यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
अछाममा हुर्केका मनोज शाही कक्षामा केटाहरूको लहरमा बस्थे। बेन्चमा खजमज्ज भएर बस्दा उनलाई सकस हुन्थ्यो। केटासँग छोइएला भनेर बेन्चमै खुम्चिन्थे। उनलाई केटाहरूसँग लाज लाग्थ्यो।
अर्को लहरमा केटीहरू बसेको देख्दा उनी सोच्थे- म त्यहाँ सजिलो गरी बस्थेँ होला।
साथीहरू पनि केटी नै बनाउन चाहन्थे। मनोजलाई त्यही बेला हो आफू केटी हुँ भन्ने पहिलो आभाष भएको।
त्यो बेला उनी जम्मा १३ वर्षका थिए। उनलाई लाली, गाजल र कुर्तासुरूवाल लगाउन मन लाग्थ्यो। कपाल लामो पाल्ने रहर थियो।
सबैलाई भन्ने मन थियो- म केटीजस्तो छु। केटीजस्तै हुन चाहन्छु।
यी सबै कुरा मनमा मात्रै लागिरहे। व्यवहारमा गर्न हिम्मत भएन। केटाकै लुगा लाए। बालक भएर जन्मेकाले अरूले पनि केटा नै देखे। मनोजले आफ्नो मन पोख्न सकेनन्।
उमेर बढ्दै जाँदा उनमा केटी भाव बढ्न थाल्यो। आफ्नो मन अझै बुझ्दै जान थाले। केटी बन्ने रहरले पनि भर्याङ हाल्दै गयो। रातिराति लुकेर दिदीका लुगा लाएर ऐनामा आफूलाई केटी रूपमा हेर्थे। आफू पूर्ण भएको महसुस गर्थे।
किशोर उमेर बढ्दै जाँदा केटाको शौचालय जान सकस हुन थाल्यो। तर 'महिला' लेखिएको चर्पीसम्म पुग्ने आँट आएन। कक्षामा भने बेलाबखत सानो हिम्मत बटुलेर केटीहरूको बेन्चमा गएर बसिदिन्थे। तर सजाय पाउँथे।
'व्यवहार अप्ठ्यारो छँदै थियो, मनले पनि समस्या खडा गरिदियो,' आफूलाई अहिले मोनिका शाही भनेर चिनाउने उनले भनिन्, 'दस कक्षा पढ्ने बेलामा मेरो मन एक पुरुष साथीसँग बस्यो।'
त्यो उनको पहिलो प्रेम थियो। एकतर्फी प्रेम। त्यो बेला मनोज नै रहेका उनलाई बाहेक प्रेमको कुरा कसैलाई थाहा भएन। साथीका परिवारले उनलाई छोराको मिल्ने साथी भनेर माया गर्थे।
'म भने उनको साथी मात्र हुन चाहन्नँ थिएँ। उनलाई प्रेम गर्थेँ, बिहे गर्न चाहन्थेँ। म त केटी नै थिएँ नि, तर सबैले केटा मात्र देखे,' मोनिकाले सुनाइन्।
यो प्रेमको आँधीले उनलाई खान थाल्यो। आफू केटी भएको भए ती साथीले पनि आफूलाई माया गर्थे कि! परिवार र समाजले उनीहरूको जोडी बाँधिदिन्थे कि!
उनीभित्र तूफान मच्चिन थाल्यो। मनकी केटीलाई त्यो तूफानले बाहिर हुर्याउन थाल्यो। गुस्मिन नसक्ने भएपछि विस्तारै मनोजभित्र लुकेकी मोनिका देखा पर्न थालिन्।
तर समाजले उनको नयाँ रूपमा 'खोट' देख्यो।
'त्यसपछि त झन् धेरै पीडा भयो। मलाई छक्का, हिजडा भन्न थाले,' मोनिकाले सुनाइन्, 'पीडा यति भयो कि मलाई आत्महत्या गर्नेसम्म सोच आयो। मलाई नचिन्ने यो दुनियाँबाट छुटकारा पाइएला भन्ने सोच्थेँ।'
आफ्नो पहिचानका लागि लडिरहँदा मनोजको मन कमजोर हुन थाल्यो। पढाइमा ध्यान दिन सकेनन्। एसएलसी नदिई छाडिदिए। घरको गाली सुने। आफूले मनपराएका पुरुष साथीसँगको साथ छुट्यो।
यसैबीच उनको परिवार अछामबाट कैलाली आयो। कैलाली आएको केही समयपछि उनका आमाबाको निधन भयो। दुई दाजु र दुई दिदीका कान्छा भाइ मनोजको परिवारमा आर्थिक समस्याले सताउन थाल्यो। पढाइ छाडिसकेकाले पेट पाल्नकै लागि पनि केही काम गर्नुपर्यो।
तर आफ्नो पहिचानकै कारण उनलाई कमाउन मुश्किल भयो। उनी जुन रूपमा बाँच्न चाहन्थे, त्यसले उनलाई बाँच्ने पैसा दिन्थेन। त्यसैले उनले आफूलाई केटाकै रूपभित्र लुकाएर जीविकोपार्जनको बाटो खोजे। यहीबीच कराते सिके। ब्याल्कबेल्ट पाए।
'केटाको रूप हुँदै म कराते खेलाडी भएँ। धेरै प्रतियोगितामा सहभागी भएँ। पदक जितेँ,' उनले आफू खेलाडी हुँदाका दिन सम्झिँदै भनिन्।
खेलका माध्यमबाट उनी जान्नेबुझ्ने हुँदै गए। सामाजिक मुद्दामा चासो राख्न थाले। गाँउघरमा अन्याय-अत्याचार हुँदा सबभन्दा पहिले पुगेर सल्टाउन खोजे। विस्तारै उनलाई समाजले सम्मान दिन थाल्यो। समाजले आफूमाथि विश्वास गर्न थालेको देखेर उनले राजनीतिमा बाटो देखे।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे। कमल थापासँगै राजनीतिक दलका ठूला नेतासँग भेटवार्ता भयो। बाहिर घुलमिल हुने क्रममा उनले आफूजस्तै साथीहरू भेटे। नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) सँग सम्पर्क भयो।
अनि उनलाई आफू को हुँ भन्ने यकिन भयो।
उनलाई सधैं लाग्थ्यो- आफू जे हुँ, त्यही भएर बाँच्नुपर्छ। अब म खुल्नुपर्छ। मनोज भएर होइन मोनिका भनेर चिनिनुपर्छ।
यही सोचलाई उनले कैलालीकै टीकापुरमा साकार गराए।
'मैले त्यहाँ म केटा होइन, केटी हुँ भनेर खुलाएँ। म मनोज होइन, मोनिका हुँ भने,' मनोज नाम पन्छाएर सबैका अगाडि मोनिकाका रूपमा आफू उभिएको क्षण सम्झिँदै उनले भनिन्, 'यो कुरालाई समाज, परिवार, सबैले स्वीकारे।'
यसपछि मोनिकाको आत्मविश्वास चुलियो। तर नामले मात्र गरेर उनको नयाँ पहिचान खुल्थेन। त्यसैले उनी काठमाडौं आएर मन्त्रिपरिषद बैठकमा पुगिन्। त्यहाँ गएर आफ्नो पहिचानसहितको नागरिकता बनाइदिनु पर्ने माग राखिन्।
'लैंगिक पहिचान खुलाउने ठाउँमा अन्य लेखेर मेरो नागरिकता बन्यो,' मोनिका भन्छिन्, 'अन्यबाट नागरिकता पाउने पहिलो व्यक्ति मै हुँ।'
अन्य अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय।
चार वर्षअघि यसरी नागरिकता पाएपछि मोनिकालाई खुल्न सकस भएन। उनी केटीको पोशाक लाउन थालिन्। डल्लो पारेर लुकाएको कपाल फुकाइन्। आफूलाई सिँगारिन्। लाली र गाजल लाउने सपना पूरा गरिन्।
उनको यात्रा समाजसेवा र राजनीतिमा सीमित भएन। मोनिका बनेपछि उनी कलाकार पनि भइन्। थारू भाषाको फिल्म 'जाली संसार' लगायत केहीमा हाँस्य कलाकारका रूपमा अभिनय गरिन्।
यति बेलासम्म उनले आफ्नो कागजी पहिचान पाइसकेकी थिइन्। मन महिलाको थियो। स्वरूप पनि। तर शरीर केटाकै थियो।
उनलाई फेरि लाग्यो- म महिला हुँ। शारीरिक रूपमा पनि महिला नै हुनुपर्छ।
'यसका निम्ति लिंग हटाउनु र छाती बढाउनुपर्थ्यो,' उनले भनिन्, 'शल्यक्रियाका लागि १५ लाखसम्म चाहिने भयो। मसँग त्यति धेरै पैसा थिएन।'
त्यसपछि उनले पार्टी र विदेशमा भएका साथीसंगीसँग सहयोग मागिन्। सबैले मन फुकाएर सहयोग गरे। नेपालमा यस्तो शल्यक्रिया व्यवस्था नभएकाले उनी थाइल्यान्ड पुगिन्।
यसपछि मोनिका तन-मन दुवै हिसाबले महिला भइन्। आफूले चाहेको पहिचान बोकेर मोनिका थाइल्यान्डबाट नेपाल फर्किन्। त्यही दिन उनको जीवनले नयाँ मोड लियो।
राति ११ बजेतिर विमानस्थलमा मोनिका र उनकी एक साथी ट्याक्सी खोज्दै थिए। उनीहरूलाई माछापोखरी जानु थियो। बल्लतल्ल ट्याक्सी भेटे। भाडा महँगो भएपछि मिलेर जान सकिन्छ कि भनेर उनीहरूले अर्को यात्रु खोजे।
त्यही बेला मोनिकाको आँखा एक युवकमाथि पर्यो। छेउमा उभिएका ती युवक पनि ट्याक्सी नपाएर आजित देखिन्थे।
मोनिकाले 'तपाईं कहाँ पुग्ने हो, हामीसँगै ट्याक्सीमा गए भाडा कम हुन्छ' भनिन्। गोंगबु पुग्नुपर्ने ती युवकले स्वीकारे। अनि तीन जना एउटै ट्याक्सीमा गए।
बाटामा उनीहरूबीच परिचय आदानप्रदान भयो। ती युवक रहेछन् डडेलधुराका रमेशनाथ योगी। रोजगार खोज्दै मलेसिया गएका उनी स्वदेश फर्किएका रहेछन्।
'कोठा नपुग्दै हामीबीच परिचय, एकअर्काको फोन नम्बर, फेसबुक आइडी सबै साटासाट भयो,' मोनिकाले त्यो दिन सम्झिन्, 'अर्को दिनबाट हामी फोनमा कुरा गर्न थाल्यौं।'
त्यो एक भेटले उनीहरूलाई निकै लामो यात्राको सहयात्री बनाउने सपना देखायो। एकअर्काले मनका भाव साट्न थाले, मनपराउन थाले। रमेशसँग मन गाँसिएपछि मोनिकाले उनलाई आफ्नो कथा सुनाइन्।
आफ्नो कथाले रमेशलाई झस्काउला भन्ने डर मोनिकाको मनमा थियो। तर रमेशले भनेछन्, 'म तिमीलाई जस्तोसुकै अवस्थामा पनि छाड्दिनँ।'
'मैले सबै कुरा भनेपछि त उनले मेरोबारेमा झन् धेरै चिन्ता गर्न थाले,' मोनिकाले भनिन्, 'म पनि आफ्नो हातमा उनको नाम लेख्न थालेँ।'
उनीहरूलाई बिस्तारै एकअर्कासँग बस्न मन लाग्न थाल्यो। बिहे गर्ने निधो गरे। दुवैको घरपरिवारबीच कुराकानी भयो। रमेश र मोनिकालाई श्रीमान-श्रीमती हुन सबैले आशीर्वाद दिए।
'हाम्रो समुदायका महिलाले कसैको श्रीमती, बुहारी हुन पाऊँला भन्ने सपनै देखेका हुँदैनौं। यति सजिलै स्वीकार्लान् भन्ने आश कहिल्यै आउँथेन। किनकी हामीलाई समाजले कहिल्यै बुझेन। कसैले बुझ्ला भन्ने आश त हामीले कहिल्यै राखेका हुँदैनौं,' यो भनिरहँदा मोनिकाका आँखाबाट बररर आँसु झरे।
मोनिकालाई रमेशसँग बिहे गरेर साधारण जीवन बिताउने मन थियो। सपना पूरा हुँदै गएको देखेर उनी दंग परिन्।
'म असाध्यै खुसी भएँ। मैले नील हिरा समाजमा गएर हाम्रो बिहे गरिदिन भनेँ। तर कानुनले हामीजस्ताको बिहेलाई मान्यता दिएको रहेनछ। अनि संस्थाबाट खास पहल हुने देखिनँ,' मोनिकाले भनिन्।
उनलाई आफ्नो बिहेले समाजमा सकारात्मक सन्देश दिन सक्छ भन्ने लाग्यो। चलेको संस्कारअनुसार बिहे गर्नुअघि पत्रकारको उपस्थितिमा सार्वजनिक गरे खबर बन्नेछ र धेरैलाई जानकारी हुनेछ भन्ने सोचिन्।
'मलाई मैले चिनेजानेका मजस्तै व्यक्तिलाई सहज वातावरण बनाइदिने मन थियो,' उनले भनिन्, 'हाम्रो बिहे देखेर यस समुदायका व्यक्तिलाई ऊर्जा मिलोस् भन्ने चाहन्थेँ।'
उनीहरूले रिपोटर्स क्लबमा साढे सात हजार रकम तिरेर पत्रकार सम्मेलन गरे। त्यहाँ सबैका माझ आफ्नो प्रेमकथा सुनाए। जस्तोसुकै परिस्थितिमा एकअर्काको साथ नछोड्ने वाचा गरे। एकअर्कालाई फूलमाला लगाइदिए। क्लबमा आएका मानिसहरूलाई साक्षी राखेर मोनिका र रमेश श्रीमान-श्रीमती बने।
नागरिकता लिएकै वर्ष, २०७४ सालमा मोनिका र रमेशको बिहे भएको हो।
त्यसपछि दुबै रमेशको डडेलधुरास्थित घर पुगे। घर पुग्दा मोनिकाका आँसु थामिएनन्। स्वागतका लागि फूलमाला, खादाहरू। कलशमा दुबो राखिएको। दियोमा बत्ती बालिएको। मोनिकालाई भित्र्याउन तयार रमेशको परिवार।
दुलही बनेर सजिएकी मोनिकालाई सपना आँखैअगाडि पूरा भएझैं लाग्यो।
'मलाई त्यो बेला ओहो मलाई यस्तो माया गर्ने संसार पनि छ है भन्ने लाग्यो,' मोनिकाले सम्झिन्, 'यो खुसीले मलाई के गरौं कसो गरौं भएको थियो।'
उनको खुसीले छलाङ मार्दा त्यहीँ पछारिन्छ भन्ने उनलाई थाहै थिएन।
त्यो दिन रमेश मोनिकालाई आफन्तहरू चिनाइरहेका थिए। चिनाउँदै जाँदा मोनिकाका आँखा सिन्दूर र सारीमा सजिएकी महिलामा ठोक्किए। ती महिला नाचिरहेकी थिइन्, रमाइरहेकी थिइन्, हाँसिरहेकी थिइन्। मोनिकालाई भने उनको मन र अनुहारको भावमा फरक अनुभव भयो।
उनले रमेशलाई सोधिन्, 'उहाँ चाहिँ को हुनुहुन्छ?'
रमेश एकछिन अकमक्क भए। केही बोलेनन्। निकै बेरपछि थाहा भयो, ती महिला रमेशकी श्रीमती रहिछन्। रमेशको पहिल्यै बिहे भइसकेको रहेछ।
मोनिकाको आकाश एकैपलमा धसियो। थचक्कै भुइँमा बसिन्। गला सुक्यो। सास अड्कियो। आँखा रसाए।
आफूले माया गरेको, आफूलाई माया गर्ने सोचेको मान्छेबाट यस्तो व्यवहार होला भन्ने उनले कल्पनै गरेकी थिइनन्। अधिकारको आवाज उठाउँदै हिँडेकी उनलाई आफूले अरूको अधिकारमा बाधा हालेजस्तो लाग्यो। आफ्नै इमानमाथि प्रश्न खडा भएझैं लाग्यो।
सोधिन्, 'यति ठूलो कुरा किन लुकाएको?'
रमेशले भनिदिए, 'हामीबीच यति गहिरो प्रेम थियो। तिमीले मलाई आफूभन्दा धेरै माया गर्छौ भन्ने थाहा थियो। यो कुराले म तिमीलाई चोट पुर्याउन सक्दिनँ थिएँ। अनि मैले झुट बोलेँ। मलाई माफ गरिदेऊ।'
मोनिकाको चित्त बुझेन। उनी रमेशलाई प्रश्न दोहोर्याउन थालिन्। दुईबीच भनाभन चर्कियो।
'मलाई त्यही बेला फर्केर जाऊँ जस्तो पनि भयो। मलाई रमेशकी जेठी श्रीमती देखेर गाह्रो भइरहेको थियो। तर उहाँले यो बिहेमा म सहमत छु भनिदिनुभयो,' मोनिकाले त्यो दिन सम्झिँदै भनिन्, 'अनि मैले पनि आफूलाई केही भन्न सकिनँ। बसेँ।'
बिहेपछि रमेशले जेठी श्रीमती र मोनिकालाई छुट्टाछुट्टै घरमा राखे। मोनिकाका अनुसार रमेश एक दिन जेठी श्रीमतीको घर जान्थे, अर्को दिन आफ्नो घरमा आउँथे। ओहोरदोहोर चलिरहन्थ्यो।
रमेश नभएको रात मोनिकालाई छटपटी हुन्थ्यो। आफ्नो श्रीमान सधैं आफूसँगै बसिदिऊन् भन्ने लाग्थ्यो। तर परिस्थिति र समय मोनिकाको पल्लामा थिएन। उनले यी सबै कुरा मनै राखिन्। न व्यवहारमा देखाइन्, न मुखले भनिन्।
'म यौनिक तथा अल्पसंख्यक समुदायको भएर पनि मलाई श्रीमतीको दर्जा दिनु नै ठूलो कुराजस्तो लाग्यो,' उनले भनिन्, 'मेरा बारेमा सबै थाहा भए पनि मलाई कसैले घरकी बुहारी बनाएका थिए। मैले त्यसमै चित्त बुझाएँ।'
मोनिका सासूससुरा, नन्द, देवरसँग बस्थिन्। उनलाई खाना बनाउन आउँथेन। शल्यक्रियाका कारण धेरै बल पुग्ने काम गर्न सक्थिनन्। बिहान ढिलोसम्म सुत्ने बानी थियो। कपडा आफ्नो रूचिअनुसारै लाउँथिन्।
सासूले उनलाई 'गाउँघरमा यस्तो हुन्छ, उस्तो हुन्छ' भन्दै घरका सानातिना कामकाज सिकाइन्। बिस्तारै मोनिका रमेशको परिवार र त्यो समाजको प्यारी बन्दै गइन्।
'रमेशकी जेठी श्रीमतीको सहमतिमै हाम्रो बिहे दर्ता र नाता प्रमाणित पनि भयो। तर रमेशकी श्रीमती भएर साधारण जीवन बिताउने मेरो सपना पूरा भएन,' मोनिकाले भनिन्, 'पहिचानको कुराले होइन, सायद झुटको डोरीमा अडिएको हाम्रो सम्बन्धको गाँठो फुस्किन थाल्यो।'
उनीहरूबीच असमझदारी बढ्यो। सम्बन्ध नमिठो हुँदै गयो। सँगै जीवनभर बाँच्ने कसम लिएका उनीहरू अब एकअर्कासँग बस्न नसक्ने भए। मोनिकाले कैलाली जिल्ला अदालतमा रमेश र उनको परिवारबाट अलग बस्न पाऊँ नभ्दै अंशबण्डाको मुद्दा हालिन्।
मोनिकाको पक्षमा जिल्ला अदालतका कानुनी सल्लाहकार देवीलाल चौधरीले बहस गरिदिए। फैसला मोनिकाकै पक्षमा भयो। रमेशकी श्रीमती भएकाले उनले आधा अंश पाइन्।
'नेपालमा एलजिबिटीआइक्युआइए समुदायकी म पहिलो ट्रान्स महिला हुँ जसले अशंबण्डाको मुद्दा जितेँ,' मोनिकाले भनिन्, 'एक वर्ष भयो रमेशसँग कुराकानी भएको छैन। उनको घरपरिवारसँग भने भइरहन्छ।'
मोनिका अहिले आफ्नो माइतीघर टीकापुरमा बस्छिन्। टीकापुरको महिला सञ्जालमा जोडिएर उनी घरेलु हिंसाबारे मुद्दाहरू हेर्ने र न्याय दिने काम गरिरहेकी छन्।
उनी आफ्नो कामबारे भन्छिन्, 'घरेलु हिंसा भयो भने प्रहरीलाई भन्दा पहिले मलाई फोन आउँछ।'
भर्खरै मात्रै आफ्नो सहयोगबाट कैलाली जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता भएको उनले बताइन्। उनका अनुसार ती महिलाका श्रीमानले अर्को बिहे गरेर उनलाई खान-लाउन समेत दिएका रहेनछन्।
'ती महिलाको मुद्दा दर्ता गराएर मैले न्याय दिलाएँ,' उनले खुसी हुँदै भनिन्, 'म आफूले सकेसम्म न्याय दिलाउन पहल गरिरहनेछु। मेरो अबको सपना यही हो।'
उसो त उनको अर्को एउटा सपना पनि छ- सगरमाथा चढ्ने। यौनिक तथा अल्पसंख्यक समुदायबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति हुने।
यसनिम्ति आफूले सरकारलाई धेरैपटक अनुरोध गरिसकेको उनी बताउँछिन्। अनुरोध नसुनिएको गुनासो गर्दै मोनिकाले भनिन्, 'मलाई हाम्रो समुदायबाट सगरमाथा चढ्ने पहिलो व्यक्ति बन्ने मन छ। मेरो समुदायका लागि प्रेरणाको स्रोत बन्ने सबै काम गर्न चाहन्छु।'