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित बन्यो। यद्यपि पहिलो चरण अन्तर्गत सम्मेलन केन्द्रको भौतिक संरचना निर्माणको काम भने गत आर्थिक वर्षमै सम्पन्न भएको छ।
दुई चरणमा गरी ठेक्का सम्झौता गरेको सम्मेलन केन्द्रमा १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ।
पहिलो चरणमा माथिबाट हेर्दा सूर्य आकारमा देखिएको संरचना निर्माणको लागि रविना समानान्तर चन्द्रसूर्य जेभी कम्पनीले २३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी गत आर्थिक वर्षमै निर्माणको काम पूरा गरिसकेको छ।
पहिलो चरणमा ११ सय क्षमताको मुख्य सभाहल रहेको भवन, दुइटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।
त्यस्तै, दोस्रो चरणमा चन्द्र आकारको भवन, रङरोगन, सजावट, कुर्ची टेबल, विद्युत, सिसिटिभी जडान, प्रवेशद्वार लगायतका संरचना निर्माणका लागि आशिष निर्माण सेवाले ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
आशिषले पनि ९४ प्रतिशत काम पूरा गरिसकेको आयोजना प्रमुख पन्थीले बताए।
सम्मेलन केन्द्र परिसरको ग्रिनरी सहितको बाटो, फुटपाथ, क्यान्टिन, शौचालय, कर्मचारीहरूको लागि आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचा लगायतका संरचना पनि दोस्रो चरण अन्तर्गत निर्माण गरिएका हुन्।
आयोजना प्रमुख धर्मेन्द्र पन्थीले अहिले पहिलो चरणको काम सकेर दोस्रो चरण अन्तर्गत सम्मेलन केन्द्र कुर्ची जडान, साउण्ड सिस्टमको काम र सरसफाइको काम भइरहेको बताए।
पन्थीले दोस्रो चरणको काम पनि ९४ प्रतिशत पूरा भइसकेको र सम्मेलन केन्द्र भित्रको सरसफाइ, बाहिर बगैंचामा दुबो लगाउने जस्ता मसिना काममात्रै बाँकी रहेको बताए।
‘सुरूआतमै रूख कटानमा अवरोध नभएको भए दुई वर्ष पहिले नै काम सम्पन्न हुने थियो, २७ महिना त रूख कटान गर्न नपाएर रोकिनुपर्यो, त्यसपछि फेरि कोभिड महामारीले रोकिन पर्यो,’ पन्थीले भने।
पन्थीले दोस्रो चरणको कामको लागि असार मसान्तसम्म ठेक्का सम्झौता अवधी रहेकोले त्योभन्दा पहिले नै पूरा गर्ने बताए।
‘कोभिडको कारण ६ महिना समय थप भएर असार मसान्तसम्म सम्झौता अवधी पुगेको छ, हामीले असार ७ गतेसम्म पूरा गर्छौं भनेर लागेका छौं,’ उनले भने।
सम्मेलन केन्द्रको सम्पूर्ण काम पूरा भएपछि सञ्चालनका लागि भने बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ।
भौतिक संरचनाको काम पूरा भइसकेपछि सतहबाट हेर्दा ब्लक अनुसार फरक-फरक संरचना देखिए पनि माथिल्लो तहबाट हेर्दा भने सम्मेलन केन्द्रका तीनवटै ब्लकहरू आपसमा जोडिएर नेपालको झणडा आकारमा आकर्षक देखिएको छ।
लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवर्द्धन गर्ने भन्दै तत्कालीन सरकारले ग्रेटर लुम्बिनीको अवधारणा अनुरूप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो।
योजना निर्माण गर्दा दोस्रो प्राथमिकतामा परेको सम्मेलन केन्द्र निर्माणको योजनालाई योजना आयोगबाट पहिलो प्राथमिकतामा पारी निर्माण प्रक्रियाको काम अघि बढाइएको थियो।
यस क्षेत्रका संघीय सांसद, पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र त्यसदेखि पश्चिमतर्फ निर्माण भइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रलाई बुटवलका ड्रिम प्रोजेक्टको रूपमा अगाडि बढाएका थिए।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण गरिएको छ भने पश्चिम तर्फको ६ दशमलव ४ बिघा क्षेत्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ।
एक अर्ब दुई करोडको लागतमा क्यापासिट इन्फ्रा प्रोजेक्ट्स (गौरी–पार्वती जेभी कम्पनी) ले ठेक्का सम्झौता गरी प्रदर्शनी केन्द्रको काम गरिरहेको छ।
२०७६ साल जेठ १३ गते शिलान्यास गरिएको प्रदर्शनी केन्द्रको काम पनि २७ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर सम्मेलन केन्द्र जस्तै प्रदर्शनी केन्द्रमा पनि रूख कटानमै समस्या भएपछि निर्माणमा ढिलाइ भएको पन्थीले बताए।
प्रदर्शनी केन्द्रको अहिले ५५ प्रतिशत काम पूरा भए पनि कतिपय सामग्री बाहिरबाट ल्याउनुपर्दा अझै ढिलाई हुन सक्ने पन्थीको अनुमान छ।
‘प्रदर्शनी केन्द्रको स्ट्रक्चरको काम धेरै पुरा भएको छ, छानो लगाउने जस्तापाता, मार्बल लगायतका वस्तु बाहिरबाट ल्याउनुपर्छ, अहिले एलसी खोलेर बाहिरबाट ल्याउन रोकिएको छ। कुनै व्यवधान नभए २०८० भित्रै निर्माण पूरा गर्ने हाम्रो लक्ष्य हो,’ पन्थीले भने।
सहरी विकास तथा भवन निर्माण विभागमार्फत् निर्माण भइरहेको प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ।
अहिले प्रदर्शनी केन्द्रका पनि तीन वटै ब्लकको ट्रस्ट निर्माणको काम पूरा भएको छ भने बि र सि ब्लकको पनि काम भइरहेको छ।
बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरी २०६५ सालमा सरकारले निर्णय गरेको थियो।
वर्षौंदेखि बसपार्क, सडक डिभिजन परिसर लगायतका क्षेत्रमा औद्योगिक प्रदर्शनी केन्द्र तथा व्यापार मेला आयोजना गर्दै आएका यहाँका उद्योगी व्यवसायीलाई प्रदर्शनी केन्द्र निर्माणपछि राहत मिल्ने छ।
निर्माणाधीन प्रदर्शनी केन्द्रको तीन वटा ब्लकमा ८ सय ३८ स्टल सहभागी हुन सक्ने छन्। कबर्ड स्टल रहने भएकोले जुनसुकै मौसम र समयमा पनि प्रदर्शनी आयोजना गर्न सकिने छ।
बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकता अनुसार अलग/अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ।
प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्ने छन् भने २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकैपटक खाजा खान सक्नेगरी फूड कोर्ट निर्माण गरिँदै छ।
यस्तै, एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय मोटरसाइकल र चार सय चार पांग्रे गाडी पार्किङ गर्न मिल्ने गरी सभाहल र सम्मेलन केन्द्रको बीचमा पार्किङस्थल तयार गरिँदै छ।