सहरको कथा: पनौती
उनी हरेक दसैंमा कुमारीको साजसज्जा र भेषभुषामा तुलजा भवानीलाई भेट्न जान्छिन्।
त्यो बेला पनौती बसपार्कदेखि लायकू (दरबार) सम्म बाजागाजाको लश्कर हिँड्छ। मान्छेको भिड लाग्छ। त्यही भिडमा सबैले उनको दर्शन गर्छन्, फूल चढाउँछन्। नभए अरू दिन त्यही बाटो ओहोरदोहोर गर्दा पनि उनलाई कसैले चिन्दैनन् वा चिने पनि चासो दिँदैनन्।
उनी हुन् ८ वर्षीया ओजश्वी घुल्लु, पनौतीकी 'गुमनाम' कुमारी।
पनौती कथा शृंखलाको आजको अंकमा म तपाईंहरूलाई उनै कुमारीबारे बताउँदैछु। त्यसअघि कुमारी र तुलजा भवानीको सम्बन्धबारे भनिहाल्छु है!
यसअघि यही श्रृंखलाको तेस्रो अंकमा मैले तपाईंहरूलाई 'हामीले नदेखेको दरबार' अर्थात् पनौतीको दरबारबारे बताएकी थिएँ। त्यही दरबारको एउटा कुनामा तुलजा भवानीको बासस्थान छ।
पनौतीमा तुलजा भवानीको बासस्थान कसरी रह्यो भन्ने थाहा पाउन हामीले फेरि सिम्रौनगढका राजपरिवारको काठमाडौं आगमन कथालाई फर्केर हेर्नुपर्छ।
सिम्रौनगढमा बंगाली मुसलमानहरूले आक्रमण गरेपछि त्यहाँका राजा हरिसिंहदेव आफ्नी पत्नी देवलदेवी, राजकुमार, मन्त्री र भारदारहरूसहित काठमाडौं उपत्यकातिर भागेका थिए। दोलखाबाट आउँदै गर्दा तीनपाटनमा विक्रम सम्बत् १३८२ माघमा हरिसिंहदेवको मृत्यु भयो।
त्यसपछि देवलदेवीले नै नेतृत्व गर्दै आफूसँग आएका सबैलाई नेपाल उपत्यका ल्याइन्। शरणार्थीका रूपमा उपत्यका पस्दा उनले आफूसँग कुलदेवी तुलजा भवानी पनि ल्याएको मानिन्छ।
किम्बदन्तीअनुसार स्वर्गका राजा इन्द्रले लामो समय तपस्या गरेबापत् महादेवबाट हरेक दिन विधिपूर्वक पूजा गर्ने गरी श्रीयन्त्रस्वरूप तुलजा भवानी पाएका थिए। लंकाका राजा रावणका छोरा मेघनादले इन्द्रलाई लडाइँमा हराएपछि स्वर्गबाट उक्त यन्त्र लंका ल्याए। रामले रावण वध गरिसकेपछि तुलजा देवीलाई पनि आफूसँगै अयोध्या ल्याए। भगवान रामले आफ्नो रामलीला समाप्त गर्ने बेला उक्त श्रीयन्त्रलाई सरयू नदीमा विसर्जन गरेको भनाइ छ।
त्यही श्रीयन्त्रस्वरूप तुलजा भवानीलाई बंगाली मुसलमानहरूको आक्रमणबाट बचाउन राजा हरिसिंहदेव र देवलदेवीले नेपाल उपत्यका लिएर आएका थिए। उपत्यका ल्याउने क्रममा तुलजा भवानीलाई एक रात पनौतीको दुमांगल टोलमा राखिएको थियो। यो टोल लायकू नजिकै छ।
स्थानीय पूर्णभक्त कोङ्गाका अनुसार तुलजा भवानी त्यस्तो ठाउँमा बस्न चाहन्थिन् जहाँ एउटा खाल्डो खन्दा तीनवटा खाल्डो भरियोस्। पनौतीमा भने तीनवटा खाल्डो खन्दा बल्लतल्ल एउटा भरियो।
तुलजा भवानीले खोजेजस्तो अवस्था भक्तपुरमा मात्र सम्भव भयो। त्यही भएर उनी त्यतै बसिन्, कोङ्गाले भने, 'तर एक रात पनौतीको लायकूमा पनि बास बसेकीले अझै पनि दसैंमा यहाँ तुलजा भवानीको जात्रा हुन्छ। तुलजा भवानी निकालेर परिक्रमा र पूजाआजा गरिन्छ। जमरा राखिन्छ, कोतपूजा हुन्छ। यसले पनि पनौती र तुलजा भवानीको सम्बन्ध भएको स्पष्ट हुन्छ।'
रानी देवलदेवीले सिम्रौनगढबाट तुलजा भवानीको श्रीयन्त्र लिएर काठमाडौं प्रवेश गरेपछि यी देवीलाई मल्ल राजाहरूले आफ्नो इष्टदेवीका रूपमा पूजा गर्न थालेको इतिहास छ।
मल्ल राजाहरूसँग एक प्रकारको तान्त्रिक यन्त्र थियो। त्यस यन्त्रको शक्तिद्वारा उनीहरू तुलजा भवानीसँग प्रत्यक्ष वार्ता गर्न सक्थे। मल्ल राजाहरूले दिनदिनै तुलजा भवानीको प्रत्यक्ष दर्शन गरी राजकाजसम्बन्धी सल्लाह लिने र समय समयमा पासासमेत खेल्ने गरेको भनाइ छ।
एकदिन राजा त्रैलोक्य मल्लकी छोरी गंगादेवीले यो यन्त्र खोलेर हेरिछन्। उक्त यन्त्र स्त्रीहरूले हेर्न नहुने भएकाले तुलजा भवानी रिसाइन् र भनिन्, 'अबदेखि तिमीहरूले मेरो प्रत्यक्ष दर्शन पाउने छैनौ। म कुमारीका रूपमा आई तिमीहरूलाई आवश्यक सल्लाह दिनेछु।'
यति भनेर तुलजा भवानी विलिन भइन्।
'कुनै पनि बालबालिकाको हृदय पवित्र हुन्छ। उनीहरूमा छल, कपट, राग, द्वेषको कुभावना हुँदैन। त्यसैले तुलजा भवानीले कुमारीको रूप धारण गरेकी हुन्,' कुमारीसम्बन्धी अध्येता दुर्गा शाक्यले 'हाम्रो संस्कृतिमा देवी तुलजा र कुमारीको स्थान' किताबमा लेखेकी छन्, 'त्यही भएकाले सानी बालिकालाई कुमारी बनाई श्री तुलजा भवानीको प्रतीक मानी पूजा गर्ने चलन चल्दै आएको हो।'
किम्बदन्तीअनुसार कान्तिपुरका अन्तिम मल्ल शासक जयप्रकाश मल्ललाई एक रात सपनामा कुमारीबाट आज्ञा भएछ, 'तिम्रो राज्यभोग समाप्त हुन लाग्यो, आफ्नो अवधि बढाउने इच्छा भए मेरो लागि स्थायी बासस्थान बनाइदिनू र मेरो रथयात्रा चलाउनू। यति गरे तिम्रो राजभोगको समय १२ वर्ष बढ्नेछ।'
राजा जयप्रकाश मल्लले कुमारीको आज्ञा जस्ताको तस्तै पालना गरे।
विक्रम सम्बत् १८१३ फागुनमा जग हालेर ६ महिनाभित्र कुमारी घर तयार गरियो र त्यहाँ कुमारीलाई विराजमान गराइयो। त्यसपछि भाद्र शुक्लपक्ष चतुर्दशीका दिनदेखि कुमारी, गणेश र भैरवसहित भव्य रथयात्रा गर्ने परम्परासमेत चलाइयो।
यति गरेपछि कुमारीको वचनअनुसार राजा जयप्रकाश मल्लको राजकाल १२ वर्ष लम्बिएको विश्वास गरिन्छ।
'मल्लकालीन समयमा राजालाई राजकाजसम्बन्धी सरसल्लाह कुमारीले नै दिन्थिन्। त्यही भएकाले देश र नरेशको संरक्षिकाका रूपमा उनलाई भक्तिपूर्वक सम्मान गरिन्थ्यो,' दुर्गा शाक्यले लेखेकी छन्, 'उहिले त देशमा कुनै नयाँ सिक्का निकाल्दा सबभन्दा पहिले कुमारीलाई चढाइसकेपछि मात्र प्रचलनमा ल्याइन्थ्यो।'
इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा बालिकालाई 'जीवित देवी' कुमारीका रूपमा पुजिनु काठमाडौं उपत्यकाको पुरानो चलन हो। काठमाडौंको वसन्तपुरस्थित कुमारी घरकी जीवित देवीलाई राजकीय कुमारीका रूपमा पूजा गरिन्छ।
राजकीय कुमारीबाहेक काठमाडौंकै किलागल, मखन, टोखा, साँखु, पाटन, बुंगमती, भक्तपुर र नुवाकोटमा कुमारीको परम्परा छ।
पनौतीमा पनि तुलजा भवानी भएकाले पक्कै यहाँ कुमारी हुनुपर्ने स्थानीयको विश्वास थियो। कतिपय बूढापाकाले कुमारी देखेको पनि बताउँथे। सोध्दैबुझ्दै जाँदा करिब ८० वर्षअघि गणेशमाया सुवाल कुमारी भएको पत्ता लाग्यो। उनीसँग कुमारी बन्दाको धूमिल सम्झना पनि थियो।
त्यही आधारमा पनौतीको कुमारी ब्युँताउने भनेर २०७१ सालमा सुवाल कुलबाट सानी बालिकाको खोजी हुन थाल्यो।
काठमाडौं, ह्युमत टोलको मिसा पुचःले कुमारीबारे चासो राख्छ। पनौतीमा पहिले कुमारी भएको थाहा पाएपछि उनीहरू नै यहाँ कुमारी छान्न आएका थिए। तर त्यो समय सुवाल कुलमा रजस्वला नभएकी कुनै कन्या फेला परेनन्। जो थिए, उनीहरूको पनि नेवार परम्पराअनुसार 'गुफा' वा 'इही' भइसकेको थियो। त्यही भएर उनीहरू कुमारी बन्न उपयुक्त ठहरिएनन्। त्यसपछि कसलाई कुमारी बनाउने भनेर मिसा पुचः समूह दोधारमा पर्यो।
पनौतीमा सुवाल कुलकै कन्यालाई कुमारी बनाउनुको पछाडि पनि कारण छ। सिम्रौनगढकी रानी देवलदेवीले तुलजा भवानीलाई लिएर एक रात यहाँ बास बस्दा सुवाल कुलकी कन्याले सेवा गरेकी थिइन् भन्ने भनाइ छ।
तर २०७१ सालमा कुमारी बनाउन सुवाल कुलकी कन्या फेला नपरेपछि मिसा पुच: समूहका सदस्यहरूले यहाँका पुजारी र जान्ने मान्छेहरूसँग सरसल्लाह गरे। सबैको सहमतिमा एउटा निष्कर्ष निस्कियो, 'सुवालसँग मिल्ने, उनीहरूको व्यवहार पनि मिल्ने घुल्लु परिवारकी कन्यालाई कुमारी बनाए हुन्छ।'
त्यही आधारमा सुवाल कुलअन्तर्गत नै पर्ने घुल्लु थरबाट कुमारी छनौट गर्ने नयाँ परम्परा सुरू भयो।
घुल्लु थरबाट कसलाई कुमारी बनाउने त भनेर खोजी गर्दा सबैको ध्यान भर्खर ८ महिना लागेकी ओजश्वी घुल्लुमा गयो।
उनी त्यसै वर्ष चैत १४ गते पनौतीकी 'जीवित देवी' कुमारी भइन्।
'उहाँलाई छानेको केही समयपछि भने अर्को एक जना पनि थियो नि त भन्ने भएछ,' ओजश्वीकी आमा रोहिनीले भनिन्, 'तर उहाँलाई छानिसकेकाले फेरि अर्को छनौट प्रक्रिया भएन।'
त्यो दिन ८० वर्षपछि कुमारी फर्काइएको खुसीमा पनौती बजार नाचगान र बाजागाजाको ध्वनिले गुल्जार थियो।
आमा रोहिनीलाई भने आफ्नी छोरी जीवित देवी बन्नुको खुसीभन्दा बढी एउटा डर थियो– कुमारी भएपछि विवाह गर्नु हुँदैन भन्ने!
एक–दुई वर्षसम्म उनको दिमागमा त्यही डरले डेरा जमाइरह्यो।
बुझ्दै गएपछि उनले थाहा पाइन्, 'यो त भ्रम पो रहेछ। महिनावारीपछि कुमारी सामान्य जीवनमा फर्किन सक्छिन्।'
भर्खर ८ महिनाकी ओजश्वी आमाको दूध खाने उमेरकी थिइन्। कुमारी भएपछि उनी त्यसबाट वञ्चित भइन्। आमाको दूध छाड्नुपर्ने भयो। बोतलको दूधमा भर पर्नुपर्ने भयो।
'गाह्रो त भयो तर भगवान भएर पनि होला, बुझ्नुहुन्थ्यो। बोतलको दूध दिए पनि त्यति दुःख दिनुभएन,' रोहिनीले भनिन्।
पनौती बसपार्कस्थित कुमारी घर पुग्दा ओजश्वीका हजुरबुवा र हजुरआमा आफ्नै पसलमा थिए। हजुरबुवाले नै हामीलाई रोहिनी र कुमारीसँग भेट गराइदिए। त्यति बेला कुमारी (ओजश्वी) र उनका भाइ मनन लडीबुडी गर्दै थिए।
मनन ओजश्वीभन्दा १८ महिना साना छन्। उमेरले बराबरजस्ता उनीहरू हामी आएको परवाह नगरी आफ्नै सुरमा लडीबुडी गर्दै, तानातान गर्दै खेलिरहे।
त्यस दिन ४ बजे स्कुल सकिएपछि उनीहरू घर फर्किएका रहेछन्। ओजश्वी दुई कक्षामा पढ्छिन् भने मनन कक्षा एकमा। उनीहरू घर नजिकैको अरूणोदय इङ्लिस सेकेन्डरी स्कुलमा पढ्छन्।
काठमाडौंको बसन्तपुर र पाटनका कुमारीहरू स्कुल जान पाउँदैनन्। उनीहरूलाई कुमारी घरमै पढाउने व्यवस्था छ। अन्य ठाउँका कुमारीलाई भने स्कुल जाने सुविधा छ। पनौतीकी कुमारी स्कुल जाँदा कुमारीको पोसाकमा नभई अरू विद्यार्थीले लगाउने युनिफर्ममै जान्छिन्।
हामीले देख्दै आएकी कुमारी भने प्रायः रातो पहिरनमा हुन्छिन्। निधारमा त्रिकोणात्मक रातो टीका र गरगहना लगाएकी हुन्छिन्। काठमाडौंकी राजकीय कुमारी होस् या पाटनकी कुमारी, उनीहरू रातो पहिरनमै हुन्छन्। पनौतीकी कुमारीलाई भने त्यस्तो नियम छैन। उनी जुनसुकै लुगा लगाउन सक्छिन्, जहाँ पनि हिँडडुल गर्न पाउँछिन्। खानेकुरामा पनि त्यस्तो रोकतोक छैन।
उनलाई कालो रंगका लुगा लगाउन भने वर्जित छ। स्कुलमा सबैले कालो जुत्ता लगाएको देखेर उनले पनि लगाउन रहर गरिछन्। त्यही भएकाले क्षमापूजा गरेर कालो जुत्ता लगाइदिन थालिएको छ।
'तर हामी सकेसम्म कालो लुगा लगाइदिँदैनौं। महिनावारी हुँदा पनि सकेसम्म छुँदैनौं,' रोहिनीले भनिन्, 'म महिनावारी भए भने हरेक दिन नुहाउँछु, उसलाई छुँदिन। नछुन भनेपछि उहाँले पनि छुनुहुन्न।'
उनले अगाडि भनिन्, 'कहिलेकाहीँ विधि पुगेन वा छोइछितो भयो भने उहाँलाई सन्चो हुँदैन। पूजाआजा गरेपछि बल्ल निको हुन्छ। भगवान छैन भनेर पनि नहुने नि है!'
ओजश्वीको स्कुलमा सबैलाई उनी कुमारी भएको थाहा छ। अलि सानी हुँदा त उनी बेलाबेला भनिरहन्थिन् रे, 'म कुमारी हो नि!'
अहिले भने साथीहरू र स्कुलका शिक्षक–शिक्षिकाले 'ओजु' भनेर बोलाउँदा उनी 'म कुमारी हुँ' भनेर परिचय दिइरहन्नन्।
उनको भाइ मननलाई पनि दिदी कुमारी भएको थाहा छ। तर सँगै हुर्के–बढेका उनलाई अरू समयमा त्यसको मतलब हुन्न। दसैंको समयमा भने दिदीलाई कुमारीको भेषभुषा र साजसज्जामा मन्दिर लग्ने तयारी हुँदा उनी चुप्प लागेर बस्छन्।
मन्दिरबाट फर्किएपछि फेरि उस्तै।
'छोरालाई दिदी कुमारी भएको थाहा छ। कहिलेकाहीँ खुट्टा ढोग्दा म कुमारी हो र भन्छ,' रोहिनीले छोराको बानी बताइन्।
आफ्नो भाइ मननसँग चकचक गर्न रूचाउने ओजश्वी स्कुलमा भने ज्ञानी छिन्। अरूसँग त्यति धेरै खुलेर बोल्ने र खेल्ने पनि गर्दिनन्। मननको चकचक भने स्कुलमा पनि उस्तै भएको रोहिनी बताउँछिन्।
स्कुलमा यी दिदीभाइको भेट कमै हुन्छ। नभए उनीहरूको चकचक स्कुलसम्मै पुग्थ्यो कि!
'खाजा त खानै भ्याउँदिन भन्नुहुन्छ। थोरै खाने अनि बिस्तारै खाने भएकाले कहिलेकाहीँ त खाजा पनि घर फर्किन्छ,' रोहिनीले ओजश्वीबारे बताइन्।
केही समय अघिसम्म ओजश्वी कक्षाकी 'फस्ट गर्ल' थिइन्। लकडाउनपछि भने मोबाइल र टिभीमा धेरै झ्याम्मिने र अनलाइन कक्षामा पनि राम्ररी नबस्ने भएकाले पढाइ अलि खस्किएको उनले बताइन्।
'चकचक गर्दा र राम्ररी नपढ्दा गाली गर्नुहुन्छ कि हुँदैन?'
मेरो यो प्रश्नको जवाफमा रोहिनीले भनिन्, 'हजुरबुवा र आमाले त गाली गर्नुहुन्न। म भने गाली गर्छु। किनभने अहिले गाली नगर्यो भने भोलिपर्सि त बिग्रिहाल्छ नि। मैले र उहाँको बाबाले गाली गर्नुभयो भने त केही हुन्न। अरू मान्छेले गाली गर्यो भने चाहिँ बोल्दै बोल्नुहुन्न। आसनमा लगेर माफी मागेपछि बल्ल बोल्नुहुन्छ।'
कुमारीको आसन घरको सबभन्दा माथिल्लो तलामा छ। त्यहाँ हरेक दिन विधिपूर्वक पूजा गरिन्छ। यो घरको बाजे यही वर्ष बितेकाले अहिले कुमारीलाई आसनमा राखेर पूजा गरिएको छैन। अन्य चाडपर्व पनि मनाइएको छैन।
कुमारीलाई हरेक दसैंको घटस्थापनादेखि टीकासम्म लायकूस्थित तुलजा भवानीकहाँ लग्नुपर्छ। अहिले भग्नावशेष मात्र बाँकी रहेको लायकू (दरबार) मा पहिला नौवटा चोक थियो भन्ने विश्वास गरिन्छ। यसलाई यहाँका स्थानीयहरू 'किसिगः' पनि भन्ने गर्छन्।
नेपाल भाषामा 'किसि' को अर्थ हात्ती हो। त्यही भएर यहाँका नौ चोकमध्ये कुनै चोकमा हात्ती बाँध्ने गरिएको हुनसक्ने स्थानीय विश्वास गर्छन्।
'पनौतीको लायकूले त आफ्नो अस्तित्व गुमाइसक्यो। यहाँको लायकू मन्दिर भनौं या द्यःछे (देवघर) ले पनि आफ्नो मौलिक स्वरूप गुमाइसकेको छ। तै पनि प्रत्येक बडादसैंका अवसरमा काठमाडौं, पाटन र भक्तपुरमा जस्तै यहाँ पनि 'द्यः कुहां विज्याकेगु' भनेर यहाँको तुलजा भवानीलाई लायकूमा लगेर राखिने परम्परा छ,' दुर्गा शाक्यले लेखेकी छन्।
उनी अगाडि लेख्छिन्, 'महानवमीको दिन भक्तपुरको तुलजा भवानीलाई जे जस्तो विधि पुर्याइन्छ, सोहीअनुसारको विधि पनौतीको तुलजा भवानीलाई पनि गर्नुपर्ने प्राचीन परम्परा छ। उक्त परम्परा हाल पनि कायम छ।'
लायकूमा पुजारीहरूले घटस्थापनामा जमरा राख्छन्। त्यहीँ तुलजा भवानीको पूजा हुन्छ। अनि उनको प्रसाद कुमारीलाई खुवाइन्छ। त्यो क्रम घटस्थापनादेखि टीकासम्मै चल्छ।
'घटस्थापनादेखि हामीले कुमारीलाई लग्दा पनि कसैलाई मतलब हुँदैन। तर जुन दिन टीका हुन्छ, त्यो दिन बाजा बज्छ, पनौती पूरै जात्रामय हुन्छ। त्यही दिन मात्र सबैको ध्यान कुमारीतिर जान्छ,' कुमारीकी आमा रोहिनीले भनिन्, 'के जात्रा भएपछि मात्र कुमारी हुने हो? मलाई सबभन्दा मन नपर्ने यही हो। हामी दैनिक त्यो बाटो हिँड्दा पनि कसैलाई मतलब हुँदैन, त्यही दिन मात्र हुन्छ।'
दसैंको समय कुमारीको दर्शन र पूजाआजा गर्नुबाहेक अरू दिन कुमारीलाई हेर्न घरमा आउने कोही हुँदैनन्। आफन्तबाहेक कोही नआउने गरेको रोहिनी बताउँछिन्।
कुमारी बनाउन पहल गरेको समितिले पनि खासै राम्रो व्यवहार नगरेको उनको गुनासो छ।
'भगवानलाई चढाएको पैसा त भगवानले नै पाउनुपर्ने हो तर समिति आएर आधा लिएर जान्छ। त्यसो हुँदा हाम्रो समितिसँग झगडा पनि परेको थियो। दुई-तीन वर्ष त समितिबाट कोही आएनन्। अहिले फेरि आउन थालेका छन्,' उनले भनिन्, 'उल्टै सहयोग गर्नुपर्ने समितिले पैसा लिएर जान्छ। अब दुई-चार वर्ष त हो, जेसुकै गरून् भनेर बसेका छौं।'
कुमारीलाई महिनावारी सुरू भएपछि निकाल्ने चलन छ। तर घुल्लु परिवारले उनलाई १० वर्षसम्म मात्र कुमारी राख्ने कि भनेर सोचेका छन्। नेवाः परम्पराअनुसार छोरीको इही र गुफा गर्ने चलन छ। महिनावारी भएपछि त्यो परम्परा गर्न पाइन्न। त्यही भएर चाँडै निकाल्ने सोचेको रोहिनीले बताइन्।
'फेरि यस्तो पनि रहेछ, कुमारी भएपछि इही र गुफा नगरे पनि हुने रहेछ। उहाँलाई कुमारी बनाएको बेला नै इही र गुफाको विधि गरिने रहेछ। त्यही भएर केही अघिसम्म त ठिकै छ नगरौं न त भन्ने भएको थियो,' रोहिनीले भनिन्, 'काठमाडौंमा भने निकालिसकेपछि इही र गुफा गर्नुभएछ। उता गएर बुझ्दा गरेकै राम्रो भन्नुभयो। हामीले पनि हाम्रै संस्कृति हो, गरौं न त भनेर गर्न लागेको।'
उनले अगाडि भनिन्, 'अब आउने दसैंमा यसबारे कुरा हुन्छ होला।'
हाम्रो कुराकानी सकिसक्दा पनि कुमारी ओजश्वी र उनको भाइ मननको चकचक सकिएको थिएन। उनीहरूले सोफाको पत्रपत्र उप्काइसकेका थिए।
रोहिनीले उनीहरूलाई हप्काइन्, 'अरूले कस्तो गुड गर्ल, गुड बोई भन्छ है तिमीहरूलाई? ल अब सोफा मिलाऊ त।'
पनौती कथा शृंखलाको अर्को अंकमा हामी नेवार परिकार य:मरिबारे चर्चा गर्नेछौं। पनौतीलाई य:मरिको सुरूआत भएको ठाउँ मानिन्छ।
(पनौती कथा शृंखलाको छैठौं अंक शुक्रबार प्रकाशन हुनेछ।)