नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिलेकाहीँ घरबेटीका कारणले पनि आलोचनामा पर्छन्।
काठमाडौंमा प्रचण्डका नाममा घर छैन। पछिल्ला केही वर्षदेखि प्रचण्ड ललितपुरको खुमलटारमा भाडाको घरमा बस्छन्। त्यो घर निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको हो।
ठेकेदार अधिकारी समयमै ठेक्का नसक्ने र गुणस्तरहीन काम गर्ने भन्दै बेलाबेलामा विवादमा आइरहन्छन्। कम्युनिष्ट पार्टीका नेता त्यस्ता विवादित ठेकेदारको घरमा बसेको प्रचण्डको आलोचना हुन्छ।
अब भने प्रचण्डले आफ्नै सम्पत्तिमा घर बनाएका छन्। चितवनको भरतपुरमा अहिले प्रचण्डको घर बनिरहेको छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १४ स्थित शिवनगरमा प्रचण्ड टोल छ। भरतपुरको चौबिसकोठीबाट करिब आधा घन्टामा पुगिने त्यो टोल प्रवेश गर्ने ठाउँमा राखिएको बोर्डमा ‘प्रचण्ड टोल विकास संस्था तपाईंहरूको हार्दिक स्वागत गर्दछ’ लेखिएको छ।
यहाँबाट करिब २ सय मिटर दक्षिण लागेपछि दायाँतर्फ पर्खालको घेराभित्र एउटा घर बनिरहेको देखिन्छ। त्यो बन्दै गरेको घर प्रचण्डको हो।
.jpeg)
करिब १० कट्ठा जमिनको मध्यभागतिर बन्दै गरेको घरमा केही दिनअघि मात्र पहिलो तला ढलान गरिएको छ। बन्दै गरेको घरको अघिल्तिरको एक छेउमा जस्ताले छाएको तीन कोठाको लामो टहरो बनाइएको छ। त्यो टहरो गार्ड/कर्मचारीका लागि बनाइएको हो। यहाँ केही कामदार पर्खालमा प्लास्टर गर्ने काम गरिरहेका छन्।
घर निर्माणको जिम्मा लिएका शिवनगरका बेगबहादुर गुरूङले करिब २ महिनामा काम सकिने बताए।
केही दिनअघि आफ्नो बन्दै गरेको घर हेर्न पुगेका प्रचण्ड।‘दुई दिनअघि ढलान भयो। अब एक महिना यत्तिकै छाड्नुपर्छ। त्यसपछिको एक महिनामा गारो लगाउने, प्लास्टर गर्ने काम सकिन्छ,’ उनले भने।
५० फिट लम्बाइ ३५ फिट चौडाइको घरमा कति कोठा निकाल्ने अझै तय भएको छैन।
.jpeg)
‘माघबाटै बनाउन थालेको हो। डिजाइन परिवर्तन भइरहँदा बनाउनमा ढिलो भयो,’ उनले भने, ‘कति वटा, कत्रा कोठा निकाल्ने अझै भन्नुभएको छैन। उहाँहरूले भनेपछि त्यहीअनुसार कोठा निकालिदिन्छौं।’
अहिलेलाई एक तलामात्रै बनाउन आफूले ठेक्का लिएको गुरूङले बताए।
गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी यो घर बनाइरहेका छन्। सबै जमिनलाई घेरिएको पर्खाल भने उनले ज्यालादारीमा लगाएका थिए। अब बन्दै गरेको घरको अगाडि दुईवटा पिलर उठाएर डिजाइन निकालिने उनले बताए। त्यो उनको ठेक्का भन्दा बाहिरको हो।
.jpeg)
आफ्नै छिमेकमा पूर्वप्रधानमन्त्रीको घर बनाउन पाउँदा खुसी लागेको उनले बताए।
‘बेला-बेलामा इन्जिनियरहरू पनि हेर्न आइरहनुहुन्छ। हामी पनि मेहनत गरेर काम गरिरहेका छौं,’ उनले भने।
गत चैत ११ गते प्रचण्ड बन्दै गरेको घर हेर्न पुगेका थिए। त्यतिखेर उनले त्यसक्षेत्रमा रहेका आफन्तलाई भेटेर गफ गरेका थिए।
‘छोरी रेनु दाहाल पनि बेला-बेलामा घर हेर्न आइराख्नुहुन्छ। अरू आफन्त पनि आउनुहुन्छ, फोटो खिच्नुहुन्छ,’ उनले भने, ‘प्रचण्डको घर भनेर चासो राख्दै बाहिरी मान्छे पनि फोटो खिच्न आइराख्छन्।’
कसैले त ‘ल राम्रो बनाऊ’ भनेर पैसा दिने गरेको उनले सुनाए।
प्रचण्ड अहिले बन्दै गरेको घरबाट नजिकै रहेको नारायणी माविमा पढेका थिए।
.jpeg)
बन्दै गरेको घरदेखि ५० मिटर पर घर भएका प्रचण्डका भतिजा रोशन दाहालले प्रधानमन्त्री भइसकेका राष्ट्रिय नेताले आफ्नै नजिक आएर घर बनाएकोमा स्थानीय खुसी भएको पाएको बताए।
‘ठूलो बुबा(प्रचण्ड) यहीँ हुर्किएको भए पनि अहिले घर नहुँदा मान्छेहरू चुनावको बेलामा टुरिष्ट उम्मेदवार भन्ने गर्थे,’ उनले भने, ‘उहाँलाई पनि घर भयो भने आफू आउँदा बस्न, गफ गर्न ठाउँ हुन्छ भन्ने भयो होला।’
प्रचण्डले बन्दै गरेको घर हेरेपछि ‘बुढेसकाल लागेपछि आफ्नै ठाउँमा आउनुपर्ने रहेछ’ भनेको उनले सुनाए।
‘रेनु दिदीहरू त आइराख्नुहुन्छ। ठूलोबुबाचाहिँ एक पटक आउनुभयो। घर देख्दा खुसी हुनुहुन्थ्यो,’ उनले भने।
प्रचण्डका भतिज दाहालका अनुसार उक्त जमिन प्रचण्डको पैतृक सम्पत्ति हो। बाबु मुक्तिराम दाहालले २०४८ सालतिर यहाँको रहेको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको थियो।
.jpeg)
‘हजुरबुबाले पछि आफ्नो पुरानो ४ कट्ठा जमिन फिर्ता गर्नुभयो, सबै जमिन नाति प्रकाश दाहालको नाममा पास गरिदिनुभएको थियो,’ उनले भने, ‘अहिले कसको नाममा छ भन्ने त मलाई पनि थाहा छैन।’
प्रचण्डका बाबु मुक्तिराम भरतपुर-६ वैदिक नगरमा रहेको घरमा बस्थे। उनको त्यही निवासमा निधन भएको थियो।
घर बन्दै गरेको शिवनगर प्रचण्डले प्रतिनिधिसभामा जितेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
तस्बिर/ भिडिओ: राजेश घिमिरे/सेतोपाटी।