उसका साथीहरू कहाँ कहाँ उडिगए। ऊ जंगलमा यताउता आफ्ना पखेटा फिँजाउँदै छट्पटाउँछ। समूहमा बस्ने ऊ दुई महिनादेखि एक्लै बाँच्न बाध्य छ।
ऊ हो हिमाली गिद्ध।
दुर्लभ पंक्षी मानिने एउटा हिमाली गिद्ध अहिले सुर्खेतको काँक्रेबिहार जंगलमा छ। आफ्नो समूहबाट छुटेपछि एक्लै परेको यसलाई केही समय डिभिजन वन कार्यालय सुर्खेतमा राखिएको थियो।
यो गिद्ध कसरी यहाँ आएर एक्लियो भन्ने यकिन छैन। यसलाई स्याहार गरिरहेकाहरूले सुर्खेतको आकाशमा समूहमा उडिरहेका बेला कुनै अवरोध भएपछि छुट्टिएको हुनसक्ने अनुमान गरेका छन्।
'समूहमै उडिरहेका बेला सिद्धपाइलातिरको बिजुलीको तारमा ठोक्किएर अलग्गिएको हुनसक्ने अनुमान हाम्रो छ,' काँक्रेबिहारमा छोडिएपछि गिद्धको स्याहारमा लागेका वीरेन्द्रनगरका युवा नवराज बोहोराले भने, 'भुइँमा झरेर उड्न नसकिरहेको गिद्धलाई कुकुरले लखेट्न थालेपछि स्थानीयले वन कार्यालयलाई खबर गरिदिएका रहेछन्।'
डिभिजन वन कार्यालय सुर्खेतका अनुसार यो एक 'भल्चर' प्रजातिको हिमाली गिद्ध हो। यो गिद्धलाई हेर्ने छुट्टै चरा विशेषज्ञहरू यहाँ उपलब्ध नभएकाले किताबमा हेरेर यसलाई 'भल्चर' प्रजातिको हिमाली गिद्ध भएको निश्कर्ष आफूहरूले निकालेको कार्यालय प्रमुख मुनबहादुर रावतले बताए।
उनका अनुसार यो गिद्ध सुर्खेत उपत्यकाभन्दा माथि झन्डै ३० किलोमिटर आसपासको जंगलमा भेटिएको हो। दुई महिनाअघि उड्न नसक्ने अवस्थामा भेटिएपछि स्थानीयले कार्यालयलाई खबर गरेको उनी बताउँछन्।
त्यसपछि डिभिजन वनले ल्याएर वीरेन्द्रनगरमा यसलाई राखेको थियो।
'केही दिन राखेपछि उड्लाजस्तो संकेत गर्यो। यति भएपछि हामीले फेरि जहाँबाट ल्याएको हो त्यही जंगलमा लगेर छाडिदियौं,' प्रमुख रावतले भने, 'छाडेको दुई साता भइसकेको थियो। उड्न सकेन भन्ने खबर फेरि स्थानीयबाट आयो। अनि यतै राखेर तंग्रिन दिऊँ भनेर एक महिनाजति कार्यालयमै राख्यौं।'
त्यसपछि वन कार्यालयले एक्लिएको हिमाली गिद्धलाई चैत ४ गते काँक्रेबिहार जंगल लगेर छोडिदियो। जंगलमा अशक्त गिद्ध देखिएपछि चैत ५ गतेदेखि बोहोरालगायत युवा तथा पशु चिकित्सकले गिद्धको स्याहार गरिरहेका छन्।
'घाइते गिद्ध निको नभएपछि वन कार्यालयले काँक्रेबिहारमा ल्याएर छाडिदिएको रहेछ। हामीले यसलाई सहयोग संकलन गरेर निरन्तर स्याहार गर्दैछौं,' बोहोराले भने।
पहिले काँक्रेबिहारभित्रको बाटोनजिकै राखिएको गिद्धलाई टिकटक बनाउन आउनेले अवरोध पुर्याउन थालेका थिए। त्यसैले यसलाई अहिले जंगलभित्र राखिएको हो।
उनका अनुसार अहिले यो गिद्ध तंग्रिँदै गएको छ। अब केही दिनमा उड्न सक्ने आशा गरिएको उनले बताए।
एक सातादेखि दस दिनसम्म उड्ने सक्ने/नसक्ने कुर्ने र त्यस बेलासम्म सकेन भने बाहिरबाट विज्ञ चिकित्सक नै बोलाएर उपचार गराउने सोच बनाएको बोहोरा बताउँछन्।
अहिले गिद्धलाई दैनिक ८०० ग्राम मासु खुवाइन्छ।
'सुरूमा त दुई किलोसम्म पनि खुवायौं। पछि पशु चिकित्सकहरूले धेरै खाएपछि अल्छी भएर सुत्न सक्ने सल्लाह दिएपछि हामीले कम गरेका हौं,' बोहोराले भने, 'सुत्न थाल्यो भने त उसको उड्ने अभ्यास हुँदैन नि!'
उनका अनुसार यो गिद्धको उपचार तथा स्याहार गर्न काठमाडौं र नवलपरासीका गिद्धको उपचार गरेका केही अनुभवी चिकित्सकसँग पनि परामर्श लिइएको छ। बाहिरका चिकित्सकसँग परामर्श लिएपछि स्याहार गर्न सहज भएको उनले बताए।
यो हिमाली गिद्ध भाले हो कि पोथी भनेर खुट्याउन भने सकिएको छैन। बोहोराका अनुसार हिमाली गिद्धको लिंग पहिचान गर्न डिएनए एक मात्र आधार हो।
'हामीले यसमा अनुभव भएका चिकित्सकसँग परामर्श लिने क्रममा थाहा भयो, यसको लिंग पहिचान गर्न डिएनए नै गर्नुपर्ने रहेछ,' उनले भने, 'हिमाली गिद्धको शारीरिक संरचना र रङ सबैको एकै प्रकारको हुने रहेछ।'
यसको उपचारमा पशु चिकित्सक डा. सतिष योगी लागेका छन्। उनका अनुसार अहिले गिद्धको अवस्थामा सुधार आएको छ। बाहिरी शरीरमा कुनै चोट छैन। भित्री रूपमा पनि कुनै रोगको लक्षण नदेखिएको उनले बताए।
'मेरो अनुमानमा सातदेखि दस दिनभित्र उड्न सक्ने सम्भावना छ। अहिले त्यो गिद्धको शरीरमा पानीको मात्रा कमी हुन नदिन मासुमा उपयुक्त पदार्थ मिसाएर खुवाउने गरिएको छ,' उनले भने।
गिद्धको आँखामा भने केही समस्या देखिएपछि 'आइ–ड्रप' प्रयोग गरिएको छ। उसलाई मल्टी–भिटाभिन खुवाइरहेको पनि डा. योगीले बताए।
'कमजोर गिद्धलाई सम्बन्धित निकायले जंगलमा लगेर छोड्नु भनेको त स्यालले खाइदिओस् भन्ने हो। कार्यालयले त सकेसम्म निको पार्नु पर्ने, नभए बाँचुञ्जेल स्याहारमा राख्नुपर्थ्यो,' गिद्धको स्याहारमा खटिएका बोहोराले भने।
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रावतले भने आफूहरूले मार्ने उद्देश्यले भन्दा पनि खुला ठाउँ चाहिने महसुस गरेर काँक्रेबिहारमा छाडेको बताए।
उनले भने, 'यसले गन्हाउने कुराहरू खाने भएकाले त्यही किसिमले व्यवस्थापन गर्यौं। नउडे पनि बिस्तारै यताउता हिँड्डुल गर्न थाल्यो,' रावतले भने, 'हामीलाई साँघुरो ठाउँमा राखेर गिद्ध उड्न नसकेको महसुस भएपछि खुला ठाउँ चाहिने होला भनेर काँक्रेबिहारमा राखेका हौं।'
काँक्रेबिहार पर्ने वीरेन्द्रनगर–९ को वडा कार्यालयसँग समन्वय गरी गिद्धलाई त्यहाँ छाडिएको उनले बताए।
खुला ठाउँ भयो भने उड्न सक्ने सम्भावनासँगै मरे पनि पर्यावरण अनुसारै मरोस् भनेर गिद्ध त्यहाँ छाडिएको उनको भनाइ छ प्रमुख रावतले भने, 'त्यहाँ बसेर उड्यो भने पनि ठिकै भयो, मर्यो भने पनि इको-सिस्टमअनुसार मरोस् भनेर हामीले त्यहाँ छोडेका हौं।'
उनका अनुसार कुनै पनि पंक्षी वा जनावरको आफ्नो वातावरणमा त्यसलाई सिकार गर्ने जनावरले मार्नु वा आफ्नै कालगतिले मर्नुलाई 'इको-सिस्टम' अनुसार मरेको भनिन्छ। चोटपटक र भित्री रोग नभएपछि जंगलमा लिएर छोड्न समस्या नभएको उनले बताए।
यो गिद्ध सुर्खेतमा एक्लिएको जाडो महिनादेखि नै हो। गर्मी सुरू भइसकेको तर हिमाली गिद्धलाई जाडो चाहिने भएकाले पनि जंगलमा छाडिएको रावत बताउँछन्।