पूर्वबाट आउँदा टिकौली जंगल सकिने ठाउँमा आइतबार दिउँसो साढे दुई बजेतिर चहलपहल बढ्दै थियो।
भरतपुर महानगरपालिका प्रवेशस्थल गोद्राङमा प्रहरी बिटबाट करिब ५० मिटर पर मान्छेहरु सडकछेउको नालीतिर मोबाइल ढल्काएर फोटो/भिडिओ खिच्न व्यस्त देखिन्थे।
सडक विस्तार क्रममा बन्दै गरेको नालीभित्र बढेमानको जीव एकसिंगे गैंडा फसेको थियो।
जीवित रहेको कुनै संकेत नदेखिएकाले मान्छेहरू उसको नजिक–नजिक पुगेर फोटो खिच्दै थिए। नालीमा गैंडा अड्किएको खबर बिस्तारै फैलिँदै गयो।
केही बेरमा डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल आइपुगे। त्यसपछि आइपुग्यो, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको टोली।
वन्यजन्तु चिकित्सक डा. अमिर सडौलाले नालीमा परेको त्यो वयस्क भाले गैंडाको मृत्यु भएको पुष्टि गरे।
त्यसपछि आइपुग्यो चितवन राष्ट्रिय निकुञ्जको टोली। त्यसपछि ६ लेनको सडक निर्माणको काम गर्दै आएको डोजरले नालीमा फसेको गैंडा बाहिर निकालेको थियो।
नारायणगढदेखि भरतपुरको गोद्राङसम्मको पूर्व–पश्चिम राजमार्ग फराकिलो बनाएर ६ लेनको बनाउने काम अहिले धमाधम चलिरहेको छ। सडकको दुवैतर्फ विस्तार गरेर नाली बनाउने काम भइरहेको छ। यसै क्रममा खुला छाडिएको नालीमा दुर्लभ एकसिंगे गैंडा खसेको थियो।
अन्ततः त्यही नाली गैंडाका लागि ‘पासो’ बन्न पुग्यो। (हेर्नुहोस्: बन्दै गरेको सडकको नालीमा परेर मर्यो गैंडा)
‘संरचना निर्माण क्रममा लापरबाही गर्दा देशको अमूल्य सम्पत्ति गुम्न पुग्यो,’ घटनास्थलमा भेटिएका भरतपुर–९ का विशाल थापाले भने, ‘विकासका नाममा वन्यजन्तुको नास हुने भयो।’
भरतपुर र पूर्वी चितवन जोड्ने करिब चार किलोमिटरको टिकौली जंगल क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग पर्छ। जंगलको उत्तरतर्फ जिल्ला वन कार्यालयअन्तर्गतको राष्ट्रिय वन छ, दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्छ।
यो वन क्षेत्रलाई बराण्डाभार वन भन्ने गरिन्छ। दुवैतर्फको वनमा दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ, गौरी गाई, भालु, चितुवा लगायतका वन्यजन्तु भेटिन्छन्। ती वन्यजन्तु एकतर्फबाट अर्कोतर्फको वनमा प्रवेश गर्ने राजमार्गबाटै हो।
जिल्ला वन कार्यालय प्रमुख नेपालले संरचना निर्माण गर्दा वन्यजन्तु आवतजावत गर्ने ठाउँ हो भनेर विचार नगर्दा दुर्घटना भएको बताए।
‘थोरै सावधान भइदिएको भए यसरी गैंडा फसेर मर्ने थिएन होला,’ उनले भने, ‘वन क्षेत्रमा विकास निर्माण गर्दा विशेष ध्यान दिनुपर्छ भन्ने यो घटनाले सिकायो।’
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मध्यवर्ती क्षेत्रको वनदेवी वनमा अर्को गैंडासँग जुधेपछि भाग्ने क्रममा दुर्घटना भएको अनुमान गरे।
‘वन र सडकको बीचमा लगाइएको जाली च्यातेर उत्तरतर्फ जान खोज्दा भासिएर नालीमा परेको देखियो,’ तिवारीले भने, ‘पहिलो प्रयासमा जाली नच्यातिएपछि नजिकै अर्को ठाउँमा दोस्रो प्रयास गर्दा च्यातिएछ।’
जाली च्यातिएको ठाउँमा रगतको टाँसिएको देखिन्छ।
उनले टिकौली जंगल क्षेत्र वन्यजन्तुको आवतजावत बढी हुने क्षेत्र भएकाले संवेदनशील भएर वन्यजन्तुमैत्री काम हुनुपर्ने बताए।
‘यो खाल्डो नभएको भए आजको घटना हुन्थेन, आगामी दिनमा वन क्षेत्रमा काम गर्दा संरक्षणमैत्री भइदिनुपर्यो भन्ने हाम्रो आग्रह छ,’ उनले भने, ‘यस विषयमा सबन्धित निकायलाई सचेत बनाउनेछौं।’
उनले घटनाको विषयमा सम्पूर्ण रेकर्ड राखिएकाले थप अनुसन्धान गरी कानुनबमोजिम अघि बढ्ने बताए।
‘वन्यजन्तुमैत्री संरचना नहुँदा दुर्घटना भइरहेका छन्,’ उनले भने, ‘टिकौलीको उत्तर र दक्षिण दुवैतर्फ गैंडाको बासस्थान रहेकाले गैंडाहरू राजमार्ग भएर वारिपारि गर्ने गरेका छन्। नयाँ संरचना बन्दा पनि यस विषयमा ध्यान नपुगे संरक्षणमा थप समस्या पर्ने देखिन्छ।’
वन क्षेत्रमा विकास निर्माण गर्दा वन्यजन्तु संरक्षणलाई हेरेर ओभरहेड वा अन्डरपासको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिए पनि त्यसो नहुँदा दुर्घटना बढेको डिभिजन वन प्रमुख नेपालले बताए। हाल बन्दै गरेको नारायणगढ–बुटवल सडकका केही ठाउँमा वन्यजन्तु क्रस गर्न मिल्ने संरचना बनाइँदैछ।
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार यहाँ राजमार्ग क्रस गर्ने क्रममा सवारी साधनले किचेर यसअघि पनि धेरै वन्यजन्तुको मृत्यु भएको छ।
‘यहाँ राजमार्ग वारपार गर्ने क्रममा गाडीको ठक्करबाट भालु, चितुवा, मृग, अजिंगरजस्ता वन्यजन्तुको मृत्यु भएको रेकर्ड हामीसँग छ,’ उनले भने, ‘साना जनावरको संख्या निकै धेरै छ।’
उनका अनुसार राजमार्गको उत्तर र दक्षिण क्षेत्रको बरण्डाभार जंगलमा करिब दुई दर्जन एकसिंगे गैंडा छन्। बाघको संख्या एक दर्जनजति छ।
‘आहाल र घाँसे मैदान भएको क्षेत्र गैंडाले मन पराउँछ। बरण्डाभार क्षेत्रमा यी दुवै भएकाले गैंडाको संख्या धेरै छ,’ उनले भने, ‘एक दर्जनजति गैंडा र तीनवटा बाघ त राजमार्गको उत्तरतर्फ स्थायी रूपमै बस्ने गरेको भेटिएको छ।’
उनका अनुसार ठूला वन्यजन्तुले राजमार्ग क्रस गर्न ठूलै मेहनत गर्नुपर्छ। सवारी साधनको चाप बढी भएकाले उनीहरू झट्टै राजमार्ग काट्न सक्दैनन्।
‘कतिपयले राजमार्गको छेउ–छेउ भएर निकै पर पुग्दा पनि राजमार्ग काटेर अर्कोतर्फको वनमा जान नसकेको देखियो,’ डा. लामिछानेले भने, ‘वन्यजन्तुलाई सहज रूपमा आवतजावतको वातावरण बनाउन व्यवस्थित अण्डरपासको असाध्यै खाँचो देखिएको छ।’
यसो नगरिए वन्यजन्तुका लागि मात्रै नभएर वन्यजन्तुबाट मान्छेलाई पनि खतरा बढ्ने उनी बताउँछन्।
डा. लामिछाने नेपालमा केही स्थानमा वन्यजन्तुका लागि भनेर अन्डरपासको व्यवस्था गरिए पनि कामचलाउजस्तो मात्रै देखिएको बताए।
‘भारतमा त वन क्षेत्र भएर सडक बनाउँदा निश्चित क्षेत्रमा ओभरहेड पास बनाएर वन्यजन्तुका लागि सहज बनाइदिनुपर्ने व्यवस्था नै रहेछ,’ उनले भने, ‘हामीले पनि त्यसो गर्न सक्यौं भने संरक्षण प्रभावकारी हुनसक्थ्यो।’
पर्सा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका सडकमा गाडीले किचेर पटक–पटक बाघको मृत्यु भएको थियो। टिकौली जंगलमा भने सवारी साधनको चाप अत्याधिक हुँदा पनि वन्यजन्तुका लागि आवश्यक पर्ने कुनै संरचना बनाइएको छैन।
आइतबार दुर्घटना भएको त्यही सडक हो जसको निर्माणको जस लिन नेकपा एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेताहरूबीच प्रतिस्पर्धा चलेको थियो। चितवन गृहजिल्ला भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल राजमार्ग विस्तारको जस आफू लिन चाहन्थे।
तर जब निर्माणको समय आयो नेपाल कम्युनिस्ट पार्टी विभाजन हुन पुग्यो। अन्ततः नेकपा एमालेका अध्यक्ष रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजमार्गको यो खण्ड विस्तारको शिलान्यास गरेका थिए।
अहिले ६ लेन विस्तार हुँदै गरेको राजमार्ग करिब सय मिटर मात्रै वन क्षेत्रमा पर्छ।
सबै तस्बिर: राजेश घिमिरे/सेतोपाटी