नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला प्रशासन धाउँदा धाउँदा हैरान भएपछि एक जना किशोरी राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामालाई भेट्न पुगिन्। हालैमात्र नर्सिङ विषयको परीक्षा उत्तीर्ण गरेकी उनले नागरिकता नभएका कारण पेसाका लागि लाइसेन्स पाउन सकेकी थिइनन्।
सबै कुरा सुनेपछि उपमेयर लामा राप्ती नगरपालिका–६ स्थित उनको घरमा पुगे। त्यसपछि थाहा पाए उनले नागरिकता प्रमाणपत्र नहुँदा परिवारका सबैले भोगिरहेको पीडा।
किशोरीका हजुरबुबा पाल्मा चौधरीलाई सानै छँदा बाबुआमाले छाडेका थिए। बेसहरा बनेका उनी मागेर खाँदै जीवन निर्वाह गर्न थाले। पछि अर्काको घरमा हरुवाचरुवा बस्दै घरबार बसाए।
अहिले पाल्मा ७५ वर्षका भए, श्रीमती कनानी चौधरी ६१ वर्षकी भइन्। उनीहरूका तीन छोरा र तीन छोरी छन्। छोरातर्फका नातिनातिनाहरू पनि नागरिकताको प्रमाणपत्र बनाउने उमेरका भए। हजुरबा–हजुरआमाकै नागरिकता छैन, तिनका छोराबुहारी र नातिनातिनाको त हुने कुरै भएन।
पाल्माले नागरिकता बनाउने प्रयास नगरेका होइनन्। नागरिकता नबन्नुको कारण थियो वृद्धावस्थामा पाल्माको सनाखत गरिदिने अभिभावक वा आफन्त कोही पनि नहुनु। उपमेयर लामाले सबै कुरा ध्यान दिएर सुने, घटनाक्रम बुझे।
‘साथमा नागरिकता हुने हामीलाई सामान्य कुरा जस्तो लाग्छ तर जसले नागरिकता पाएको छैन उसको पीडा धेरै हुनेरहेछ,’ लामाले भने, ‘त्यो घरमा पुगेपछि मैले धेरै कुरा थाहा पाएँ।’
पाल्मा र कनानी चौधरीले नागरिकता पाएपछि। तस्बिर: राजेश घिमिरे/सेतोपाटीचौधरी परिवारको पीडाको कुरा सुनेर लामा गम्भीर भए। नागरिकता नभएकै कारण श्रीमान–श्रीमतीको सम्बन्ध बिच्छेद हुने अवस्था आउन लागेको थाहा पाए। ‘धेरै पटक जिल्ला प्रशासन कार्यालय पुग्दा पनि नागरिकता नबनेपछि बाँच्नुको के अर्थ भनेर निराश बन्न थालेको भेटेँ,’ उनले भने, ‘यो साह्रै ठूलो समस्या हो। उनीहरूलाई जसरी पनि नागरिकता दिलाउनुपर्छ भन्ने अठोटमा पुगेँ।’
उपमेयर लामाले चौधरी परिवारका सदस्यहरूलाई जिल्ला प्रशासन कार्यालय पु¥याए। उनीहरूको समस्या प्रमुख जिल्ला अधिकारीलाई सुनाए। उपमेयरले सनाखत गर्ने हो भने आफूले तुरुन्तै नागरिकताको प्रमाणपत्र बनाइदिने वचन प्रमुख जिल्ला अधिकारीले दिए।
लामाले सनाखत गरेर नागरिकता दिलाए। पल्माका अनुसार उनी नागरिकता बनाउन २० पटक जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
पाल्मा र कनानीले नागरिकता पाएपछि परिवारका अन्य १३ जनाको नागरिकता पाउने बाटो खुल्यो। अभिभावकको नागरिकता नहुँदा नातिनातिनाको जन्मदर्ताको प्रमाणपत्र पनि बनेको थिएन।
नागरिकता लिन सदरमुकाम आइपुगेका कालुभान प्रजा र गोविन्द प्रजा जिल्ला प्रशासन कार्यालयमा। तस्बिर: राजेश घिमिरे/सेतोपाटीकनानीकी बुहारी सुमित्रा चौधरीले नागरिकता नहुँदा कारण घरमा अशान्ति हुने गरेको बताइन्। नागरिकता बनेपछि घरमा कचमच बन्द भएको छ। सुमित्राले भनिन्, ‘नागरिकता भएपछि त घरको धेरै समस्या समाधान भयो।’
उपमेयर लामाले गाउँका अन्य केही वृद्धवृद्धाहरूको लागि पनि नागरिकताका बनाउन आफैले सनाखत गरिदिएका छन्। नागरिकताबाट बञ्चित बनेका ७१ वर्षीया फूलमाया अधिकारी, उनका ७४ वर्षीय श्रीमान, ७५ वर्षका चंखे दराई, ७३ वर्षका भिखुला दराई, ७४ वर्षका बेले विक, ४९ वर्षकी नारायणी उप्रेतीलगायतका लागि आफैले सनाखत गरिदिएर उनीहरूलाई जिल्ला प्रशासन कार्यालय पु¥याएर नागरिकता बनाइदिएको उनले बताए।
वृद्ध अभिभावकको नागरिकता प्रमाणपत्र बनेपछि तिनका परिवारका सदस्यहरूले पनि बनाउन थाले।
‘आफ्नो नातागोता कोही नहुँदा धेरैले पीडा भोगेका रहेछन्,’ लामाले भने, ‘अन्त के कसो छ थाहा छैन तर हाम्रो नगरमा हामी (जनप्रतिनिधिहरू) नै अभिभावक बनेर सेवा दिइरहेका छौँ।’
चितवनमा नागरिकताको प्रमाणपत्र नभएर समस्या भोग्नेहरूमा चेपाङ समुदायका धेरै छन्।
नागरिकताका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मासँग कुरा राख्दै। तस्बिर: राजेश घिमिरे/सेतोपाटीराप्ती नगरपालिका–१३ कान्दाका २० वर्षीय गणेश प्रजा सामाजिक संस्था ‘लक्ष्मी प्रतिष्ठान’ को सहयोगमा काभ्रेमा कक्षा १२ मा पढ्दैछन्। उनले उच्च शिक्षाका लागि नागरिकता बनाउन प्रयास गरे तर बनेन। उनका बाबु कालुभान र आमा सेतीमायाको नै नागरिकता नभएपछि गणेशले पनि पाएनन्।
स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया र वडाध्यक्ष सूर्यबहादुर प्रजाले कागजपत्र जुटाउन र गाउँबाट सदरमुकामसम्म पुग्न सहजीकरण गरिदिए। भाइ कानसिंंह प्रजाले सनाखत गरेपछि ७१ वर्षीय कालुभानले नागरिकता पाए।
बाबुले नागरिकता पाएपछि गणेशले पनि पाए। ‘अब आमा र बहिनीहरूले पनि नागरिकता पाउने भए,’ खुसी हुँदै गणेशले भने, ‘मलाई पनि पढ्न, जागिर खान सजिलो हुने भयो।’
कालुभान कान सुन्दैनन, बोल्न पनि सक्दैनन्। नागरिकता बनाउन गाउँमा २०४६ मा सरकारी टोली आएको थियो तर उनले पाएनन्। ‘त्यतिखेर बिहे गरेको थिएन। बोल्न, सुन्न नसक्नेलाई किन चाहियो नागरिकता भनेर कसैले वास्ता गरेन,’ कालुभानका भाइ कानसिंहले भने, ‘अहिले छोराछोरीलाई चाहिएपछि जसरी पनि बनाउनै पर्ने भयो।’
निरमाया प्रजा र श्रीमाया प्रजालाई नागरिकता दिँदै सहायक प्रमुख जिल्ला अधिकारी। तस्बिर: राजेश घिमिरे/सेतोपाटीकालुभानजस्तै अपाङ्गता भएका राप्ती नगरपालिका, ज्यारबाङका ७१ वर्षीय गोविन्द प्रजाको नागरिकता नहुँदा उनका दुई छोरा र एक छोरी नागरिकताविहीन थिए। गोविन्दका चारजना नातिनातिना पनि हुर्किंदैछन्। बाबुको नागरिकता नहुँदा तिनीहरूको जन्मदर्ता पनि बनेको थिएन।
ज्यारबाङकै ३२ वर्षीय शीतलसिंह प्रजाले गाउँको स्कुलका हेडसर र वडाअध्यलाई भनेर बाबुआमाको नागरिकता बनाए। उनले भने, ‘नागरिकता बन्यो, अब भोट हाल्न पनि पाइन्छ। काम पनि पाइन्छ।’
आफूसँग नागरिकता नहुँदा प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्न नपाएको बताए।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार चेपाङ समुदायबाट नागरिकता बनाउन आउने क्रम बढेको छ।
‘गोविन्द प्रजाको त खुट्टामा चप्पल पनि थिएन, हामीले चप्पल पनि किनिदिनु पर्ने! नागरिकतामात्रै दियौँ।’
शर्माका अनुसार केही महिनायता वृद्धास्थामा नागरिकता लिन आउनेको संख्या बढेको छ। ‘निर्वाचन हुने समय आउन लागेको पनि होला, केही महिनायता जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेको चाप छ,’ उनले भने, ‘नेताहरूले गाडी रिजर्भ गरेर पनि नागरिकता बनाउन ल्याउने गरेका छन्।’
उनका अनुसार सनाखत गर्ने मान्छे नै नभएका वृद्धवद्धाहरू, तिनका छोराबुहारी र नातिनातिनाहरू आउँछन्।
शर्माले नागरिकता बनाउन आउनेहरूलाई कानूनी प्रक्रियाले मिलेसम्म जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्दै आएको बताए। ‘सीमान्तकृत, पिछाडिएका वर्ग र फरक क्षमता भएका कतिको त म आफैले सनाखत गरिदिएको छु,’ उनले भने, ‘केही दिनअघि कालिका नगरपालिकाको पहाडी गाउँका दुई जना वृद्धाको मैले नै सनाखत गरेँ, नागरिकता बन्यो।’
जिल्ला प्रशासन कार्यालय, चितवनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १० हजार २१७ जनाले वंशजको आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन्।