प्रतिनिधि सभा सांसद एवं एमाले केन्द्रीय सदस्य आशाकुमारी बिक चार वर्षमा काठमाडौंमा चार ठाउँ डेरा सरिन्।
२०७४ सालमा सांसद भएपछि काठमाडौं बस्न सुरू गरेकी सांसद बिकसँग काठमाडौंमा डेरा खोज्ने क्रममा धेरै सास्ती व्यहोर्नु परेको अनुभव छ।
उनी सुरूमा आउँदा बझाङकै सांसद मानप्रसाद खत्री बस्ने घरमा बसिन्। त्यो घरमा होस्टेल रहने भएपछि घरबेटीले नै अर्को ठाउँमा डेरा खोजिदए। दोस्रो पटक डेरा सरेको घर पनि ठिकै थियो। तर आफ्नै कारणले डेरा सर्नुपर्यो। त्यसपछि भने कोठा खोज्ने क्रममा धेरै समस्या भोग्नु परेको उनले बताइन्।
उनले आफूजस्तै अरू थुप्रै सांसदले पनि यो समस्या भोगेको बताइन्।
‘काठमाडौंमा कोठा खोज्ने एजेन्ट हुन्छन्। उनीहरूले हाम्रा लागि कोठा खोज्न जाँदा अरू सबै मिले पनि जात थाहा पाएपछि नदिएको कुरा सुनाउँछन्। दलितका लागि कोठा खोज्दा उनीहरू नै आजित भइसकेका हुन्छन्,’ उनले भनिन्,‘कतिपय एजेन्टले तपाईंहरूले यो कुरा संसदमा उठाउनुस् न भनेर भन्नुभएको छ। मैले त मेरो अनुभव सुनाएँ तर कतिपय सांसदले यो कुरा बाहिरसमेत ल्याउनुभएको छैन।’
सांसद बिकसँग उनले भोगेका विभेदबारे हामीले भिडिओ कुराकानी गरेका छौं। यस कुराकानीका मुख्य अश:
-म प्रतिनिधि सभामा दलित, महिला र दुर्गम क्षेत्रबाट प्रतिनिधित्व गर्दै सांसद बनेको हो। हिजो समुदायमा दलित भएका कारण भोग्दै आएका समस्या धेरै थिए। त्यो समस्यालाई छिचोल्दै राजनीतिमा लागेर यहाँसम्म आइपुगेको हो। काठमाडौंमा पनि त्यो झझल्कोले छोडेन, छायाले पछ्याइरह्यो।
-विभिन्न समयमा प्रत्यक्ष रूपमा विभेद भोग्न नपरे पनि अप्रत्यक्ष रूपमा धेरै देखियो। संसदभित्र त्यस्तो भएन। जातकै कारण र महिला भएको कारण संसदमा विभेद भोग्न परेन। सबैभन्दा धेरै समस्या कोठा खोज्न हुने रहेछ।
-तपाईं यो जात हो भने कोठा दिँदैन नभन्ने तर घुमाउरो पाराले घर सल्लाह गर्छु भन्ने भोलिपल्ट कोठा पनि खाली हुन्छ, सबै चिज मिलेको हुन्छ। तर केही न केही बहाना घरबेटीले गर्दा बाल्यकालमा भोग्दै आएको समस्या अनि विहे गरेर बझाङ गइसकेपछि भोगेको समस्याले काठमाडौंसम्म पछ्यायो भन्ने लाग्छ।
-सुरूमा आउँदाखेरि र सुरूमा कोठा खोज्दा मलाई त्यति असहज भएन। किनकी मेरै जिल्लाको सांसद मानप्रसाद खत्री बस्ने घरमा बसेको हो। एक वर्षपछि होस्टेल बनाउने भनेर अर्को घरमा सरेको हो। घरबेटीले नै डेरा खोजिदिएका हुन्। दोस्रो ठाउँमा पनि घरबेटीले जानुस् भनेका होइनन्। परिस्थितिले जान परेको हो।
- अरू ठाउँमा कोठा खोज्ने बेला अनि मजस्ता अरू धेरै साथीहरूले कोठा खोज्ने क्रममा सबैको एउटै समस्या आउँछ। काठमाडौंमा कोठा खोजिदिने मान्छे हुन्छन्। कोठा खोज्नेहरू पनि आजित भइसकेका छन्। तपाईंहरूले यो कुरा किन संसदमा उठाउनु हुन्न भन्छन्। दलित भन्नसाथ घरबेटीले केही न केही बहाना खोज्छन्। चलेको भाडा तिर्न तयार हुँदा पनि बहाना बनाउँछन्। यो कुरा तपाईंहरूले बहसको विषय बनाउनुपर्यो संसदमा भन्नुपर्यो भन्छन्। मेरा लागि, साथीका लागि कोठा खोज्दाको अनुभव हो यो।
-सिधै तपाईं दलित हो हामी कोठा दिन्नौं भन्दैनन्। पहिला कोठा हेर्यो, पानी कस्तो छ भनेजस्तो छ कि छैन भनेर हेरिसकेपछि अब ठीक छ भनेर बैना दिने बेलामा घरमा सल्लाह गर्छु भन्छन्। भोलिपल्ट उनीहरूको सल्लाह मिलेको हुँदैन।
-भाडा हामी पनि दिन्थ्यौं। सांसद हो भनेकै हो। हामी यति जना परिवार छौं भनेर भनेकै हुन्थ्यौं। तर के कुराले मिल्दैन भनेर भन्नुहुन्न। कसैले नेताहरूका धेरै मान्छे आउँछन् त्यही भएर दिन्न भन्नुहन्छ। सबै कुरा मिले पनि पछि छैन भन्नुहुन्छ।
-यहाँ पनि विभिन्न थरीका मान्छे छन्। काठमाडौंमा धेरै मान्छे बाहिरबाट आएका छन्। ५/६ तलाका घर बनेका छन्। झुपडी परिवर्तन भयो तर खोपडी परिवर्तन भएन। पढेका हुन्छन् तर सोचाइ भने विभेदको छ। यो सबै खोपडी परिवर्तन नभई हुँदैन।
-जनताको पक्षमा मैले निरन्तर काम गरिरहेको छु। जनउत्तरदायी बन्ने कोशिस गरेको छु। राजनीतिमा महिलाअघि आएको राम्रो मान्दैनन्। त्यसमा पनि दलित महिला अघि बढेको त झनै मन पर्दैन।
-जिल्लामा त यस्ता विभेद व्यापक रूपमा भोगेको हो। यसलाई चिर्दै आएको हो। एमालेले विभेद गर्न हुँदैन भनेको र आफू पनि निरन्तर लागेकोले यहाँसम्म आएको छु।
-हामी अलिकति बुझ्छौं। तर बच्चाहरूलाई मानसिक रूपमा असर परेको छ। जति दुःख भए पनि एक ठाउँमा बसौं भनरे बच्चाहरू भन्छन्। मेरो छोरीले पानीको दु:ख जे भए पनि यही बसौं, कपडा थोरै धुऔंला ममी भन्दा मन दुख्छ।
-हामी सानो हुँदा सरस्वती पूजा गर्दासमेत दलितका बच्चालाई छुट्टै राखेर प्रसाद दिन्थे। तर अहिले सुधारात्मक विभेद गर्छन्।
-पढ्दै नपढेको अनि नबुझेकाले विभेद गर्दा हामी पनि बुझ्छौं। यस्तै समाजमा हुर्कनुभयो भन्ने लाग्छ तर पढेकाहरूले विभेद गर्दा नमजा लाग्ने रहेछ।
-२१ औं शताब्दीमा विकासले यत्रो फड्को मारिसक्यो। विस्तारै विभेद हट्छ भनेको कहिले हो। मेरो पुस्ताभरि हुन्छ। पछि जेसुकै होस् भन्न खोज्नेको तर्क हो। अर्थात् विभेद कायमै राख्न खोज्नु हो।