काठमाडौं उपत्यकामा सवारी साधन चलाउन लगाइएको जोर-बिजोर प्रणालीको सर्वत्र आलोचना भएपछि भोलि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका छन्।
कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोर-बिजोर लागू गरिए पनि त्यसले झन् भीडभाड बढाएको भन्दै गुनासा आउन थालेपछि सिडिओहरू छलफल गर्न लागेका हुन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जोर-बिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर भोलिसम्ममा निर्णय लिइने जानकारी दिए।
सरकारले संक्रमण र अस्पतालमा बिरामीको चापलाई कम गर्न जोर-बिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन। उपत्यकाका ठूला अस्पतालकै चिकित्सकहरू जोर-बिजोर प्रणालीले संक्रमण नरोक्ने बरू भीडभाड बढाउने बताउँछन्।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डाक्टर दिनेश काफ्ले भन्छन्, 'जोर-बिजोर प्रणाली प्रदुषण कम गर्नलाई ठिक होला तर संक्रमण कम गर्ने हिसाबले यो उल्टो बाटो भयो। किनभने दुईटा गाडीमा आउने मान्छे एउटैमा आउने भयो। यसले त झन् संक्रमण छिटो हुने भयो। अनि यो उल्टो बाटो भएन र!'
डाक्टर काफ्लेले जोर-बिजोरका कारण अस्पतालमा बिरामीको संख्या पनि कम नभएको जनाए।
कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पतालका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठ पनि जोर-बिजोर प्रणाली ठीक नभएको बताउँछन्। उनले अहिलेको स्थितिमा सरकारको ध्यान जोर-बिजोरभन्दा पनि भीड नियन्त्रणतिर हुनुपर्ने जनाए।
'जोर-बिजोर हटाइदेऊ केही मलतब भएन तर भीडभाड हुने ठाउँहरूलाई नियन्त्रण गर्नुपर्छ,' डाक्टर श्रेष्ठले भने।
उनले सरकारले जोर-बिजोर लागू गरेर भीडभाड नियन्त्रण गर्ने कुरामा भने उदासिनता देखाएको बताए।
'जोर-बिजोर लगाइदियो, रेष्टुरेन्टभरि मान्छे छन्। बजार चालू छ। अनि जोर-बिजोर गरेर के मतलब भयो र। जोर-बिजोर गर्नुभन्दा बरू भीडभाड हुने स्थलहरू नियन्त्रण गर्नुपर्यो नि,' उनले भने।
श्रेष्ठले सरकारले स्मार्ट लकडाउन भनेर जोर-बिजोर प्रणाली लागू गरे पनि त्यो स्मार्ट नभएको बताए। दिल्लीको उदाहरण दिँदै उनी भन्छन्, 'दिल्लीमा नयाँ वर्षमा राति कर्फ्यू लगायो। अनि गर्नुपर्ने काम भनेको त्यस्तो पो हो त। हाम्रो प्रशासनलाई कसले सुझाव दिन्छ खोइ। हामीलाई कहिल्यै सोध्दैन।'
श्रेष्ठले संक्रमण जोखिमको हिसाबले हाम्रो लागि आगामी दुई साता निकै कठिन रहेको उल्लेख गर्दै यही बेला सरकारले भीडभाडलाई जतिसक्दो कम गर्न आवश्यक कदमहरू चाल्नुपर्ने जनाए। पछिल्लो प्रक्षेपणअनुसार नेपालमा संक्रमण माघको तेस्रो साता संक्रमण उत्कर्षमा पुग्ने देखाएकाले यो बीचमा मानिसहरूको आवगमन झन् कम गर्नुपर्ने बेला रहेको उनी बताउँछन्।
'नेपालमा माघको तेस्रो साता संक्रमण पिकमा पुग्छ भनिएको छ। अहिले दोस्रो साता पनि सकिएको छैन। त्यसैले अर्को दुई साता मान्छेहरूको मोबिलिटी झन् कम गर्नुपर्छ। त्यस्तो भयो भने हाम्रो स्वास्थ्य संस्थाहरू भरिन पाउँदैनन्। नत्र ह्वात्तै संक्रमित आयो भने स्वास्थ्य संस्थाहरू फेल खाइहाल्यो नि,' उनले भने।
श्रेष्ठ पनि जोर-बिजोरका कारण अस्पतालमा बिरामीको संख्या चाप कम नभएको बताउँछन्। अहिले पनि वीर अस्पतालमा १ सय ४५ जना बिरामीहरू रहेको र पछिल्लो चार-पाँच दिनदेखि आइसियूमा भर्ना हुने बिरामीहरूको संख्या पनि बढेको उनले बताए। त्यसैले जोर-बिजोरले अनावश्यक भीडभाड बढाउने उल्लेख गर्दै उनले अहिलेको अवस्थामा भीडभाड कसरी कम गर्न सकिन्छ भनेर सोच्नुपर्ने बताए।
पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्य पनि जोर-बिजोरले मात्र संक्रमण कम गर्ने उद्देश्य पूरा नहुने बताउँछन्। अन्य सेवाहरू खुला राखेर सवारी साधनमा मात्र जोर-बिजोर लागू गर्दा त्यसले झन् भीडभाड बढाउने र संक्रमणको जोखिम बढ्ने शाक्यको बुझाइ छ।
'जोर-बिजोरले संक्रमण नियन्त्रण गर्छ जस्तो लाग्दैन। गाडीमा मात्र नियन्त्रण गर्दा त्यसले खासै योगदान गर्दैन,' निर्देशक शाक्य भन्छन्, 'गाडी कम भएपछि एउटै गाडीमा झन् कोचाकोच भएर बस्ने भए। त्यसले गर्दा जोर-बिजोर भन्दा पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्नु महत्वपूर्ण हो।'