जनकपुर डायरी- २
हवाईजहाजको झ्यालबाट जस्तो देख्न चाहेको थिएँ, मैले जनकपुर त्यस्तै पाएँ– पोखरी नै पोखरीको सहर।
अवतरण गर्नुअघि जहाजले आकाशमा फन्को मारिरहँदा मैले जनकपुरको पहिलो झलक लिन झ्यालबाट चियाएको थिएँ। एकै नजरमा पाँच-छवटा पोखरी आँखामा परे। जनकपुर पोखरीहरूको सहर हो भन्ने सुनेको थिएँ, पहिलो झलकमै हो रहेछ भन्ने लाग्यो।
केही साताअघि मात्र यहाँ आएका सेतोपाटीका फोटो पत्रकार नवीनबाबु गुरूङले ड्रोनबाट खिचेको जनकपुरका दृश्य मेरा आँखाअगाडि नाच्न थाले। म ड्रोनजसरी नै हवाईजहाजबाट ती दृश्यहरू साँच्दै थिएँ। यसको निम्ति मैले मेरो सहयात्रीलाई धन्यवाद भन्नुपर्छ। उनले नमानेका भए झ्यालको सिटमा बसेर चराले झैं आकाशबाट जनकपुर हेर्न पाउने थिइनँ।
यति एयरलाइन्सको यो फ्लाइटमा मभन्दा अगाडि नै एक जना युवक झ्यालको सिटमा बसिसकेका रहेछन्।
हत्तेरी! ढिला भइयो नि!
मैले उनलाई सुरूमै सिट साटौं है भन्न सकिनँ। कसरी भनूँ! उनलाई पनि त मलाईजस्तै चरा बन्ने रहर थियो होला!
हाम्रो हवाई यात्रा २० मिनेट ढिला सुरू भएको थियो। धवनमार्ग हुँदै काठमाडौंको धर्ती छाड्नुअघि पनि हाम्रो जहाज केही बेर अलमलिइरह्यो। आकाशमा ट्राफिक जाम भएर होला!
त्यतिन्जेल मेरो छेउका युवकले दुई-तीनपटक लामो लामो सास फेरे। घरिघरि मोबाइलमा समय हेरे।
'हतारमा हुनुहुन्छ?' मैले कुराकानीको सुरूआत गरेँ।
उनले दुई दिनपछि बहिनीको बिहे हुन लागेको र त्यसको धेरै काम बाँकी रहेको बताए।
उनी काठमाडौंमा एमबिएको परीक्षा दिन आएका रहेछन्। दुइटा परीक्षा छाडेर बहिनीको बिहेका लागि आफ्नो घर सर्लाही जाँदै रहेछन्।
हामीले चिनजान गर्यौं। उनको नाम अमित यादव रहेछ। उनी लोकसेवाको तयारीमा रहेछन्। मलाई भने उनको बहिनीको बिहेले तानिरहेको थियो। जनकपुर बसाइमा मिल्यो भने एउटा बिहे हेर्ने मेरो इच्छा छ। त्यही भएर मैले आफ्नो कुराकानी त्यतै केन्द्रित गरेँ।
'तपाईंहरूको बिहे पुरानै शैलीमा हुन्छ है? दुई–तीन दिन लगाएर?'
'हो नि। दुई दिन छ मेरो बहिनीको बिहे,' उनले भने।
'यताको बिहे त भव्य हुन्छ रे हो?' मैले उत्साहित हुँदै सोधेँ।
'हो नि,' उनी झनै उत्साहित सुनिए, 'भारतमा विराट कोहली र अनुष्काको बिहे भएको थियो नि, त्यस्तै हुन्छ। लुगा–सजावट सबै भव्य हुन्छ।'
हाम्रो जहाज अझै धवनमार्गमै थियो। हामीलाई आफ्नो मोबाइल फ्लाइट मोडमा राख्न भनिएको थियो। जहाज उड्ने बेला अमितले के सम्झे कुन्नि, हतारहतार मोबाइलको फ्लाइट मोड हटाए र आफ्नो फेसबुक खोले। टाइमलाइनमा महिनादिनअघिको एक विवाह समारोहका फोटाहरू थिए जसमा उनी पनि सामेल थिए।
उनले ती फोटाहरू मलाई देखाए।
मोबाइल स्क्रोल गरेर फोटो देखाउँदै गर्दा जहाजले उड्न लागेको छाँट देखायो। मलाई उनको अनुहारको हाउभाउ परिवर्तन भएझैं लाग्यो।
'डर लाग्छ तपाईंलाई,' मैले सोधेँ।
'निकै डर लाग्छ,' उनले भने, 'अस्ति काठमाडौं आउँदा त सातो नै गएको थियो।'
जसै हाम्रो जहाज आकाशमा उड्यो, अमितले आफ्ना दुवै आँखा केही सेकेन्ड टम्म चिम्लिए।
एकछिनमा आँखा उघारे अनि मतिर हेर्दै सोधे, 'तपाईंलाई डर लाग्दैन?'
'मलाई त रमाइलो लागिरहेछ,' मैले भनेँ।
माथि माथि उड्दै जाँदा उनले धेरैपटक लामो लामो सास फेरे। आँखा चिम्लिए।
त्यहीबीच मैले सोधेँ, 'झ्यालको सिटमा म बसौं? बाहिर हेरेर पनि तपाईंलाई डर लागेको होला।'
उनले मलाई सजिलै सिट छाडिदिए। मैले आखिरमा चाहेको सिट पाएँ।
छुट्टिने बेला हामी फेसबुक साथी भयौं। अमितलाई लिन उनका भाइ आएका रहेछन्। मैले उनलाई गुडबाई गर्दै भनेँ, 'बहिनीको बिहेको फोटो अब फेसबुकमा हेर्न पाउने भएँ।'
जनकपुर अवतरण गर्दा यति एयरलाइन्सले त्यहाँको तापक्रम ३३ डिग्री बताएको थियो। दिउँसो काठमाडौंको तापक्रम नै २९ डिग्री थियो। त्यसैले सोचेँ, त्यति धेरै गर्मी नहोला।
काठमाडौंमा ज–जसलाई म जनकपुर जाँदैछु भन्ने थाहा थियो, उनीहरू भन्थे, 'ओहो! यस्तो गर्मीमा जनकपुर जान लागेको?'
पछि ती सबैलाई मैले भन्न थालेको थिएँ, 'मधेस बुझ्न त्यहाँको गर्मी पनि अनुभव गर्नुपर्छ।'
बेलुकी ६ बजेतिर जहाजबाट झर्दा सररर हावा चल्दै थियो। दिउँसो पनि यस्तै हुनु नि भनेर म सोच्दै थिएँ। केहीले भनेका थिए, 'पोखरी नै पोखरी भएको सहरमा त्यति गर्मी हुँदैन।'
मैले काठमाडौंमा पोखरी संरक्षणका लागि भएका आन्दोलन र अभियानहरू सम्झिएँ। कंक्रिटको पोखरी बनाउन हुँदैन भन्नुको एउटा कारण यो पनि रहेछ।
त्यही बेला सेतोपाटीका जनकपुर संवाददाता रोहित महतो बाइक लिएर मलाई विमानस्थलमा लिन आइपुगे। उनी करिब एक वर्षदेखि सेतोपाटीमा काम गर्छन्। त्यसअघि शिलापत्र अनलाइन, नागरिक लगायत विभिन्न सञ्चार माध्यममा काम गरेका थिए। जनकपुरका कथा खोतल्ने क्रममा उनी र म आजबाट सँगसँगै हुनेछौं।
हामी विमानस्थलबाट बाइक चढेर होटल सीताशरणतिर लाग्यौं।
बाइकमा चढ्नेबित्तिकै मैले रोहितलाई सोधेँ, 'जनकपुरलाई म आउँदै छु भन्ने थाहा भयो कि भएन?'
त्यसै त हँसिला रोहित, झन् बत्तीस दाँत देखाएर हाँस्दा मुहारै उज्यालो भयो।
जनकपुर आउने योजना बनेदेखि म रोहितसँग निरन्तर सम्पर्कमा थिएँ। म उनलाई जनकपुरमा भेट्नुपर्ने मान्छेहरूसँग सम्पर्क गरेर समय लिन भन्थेँ। उनको जवाफ हुन्थ्यो, 'तपाईं आउनुस् न मात्र, समय लिने अनि भेट्ने त भइहाल्छ नि!'
म उनलाई भन्थेँ, 'त्यसो भनेर भएन नि! जनकपुरलाई म आउँदैछु भन्ने त थाहा हुनुपर्यो नि।'
रोहितले मोटरसाइकलको एक्सिलेटर बटार्दै भने, 'अब त जनकपुरलाई थाहा भइहाल्छ नि। एउटा मधेसी केटा छ, अर्को पहाडी केटी। यो त यसको नातागोताको हुनै सक्दैन भन्छन्। अनि हिँड्दा–हिँड्दै मान्छेहरूले को रहेछन्, किन आएछन् भनेर थाहा पाइहाल्छन् नि।'
उनको जवाफ सुनेर मलाई हाँसो उठ्यो। म मुसुक्क हाँसेको सायद रोहितले देखेनन्। लुकिङ ग्लासमा त पक्कै हेरेनन् होला!
'तपाईंले भन्नुहुन्न कि भनेर मैले काठमाडौंबाट उड्नुअघि नै 'जनकपुर, आई एम कमिङ' भनेर लेखेर आएको छु नि!' मैले भनेँ।
'हो र, कति बेला? दिनभरि सेतोपाटी हेरेको हेर्यै थिएँ। देखिनँ त,' उनले भने।
'म यहाँ आउँदा आउँदै छापियो। अब पछि पढ्नुस्।'
विमानस्थलबाट कुदेको रोहितको बाइक शिवचोकमा रहेको सीताशरण होटलमा पुगेर रोकियो।
मैले होटलमा चेक-इन गरेँ। कोठा सफा थियो। राम्रो थियो। तर झ्याल हेर्दा वरपर केही नदेखिने रहेछ। चारैतिर थुनिएको डब्बाजस्तो लाग्यो। मैले अर्को कोठा छ कि भनेर रिसेप्सनमा सोधेँ। अरू कुनै कोठा खाली रहेनछ।
त्यसपछि होटलमा आफ्ना सामानहरू राखेर, केही बेर आराम गरेपछि हामी साँझ गंगासागरमा आरती हेर्न गयौं।
आरती हेर्ने ठाउँ म बसेको होटलबाट पाँच मिनेट दुरीमै रहेछ। हामीलाई गंगासागरमा आठ वर्षअघि आरती सुरू गर्ने र पोखरी सरसफाई अभियान चलाउने रामअशेष यादवले निमन्त्रणा दिएका थिए। प्रदेश सांसद पनि रहेका यादवसँग मंगलबार बिहानै गंगासागर लगायत जनकपुरका अन्य पोखरीबारे कुराकानी गर्न हामीले समय लिएका छौं।
साढे सात बजेतिर आरती सुरू भयो। करिब एक घन्टाको आरतीपछि हामी नजिकैको जानकी मन्दिर घुम्यौं। त्यहाँ एक चक्कर लगाएर होटल फर्कियौं।
सीताशरण होटलमा खाना खाने बेला रोहितले आफ्नो समुदाय कसरी शाकाहारी भयो भन्ने कथा सुनाए। उनको कथा भगवान रामसँग जोडिने रहेछ।
भगवान रामका दुई छोरा थिए – लव र कुश।
'तपाईंलाई थाहा छ, कुश शाकाहारी थिए। त्यसैले उनका वंशज पनि सबै शाकाहारी भए,' उनले भने।
'उसो भए तपाईं भगवान रामका छोरा कुशका वंशज?' मैले सोधेँ।
उनले तुरून्तै जवाफ फर्काइहाले, 'हो नि, हामी कुशवाहा हौं। यहाँ कुशवाहालाई कुशको वंशज भनिन्छ।'
रोहितलाई म पनि शाकाहारी हो भन्ने थाहा छैन। यसअघि म्यासेन्जरमा च्याट हुँदा उनले भनेका थिए, 'म त शाकाहारी हुँ तर म शाकाहारी भए पनि तपाईंलाई जनकपुरको माछा खुवाउन लैजान्छु।'
मैले हुन्छ भनेँ, आफू शाकाहारी भएको बताइनँ।
सायद उनी अहिले पनि मलाई माछा खुवाउने कुरा सोच्दै थिए तर मैले उनलेजस्तै शाकाहारी खाना मगाएँ। भनेँ, 'म पनि तपाईंसँग खाना खाँदा सधैं शाकाहारी नै खान्छु है।'
उनको अनुहार फेरि उज्यालो भयो।
खाना खाइवरी होटलमाथि उक्लनै लाग्दा बाहिर विवाहको एउटा टोली बाजा बजाउँदै हिँड्यो। हामी त्यही टोलीलाई पछ्याउन थाल्यौं। कलात्मक बत्ती, छाता र ब्यान्ड बाजा अघिअघि थियो। पछाडि दुलही र दुलाहा घोडाको आकृतिसहितको बग्गीमा सहर परिक्रमा गर्दै थिए।
जनकपुरको विवाह हेर्ने रहरको थोरै अंश पहिलो दिन नै पूरा भयो।
हेरौं, जनकपुर र यहाँको मिथिला सभ्यतालाई लिएर मेरो मनमा उठेका जिज्ञासा आगामी दिनमा कत्तिको पूरा होलान्!
यो पनि हेर्नुहोस्: