राम्रा सामुदायिक स्कुल
कक्षाकोठा केही सानाजस्ता देखिए पनि उज्याला छन्। एउटा कक्षामा ३० जनासम्म विद्यार्थी अटाउँछन्। कोठाका भित्तामा पाठ्यवस्तुसँग सम्बन्धित सामग्रीहरू सजाइएका छन्। एउटा कोठामा सानो पुस्तकालय पनि छ।
केही कक्षाकोठामा इन्टरनेटको प्रयोगले डिजिटल माध्यमबाटै पठनपाठन हुन्छ। सबै कक्षाकोठा विद्यार्थीका लागि सहज छन्।
विद्यार्थीका लागि कम्प्युटर ल्याब पनि छ। लायन्स क्लबको सहयोगमा विद्यालयले २०७३ सालमा कम्प्युटर ल्याब स्थापना गरेको हो। शिक्षा मन्त्रालयबाट ६ लाख ५० हजार रूपैयाँ प्राप्त भयो। त्यही रकमले विद्यालयले १६ वटा ल्यापटप किन्यो, एउटा पुस्तकालय पनि बनायो।
यो बयान काठमाडौंको नागपोखरीबाट पूर्वतर्फ रहेको नन्दी माध्यमिक विद्यालयको हो। काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको यो विद्यालय महानगरको 'नमूना विद्यालय' हो।
नन्दी माविको भवन। तस्बिरः नन्दी माविसडकबाटै देखिन्छ नन्दी माध्यमिक विद्यालयको पहेँलो र सेतो रङको दुई तले भवन जहाँ प्रवेशका लागि मूलद्वार छ। यहाँ एउटै भवनमा एकातिर 'नन्दी माध्यमिक विद्यालय' र अर्कातिर 'नन्दी रात्री माध्यमिक विद्यालय' लेखिएको छ। यो भवनमा यी दुई विद्यालय चल्छन्।
नन्दी माध्यमिक विद्यालयमा दिउँसो र नन्दी रात्री माध्यमिक विद्यालय मा राति पढाइ हुन्छ। एउटै भवनमा चले पनि यी अलग अलग स्कुल हुन्।
हालको भवन २०७२ सालको भूकम्पपछि बनेको हो जसमा कुल २८ वटा कोठा छन्। यीमध्ये १८ वटा कोठामा नन्दी माविको पढाइ हुन्छ। एउटा तलामा महानगरको वडा कार्यालय छ।
नन्दी माविकी प्रधानाध्यापक गीता काफ्लेका अनुसार अहिले स्कुलमा पाँच सय जना विद्यार्थी पढ्छन्। पुस्तकालय सबै विद्यार्थीका लागि खुला हुन्छ। पुस्तकालयभित्र पाठ्यक्रमसँग सम्बन्धित पुस्तक, बालबालिकाले मन पराउने पुस्तक र साहित्यिक कृतिहरू छन्।
पुस्तकालय एक जना शिक्षकको जिम्मामा छ। यसको व्यवस्थापन शिक्षक अच्युतराज थपलियाले गर्छन्। उनले यस विद्यालयमा पढाएको १५ वर्ष भयो।
'पुस्तकालय विद्यार्थीका लागि आकर्षण हो। हरेक विद्यालयमा हुन जरूरी छ,' उनले सेतोपाटीसँग भने, 'पुस्तकालय भएर मात्र हुँदैन, विद्यार्थीले चाहेको पुस्तक पढ्न पाउनुपर्छ।'
पुस्तक तीन वटा ठूला दराजमा राखिएका छन् । पुस्तकालयमा सबै कक्षाका विद्यार्थी आउँछन्। विद्यार्थीहरू आफूले चाहेको पुस्तक खोजेर पढ्छन्। पढेपछि दराजमै राख्छन्। पुस्तक घर लैजान पाउने सुविधा पनि छ ।
'कथा भएका किताब पनि छन्। पढ्न रमाइलो लाग्छ,' पुस्तकालयमा पढिरहेका एक विद्यार्थीले भने।
नन्दी माविकी प्रधानाध्यापक गीता काफ्ले। तस्बिरः सविना कार्की/सेतोपाटीनन्दी मावि २००४ सालमा स्थापना भएको हो। सहरको बीचमा रहेको यो विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ।
वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले आफ्नी छोरीलाई यही विद्यालयमा पढाएका छन्। उनकी छोरी ७ वर्षअघि राजधानीकै एक निजी विद्यालयमा ३ कक्षामा पढ्थिन्।
'छोरीले नन्दीमै पढ्छु भनेर जिद्दी गरेपछि कक्षा ४ मा पढाउन यहाँ ल्याएँ,' श्रेष्ठले भने, 'अहिले १० कक्षामा पुगिन्, हाम्रो अपेक्षाभन्दा राम्रो पढिरहेकी छिन्।'
कतिपय विद्यार्थीहरू निजी विद्यालय छाडेर नन्दी माविमा आउने गरेका छन्। विद्यार्थीले नन्दी मावि रुचाउनुको कारण शिक्षाको गुणस्तर र विद्यार्थीप्रति समर्पित शिक्षक रहेको प्रधानाध्यापक काफ्ले बताउँछिन्। विद्यालयसँग कक्षाकोठा थोरै भएकाले विद्यार्थी संख्या बढाउन नसकेको उनको भनाइ छ।
उनी भन्छिन्, 'विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ तर हामीसँग कोठा थोरै छन्। पाँच सयभन्दा बढी विद्यार्थी राख्न सक्ने क्षमता छैन।' उनका अनुसार निकै टाढाबाट सार्वजनिक यातायातमा आउने विद्यार्थीहरू पनि धेरै छन्।
यहाँ कक्षा ११ र १२ को पनि पढाइ सुरू भएको छ।
'एसइईपछि पनि धेरै विद्यार्थीले ११ र १२ कक्षा नन्दी माविमै पढ्ने मन गरेपछि पढाइ सुरू गरेका हौं,' प्रधानाध्यापक काफ्लेले भनिन्, 'उत्कृष्ट अंक ल्याउनेहरूले छात्रवृत्ति पनि पाएका छन्।'

नन्दी माविको कक्षामा विद्यार्थीहरूलाई पढाउँदै शिक्षक। तस्बिरः सविना कार्की/सेतोपाटीविद्यार्थीहरूसँग शिक्षकको असल व्यवहार र गुणस्तरीय शिक्षा नन्दी माविप्रति विद्यार्थीहरूको आकर्षणको मुख्य कारण रहेको काफ्लेको भनाइ छ। उनले भनिन्, 'विद्यालयमा कुनै पनि कक्षा खाली हुँदैन। बिदामा बसेका शिक्षकको कक्षा अर्को शिक्षकले लिने चलन छ।'
नन्दी माविमा २०६६ सालसम्म नेपाली माध्यमबाट पढाइ हुन्थ्यो। विद्यार्थी र अभिभावकमा अंग्रेजी भाषाप्रति मोह बढ्दै जाँदा विद्यालयले २०६७ सालमा अंग्रेजी माध्यममा पढाइ सुरू गर्यो। पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पढाइ हुन्छ।
'विद्यार्थीहरू निजी विद्यालयतिर तानिन थालेपछि अंग्रेजी माध्यम किन सुरू नगर्ने भन्ने सोच्यौं र त्यही वर्ष सुरू गर्यौं,' प्रधानाध्यापक काफ्लेले भनिन्, 'पहिले हाम्रा विद्यार्थी निजीतिर गए। अहिले निजी विद्यालयका विद्यार्थीहरू हाम्रोमा आउँछन्।'
सुरूमा अंग्रेजी माध्यमबाट पढाउन केही कठिनाइ भएपछि विद्यालयले चार जना शिक्षक थप्यो। हाल विद्यालयम ३७ जना शिक्षकको दरबन्दी छ। पाँच कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ। कक्षा ६ देखि ८ सम्म चार वटा विषय अंग्रेजी र चार वटा विषय नेपाली माध्यमबाट पढाइ हुन्छ।
कक्षा ९ र १० मा भने नेपाली र अंग्रेजी दुवै माध्ययमा पढ्न पाउने सुविधा छ। प्रधानाध्यापक काफ्लेका अनुसार अंग्रेजी माध्यममा विद्यार्थीको आकर्षण बढ्दो छ।
पढाइप्रति विद्यार्थीहरू पनि खुसी देखिन्छन्। कक्षा १० की छात्रा दीक्षा कार्की भक्तपुरको लोकन्थलीबाट नक्साल आइपुग्छिन्। उनी नन्दी माविमा कक्षा ८ मा भर्ना भएकी हुन्। त्यसअघि उनी भक्तपुरकै एक निजी विद्यालय पढ्थिन्।
विज्ञान विषयका शिक्षक दिनेश रेग्मीका अनुसार धेरै विद्यार्थी अब्बल छन्। नन्दी माविबाट एसइई गरेका सरदर १० जना विद्यार्थी हरेक वर्ष कक्षा ११ मा विज्ञान विषयमा भर्ना हुने गरेको उनले बताए।
भित्तामा चित्रकला गर्दै नन्दी माविका विद्यार्थीहरू। तस्बिरः नन्दी मावि
नन्दी माविको कक्षामा विद्यार्थीहरूलाई पढाउँदै शिक्षक। तस्बिरः सविना कार्की/सेतोपाटी'सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र सहज छात्रवृत्ति चाहनेहरूको प्राथमिकतामा नन्दी मावि रहेको छ,' रेग्मीले भने।
विद्यालयमा काठमाडौं उपत्यकाबाहिरका विद्यार्थीको संख्या बढी छ। इलाम, झापा, नुवाकोट, धादिङ, दोलखा, रामेछाप, कैलाली लगायत जिल्लाका विद्यार्थी छन्।
सबै कक्षाकोठालाई स्मार्ट बोर्डमार्फत डिजिटल माध्यममा लैजान विद्यालयले केही प्रयास गरिरहेको प्रधानाध्यापक काफ्लेको भनाइ छ। यहाँ लेखन, वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ लगायत अतिरिक्त क्रियाकलाप पनि हुने गरेको छ। तर दुई वर्षदेखि विद्यालयले कुनै खेल आयोजना गरेको छैन। खेलका लागि उपयुक्त ठाउँ नभएको उनको गुनासो छ।
काठमाडौं महानगरपालिकाले 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत नन्दी माविलाई नमूना विद्यालय छनोट गरेको हो। महानगरले तोकेको मापदण्ड अनुसार प्रस्तावना पेश गर्नेमध्ये एउटा विद्यालय नमूना छनोट हुन्छ।
सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीले उच्च शिक्षाका लागि पाउने सुविधाका कारण अभिभावकहरूले राम्रो विद्यालय खोज्ने गरेको प्रधानाध्यापक काफ्ले बताउँछिन्। उनका अनुसार नन्दी मावि यस्ता अभिभावकहरूको रोजाइमा छ।