यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
सायद यो प्रकृति नै रहस्यमयी छ, शरीर र मन फरक पारिदिने! शरीर महिलाको, मन पुरुषको अनि शरीर पुरुषको, मन महिलाको!
कस्तो हुँदो रहेछ भने शरीर र मन फरक परेपछि पहिले आफूलाई चिन्न मुश्किल पर्ने! आफूलाई चिन्यो, अरूलाई चिनाउन मुश्किल!
यस्तै मुश्किलमा परेकाहरूमध्ये एक हुन् एलिन भण्डारी। तीस वर्षअघि जन्मिँदा उनी छोरी थिए। उनको शरीरले दिएको लिंग पहिचान छोरी नै थियो। आखिर अरूले पहिचान गर्ने पनि यसरी नै हो!
उनको नाम रह्यो एलिना। काठमाडौंको महाराजगञ्जमा एलिना हुर्किँदै गइन्।
एक दशक भयो उनी एलिनाबाट एलिन भएको। कसरी यस्तो भयो?
जसै एलिना हुर्किँदै गइन्, उनलाई म त छोरी नभएर छोरो पो हुँ भन्ने लाग्न थाल्यो। छोरीको लुगा मन पर्दैन थियो। छोराले लगाउने लुगामा मन जान्थ्यो। बाल्यावस्थामा छोरोजस्तो बन्न खोज्ने एलिनाको स्वभावप्रति परिवारजनको ध्यान गएन। त्यो स्वभाव बालहठ ठानियो ।
उनी आमाले लगाइदिएको गाजल एकैछिनमा पुछ्थे।
एलिन भन्छन्, 'मलाई आफू केटी भएर पनि किन केटाजस्तो बन्न मन लागेको होला भन्ने प्रश्नले उकुसमुकुस बनाइरहन्थ्यो तर उत्तर कहाँ पाउनु!'
छोरी शरीरमा छोरा मन बलियो हुँदै थियो। तेह्र वर्षको उमेरमा एक दिन उनलाई महिनावारी भयो। परिवारजनले अर्को घरमा लगेर राखे। पहिलो पटक महिनावारी अर्थात रजस्वला हुँदा घरमा बस्नु हुँदैन भन्ने मान्यता थियो।
'महिनावारीको बेला पनि मलाई केटाकै लुगा लगाउन मन लाग्थ्यो,' एलिनले भने, 'म आफ्नो बारेमा निर्णय गर्न सक्ने भएको थिइनँ, अरूले भनेको मान्नु पर्थ्यो।'
पहिलो महिनावारी छिमेकीको घरमा सात दिन बसेर एलिन बाहिर निस्के। यति हुँदा पनि उनले आफूलाई छोरीका रूपमा स्वीकार गर्न सकेनन्।
आठ कक्षामा पढ्दै गर्दा उनले आफू छोरी होइन, छोरो नै हुँ, महिला होइन, पुरुष नै हुँ भन्ने पक्का गरे। आफू त पक्का भए तर घरमा कसरी कुरा बुझाउने, साथीहरूलाई कसरी सम्झाउने भन्ने रनभुल्लमा परे।
उनले आफ्नो शरीर र मनको भिन्नताको रहस्य खोल्न सकेनन्। कसैलाई भन्न सकेनन्। आफ्नो पहिचान लुकाएरै राख्न बाध्य भए। यसको परिणाम के भयो भने उनको पढाइ बिग्रिँदै गयो। पढाइमा लगाउनु पर्ने चित्त लैंगिक पहिचान लुकाउनमा लगाउनु पर्ने भयो।
'मेरो पढाइ बिग्रँदै गयो। मलाई पढाइभन्दा पनि कसरी आफ्नो पहिचान लुकाउने भन्ने चिन्ता हुन्थ्यो। यसमै बढी ध्यान दिन थालेँ।'
घरमा छोरीकै व्यवहार हुन्थ्यो। अझ छोरीमान्छे स्कुलबाट छिटै घर आउनुपर्ने, एक्लै घरबाहिर जान नहुने, भान्साको काम गर्नुपर्ने, धेरै बोल्न र ठूलो स्वर निकाल्न नहुने जस्ता मान्यता थियो।
'मलाई चाहिँ केटाहरूसँग खेल्न मन लाग्ने, घरबाट एक्लै निस्किन मन पर्ने, केटाले गर्ने काम गर्न मन लाग्ने हुन्थ्यो,' उनी सम्झिन्छन्।
उनलाई सबैभन्दा ठूलो सकस स्कुलको शौचालय प्रयोगमा हुन्थ्यो। केटा जस्तो देखिन केटाकै शौचालयमा पस्नु पथ्र्यो। भित्री मनले केटाकै शौचालयमा पस् भन्थ्यो तर केटीको लुगा लगाएका हुन्थे। शौचका लागि उनलाई केटीकै शौचालय सजिलो हुन्थ्यो तर केटीहरूसँगै शौचालय छिर्न असहज लाग्थ्यो। सुनसान भएपछि केटाकै शौचालयमा पस्थे।
उनले दस कक्षामा पढ्दासम्म केटीकै पोशाक लगाए। लामो कपालमा दुई चुल्ठो बाटेर स्कुल गए। आफ्नो केटा मन दबाउनुसम्म दबाएर राखे। शरीरले छोरी भए पनि मनले छोरा हुँ भन्ने कुरा कसैलाई सुनाएनन्।
उनको हाउभाउ केटाको जस्तो हुने क्रम बिस्तारै बढ्दै गयो। यससँगै साथीहरूको नजर पनि परिवर्तन हुँदै गयो, उनीहरू नकारात्मक बन्न थाले।
'मेरो हाउभाउ केटाको जस्तै हुन थालेपछि स्कुलका साथीहरू मलाई छक्का, हिजडा भन्न थाले,' एलिनले सुनाए, 'यसले मलाई ठूलो मानसिक पीडा दिन्थ्यो।'
म केटा नै हुँ भनेर उनले कपाल पनि खौराए। यसले घरमा निकै समस्या सिर्जना गर्यो। कपाल खौरेपछि बुबाले धेरै गाली गरे। तर उनले आफ्नोबारे केही बोलेनन्। छोरी मान्छेले यसरी कपाल खौरनु हुँदैन भन्ने आमाबुबाको कुरा थियो।
'लामो कपाल भारी लाग्थ्यो। केटो मान्छे केटी बनेर हिँडेको जस्तो महसुस हुन्थ्यो,' उनी भन्छन्, 'केटी भएर पनि केटा जस्तो हुन खोजेको भनेर साथीहरूले भन्थे।'
कपाल छोटो पारेपछि केटाजस्तो देखिने गरी पोशाक मिलाउँथे।
कक्षाको पढाइ पूरा भयो। उमेर पढ्दै जाँदा उनको लैंगिक पहिचानमा चियोचर्चो र खिसिट्युरी पनि बढ्न थाल्यो। पढ्नु त थियो नै। स्कुल जाने र नजाने आधाआधा जसो गरेर १२ कक्षा पूरा गरे।
यसपछि भने एलिन केटा अर्थात पुरुष पहिचानमै स्नातक तह पढ्न गए। कागजपत्रमा स्त्री नाम भए पनि बाहिरी स्वरूपमा आफूलाई पुरुषजस्तै देखाउँथे। कक्षामा बस्दा केटाहरूसँगै बस्थे। सबै सहपाठीहरू नयाँ भएकाले उनलाई पुरुषका रूपमा प्रस्तुत हुन सजिलो भयो।
लुगाभित्रको शरीर त केटीकै थियो। समस्या फेरि शौचालयमै पर्थ्यो। महिलाकोमा पसौं केटीहरूले केटो मानेका छन्, पुरुष शौचालय शरीरले अप्ठ्यारो मान्छ। जसोतसो उनी पुरुष शौचालय नै प्रयोग गर्थे।
महिनावारी पनि प्रकृतिले दिएकै थियो। यति बेला भने उनलाई औडाहा हुन्थ्यो। आखिर ममाथि किन यस्तो भएको होला भन्ने लाग्थ्यो।
'महिनाभरि २९ दिन केटा हुन्थेँ, तीन–चार दिन केटी हुन्थेँ,' एलिन भन्छन्, 'महिनावारीले मलाई म छोरी भएर जन्मिएको रहेछु भन्ने याद दिलाउँथ्यो।'
महिनावारीका लागि स्यानिटरी प्याड किन्न जानुपथ्र्यो। प्याड फेर्नु पथ्र्यो। प्याड किन्न केटी साथीलाई पठाउँथे।
केटाको शौचालयमा पस्न पनि सजिलो थिएन, महिनावारी भएको थाहा पाउलान् भन्ने डर हुन्थ्यो। जहिले पनि सबै केटाहरू निस्केपछि मात्रै शौचालयमा पस्थे। कहिलेकाहीँ त उभिएरै पिसाब फेर्न पनि बाध्य हुन्थे।
दिनहरू अन्योलमै बित्दै थिए। परीक्षामा सहभागी हुने दिन आयो। झट्ट हेर्दा केटो, प्रवेशपत्रमा नाम केटीको– एलिना भण्डारी, परीक्षा कोठामा रहेका निरीक्षक अन्योलमा परे। निरीक्षकले केरकार गरे। नक्कली परीक्षार्थीका रूपमा शंका गरे। प्रवेश पत्रमा केटीको नाम छ, तिमी केटा हौ कि केटी भन्दै खेर्न थाले।
त्यस दिनको घटना स्मरण गर्दै एलिनले भने, 'साथीको बीचमा त्यस्तो प्रश्न गरेपछि मैले पढाइ नै छाडेँ।'
आफ्नो लैंगिक पहिचानमा प्रश्न उठेपछि र निरीक्षकले यथार्थ नपत्याउने छाँट नदेखेपछि एलिन परीक्षा हल छाडेर निस्किए। उनको पढाइ यहीँ टुंगियो।
उनी आफ्नो शरीर केटाको जस्तो देखाउन स्तन कसिने लुगा लगाउँथे। गर्मी मौसममा पनि बाक्लो ज्याकेट लगाउँथे। छाती बाइन्डरले कस्थे। बाइन्डर स्तन कसिनेगरी लगाइने भित्री लुगा हो।
यसरी स्तन कस्दा शरीरलाई निकै असहज हुन्थ्यो।
'केटीहरू पनि राति सुत्दा खुकुलो कपडा लगाउँछन्, स्तन खुकुलो राख्छन् तर म चौबीसै घन्टा बाइन्डरले कस्थेँ। यसो गर्दा छाती दुख्थ्यो।'
आफूले यसरी सात वर्ष बिताएको उनी बताउँछन्। यही बीचमा उनले एउटा कार्यालयमा रोजगारी पाए तर महिलाको रूपमा। उनले भने, 'बल्लतल्ल पाएको जागिर बचाउनु थियो। म केटाको रूपमा खुलिनँ।'
जागिरकै क्रममा एलिनले आफूजस्तै एक जना साथी भेटे। ती साथी ब्लु डाइमन्ड सोसाइटीमा संलग्न थिए। ती साथीले एलिनलाई सोसाइटीमा पुर्याए। त्यहाँ पुगेपछि उनले आफ्नो वरिपरि फराकिलो क्षितिज देखे। आफूजस्ता धेरै जनालाई भेटे।
सोसाइटीमा जोडिएपछि एलिनले जागिर छाडे। उनी आफूलाई समलिंगी महिला (लेस्बियन) ठान्थे। सोसाइटीको संगतमा पुगेपछि आफू लेस्बियन नभई ट्रान्सम्यान अर्थात पारलैंगिक पुरुष हुँ भन्ने थाहा पाए।
यौनका दृष्टिले महिलाप्रति आकर्षित हुने स्वभावका कारणले उनले आफूलाई लेस्बियन ठानेका थिए। शारीरिकरूपमा महिला तर हुर्किँदै जाँदा पुरुषको रूपमा लैंगिक पहिचान भएका व्यक्तिहरू ट्रान्सजेन्डर पुरुष अर्थात पारलैंगिक पुरुष हुन्। यस्तै ट्रान्सजेन्डर महिला हुन्छन्।
एलिन सोसाइटीमा संलग्न भएको र उनले त्यहाँ काम गरेका परिवारजनलाई मन परेन। यति बेलासम्म एलिनको घरमा उनलाई आमाबुबा र सबैले छोरी नै मान्थे। एलिनले पनि भन्न सकेका थिएनन्। उनले सोसाइटीमा संलग्नताबारे घरमा आमाबुबालाई बुझाउन सके तर आफ्नो लैंगिक पहिचान खुलाउन सकेनन्।
विस्तारै एलिन आफ्नो लैंगिक पहिचानमा प्रष्ट भए। अब उनले आफ्नो शरीरमा पनि परिवर्तन ल्याउने विचार गरे।
उनले हर्मोन थेरापीबाट अनुहार र आवाज केटाको जस्तो बनाउने सोचे, यसैअनुसार अघि बढे। चार महिनामा आवाज केटाको जस्तो भयो। अनुहारमा दाह्रीजुँगा पलायो।
यसपछि उनले आफूलाई 'एलिना' नभनेर 'एलिन' नामले चिनाउन थाले।
हर्मोन थेरापी सुरू गरेपछि दाह्रीजुँगा पलाउन थाल्यो। अनुहार केटाको जस्तो भयो। तर स्वर फेरिन केही ढिलो भयो। यो अन्तरिम अवस्थामा उनलाई निकै ठूलो सकस पर्यो। केटाको अनुहारबाट केटीको स्वर निस्कँदा उनी हाँसोका पात्र बन्थे। एक पटक त बैंकले खाता पनि खोलिदिएन रे।
'एउटा बैंकमा तपाईं केटाजस्तो देखिनुहुन्छ, केटीको नाम छ भनेर खाता खोलिदिन मानेनन्,' उनले भने, 'पछि ब्लु डाइमन्ड सोसाइटीसँग आबद्ध रहेको बैंकले खोलिदियो।'
उनको सबैभन्दा ठूलो समस्या महिनावारी थियो। महिनावारी रोक्न उनले पाठेघर निकाल्ने उपाय रोजे। सरकारी अस्पतालमा कम शुल्कमा शल्यक्रिया हुन्थ्यो तर अस्पतालले स्वास्थ्य मन्त्रालयको सिफारिस खोज्यो। अन्ततः उनले महँगो शुल्कमा निजी अस्पतालमा शल्यक्रिया गराए।
यसपछि एलिनको आँट र आत्मविश्वास बढ्यो। बल्ल उनले घरमा आफ्नो लैंगिक अवस्थाबारे सबै कुरा खुलासा गरे। आफूलाई छोरो मानेर व्यवहार गर्न आमाबुबालाई आग्रह गरे। दाजुलाई पनि आफूलाई भाइ भन्न मनाए।
'बाआमालाई भने बुझाउन गाह्रो भयो तर मैले ढिपी नछाडेपछि स्वीकार गर्नुभयो,' घरमा आफूले गरेको खुलासा र आग्रहबारे एलिनले भने, 'विस्तारै बुबाआमा एउटा छोरो थियो, दुइटा भए भन्न थाल्नुभयो।
कागजी प्रमाणमा स्त्री नाम कायमै रहँदा भने एलिन अझै समस्यामा पर्ने गरेका छन्। अक्सर हवाई यात्रा गर्ने क्रममा केरकार बढी हुन्छ। एक पटक त विदेश जाने क्रममा सुरक्षा चेकजाँचमा छातीको भित्री लुगा खोल्न दबाब दिएको उनले बताए। उनले स्तन दबाउन बाइन्डर लगाएका थिए। त्यसको खिपले सुरक्षा जाँचमा शंकाको ठाउँ दियो। अन्ततः उनी कुरा बुझाउन सफल भए, लुगा खोल्नु परेन।
यसपछि उनले स्तन पनि फाले। ब्लु डाइमन्ड सोसाइटीमा आबद्ध पारलैंगिक पुरुषहरूमध्ये आफ्नो स्तन फाल्ने आफू पहिलो व्यक्ति रहेको उनको भनाइ छ।
'शरीर र मन मिलाउन मैले यस्तो उपचार गर्नु परेको हो,' एलिनले आफ्नो बाध्यता सुनाए।
उनकी एक प्रेमिका पनि थिइन् रे। प्रेम सम्बन्ध छ वर्ष पुगेको थियो। उनको लैंगिक पहिचान खुलेपछि प्रेमिकाको बिहे अर्को पुरुषसँग भयो। उनले भने, 'यो घटनाले मलाई धेरै तनाव दियो।'
एलिनको नागरिकताको प्रमाणपत्रमा लैंगिक पहिचान महिला नै छ, नाम एलिना छ। उनी एलिन नाम राखेर आफ्नो लैंगिक पहिचानसहितको नागरिकता बनाउन चाहन्छन्।
भित्र पाठेघर छैन, बाहिर स्तन छैन तर तर शरीरमा अझै स्त्री यौनांग छ। उनका अनुसार प्रशासनले यौनांग परिवर्तन गरेको भनेर चिकित्सकको सिफारिस भए मात्र पहिचानसहितको नागरिकता बन्छ भनेको छ। उनले भने, 'लिंग (यौनांग) परिवर्तन नेपालमा हुँदैन।'
एलिनले भनेअनुसार यौनांग फेर्न भारत वा थाइल्यान्ड जानुपर्छ। शल्यक्रिया गर्न १५ लाख रूपैयाँ लाग्छ। उनी भन्छन्, 'मसँग त्यति धेरै पैसा छैन। मैले आफ्नो पहिचानसहितको नागरिकता बनाउन सकिनँ।'
सरकारी कागजातमा स्त्री पहिचान हुँदा उनले अनेक ठाउँमा सास्ती भोग्नु परेको छ।
एलिन हाल ब्लु डाइमन्ड सोसाइटीमा आफूजस्ता लैंगिक पहिचानको समस्यामा परेका बालबालिकाको अधिकारबारे काम गर्छन्। उनी भन्छन्, 'पहिले आफूले आफूलाई स्वीकार गर्न सक्नु पर्छ अनि मात्र परिवार र समाजले स्वीकार गर्छन्।'
एलिनलाई बिहे गर्ने पनि रहर छ। लैंगिक अल्पसंख्यकहरूको बिहेका सम्बन्धमा ठोस कानुनी व्यवस्था हुनुपर्ने माग राख्दै उनले भने, 'हाम्रो समुदायको लागि बिहे गर्न कानुनले छुट दिएको छैन। कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ।'
एलिन आफूजस्ता लैंगिक अल्पसंख्यकहरूको पहिचान र अधिकारका लागि संघर्ष गर्ने ओठटका साथ अघि बढेका छन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अन्य कथाहरू पनि पढ्नुहोस्ः
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनीहरूका लागि न शौचालय छ, न अस्पताल