पूर्वीद्वार काँकडभिट्टा नाकाबाट अत्यावश्यक कामबाहेक भारतलगायत तेस्रो मुलुक जान र त्यहाँबाट नेपाल आउन स्थानीय प्रशासनले सर्वसाधारणलाई रोक लगाएको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पश्चिम बंगालका सहरहरूमा तीव्र रूपमा फैलन थालेपछि नाकामा कडाइ गरिएको हो।
भारतको पश्चिम बंगाल नेपालसँग सीमा जोडिएको राज्य हो। काँकडभिट्टाको ४ किलोमिटर दूरीमा कोरोनाको नयाँ भेरियन्ट सनसनी फैलिन थालेको भारतीय अखबारले जनाएपछि काँकडभिट्टा प्रशासनले सोमबारदेखि आउजाउमा रोक लगाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बताए।
‘हामीले अत्यावश्यक कामबाहेक भारतीय बजारमा किनमेल लगायत अन्य कामका लागि नजान सर्वसाधारणलाई अनुरोध गरेका छौं। सोमबार केही खुकुलो भए पनि मंगलबार बिहानदेखी बिरामी, औषधी र हवाई उडानका लागि भारत जानुपर्ने बाध्यात्मक अवस्था भएका नागरिक र पर्यटकलाई मात्र छोडेका छौं,’ प्रहरी नायब उपरीक्षक दाहालले भने।
अस्पताल जानुपर्ने अवस्था देखिएका बिरामी, औषधी खरिदका लागि जानेले चिकित्सकले सिफारिस गरेको प्रेस्कीप्सन र हवाई उडानका लागि जानु या आउनु पर्ने भएका यात्रुले टिकट अनिवार्य साथमा बोक्नुपर्ने प्रहरी नायब उपरीक्षक दाहालले बताए।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अघिल्ला भेरियन्टभन्दा बढी संक्रामक रहेकोले नाकामा सावधानी अपनाइएको पनि प्रहरीले जनाएको छ।
दक्षिण अफ्रिका हुँदै अहिले यो भेरियन्ट छिमेकी मुलुक भारतमा पनि आइसकेको छ। यसले नेपाललाई पनि जोखिममा पारेको प्रहरीले जानकारी दियो।
नयाँ भेरियन्टको सम्भावित जोखिम हेरेर झापाका पूर्व-पश्चिम राजमार्गसँग जोडिएका स्वास्थ्य संस्थाहरूमा सरकारले खोपको व्यवस्था गरेको छ।
भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य परीक्षण र खोप लगाउन थालिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।