यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
कोरोना संक्रमणको समय थियो। चितवनको नारायणगढमा नवीना गुरुङलाई अचानक ज्वरो आयो। उनी नजिकैको सरकारी अस्पताल गइन्।
उनलाई देखेर डाक्टर छक्क परे। शरीर पुरुषको छ, पोसाक र हाउभाउ महिलाको। डाक्टरले कोरोना संक्रमणको कारण देखाएर परीक्षण हुन नसक्ने बताए। नवीनाले त्यहीँ ज्वरो आएका अरू बिरामीलाई सोधिन्। उनीहरूलाई त डाक्टरले हेरेका रहेछन्।
उनले आपत्ति जनाउँदै आफूलाई डाक्टरले परीक्षण गर्न नचाहनुको कारण सोधिन्। अन्ततः डाक्टर तयार भए। तर नवीनाले आफूसँग डाक्टरले राम्रो व्यवहार नगरेको अनुभव गरिन्।
'मैले आफ्नो पारलैंगिक पहिचान खुलाएर महिला हुँ भनेँ। डाक्टर मान्न तयार भएनन्। महिलाका शारीरिक अंगको कुरा उठाए। तिम्रो पाठेघर छ त भनेर सोधे,' उनले अनुभव सुनाइन्, 'औषधिको नाम पनि राम्ररी नलेखेको जस्तो लाग्यो। हतारमा बिदा गरे।'
तनहुँको कोट गाउँपालिकामा ३३ वर्षअघि जन्मेकी नवीना किशोरावस्थामा थिइन्। एक दिन टिर्सट र आमाको लुंगी लगाएर एकादशी मेला गइन्। उनको पहिरन देखेर उनलाई चिन्नेहरू अचम्मित भए।
नवीनालाई लैंगिकताका आधारमा परिवारले छोरा मानेका थिए। हुर्किँदै गर्दा उनमा छोरीजस्तै बन्ने रहर जाग्दै गयो। सानैदेखि छोरी बन्न मन लाग्ने उनको भित्री मन पनि छोरीकै भइदियो। मन छोरी भएसँगै शरीर र व्यवहार पनि छोरीजस्तै बनाउन मन लाग्यो।
'म सानोमा दिदीका लुगा लगाउन खोज्थेँ। आमाको लुंगी पनि लगाउँथे। उहाँहरू मलाई बच्चा ठानेर रमाइलो मान्नुहुन्थ्यो,' नवीना भन्छिन्, 'मेरो यस्तो बानी बढ्दै गयो। बिस्तारै परिवारमा र समाजमा मलाई सकस पर्दै गयो।'
हुर्किँदै गएपछि घरमा आमा र दिदीबहिनीले गाली गर्न थाले। स्कुलमा पनि समस्या हुन थाल्यो। उनी सानैदेखि केटी साथीहरूसँग बस्न रूचाउँथिन्। बिस्तारै केटी साथीहरूसँगै खाजा खान जान र घुमफिर गर्न मन लाग्ने हुँदै गयो।
उनले भनिन्, 'म तीन कक्षामा पढ्थेँ। केटीहरूसँग बसेको भनेर सरले मलाई कुट्नुभयो। म धेरै रोएँ तर मलाई बुझ्ने कोही भएन। मलाई पनि किन यस्तो हुँदैछु भन्ने थाहा थिएन।'
गाउँमा उनी मात्र एक्ली थिइन् जसलाई आफू छोरो हुँ कि छोरी भन्ने अन्यौल थियो। शरीर र मनको तालमेल नमिल्दा हुर्किँदो अवस्थाकी नवीनालाई आफूलाई किन यस्तो भएको हो भन्ने थाहा थिएन। कुरा बुझाइदिने पनि कोही दिएन।
उमेर बढ्दै जाँदा उनले शरीर छोराको जस्तो भए पनि म छोरी नै हुँ भन्ने पक्का गरिन्।
'म छोरीकै लुगा लगाएर हिँड्न थालेँ,' उनले भनिन्, 'मैले जे गरे पनि कसैलाई हानी भएको छैन। जे गरेकी छु ठीक गरेकी छु भन्ने लाग्न थाल्यो। अन्यौलमा भए पनि आफ्नो सुर छाडिनँ।'
उनी आफ्नो शरीर र मनबारे प्रष्ट भन्न थालिन्, 'म छोरी हुँ, छोरी जस्तै हुन चाहन्छु।'
उनको यस्तो कुरा सुनेर आफ्नै साथीहरू पनि 'हिजडा' भनेर खासखुस गर्न थाले। यसले उनलाई मानसिक पीडा दिन्थ्यो। टिसर्ट र आमाको लुंगी लगाएर छोरीकै शृंगारमा मेलामा पुगको दिन उनका लागि सबैभन्दा बढी दुःखद भइदियो।
'मेलामा भेटिएका गाउँलेहरूले थुथु नै गरे। आफ्ना जुत्ताचप्पल खोलेर घोप्टो पारे,' उनले भनिन्, 'मेलामा रमाइलो हेर्न गएकी थिएँ तर त्यो दिनले मेरो जीवनको यात्रा नै बदलिदियो।'
उनका अनुसार 'अशुभ' देख्नु परेको ठानेर मानिसहरूले त्यस्तो व्यवहार गरेका थिए। मानिसहरू थुथु गरेर थुक्नु र एकछिन जुत्ताचप्पल उल्टाउनुलाई 'अशुभ' टर्ने उपाय ठान्छन्।
मेलाबाट फर्केपछि उनले गाउँ छाड्ने निर्णय गरिन्। एकदिन आमाले नुन किन्न दिएको सय रूपैयाँ पैसा बोकेर सुटुक्क पोखरा पुगिन्। त्यति बेला उनी जम्मा १४ वर्षकी थिइन्। पोखरामा उनकी ठूलीआमा थिइन्। ठूलीआमाले उनलाई मद्दत गरिन्। उनी तीन वर्ष त्यहीँ बसिन् र नारायणगढ पुगिन्।
नारायणगढमा उनले आफूजस्तै व्यक्तिहरू भेट्ने मौका पाइन्। चितवन आएपछि उनलाई आफू पारलैंगिक महिला रहेछु भन्ने थाहा भयो। यसबाट केही सन्तोष भए पनि धेरै दुर्व्यवहार सहनु पर्यो।
'केटा भएर केटीजस्तो हुन खोजेको भनेर धेरैले जिस्क्याउँथे। बाटोमा स्कुल र कलेजका विद्यार्थीहरूले ढुंगा पनि हाने,' नवीनाले भनिन्, 'पछि हामी बाध्य भएर स्कुल र कलेज गएर आफ्नो पहिचानका बारेमा बताउन थाल्यौं।'
पारलैंगिक पहिचानका कारण डेरा पाउन पनि मुस्किल हुन्थ्यो। उनका अनुसार कोठा खोज्न जाँदा भाडा धेरै महँगो भन्थे। सुविधा पनि कम गर्थे। उनीहरूलाई एकछाक खाना जुटाउन पनि समस्या हुन्थ्यो। पैसाको समस्याले गर्दा हामी धेरै जना एउटै कोठामा बस्थे।
यस्तो दुःख र अपमानले उनलाई गाउँ फर्किँऊँ कि जस्तो पनि हुन्थ्यो। आफ्नो गाउँमा त यति साह्रो नहोला जस्तो लाग्थ्यो। फेरि उनी गाउँमा भोगेको अपमान सम्झिन्थिन् र हिम्मत हार्थिन्। अन्ततः उनले नारायणगढमै बस्ने निधो गरिन्।
उमेर बढ्दै गएपछि शरीर त झन् पुरुषकै जस्तो हुँदै गयो। दाह्रीजुँगा पलायो। स्वर धोध्रो भयो तर मन त महिलाकै छ। पुरुष अनुहार, महिला पहिरन; नारायणगढ बजारमा हाँसोको पात्र बनेको सम्झना ताजै छ।
उनले जिउ पाल्न काम खोजिन्। भाँडा माझेर भए पनि गुजारा गर्ने प्रयास गरिन्। अँहँ, कसैले सहयोग गरेन।
जीवनको यो दुःखले उनलाई आत्मनिर्भरताको बाटो हिँड्न सिकायो। उनले सिलाइ–बुनाइ तालिम लिइन्। त्यही तालिमले उनलाई पेसा दियो। अहिले सिलाइ–बुनाइ नै उनको आम्दानीको स्रोत बनेको छ। नारायणगढको एक पसलमा उनी कपडा सिलाउने काम गर्छिन्। यसबाट उनको गुजारा चलेको छ।
उनी भन्छिन्, 'काम गर्न थालेपछि म आर्थिक रूपमा आत्मनिर्भर भएँ, बोल्ने हिम्मत पनि आयो।'
नवीना आफू र आफ्नो समुदायको हकअधिकारको कुरा बुझ्न थालिन्। सहयोगी संस्थाहरू खोजी गर्न थालिन्। यही क्रममा उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको स्वास्थ्यबारे काम गर्ने संस्था 'मानव सचेत समाज' मा पुगिन्। यसपछि उनको ऊर्जा बढ्यो। एक वर्ष भयो, उनी उक्त संस्थाको अध्यक्ष छिन्।
संस्था र त्यहाँको कामले उनको आत्मविश्वास बढायो। उनी आफ्नो लैंगिक पहिचानका साथ प्रस्तुत हुन र तर्क गर्न सक्ने भइन्।
'मेरा साथीहरूलाई कसैले दुर्व्यवहार र अन्याय गरेको थाहा पाउनासाथ म उपस्थित भएर बोल्छु। कुरा नबुझेकाहरूलाई सम्झाइबुझाइ गर्छु,' उनी भन्छिन्, 'जबर्जस्ती गरे भने प्रहरीसम्म पनि पुग्छु।'
नारायणगढमा हिँड्डुल गर्न सहज हुँदै गए पनि आमरूपमा पारलैंगिकता सम्बन्धी चेतना नहुँदा व्यावहारिक कठिनाइ भोग्नु परेको उनको अनुभव छ।
यही बीचमा उनी 'महिला' पहिचानसहितको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगिन्। प्रमुख जिल्ला अधिकारीले शल्यक्रिया गराएर 'महिला' भएको प्रमाण मागे।
नवीना भन्छिन्, 'आफ्नो त जीविकोपार्जनकै समस्या छ तर सर्जरी (शल्यक्रिया) गर्न पैसा जम्मा गर्न थालेकी छु।'
उनलाई 'पुरुष' लेखिएको नागरिकतामा जुनसुकै मूल्यमा पनि 'महिला' लेखाउनु छ। उनको अहिलेको उद्देश्य यही हो।
आफू र आफूजस्ता पारलैंगिक व्यक्तिहरूको अधिकारका बारे राज्यका निकायहरू सचेत हुनुपर्ने नवीनाको धारणा छ।
उनी भन्छिन्, 'स्थानीय सरकारले हाम्रो हकअधिकार र पहिचानका लागि बोल्नुपर्छ। जान्नेबुझ्ने भनिनेहरूको व्यवहार राम्रो भएन भने अरूको पनि राम्रो हुँदैन।'
हाल नवीना हर्मोनको प्रयोग गरेर स्वर नरम बनाउने र मुहारमा महिला स्वरूप झल्काउने क्रममा छिन्। पहिचानको संघर्ष जारी छ।
यी पनि पढ्नुहोस्ः 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्